१.वक्रोक्तिको परिभाषा
वक्रोक्ति संस्कृत भाषाको तत्सम् शब्द हो । वक्रोक्ति शब्द वक्र र उक्ति (आप्टे,सन् १९६९; ८८९) क्रमशः विशेषण र नाम शब्द समस्त भई बनेको शब्द हो । वक्रको अर्थ बाङ्गो, घुमाउरो वा कुटिल हुन्छ भने उक्तिको अर्थ भनाइ हो वा कथन हुन्छ । जस अनुसार वक्रोक्तिको अर्थ घुमाउरो वा कुटिल भनाइ भन्ने हुन्छ । नेपाली बृहत् शब्दकोशमा वक्रोक्तिलाई श्लिष्ट शब्दद्वारा गरिने उपहास वा व्यङ्ग्यको अर्थमा (२०५५;११९५) लिइएको छ । वक्रोक्ति सिद्धान्तका प्रणेता कुन्तकले शब्द र अर्थ अलङ्कार्य हुन् भने वक्रोक्ति तिनको अलङ्कार हो र विदग्धतापूर्ण सुन्दर कथनचाहिँ वक्रोक्ति हो (विश्वेश्वर,सन् १९९५;५१) भनी परिभाषित गरेका छन् । यसै परिभाषालाई प्रष्ट पार्दै महादेव अवस्थीले साहित्यिक कृतिमा प्रयोग गरिएका शब्द र अर्थ वा भाषा र भाव विषयवस्तु अलङ्कार्य हुन् र तिनलाई सुन्दर एवम् चमत्कारपूर्ण बनाउने तत्व वक्रोक्ति हो(अवस्थीः२०५५,५०) भनेका छन् । यसबाट सिद्ध हुन्छ कि कुनै पनि कृतिमा वाक्य रूपमा शब्द र त्यसबाट उद्भाषित हुने अर्थ हुन्छ । शब्द र अर्थ अलङ्कार्य हुन् तर यी शब्द र अर्थलाई सामान्य कथनमा वा बोलचालमा प्रयोग गरिने ढङ्गभन्दा पृथक तरिकाले भाषालाई सुन्दर र चमत्कार बनाउन प्रयोग गरिएको हुन्छ भने त्यो नै वक्रोक्ति हो । आचार्य कुन्तकले वक्रोक्तिका ६ भेद देखाएका छन् ः(आचार्यः१९९५;६४–९०) १.वर्णविन्यासवक्रता २.पदपूर्वार्धवक्रता ३.पदपरार्धवक्रता ४.वाक्यवक्रता ५.प्रकरणवक्रता ६.प्रबन्धवक्रता । वक्रोक्तिका यी ६ भेदहरूमध्ये कुनै पनि साहित्यिक कृतिको वर्णदेखि लिएर साहित्यिक कृतिकको वृहत्तम् प्रबन्धात्मक रूपमा सौन्दर्यपक्षसँग सम्बन्धित छन् ।
१.२ वर्णविन्यासवक्रता र भेद
वर्ण काव्यको आधारभूत वा पहिलोे अङ्ग हो । अनेक वर्णकोे संयोगबाट नै काव्यमा शब्दको निर्माण हुन्छ । वक्रोक्तिमा वर्णले स्वर अक्षर नबुझाई व्यञ्जन वर्णमात्र बुझाउँछ । वर्णविन्यासवक्रता भनेको कुनै पनि साहित्यिक कथनमा विशेष किसिमले सजाएर प्रकट गरिएका वर्ण वा अक्षरबाट प्रकट हुने वैचित्र्य वा सौन्दर्य हो । (अवस्थीः२०५५;५१) वर्णविन्यासवक्रतालाई कुन्तकले वर्णविन्यासवक्रता, द्विवर्णविन्यासवक्रता, बहुवर्णविन्यासवक्रता गरी तिन भागमा विभाजन गरेका छन् (विश्वेश्वर, सन् १९९५ ः५९) भने पछि कुन्तकले नै