19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

भूत घर

निबन्ध चूडा मणि रेग्मी May 9, 2023, 6:23 pm
चूडा मणि रेग्मी
चूडा मणि रेग्मी

मेरी श्रीमतीको यसपालीको भनाइलाई मैले ढिपीको संज्ञा दिन सकिनँ र मैले स्वीकृति दिएँ – सिलगढी घुम्न जान । भद्रपुर बसेको चार वर्ष भइसक्यो – जब पनि छुट्टी मिल्छ, कि नेपालकै इलाम, कि रामपुर, कि पोखरा, कि जनकपुर, कि राजविराजतिर नै म गएँ । मेरो विचार के भने पहिले स्वदेश घुम्नुपर्छ । यसबाट लेख्न रुचि भएकालाई स्वदेशको अनुभव बढ्छ । यसले गर्दा सिलगढी त तिन वर्षपहिले गइयो, बनारस वा आमा भेट्न जान्छु – तर सिलगढी नजिकैको विश्वप्रख्यात दार्जिलिङ–कालिम्पोङ जान सकेको छुइनँ । तब नै सिलगढीसम्म घुम्न जाने आग्रहलाई समर्थन गरें । मेरा अरु दुई साथीहरूलाई पनि आग्रह गरें । भोलिपल्ट जाने तय भयो ।
विहान, भयो के भने एउटा लेख लेख्नु जरुरी थियो, प्रवचनको निम्ति । सोचें प्रवचनमा भाग नलिए पनि लेख तयार गर्नु मेरो कर्तव्य हो, नत्र मानको अपमान हुन जान्छ । मान्छे मानका निम्ति कति ध्याउन्ना गर्छन् ? तब म लेख्न बसें । यसको कारण १२ बज्यो । प्रायः भद्रपुरको विहान गलगलियाबाट रेल समायो एक–डेढ घण्टामा (४÷५ स्टेशन छन्) सिलगढी पुगिन्छ, दिनभरि काम ग¥यो, रातीको गाडीमा आयो गर्ने चलन छ । यो व्यावहारिक होटल खर्च बच्ने उपाय हो, तर ‘अल्छेका सात सुरे वीणा’ बजाउनु थिएन मैले । श्रीमतीलाई मनाई तयार पारी साथीहरूकोमा गएँ । मधेसे चलन – उहाँहरूको तयार थिएन भोजन । भन्सारमा एक साथीसित गएँ गाडीको समय सोध्न । बताए– “२ बजे छ एउटा ट्रेन ।” हतार हतार भात खाई, तयार भई मेचीमा पुग्दा गाडीले छक–छक आवाज दियो, हामी छक्क प¥यौं । एक त मेची नदीको किनार महान् र उदास ! चारैतिरजसो फुङ्ग देखिन्छ । मलाई कस्तो उदासी छायो भने सम्धी मरेकालाई पनि त्यस्तो नहोला ! फेरि किन हो किन पहाडी चरो म, रेलतिर जाँदा नरमाइलो लागेर आउँछ । मेची किनारको भर्खरको बाढीको सम्झना पनि आयो, जो ताजै छ – देख्दा मात्र साम्य भयो !
“रेग्मीज्यू ! ट्रेन त गयो !”
“के गर्ने !”
“के गर्ने जाने !” श्रीमतीले ढिपी सुरु गरिन् । मनमन सम्झें ‘स्त्रीहठ’ पनि प्रशिद्ध नै छ । साथीहरू खाएर लड्न पाउनुभएको थिएन । ‘खराब छ मन’ भन्दै हिड्न लाग्नुभयो र भद्रपुरबाट मेची नदी तरेपछि रेलवे स्टेसन गलगलिया एक माइलभन्दा बेसी छैन । एकै छिनमा स्टेसन पुगियो । सोधखोज गर्दा पत्ता लाग्यो – यसभन्दा अघि भर्खरै दुई ट्रेन गए – एउटा जनता लेट भएर भर्खर गयो । डेढ बजेको मेल ‘राइट टाइम’मा गयो । मैले साथीहरूलाई भनें – बिहान आएका भए पनि त कुर्नुपर्ने नै रहेछ । ‘लेखले काम ग¥यो ।’ श्रीमती थालिन् भन्न र साथीहरू उकुसमुकुसिनु भयो । ‘हामी कति अल्छे !’ म सम्झन लागें । यी कुल्लीहरू बिहानबेलुका काम गरिरहेछन् – लगातार । भद्रपुरका व्यापारीहरू बिहान हिड्छन्, बेलुका घर फिर्छन्, आज कलकत्ता, पर्सि जनकपुर गर्छन् । हाम्रै कति साथी १५÷१५ दिनमा सिलगढी आउँछन् । फोटो खिच्न, सिनेमा हेर्न फुर्तिसाथ युवकहरू आउँछन्, घर फिर्छन् ।
“ओहो रेग्मीज्यू ! अर्को गाडी साढे चार बजे छ, त्यो कटिहारबाट आउने पसिन्जर । तर अस्तिको दिन राती ८ बजे आएको थियो रे !”
