18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

सानु लामाकृत ‘दुख्नु उत्तिकै छ’ पढ्नुको उत्कट व्यग्रता

कृति/समीक्षा अर्जुन पीयूष May 6, 2023, 5:26 am
अर्जुन पीयूष
अर्जुन पीयूष

नेपाली साहित्य जगत्का एक मूर्द्धन्य साहित्यकार एवं विविध शृङ्गार (मान/सम्मान/पुरस्कार)-द्वारा सुशोभित, सिक्किम सरकारमा माथिल्लो तहसम्म पुग्न सफल अधिकारी अनि भारत सरकारद्वारा प्रदान गरिने एक महत्वपूर्ण सम्मान पद्मश्री सम्मान प्रापक सानु लामाका सम्बन्धमा जति नै उपमा जोड़े तापनि सायद कमै हुनजाला। उनी नेपाली साहित्य र जातिका हीराजड़ित गरिमा हुन् भन्दा सायद उपयुक्त होला कि भन्ने लाग्दछ। उनी यतिमात्र होइनन् एउटा लामो काल-खण्ड (सिक्किमको राजतन्त्रदेखि वर्तमानलाई प्राप्त प्रजातन्त्रसम्म)-का एक दस्तावेज अनि होनहार साक्षी पनि हुन्। नेपाली भाषाको संवैधानिक मागको आन्दोलनका सहयात्री सानु लामाले देश हराएको देखेका छन् अनि एउटा देश अर्को देशसँग समागम भएको पनि देखेका छन्। सिक्किमका पूर्व मुख्यमन्त्री नरबहादुर भण्डारी सरकारको पालामा नेपाली भाषा-मागको आन्दोलनमा उनका दाहिने हात भएर उनी चिनिएका हुन् भने देशमा साहित्यको निम्ति सर्वोच्च संस्था मानिने साहित्य अकादमीबाट अकादमी पुरस्कार विजेता पनि हुन्। उनले नेपाली साहित्यको भण्डारलाई कति सिर्जनाहरूले भरे होलान्, त्यसको सही-सही लेखाजोखा त सायद लामा स्वयंसित पनि नहोला।
नेपाली समाज लगायत भारतीय समाजमै धेरै अर्थहरूमा स्तम्भ बनिन सफल धेरै पारखी समीक्षकहरूदेखि लिएर आम मानिसहरूले सम्म लामालाई एक ऐतिहासिक धरोहर मान्दै आएका छन्। अनि यस्ता दस्तावेजका खापै खाप बोकेका सानु लामाको नवीन पुस्तक ‘दुख्नु उत्तिकै छ’-माथि मजस्तो सिकारू कलमकारले केही कोर्न लाग्नु भनेको एक हिसाबले दुस्साहसै गरिँदैछ भन्दा हुन्छ। अनेक अर्थहरूमा मैले ‘दुख्नु उत्तिकै छ’ -माथि आफ्नो दृष्टि राख्न पाउनु/मैले दायित्व पालन गर्न पाउनु मेरो सौभाग्य पनि हो। लामा एक सफल नियात्राकार सँगसँगै कथा क्षेत्रमा आफ्नो सुमधुर शिल्पद्वारा पाठकवर्गलाई कतै हल्लिन नदिने, आफ्ना कथाहरूका माध्यमद्वारा कथाका पाठकवर्गलाई बाँधेर राख्न सफल कथाकार हुन् भन्ने कुरा यहाँ बताइरहन सायद आवश्यक पनि थिएन। यद्यपि, मेरा हातहरूले उनका रहरिला, हरियालीयुक्त कथाहरूलाई न्यानो घामको रापमा बिस्कुन सुकाए जस्तै केही सुन्न आतुर भएका आम पाठकवर्गसामु केही सुनाउने/केही भन्ने आँट बटुल्दैछु।