वर्णको ध्वनितात्विक उच्चारण प्रयत्नको आधारमा वर्गान्तयोगीस्पर्श वर्णविन्यासवक्रता, तलनादिवर्णविन्यासवक्रता र रकारादिवर्णविन्यासवक्रता गरी अर्का तिन भागमा विभाजन गरेका छन् । यिनै तिन प्रभेदहरू अन्य पूर्वीय साहित्यशास्त्रीहरूले निर्देश गरेका क्रमशः माधुर्यगुण–उपनागरिवृत्ति, प्रसादगुण–कोमलावृत्ति, र ओजगुण–परुषावृत्तिसँग सम्बन्धित छन् । वर्णविन्यासवक्रतालाई प्राचीन आचार्यले अनुप्रास अलङ्कारको रूपमा सकारेको कुरा कुन्तकले बताएका छन् (आचार्यः १९९५;६६) । यसरी आफू पूर्वका साहित्यिक तत्वका रूपमा रहंदै आएको गुण–वृत्ति जस्ता तत्वलाई कुन्तकले वर्णविन्यासवक्रताभित्र नै अन्तर्भाव गराएको देखिन्छ । यसरी विभिन्न वर्णविन्यासवक्रताको चर्चा गरी विभेदहरू निरूपण गर्दा कुन्तकले स्वल्पान्तरा र पुनबध्यमाना पदावलीमा जोड दिएका छन् । उनले सबैथरी वर्णविन्यासवक्रतामा व्यञ्जन वर्णहरूको पुनःपुनः विन्यास ससानो अन्तरालमै हुनुपर्ने कुरो पनि प्रस्ट पारेका छन् ।(अवस्थीः२०५५;५१)
२ पिकदूत खण्डकाव्यमा वर्णविन्यासवक्रता
पिकदूत नेपाली साहित्यका युवाकवि मोतीराम भट्टको खण्डकाव्यात्मक रचना हो । यस खण्डकाव्यको साझा प्रकाशनबाट प्रथम प्रकाशन २०२९ सालमा भएको हो । यस खण्डकाव्यको कवितात्मक कथनमा वर्णविन्यासवक्रताको प्रशस्त प्रयोग पाइन्छ । यसले खण्डकाव्यलाई चमत्कारपूर्ण, भावगाम्भीर्य, रमणीयता, श्रुतिपेशलता र लयमाधुर्य बनाएको हुन्छ । विप्रलम्भ श्रृङ्गारलाई वण्र्य विषय बनाई लेखिएको यस खण्डकाव्यमा बहुवर्णविन्यासवक्रता र रकारादि वर्णविन्यासवक्रताको प्रयोग अधिक भए तापनि अन्य वर्णविन्यास विषयानुकूल रूपमा प्रयोग भएको छ । वण्र्य विषय अनुरूप प्रयोग भएका यस खण्डकाव्यको वर्णविन्यासवक्रता सहज, स्वभाविक र प्राकृतिक छन् । यस खण्डकाव्यमा पाइने वर्णविन्यासवक्रतालाई निगमन विधिको आधारमा प्रस्तुत गरिएको छ ।
२.१ एकवर्णविन्यासवक्रता
कुनै एक वर्णलाई स–सानो अन्तरालमै बाँध्दा वा राख्दा प्रकट हुने वर्णविन्यासवक्रतालाई एकवर्णविन्यासवक्रता भनिन्छ ।(अवस्थीः२०५५;५१) यस काव्यमा प्रस्तुत एकवर्णविन्यासवक्रताको नमुना यस प्रकार छ :
ती आफ्ना भनि भन्नु व्यर्थ हुनगो
के हुन्छ आफ्नू भनी (पिकदूत :२०२९;६)
यस उदाहरणमा न वर्ण सबैभन्दा बढी ७ पल्ट आवृत्ति भई एकवर्णविन्यासवक्रता परेको छ । त्यस्तै,