“कस्तो लेट ! मरियो !”
“जतिखेर आउला नि ! सधैं ढिलो कहाँ आउला !” श्रीमती भन्न थालिन् । कान्छो छोरो स्टेसनका केटाहरूको कराई सुनेर उता गएको, खेलमा व्यस्त । मलाई मनमा लाग्थ्यो – कतै श्रीमती नरिसाऊन् ! साथीहरू भद्रपुर फिर्न सोच्तै थिए । श्रीमती भन्न थालिन् – “सबैले देखेका छन् । बाटैबाट फि¥यौं भन्दा खिसी उडाउँछन् !” मुखले त मैले भनें “आफ्नो बाटो जानुआउनुमा खिसी र स्तुतिको कुरा छैन !” तर मानिसको त्यस्तो व्यवहार रहन्छ । बेकारमा चियो, चर्चो, चुक्ली गर्ने सामाजिक प्रचलन छ, तर देशविकासमा कुन तत्त्व बाधक छ, तिर कोही त्यति ध्यान दिँदैन, तर व्यक्तिगत निन्दा, रहनसहनको चाहिँ निकै चर्चा हुन्छ ।
गलगलिया स्टेसन शून्य थियो । यसो हेरें – निर्जीव लाग्थ्यो । “मन एव मनुष्याणां कारणं बन्धमोक्षयोः” भनी गीतामा भनेको छ, सायद मेरो स्थितिले उराठ देख्तो हो ! तर त्यहाँ कुल्ली चामलका बोरा बोक्थे, त्यहाँ भुईंमा थालमा गरिब माटो उघाउँथे । कुरो थियो – धुलामा चामल हुन्थ्यो । दिनभरि ढुक्नेले एक छाक पु¥याउन सक्छ । पत्ता लाग्यो – त्यो चामल व्यापारी “नेपाल टु नेपाल” ल्याउँछन्, तर चामल जहाँ जस्तो छ, त्यहींको हुन्छ – भारतको पनि त्यो चामल हुन्छ, नेपालको पनि । “मिलाएर ल्याउँछन् र नाफा गर्छन् । तस्करी वृत्ति यो पनि रहेछ ! ओ ! हाम्रो समाजमा अर्थप्राप्तिका कति छन् चोरी, चलाखी !
एक छिन चियामा अल्मलियौं । सानासाना घुम्तीमा बसेको गलगलिया बजार भद्रपुरलाई सामान दिन्छ । पोहोर भारु–नेरु वरावर हुँदा यहाँ खुप चल्ती थियो, तर हाल स्टेसनका यात्रुका निम्ति होटल, पान, सिगरेट आदि सामान यहाँ रहन्छन् ।
एक जनाले भने– “मोटरबाट ठाकुरगन्ज जानोस् ! त्यहाँ एक मेल पाइन्छ छिटै सिलगढी पुगिन्छ ।” यो सुझाउ पनि हामीलाई लागेन ।
निकै वेर बित्यो मैले साथीहरूलाई भनें – “हाम्रो देश पहाडहरूले घेरिएको छ । त्यहाँ मोटरको अभाव छ । हामी तिन दिन चार दिन गोडैले हिड्थ्यौं र पनि भएकै छ । यहाँ २÷४ घण्टा कुर्न मुस्किल !” यसै बेला एउटा बङ्गाली हिन्दीमा फत्फताउन थाल्यो– “कैसा गाडी हय ! थोरा बाढ भाया, लेट ! कैसा काम होएगा !”
साथीहरूले अब हाम्रो दृढसङ्कल्प बुझ्नुभयो र धैर्यधारण गर्नुभयो । साँझ प¥यो । गाडी आएन । तब प्रश्न उठ्यो– “सिलगढीमा कहाँ बस्ने ? राती ढिलो पुगे के गर्ने ?”
