17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

चिन्ता

लघुकथा डिल्लीप्रसाद अधिकारी May 10, 2023, 2:01 am
डिल्लीप्रसाद अधिकारी
डिल्लीप्रसाद अधिकारी

"तपाईँले कस्तो आशिर्वाद दिनुभयो मलाई ?- सोध्यो र भन्यो अझै उसले-" बाबाको आशिर्वाद त मलाई नलागेर नोर्बुलाई पो लागेछ र उसको पदोन्नति भयो।" बाबू चन्द्रप्रसादले सुनिरहे छोराको कुरा। छोराले अझै सोध्यो - "तपाईँले नोर्बुलाई पनि आशिर्वाद दिनुभएको थियोे कि?"

छोरो कमललाई बाबुले भने- "मैले आशिर्वाद त सधैँ तेरै भलाई ह‍ोस्, विघ्न-बाधा हटुन भनेर नै दिँदै आएको हो"- र अझै थपे- "मेरै मात्र आशिर्वादले कहाँ प्रमोसन पाइन्छ र अचेल, सरकारको आशिक पनि चाहिन्छ ।"

चन्द्रप्रसादका छोराको गेजेटेड अफिसरमा प्रमोसन ढिलाइरहेको थियो । बाबु-छोरा दुवै यसमा चिन्तित थिए।
देशमा प्रमोसनको मेला लागेका बेला नोर्बुले प्रमोसन पाएपछि उनीहरूको चिन्ता झन् बढेको थियो । र यो पालि दसैँमा चन्द्रप्रसादले छोरालाई थप आशिक दिए। तैपनि काम लागेको थिएन।

"तिम्रो चै कसरी यति छिटो प्रमोसन भयो ? हाम्रो कमल त अझैसम्म भएको छैन ?"- एकदिन भेट भएका बेला बाबुले नोर्बुलाई सोधे।

"यो सबै तपाईँको आशिर्वाद र कृपा हो, म जतिबेला तपाईँकै अधिनस्थ कर्मचारी थिएँ, त्यो बेला तपाईँले एकदिन मलाई झापड लगाउनुभएको बिर्सनुभयो ?"-नोर्बुले खुसी हुँदै भन्यो ।
"झापड पनि आशिर्वाद हुन्छ र?" सोधे उनले।
"किन हुँदैन ? तर झापड खानेले त्यसलाई आशिर्वाद सम्झनु पर्दो रहेछ"-नोर्बुले भन्यो ।

बाबुलाई अब थाहा भयो । थप्पड पनि आशिर्वाद हुन्छ भने आफ्नो छोरालाई उनले किन यतिञ्जेल थप्पड नदिइ राखे?

अहिले चन्द्रप्रसाद छोरो कमललाई के निहुँ पाउँ र झापड हानौँ भनी सोचिरहेका छन्। तर बुढेसकालमा थप्पड हान्दा छोराले त्यो आशिर्वाद नठानेर उल्टै उनलाई घोकर्‍यायो भने पो के गर्ने ?
यही चिन्तामा छन् अहिले चन्द्रप्रसाद ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।