भोली भोलि भनी भुल्यो अब भने
भारी दगामा प¥यो । (पिकदूत : २०२९;१३)
यस उद्धृत अंशमा भ वर्ण एउटै क्रममा ६ पल्ट आवृत्ति भएको छ । त्यसैले यहाँ एकवर्णविन्यासवक्रता परेको छ ।
२.२ द्विवर्णविन्यासवक्रता
कुनै दुई वर्णलाई स–सानो अन्तरालमै बाँध्दा वा राख्दा प्रकट हुने वर्णविन्यासवक्रतालाई द्विवर्णविन्यासवक्रता भनिन्छ ।(अवस्थीः२०५५;५१) जस्तै,
ख्ुाब खन्खान गरेर पोखरि पनी
खासा तयारी भयो
प्रेमको डोरी चुँड्यो गरूँ अब कसो
घल्चा बेपत्ता भयो । (भट्ट,२०२९;८–९)
यस कवितांशमा ख वर्ण ५ पल्ट र र वर्ण ७ पल्ट आवृत्ति भई चमत्कार सिर्जना भएको छ । यस प्रकार यस कवितांशमा ख तथा र दुई वर्णको आवृत्ति सबैभन्दा धेरैपल्ट भएकाले द्विवर्णविन्यासवक्रता परेको छ ।
ए पन्छी ! अब जा चटाक् हुन गई
संचार यो भन्दिएस्
यो संचार भनीदिइस् पनि भने
लाखवर्षसम्मन् जिएस्। (भट्ट,२०२९;१)
यस कवितांशमा न वर्ण ७ पल्ट र स वर्ण पनि ७ पल्ट आवृत्ति भई चमत्कार सिर्जना भएको छ । यस प्रकार यस कवितांशमा न तथा स दुई वर्णको आवृत्ति सबैभन्दा धेरै पल्ट भएकोले द्विवर्णविन्यासवक्रता परेको छ ।
प्यारो चन्द्र भनी चकोर चरिले
चूँ चूँ गरी ज्यू दियो (पिकदूत ः२०२९;४)
यस उदाहरणमा च वर्ण र र वर्ण ससानो अन्तरालमा सबभन्दा बढी ५ पल्ट र ४ पल्ट आवृत्ति भएको छ । यसरी यस कवितांशमा स–सानो अन्तरालमा च वर्ण सबभन्दा बढी आवृत्ति भएकोले द्विवर्णविन्यासवक्रता परेको छ ।
२.३ बहुवर्णविन्यासवक्रता
अनेक वर्णहरूलाई स–सानो अन्तरालमै फेरि फेरि बाँध्ने वा राख्ने कामबाट प्रकट हुने वर्णविन्यासक्रता बहुवर्णविन्यासवक्रता हो । (अवस्थीः२०५५;५१)
नाच्छन् प्वाँख फिँजारि रूख्मनि मयूर्
हेर्छन् चकोर चन्द्रमा
भन्भन् शब्द गरीवरी रस झिकी
झुल्छन् भ्रमर पूmलमा (पिकदूतः २०२९;१२)
यस कवितांशमा र वर्ण १० पल्ट, न वर्ण ८ पल्ट ,म वर्ण ५ पल्ट आवृत्ति भएको छ । यस प्रकार यस कवितांशमा र, न, म, वर्ण अनेकपल्ट आवृत्ति भएकाले यसमा बहुवर्णविन्यासवक्रता परेको छ ।
२.४ वर्गान्तयोगीस्पर्शवर्णविन्यासवक्रता
क देखि म सम्मका स्पर्श व्यञ्जन वर्णको आ–आफ्नो कवर्ग, चवर्ग, टवर्ग, तवर्ग र पवर्गका पञ्चम वर्ण क्रमशः ङ, ञ, ण, न र म सँगको संयोगमा आधारित वर्णविन्यासवक्रता वर्गान्तयोगीस्पर्शवर्णविन्यासवक्रता भनिन्छ । (अवस्थीः२०५५;५१)
क्यै काल्सम्म प्रचण्ड ग्रीष्म ऋतुको
गर्मी सह्यो अङ्गले
