16 वर्षदेखि निरन्तर
समकालीन साहित्य

आमा

कविता ध्रुव जोशी May 6, 2023, 7:54 am

आमा चेतना हो, विश्वास हो
श्रृजनको अनुपम भाव हो
आमा त्याग हो, तपस्या हो, सेवाको शक्ति हो
अनुराग, समर्पण र धैर्यको उदाहरण हो
ईश्र्वरको समेत वन्दनीय रचना हो ।

आमा घर हो, घरको धूरी हो
घरको सम्मानको सलमा सितारा हो
आमा छैन भने घर अँध्यारो रहन्छ
आमा भये चारै धाम हुन्छ ।

आमा पढेर सकिने कुनै आख्यान होइन
जीवनको अनन्त कथा हो
आमा को कुनै पर्याय हुँदैन
यसको महत्व कहिल्यै कम हुदैन ।

आमा गृह-संसारको सर्वश्रेष्ठ भक्ति हो
संतानप्रतिको प्रवल आशक्ति हो
ज्यान जोखिममाराखि जीवनदान दिने अभियान हो
आमा सानत्वना हो, उपासना हो, वलिदान हो
आमा जीवनको अनुष्ठान हो ।

आमा सन्तानको सुख समृध्दिको जप र तप हो
सन्तानको उन्नति प्रगतिको आशीर्वाद हो
संचो नहुँदा देउता भाकेर अक्षता छर्ने न्यास हो
राती अबेर फर्कदा कुरेर बस्ने ममता को इतिहास हो
घरमा सुख शान्ति होस् भनि पूजा आजा राख्ने संस्कार हो
आमा प्रकृतिको तिमी अव्दितीय उपहारको हो।

आमा तिमीलाई फुर्सत कहिल्यै छैन
तीस दिन बाह्र महिना तिम्रो नोकरी लागेको हुन्छ
जुन दिन तिम्रो कोखमा हामी आउँछौ
त्यस दिनदेखि तिम्रो बिदा सबै सकिन्छ
तर, आमा तिमी भने
बिदा नपाउने नोकरीमा रमाएकी हुन्छौ
परिवार र संतानका लागि
संधैं नै समर्पित रहन्छौ ।

आमा तिम्रो अंश हूँ म
तिम्रै वंश हूँ म
रगतमा बगिरहेकी हुन्छौ तिमी वंशाणु भएर
आमाबिना सृष्टिको कल्पनागर्न सकिन्न
आमा तिमीलाई कहिल्यै बिर्सन सकिन्न ।

आमाको सानिध्दको हुन्छौं हामी अभ्यस्त
साथ नहोला भनी मन भैरहन्छ सधै नै त्रस्त
रहन्छ संतानमा तब सम्म यो सुर्ता
दूधले बनेको रगत बग्छ जब सम्म नसामा
सन्तानका लागि आमा ईश्र्वरको भक्ति गर्छ
परिआएमा उहीँ देउतासित लडि पनि दिन्छ
यो कुरा आमा मुखले कहिल्यै भन्दिनन्
आँखाको भाका नबुझ्नेले यो सत्य बुझ्नै सक्दैन ।

आमा त आमा नै हुन्छ
त्याग, समर्पण, ममता, धैर्यको खानी हुन्छ
आधुनिकतामा रङ्मङ्गिएका आमाहरू
जीवनदानलाई मात्र जीव विज्ञानको विधिविधान ठान्नेहरू
उ mother हुन्छ, mom हुन्छ, momy हुन्छ
तर आमा हुँदैन
उ आमा कहिल्यै हुँदैन ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।