जे होस्, हामी पुस्तकका पानाभित्र प्रवेश लिने अनुमतिका साथ दुइ-चार वाक्यहरू प्रस्तुत गर्दैछौँः पुस्तक समीक्षालाई सायद तीन वर्गमा विभाजित गर्न सकिन्छ, जसअन्तर्गत पाठकवर्गले पुस्तकबारे बुझ्न सक्नेछन्। मलाई प्राप्त साधारण जानकारी अनुसार समीक्षाका मुख्यतः तीन पक्ष हुनसक्छन्, जस्तै-परिचयात्मक समीक्षा, विश्‍लेषणात्मक समीक्षा, मूल्याङ्कन समीक्षा।
परिचयात्मक समीक्षा-यसमा पुस्तकबारे केवल सामान्य परिचय दिन सकिन्छ।
विश्‍लेषणात्मक समीक्षा-विश्‍लेषणात्मक समीक्षा अन्तर्गत पुस्तकभित्रको जुन विषयमाथि वर्णन गरिन्छ, त्यसलाई विश्‍लेषण भन्न सकिन्छ।
मूल्याङ्कन समीक्षा-यस विधाअन्तर्गत आलोचनात्मक एवं तुलनात्मक मूल्याङ्कनमाथि जोड़ दिइन्छ अनि समीक्षा गर्न लागिएको पुस्तकका सन्दर्भमा अर्को आफूलाई घत/मन परेको पुस्तकसँग तुलनात्मक विचारधारा राख्न सकिन्छ।
मेरो वशमा सायद परिचयात्मक समीक्षा मात्र सम्भव होला। मेरोमा त्यति शक्ति सायद सञ्चय भएकै छैन कि विश्‍लेषणात्मक समीक्षा वा मूल्याङ्कन समीक्षा म गर्न सकौं।
आफू सानु लामाको नजीक रहेको सन्दर्भलाई अघि सार्दै अथवा उनका केही सिर्जनाहरू पढ़ेको छु भन्दैमा विश्‍लेषणात्मक समीक्षा वा मूल्याङ्कन समीक्षा सम्भव हुने कुरा भएन। त्यसकारण म साधारण मेरो भाषामा अनि ‘दुख्नु उत्तिकै छ’-पुस्तक पढ्दै जाँदा मैले जे-जति अनुभूत गरेँ, त्यसलाई कुनै गोरेटो र घुम्तीबाट नघुमाइ तेर्सै तेर्सो मार्गबाट पाठकवर्गसमक्ष पुग्ने धृष्टता गर्दैछु।
‘दुख्नु उत्तिकै छ’ पुस्तकको पहिलो कथा नै हो-दुख्नु उत्तिकै छ। यो कथा पढ़िरहँदा हिजोआजको प्रचलित टेक्नोलजीयुक्त अड़ियोमा कुनै अन्जान युवतीले आफ्नो सुरिलो र मनमोहक आवाजमा सानु लामाको कथा वाचन गरिरहेकी छन् भन्ने बोध भइरहेथ्यो। कथाकारको शिल्प कति बन्दनीय कि एउटा स्थिर स्थानको साइनबोर्डमा शान्त र गम्भिर मुद्रामा उभिएकी युवतीभित्रको आत्मकथा मात्र होइन म सत्तरको दशकमा बनिएको कुनै रोमाण्टिक चलचित्र हरियो चौरमा बसेर मन्त्रमुग्ध भई हेरिरहेछु भन्ने भान भइरहेथ्यो। कथाकार सानु लामालाई त्यतिकै कुनै आवेगमा मात्र कथाका सफल मूर्तिकार भनिएको होइन रहेछ।
कथामा अर्को पक्षले मलाई तानिरहेको थियो, पुरुषवादी समाजले नारी समाजलाई आकलन गर्ने परम्परावादी सोच, दृष्टिकोण अनि उनीहरूले बनाउँदै ल्याएको एउटा स्ट्रकचर (फ्रेम)-को सन्दर्भ। त्यो फ्रेमलाई ध्वस्त बनाउँदै नारी स्रष्ठाहरूको उद्वेलित संवेगहरूलाई कथाकार सानु लामाले स्वादिष्ट मिष्टान्नको रूपमा पस्किएका छन्। कथा-संस्मरण सङ्ग्रहको पहिलो कथाले मलाई तान्दै र हल्लिनै नदिई क्रमगत रूपमा नदी झैँ बहिरहेको