मन् आजित् हुन गो र दुःखि म भएँ
त्यै गर्मीका रङ्गले (पिकदूत २०२९;२)
प्रस्तुत उद्धृत कवितांशमा सम्म, प्रचण्ड, अङ्ग, रङ्ग शब्दमा पञ्चम वर्णको प्रयोग भएको छ । जसमध्ये सम्म शब्दमा म वर्णको पञ्चम वर्ण मसँग, प्रचण्ड शब्दमा ड वर्णको साथ ण पञ्चम वर्ण र अङ्ग, रङ्ग शब्दमा ब ग वर्णसँग पञ्चम वर्ण ङ वर्ण आई चमत्कार सिर्जना भएको छ । त्यसैले माथिको कवितांशमा वर्गान्तयोगीस्पर्शवर्णविन्यासवक्रता परेको छ । यस्ता वक्रताले यहाँ कवितात्मक कथनको वर्णविन्यासगत एवम् लयगत सौन्दर्य र श्रुतिमाधुर्य बढाउनका साथै वण्र्य विषयको पनि ओज झल्काएको छ । त्यस्तै,
के गर्ला अब चन्द्र पापि थपडा
पाई कलङ्की भयो (पिकदूत २०२९;२३)
यस उदाहरणमा पनि चन्द्र र कलङ्की जस्ता शब्दमा द वर्ण पञ्चम वर्ण न सँग र क वर्ण पञ्चम वर्ण ङ सँग प्रयोग भई वर्गान्तयोगीस्पर्शवर्णविन्यासवक्रता परेको छ ।
२.५ तलनादिवर्णविन्यासवक्रता
त, ल, न आदि वर्णको द्विरुक्तमा झल्कने वर्णविन्यासवक्रतालाई तलनादिवर्णविन्यासवक्रता भनिन्छ । (अवस्थीः२०५५;५१)
भन्नू कस्कन ती विना इ अहवाल
जान्नें छ कुन मर्मको (पिकदूत २०२९;२४)
प्रस्तुत कवितांशमा न वर्ण द्विरुक्त भई वक्रता सिर्जना भएको छ । त्यसैले यस कवितांशमा तलनादिवर्णविन्यासवक्रता परेको छ । यही चमत्कार नै यस वर्णविन्यासवक्रताको विशेषता हो ।
निस्के मत्त मयूर जसन्त ऋतुमा
प्वाँख खोलि नाचूँ भनी (पिकदूत २०२९;२४)
प्रस्तुत कवितांशमा त वर्ण द्विरुक्त भई वक्रता सिर्जना भएको छ । त्यसैले यस कवितांशमा तलनादिवर्णविन्यासवक्रता परेको छ । यस खण्डकाव्यमा तलनादिवर्णविन्यासवक्रता त्यति धेरै छैन । तलनादिकोवर्णविन्यासवक्रतको रूपसम्म पाइन्छ ।
२.६ रकारादिवर्णविन्यासवक्रता
र, रेफ आदि व्यञ्जन वर्णको ससानो अन्तरालमै हुने पुनरावृत्तिबाट प्रकट हुने वर्णविन्यासवक्रता रकारादिवर्णविन्यासवक्रता भनिन्छ । (अवस्थीः२०५५;५१)
थर्थर गराइ ह्यूँ छरि शिशिर
सिर्सिर गरी पाल्नु भो
साह्रै कम्प भई थकित् हुन गएँ
यस्तै हवाल् गर्नु भो (पिकदूत २०२९;६)
यस उद्घरणमा र तथा रेफ वर्ण प्रयोगमा वक्रता वा चमत्कार पैदा भएको छ ।
२.७ यमाकाभासवक्रता
सार्थक तर भिन्नार्थक अथवा निरर्थक स्वर व्यञ्जन समूहको त्यसै क्रममा आवृत्ति भई उत्पन्न भएको वक्रतालाई यमकाभासवक्रता भनिन्छ । यमकाभासवक्रता यमक अलङ्कारसँग मिल्दछ ।(आचार्यःः१९९५;६६) जस्तै,
