भट्टी–होटलमा बसी दिनदिनै रक्सी पिई आउने
साँढे भै घरमा पसेर झगडा बेफ्वाँक मच्चाउने
भोकै छन् घरका जहान बिचरा ! खानेकुराको कमी
नाङ्गै छन् बचरा मुहार कलिला बेहाल बढ्दै छ नि !
खाने चामल, दाल छैन घरमा कस्तो त तिम्रो मन !
स्वास्नीका गहना फुकालिकन के मस्ती भयो लौ भन ?
छैनन् पुस्तक–पुस्तिका, कलम क्यै बच्चा रुँदै छन् यता
प्यूँछन् स्वाद लिई–लिई मन दिई बाबा भनेका उता !
तिम्रो बुद्धि कता गयो किन अझै फिर्दैन सुद्धि पनि ?
होला दाइँ कसो गरी जब मियो ढल्दै छ बाङ्गो बनी
फाल्यौ जात कुजातको बगलमा मान्छे नभै वानर
भत्कायौ घरको धुरी, कुमबलो बाँकी त के नै छ र ?
पुस्तौं पिर्छ न उच्च हुन्छ शिर नै उन्माद बढ्दै गए
छोराको मुहुडा हुँदैन हँसिलो बाबा जँड्याहा भए
लागू प्यून कदापि हुन्न घरको बिग्रन्छ चाला पनि
मैलो मात्र बढाउँदा उदरमा जाला कुही जीवनी ।
रक्सी तागतिलो हुँदैन कहिल्यै खाऊ बरु पोसिला
रोटी, भात, मकै मिठा बल दिने हुन्छौ तिमी जोसिला
दिन्छौ जोड अनाजमा जब तिमी बन्ला मिठो जीवनी
होला मानिसको बजारभरिमा सम्मान तिम्रो पनि ।
ज्याग्दीखोला, स्याङ्जा, हालः पोखरा