थियो। एउटा विज्ञापनको बोर्डमा उभिएकी एउटी सुन्दरी युवतीमाथि पनि यस्तो कथा बन्न सम्भव रहेछ, सानु लामाले प्रमाणित गरेर देखाएका छन्। कथामा वर्णन गरिएको घटना केवल कथा मात्र हो भन्ने भ्रान्तिमा म रहिरहन चाहन्न। किनभने आफ्नो उमेरको यो पड़ावमा आएर केवल कथाजस्तो मात्र कथा सुनाएर मनोरञ्जन दिने व्यक्तिका रूपमा हामी सानु लामालाई हेर्न सक्दैनौँ। कथाले पस्किन खोजेको सन्देश बड़ो गजबको छ। पुरुषहरू नारीहरूका सम्बन्धमा कसरी इत्रिन्छन्, नारी सम्बन्धका विमर्शहरूमा पुरुषहरू कतिसम्म गम्भिर बन्न सक्छन् अथवा कल्पनाको जीजिविषामा मात्र जिउँछन् कि! यस्ता कुराहरू केवल गफमात्र होइनन् अनि रातभरि अनवरत परेको पानीले साइन बोर्डलाई तहसनहस पार्छ, त्यो विचारको डिस्कोर्स पनि हुनसक्छ अनि समाज क्रमशः विचारको विघटनतर्फ उन्मुख हुँदैगएको कथाकारको सोच पनि हुनसक्छ। समग्रमा यो कथा नारी विमर्शमाथि आधारित छ भन्ने मेरो व्यक्तिगत अवधारणा हो। कथामा दिलकुमारी भण्डारी, मलाला, विनस-सेरेना विलिएम्स्को अर्थले एउटा सिङ्गो समाजको प्रतिनिधित्व गरेको छ भन्ने लाग्नु स्वाभाविक प्रक्रिया हो कि?
यस सङ्ग्रहको दोस्रो कथा हो- अर्ध खुला ढोका ः कथा शिल्पका बेजोड़ कालिगढ़ सानु लामा कथा सिर्जनाका निम्ति नै भूमिष्ट भएका हुन्, यस्ता कुराहरूलाई उनका विगतका सिर्जनाहरूले व्यक्त्याइसकेका धेरै प्रमाणहरू हामी पाउन सक्छौँ। सिक्किमकै माटोबाट उब्जेका तर जोगाएर मलिलो बनाएर राख्नुपर्ने बीउ-बीजनहरूमा जीवन थीङ, भीम दाहाल जस्ता सैयौँ व्यक्तित्वको लहरमा सानु लामालाई राखिएन भने त्यो निकै ठूलो अन्याय हुनजाला। धेरैलाई यो ‘अर्ध खुला ढोका’ पढ्दै जाँदा साधारण कथाजस्तो लाग्न सक्छ। तर कथाभित्रका उतार-चढ़ाव, ठोक्करहरू अनि अन्तर-कुन्तरलाई पल्टाउँदै जानु हो भने धेरै दस्तावेजहरूको उत्खनन हुनसक्छ। कथामा मीठो प्रकारले हामी स-साना कुराहरूमा बाझ्न नहुने, पुरानो इतिहास देखाएर हप्की-दप्की गर्न नहुने सन्देशका साथसाथै सही समयमा सही निर्णय लिन सक्नुपर्ने जस्ता उपदेशहरू पनि पाउन सकिन्छ। केवल सिक्किमको सन्दर्भमा मात्र कथा पढ्दै जाँदा स्थानीय रूपमा कथा बुनेजस्तो लागे पनि वास्तवमा हामी पहाड़ी भेकमा रहने पहाड़वासीको वास्तविक घटना वरिपरि कथा घुमिरहन्छ।