वादलको दल आइ घेरिन गयो
आकाश ख्याल ख्यालमा (पिकदूत २०२९;३)
छारो उड्न गयो जसै दश दिशा
साह्ै अँध्यारो भयो । (पिकदूत २०२९;२)
बोल् बोल्ला मुनियाँ सुनेर मन क्यै
शीतल् त होला भनी (पिकदूत २०२९;२६)
माथिका उद्धृत कवितांशमा क्रमशःवादल÷दल, दश÷दिशा, बोल÷बोल्ला को प्रयोगमा यमकाभासवक्रता पाइन्छ । यस वक्रताले उल्लिखित कवितांश सहज र स्वाभाविक भाषिक वर्णचमत्कार पैदा गर्नुका साथै लयमाधुर्य पनि बढाएको छ ।
३ निष्कर्ष
१. कुन्तकका अनुसार वर्णको प्रयोगमा देखिने वैचित्र्यता वर्णविन्यासवक्रता हो ।
२. वर्णविन्यासवक्रता भाषाका स्वरव्यञ्जनवर्ण र ती वर्णबाट बनेका अक्षरहरूको पटकपटक प्रयोगबाट प्रकट हुन्छ । यसलाई अन्य अलङ्कार शास्त्रीहरूले अनुप्रास शब्दालङ्कार मान्दछन् । साथै गुण र वृत्तिलाई पनि वर्णविन्यासवक्रतामा नै लिन सकिन्छ ।
३. पिकदूत खण्डकाव्यमा वर्णविन्यासवक्रताको प्रयोग प्रशस्त छ ।
४. वर्णविन्यासवक्रताले साहित्यिक वण्र्यविषयलाई सुशोभित तुल्याई अर्थमा चमत्कार पैदा गर्छ । यो प्रयोग स्वाभाविक, सहज, चमत्कारपूर्ण र नवीन हुनु आवश्यक छ ।
५. वर्णविन्यासवक्रताको दृष्टिले पिकदूत सहज, स्वाभाविक, चमत्कार भएको श्रुतिपेशलता, लयमाधुर्य जस्ता विशेषताले भरिएको उत्कृष्ट खण्डकाव्य हो ।
सन्दर्भ सामग्री सूची
..........., नेपाली बृहत् शब्दकोश, पुनर्मुद्रण, काठमाडौंः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान,२०५५ ।
अधिकारी, हेमाङ्गराज, पूर्वीय समालोचना सिद्घान्त, छैटौँ संस्क.,ललितपुरःसाझा प्रकाशन,२०५६ ।
........................, वर्णविन्यासवक्रता र मुनामदनमा त्यसको प्रयोग, गरिमा ,
काठमाडौंः साझा प्रकाशन, २०५५,वर्ष १६,अङ्क १२,मङ्सिर, २०५५ ।
उपाध्याय, केशवप्रसाद, पूर्वीय साहित्य सिद्घान्त, चौथौँ संस्क., ललितपुरःसाझा प्रकाशन,
२०६१ ।
आचार्य, विश्वेश्वर, काव्यप्रकाश, पुनर्मुद्रण, वाराणसीः ज्ञानमण्डल लिमिटेड, सन् २००८ ।
....................., हिन्दी वक्रोक्तिजीवितम्, दिल्लीः आत्माराम एण्ड सन्स पब्लिसर्स, सन्१९९५ ।
आप्टे, वामन शिवराम, संस्कृत ह्रिन्दी कोश (दोसं), दिल्लीः मोतीलाल वनारसीदास, सन् १९६९ ।
पौडेल, विष्णु प्रसाद, संस्कृत काव्य शास्त्र, भुँडी पुराण प्रकाशन, २०५७ ।
भट्ट, मोतीराम, पिकदूत, काठमाडौंः साझा प्रकाशन, २०२९ ।