कथाको अर्को पाटो अझ दमदार देखिन्छ। पुरानो पुस्ताले नारी जातिलाई केवल परम्परावादी दृष्टिकोण अन्तर्गत राख्न चाहेको जस्तो बुझिन्छ भने आधुनिक नारीहरू पुराना अनि अव्यवस्थित र असहनीय दाम्लाहरू चुँड़ाउन चाहन्छन् र त्यो पक्ष कथामा स्पष्ट देखा परेको छ। आधी आकाशका हकदारहरूको विचारमा क्रमशः नयाँपन आउँदै गरेको अनि प्रगतिवादी विचारले प्रश्रय पाउँदै गरेको र परम्परावादी सोचलाई चिहानघारीको माटोमा मिलाउने प्रक्रिया जारी रहेको कथामार्फत्को सन्देशलाई बुझ्न सकिन्छ। पलायनवादी सोचहरूमा तगारो लगाउँदै नयाँ विचारलाई स्वागत गरिएको छ। यसका साथै पुराना कुराहरू, वस्तुहरू हराउँदै गएकोमा कथाकार सानु लामाको कहीँ-कहीँ गुनासो पनि देखिन्छ।
रङ्ग स्टेशन ः रङ्ग स्टेशन अन्तर्गत घटेका घटनलाई कथाभन्दा बढ़ी यात्रा संस्मरण भन्न सुहाउँछ। सानु लामाको आफ्नो अध्ययनकालमा घटेका घटनालाई खूब सुन्दर परिकारले सजाउन उनी खप्पीस देखिन्छन्। बङ्गालस्थित बर्द्धमानमा आफू रहँदा-बस्दा बङ्गला भाषाको प्रयोग कसरी गर्ने अनि बङ्गाली समुदायसँग आफूलाई कसरी प्रस्तुत गर्नुपर्ने ती सम्पूर्ण घटनाहरूलाई सजाउनु नै यो संस्मरणको आत्मा हो। स्वास्थ्यको निम्ति पोषण आवश्यक हुन्छ तर पोषणलाई बनाउने तरिकाबारे आफू पढ्दाताकाको कलेजमा आइतेवारे फिस्टी (खानाका विभिन्न परिकारहरू)-को खूब राम्ररी वर्णन गरेका छन्। घटनाक्रमलाई उनले जुन परिवेशअन्तर्गत प्रस्तुत गरेका छन्, त्यस्तो ठाउँमा आफू धेर बाठो हुनुभन्दा नम्र व्यवहारलाई अप्नाउँदा काम फत्ते हुने कुरा बताउनका साथै आफ्ना पिताबाट प्राप्त उपहार घड़ीको वर्णन अनि त्यो घड़ी आफूले पाएको अवस्था, आफ्ना अभिभावकले दिएको उपहारलाई माया र श्रद्धा गर्नुपर्ने सन्देश दिएका छन्। सानु लामाका यी संस्मरणात्मक घटनाहरू पढ्दै जाँदा ठाउँ-ठाउँमा हाँसउठ्दा स्थितिहरू देखा परेका छन् तर हामीलाई हाँस उठेका घटनाहरूमा उनी स्वयं कति दुखे होलान्, त्यसको अनुमान लगाउन कठिन छ। हुन त विश्‍वविद्यालय/महाविद्यालयका ठूला ठूला हस्तीहरूले यस संस्मरणलाई आ-आफ्नै नजरले हेर्लान् तर मेरो मनलाई घटनाक्रम स्पर्श गर्न सफल भयो। सायद सानु लामा स्वयं आफ्ना यी घटनाक्रमलाई पढ्दा आफै मन्द-मन्द मुस्काउँदा होलान्। आफ्ना स्थानीय क्षेत्रहरूमा जो-कोही पनि रमाउन सक्छ तर सानु लामा पहाड़ी क्षेत्रका एक अध्ययताका रूपमा वर्द्धमान जस्तो ठाउँमा गएर राम्ररी रमाउन सक्नु पनि अलग्गै विशेषता हो भन्ने लाग्छ।
नेहु जाँदा ः यो पनि मीठो संस्मरण नै हो। यसै पनि सानु लामा नियात्राकारका रूपमा राम्ररी चिनिएका व्यक्ति हुन्। हामी नेपाली समुदाय जहाँ जाऊँ, जसरी बसौँ, जति नै बाझौँ, निउ खोजाखोज गरौँ तर अन्य स्थानमा पुग्दा आफ्ना अनुहार देख्दा/भेटिँदा हाम्रो मन थामिँदैन। त्यस्तै यात्राक्रममा सानु लामाले एक महिलालाई त्यहीँको स्थानीय भेषभूषामा देख्दा आफ्ना आँखाहरू तानिएका अनि ती महिला सम्बन्धमा ड्राइभरले ‘वह तो नेपाली औरत है’ भनेको वाक्यले सानु लामालाई भित्रैबाट निकै दुखाउँछ। यस संस्मरणमा सानु लामाले सिक्किमका एक विलक्षण प्रतिभाका धनी राधाकृष्ण शर्मालाई पनि खिप्न भुलेका छैनन्। समग्रमा भन्नु हो भने सानु लामाले सरल र सहज भावमा ज्ञानवर्द्धक स्तरमा टम्म अघाउन सकिने यात्रा संस्मरण दिएका छन्।
स्वास्थ्य शिविर ः यो सानो तर गजबको कथा हो। हाम्राहरू टुक्रा-टुक्रामा विभाजन हुँदैगएको सानो झस्को कथाकारले दिएका छन्। स्वास्थ्य शिविरमा अनेकथरीका मान्छेहरू मात्र आउँदैनन्, उनीहरू आफ्नो ठाउँ, गाउँ-समाज, धर्म-जाति, सम्प्रदायको प्रतिनिधिको रूपमा आएका हुन्छन् भन्ने कथाकारको मनशाय हुनसक्छ। मान्छेको आस्था र विश्‍वासको थुप्रो कतिसम्म हुनसक्छ कि कथाको एकजना नायक डाक्टरले दिएको ट्याब्लेटलाई धरी झाँक्रीलाई फुक्न लगाएर मात्र खान चाहन्छ। आजको समयमा त झाँक्रीका फलोअर व्यापक मात्रामा पाउन सकिन्छ भने त्यो सोच्दा नै कहाली लाग्ने समयमा झन् मान्छेको सोच कुन अवस्थामा थियो होला त्यसको अनुमान लगाउन सकिने कथा हो यो। यस्ता कतिपय समाजभित्रका संवेगहरूलाई कथाकार सानु लामाले हुबहु उतार्ने कोशिश गरेको हामी पाउँछौँ।
भाङको लड्डूः यात्रा संस्मरण जति मीठो त्यति नै लड्डू संस्मरण पनि। यो संस्मरणले के बोध गराउँछ भने सुखै-सुखमा हमेशा हाँसेको जिन्दगी भन्दा दुःखमा रमाएको जिन्दगी ठूलो साहसको प्रतीक पनि हुँदछ। एकजना कुनै ठूलो पद/ओहोदोको व्यक्तिले सानो पदको मान्छेको इच्छा-आकाङ्क्षालाई कसरी खर्लप्प खाइदिन्छ-समग्रमा कथाभित्रको तत्व यही हो कि भन्ने लाग्दछ। संवेदनाले भरिपूर्ण सानु लामा जस्ता कथाकारले कथालाई जुन स्थानमा पुर्‍याउने सोच बनाउँछन्, त्यसको ठाउँ निश्‍चित छ भन्ने लाग्दछ। हामीले लड्डू संस्मरण लेख्दा दुइ-चार हरफहरूमा समाप्त हुन्थ्यो होला तर उड़ानका महानायक सानु लामाले लड्डूको महिमा भाँती पुर्‍याएर गाएका छन्। यहाँ म यो पाठ पढ़िरहँदा हाम्रा कथा सम्राट् शिवकुमार राई, समीरण छेत्री ‘प्रयदर्शी’-लाई पनि सम्झिरहेको थिएँ। मान्छेमा कथाको प्रभाव अलग्गै हिसाबले पर्न जान्छ। यो संस्मरण जस्तो देखिए पनि म यसलाई कथा नै भन्न रुचाउँछु। अन्त्यमा त्यो भाङको लड्डू नभएर केवल मिठाई मात्र हुनुले अर्कै मिठास दिन्छ। जे होस्, मिठाई मिठो थियो कि थिएन कथाकार र उनका अग्रज अधिकारीलाई थाहा होला तर म भने भाङको लड्डू खाएभन्दा धेर लट्ठ परेको थिएँ। यसरी हामी सानु लामालाई हाँस्य रसमा पनि कहाँ कम पाउँछौँ र?
कोरदोबाकी मार्गरीटा ः यसलाई सफल संस्मरणको तहमा राख्न सकिन्छ भन्ने लागेको छ। म्याक्सिको हामीले सुन्दै आएको देशको नाम। यात्रा संस्मरणका बादशाह नै भन्न मिल्ने सानु लामाको यो यात्रा संस्मरण पढ्दै जाँदा उनले आफ्नो राज्य सिक्किमको ग्रामीण विकास मन्त्रालय र त्यहाँको ग्रामीण विकास मन्त्रालयको तुलनात्मक अध्ययन गरेको भान हुँदछ। सरकार र जनताले चाहेको खण्डमा जस्तै अनकण्टार स्थानमा पनि विकासको मूल फुटाउन, सुन्दरता ल्याउन सकिन्छ भन्ने ध्येय बुझिन्छ। संस्मरण पढ्दै जाँदा एउटा घटनाले साह्रै नै मन छुन्छ। लगभग 20 लाख वर्ग किलोमीटरको क्षेत्रफल भएको म्याक्सिको राष्ट्रमा साना-ठूला गरी जम्मा 31 वटा राज्य रहेछन्। त्यहाँको जनसङ्ख्या पनि केवल 7 करोड़ (सानु लामाको यात्राक्रमको समयमा) मात्र। तर पनि त्यहाँको सरकारलाई राज्य धेर भएकोमा कुनै असुविधा भएन तर हामी भारतमा लगभग डेढ़ करोड़ रहेको दाबी गर्छौँ अनि भारतको क्षेत्रफल हेर्नु हो भने त्यस्ता म्याक्सिको कति बन्लान् तर हाम्रा निम्ति एक अलग राज्य दिन हिचकिचाउने सरकारको शासनमा हामी छौँ भन्ने कुरा मनमा उब्जिँदा कहीँ-कतै मन कटक्क दुख्छ। सायद यसैकारण सानु लामाले आफ्नो पुस्तकको नाम नै ‘दुख्नु उत्तिकै छ’ राखेका होलान्। राज्य धेर भएर विकास सम्भव नहुने कुरा बेकार रहेछ पनि बोध हुँदछ। नियात्राका लेखक सानु लामाले हाम्रै राज्य सिक्किममा पनि ग्रामीण योजनाको कार्यान्वयनमा एक समय सरकार र गाउँलेमाझ मधुर सम्बन्ध थियो। 25 प्रतिशत गाउँलेले अनि रहल 70 प्रतिशत सरकारले विकासमा खर्च गर्थ्यो। लेखक जुन देशको भ्रमणमा छन् त्यहाँ पनि गाउँलेले आफ्नो गाउँको विकासमा 30 प्रतिशत र रहल रकम सरकारले खर्च गर्दोरहेछ भने आज सिक्किममा होइन समग्र देशमै सरकारकै भरोसामा बस्ने संस्कृतिको विकास कसरी भयो? यो संस्कृतिलाई टेवा कसले दियो? भन्ने जस्ता स-साना प्रश्‍नहरू सानु लामाले उठाएका हुन् कि भन्ने लाग्दछ। यसै संस्मरणमा जुनै देशमा पनि गरीबको जात एउटै भन्ने सन्देश दिँदै प्रगतिवादको परिभाषालाई विस्तृतता दिन खोजे झैँ देखिन्छ। मार्गरीटाको अर्थ नबुझ्नुको सन्दर्भ हाँस्यरसले भरिपूर्ण छ। कुनै ठाउँको बोली कुनै ठाउँको गाली भने झैँ शब्दको अर्थको जानकारी नहुँदा कहिलेकाहीँ निक्कै अप्ठ्यारोमा परिने सन्देश पनि पाउन सकिन्छ।
तिनी धुरु धुरु रोइन् ः यो अध्याय कता-कता कथा-कथा जस्तो, कता-कता यात्रा-यात्रा जस्तो अनि कता-कता रोजनाम्चा (डायरी लेखन) जस्तो लागे पनि घटनाक्रमहरू बहुतै कारुणिक छन्। लेखकले पहिलो किस्तीलाई अन्तिम किस्तीसँग सहज रूपमा सम्बन्धित बनाएका छन्, यो लेखकको शिल्पभित्रको निर्मलपना हो।
आज हामीले सिक्किमको राजधानीस्थित एम. जी. मार्गलाई बड़ो आधुनिक ढङ्गमा देख्न पाइरहेका छौँ। त्यसको अनि नामनामको पुरानो स्वरूप कस्तो थियो त्यो समयको वस्तुस्थितिको वर्णन केवल एकै वाक्यमा पूर्णता दिनसक्ने कुनै व्यक्ति छन् भने तिनी हुन् सानु लामा।
त्यो समय अर्थात् 1954 अनि आधुनिकताको आँगनमा आइपुगेको 2012 जनवरी 26, अनि जुलाई 2012, कलकत्ता अनि त्यसपछि पुलिस चेक पोस्ट, सिक्किमको प्रवेशद्वार। घटनालाई पनि कथाको स्वरूप दिन सक्षम सानु लामालाई त्यसै नेपाली साहित्यका धरोहर भनिएको होइन क्यार!
विकृति, विकृति नै हो, त्यो जहीँको होस् तर वर्णन गरिएको घटनाक्रममा मान्छेको जीवनको सवाल छ अनि कुनै पनि हालतमा बाबु गुमाउन नचाहने छोरीको ममता छ। आमा-बाबु छोरा-छोरीका निम्ति जे गर्न पनि तयार हुन्छन् भन्ने आम मान्यता छ तर छोरीहरू पनि यस मामिलामा कम छैनन् भन्ने कुरा पनि यस अध्यायमा पाउन सकिन्छ।
भिसाको फेरमा ः यो छोटो-मीठोे यात्रा संस्मरण हो। यसमा हाम्रा चेलीहरूले भोग्न परिरहेका कारुणिक गाथाहरू कहन खोजेका हुन् कि भन्ने भान हुँदछ। नेपाल-भारत-जर्मन तीन देशका आ-आफ्नै कानुनी कुराहरू, अड्चनहरू होलान् तर सानु लामाले हाम्रा आराध्य साहित्यकार इन्द्रबहादुर राईको एक वाक्यद्वारा हाम्रा सम्पूर्ण आर्तनाद, संवेदनाहरू, असन्तुष्टिहरूलाई छर्लङ्ग पारिदिएका छन्।
सानु लामालाई हामीले धेरै अर्थहरूमा पढ़ेका, गुनेका छौँ होला तर अथवा उनीभित्रको सानु लामालाई पढनै सकिरहेका पनि छैनौँ होला। किनभने कथाहरूमा, नियात्रा, संस्मरणहरूमा उनी जसरी बग्दछन्, त्यसको रफ्तार हामी पक्रनै सक्दैनौँ कि भन्ने लाग्दछ। ‘दुख्नु उत्तिकै छ’-मा यस्ता-यस्ता कतिपय बिम्बहरू पाइन्छन्, जसको अर्थ खोज्दै जाँदा एउटा इतिहासको थाक नै पाउन सकिन्छ। कथामा हुनपर्ने अभिव्यञ्जनाहरूमार्फन् सानु लामा हामीलाई अर्कै संसारमा पुर्‍याउँछन् तर यथार्थको धरातलबाट माथि-माथि पनि उड्न दिँदैनन् उनी।
सानु लामाको कथा बुनौटका केही अंशहरूलाई हेर्दा नै थाहा लाग्दछ कथाको मर्म। जस्तै-‘...मानिसहरू जीवन जिउँदैनन्, खाली दौड़बाजीमा छन्...’, ‘...बाहिर झ्याल क्रय गर्नेहरू पनि कम छैनन्...’, ‘...पाउ रोकिए ती विचारहरू पोखिएला भन्ने त्रास मनमा बोकेकी...’, ‘...प्याण्ट मात्र होइन लोग्ने मान्छेको आजसम्मको किल्ला पनि दखल गर्ने हामी औरतको हिम्मत छ...’, ‘... उः देख्यौ? राम्रो चरन पायो भने त्यस्तो हुन्छ...’, ‘...कलिलो सुनसान अपरान्हमा हावा फूलमा अनि घाम बादलमा बिसाइरहेका थिए...’ ‘...वरिपरिको गाउँँबाट साना साना आवाजहरू बोकेर मन्द-मन्द हावा चलिरहेको थियो...’ यस्ता केही उदाहरणहरू मात्र हुन्। यस पुस्तकमा धेरै यस्ता शब्दहरूको पनि प्रयोग भएको छ, जसलाई हामी बिर्सिँदै गइरहेका छौँ। पुराना चीजबिजहरूको तजविज हुनसके मात्र नयाँहरूका निम्ति उभिने जमिन र सोच्ने मानसिकताको खाट बन्न सक्छ भन्ने मान्यतामा अड़िग रहँदै सानु लामाले यो पुस्तक तयार पारेका हुन् कि भन्ने मेरो सानो विचार मात्र।
कुनै पनि पुस्तक आकर्षक र चित्तपर्दो छ भने मात्र त्यो पुस्तक पढ्ने जाँगर पलाउनु स्वाभाविक हो। पहिलेका पुस्तकहरू आकर्षक र मनमोहक नहुनुमा कसैको पनि दोष थिएन कारण त्यो समयमा आजको जस्तो आधुनिक टेक्नोलजीको विकास भएकै थिएन र त्यो समयकाल पनि आजको जस्तो अवश्यै थिएन त्यसकारण यहाँ कसैलाई दोष्याउनु पनि छैन। तर आज आधुनिक टेक्नोलजीको विकास भएको छ, त्यसैले त्यसको उपभोग गर्न पाउनु सबैको अधिकार पनि हो। त्यस्तै आधुनिक टेक्नोलजीको भरपूर प्रयोग गरिएको पद्मश्री सानु लामाकृत ‘दुख्नु उत्तिकै छ’-पुस्तकलाई ‘बुकान्ट’ प्रकाशनले बजारमा ल्याएको छ। सामान मात्र भरपूर भएर मात्र हुँदैन त्यसलाई सम्याएर राख्न सक्नु अथवा त्यसलाई प्रदर्शनीमा ढङ्गले राख्नु एकप्रकारले कला हो। त्यस्तै कला ‘बुकान्ट’-ले प्रयोग गरेको देखिन्छ। त्यसकारण प्रकाशन बुकान्टलाई पनि यहाँ स्याबास नभनी मनै मान्दैन। भोलिका दिनहरूमा पनि यस प्रकाशनले अन्य सर्जकहरूका पुस्तकलाई आकर्षक र मनमोहक स्तरमा बजारमा ल्याउने आशा राख्न सकिन्छ।
अन्त्यमा हाम्रा धरोहर सानु लामाज्यूको स्वास्थ्य शताधिक शताधिकसम्म जस्ताको तस्तै रहोस् भन्ने कामनाका साथ नेपाली साहित्य र जातिले उनीबाट अझ धेर उपहार पाउने आशाका साथ यो कलमलाई यहीँ विश्रान्ति दिँदछु।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।