“उही सबैले बस्ने होटलमा बस्नुपर्छ” श्रीमतीले भनिन् ।
“ठिक छ, तर ढिलो भइयो” भने साथीहरूले ।
साथीहरूले भन्नुभएपछि पो मलाई सम्झना भयो– “त्यो भूतघरमा ?”
उहाँहरूले केही भन्नुभएन । मैले मनमा सोचें – अफवाह ! अफवाह सत्य हुँदैन एकपल्टको सत्य सधैं सत्य हुँदैन भने त्यस होटलमा मान्छे मारियो भन्ने हल्ला छ – त्यसले हामीलाई के गर्छ ? त्यो मान्छे राती भूत भएर आउँछ पनि भन्छन् – भूतको अस्तित्व मात्र अन्धविश्वासमा छ । पैसा नहुनेलाई डर केको ? फेरि होटल त्यस्तो भए सरकार हेरिरहन्छ के ?” यस्तै तर्कवितर्क गर्दै साथीहरूलाई भनें– “भूतले त तर्साउन्न !” मेरो स्वर मजाकको थियो । “भूत ! अफवाह हो त्यो !” “कसैसित झगडा थियो – पर्चावाजी ग¥यो – बेकार हो त्यो !” मैले पनि होमा हो मिलाएँ र सही नै थापें । ६ बजे गाडी आयो, एउटा भावना पुरा गरिदिने र एक समस्याको समाधान एक बाहक आयो ठानें ।
डिब्बा त्यति धेरै भएको अथवा लामो त्यो गाडी थिएन । टिकट हामीले तेस्रो श्रेणिकै लिएका थियौं, यद्यपि दोस्रो लिने नै विचार थियो । परिवारवाला यो लाइनमा तेस्रा कक्षामा तिनै हिड्छन्, जो ज्यादै निर्धन छन् । यसैले हामी दोस्रा श्रेणिमा चढ्यौं ।
म यति भएपछि ढुक्क भएँ । एउटा हडवड, एउटा उकुसमुकुसले बिसाउन पायो । जीवन कस्तो ! टन्न मान्छे लिएर गाडी आउँछ, तिनैको डरले आतङ्कित हुन्छ । साथीले टीटीलाई सूचना गर्नुभयो । एक जना प्रौढ पाँचथरतिरका नेपाली पनि हाम्रै डिब्बामा बसे । “तेस्राको टिकट छ, दोस्रामा बसियो !” मैले साथीलाई भनेको मात्रै थिएँ, ती नेपालीले भने– “मैले टिकटै लिएको छुइनँ ।” म हाँसें । साथी पनि मुस्काउनुभयो । उनले भने– “टिकट नकाट्नेलाई टीटी मन पराउँछन् र धाप मार्छन् ।” अनि म झल्याँस्स भएँ दोस्रा श्रेणिको मार्यादित दुनियाँबाट । एकातिर गरिबीले हिन्दुस्थानीलाई भ्रष्टाचार गर्न वाध्य गराउँछ । अनि अर्कातिर कमाऊ पूँजीवादी प्रवृत्ति – यस्तो कानुनविरोधी काम गराउँछ ।
गाडी चल्यो – जीवनको गतिसरह । कहाँको मान्छे कहाँ जान्छ समयमा र कहाँको परिस्थिति परिवर्तित हुन्छ एकाएक । जीवन गतिविधि छ विचित्र । जे होस्, यो भिडभरा गाडी अँध्यारालाई चिर्दै हिडिरहेछ । साथीहरूसँग यताउति एक छिन गफ भयो, मलाई एकाएक एउटा कुराले बिरोल्न थाल्यो – आज भूतघरतिर बस्न गइँदै छ ।
भूत ! वास्तवमा, यो छैन तापनि यस विषयमा कुराहरू समाजमा गरिन्छन् । सानामा घरतलको चौतारामा तर्साउने आउँछ भन्थे र त्यहाँ राति हिड्न डर लाग्थ्यो । पाठशालामा पढ्दा थरिथरिका गफ सुनिन्थे । एक रात एक काफ्ले दाइले बताए – “मेरो गाउँमा एउटा भिर छ । त्यहाँ सधैं भूत हिड्छन् । मान्छे मरेको दिन निस्स्यै भूत आउँछन् ।”
ढकाल बा मरेको दिन सानामा म रातभरि सिरक ओढी सुतेको थिएँ – सारै बृद्ध ती आई तर्साउँछन् भनेर । एक दिन भद्रपुरमा एक दोकानमा गफ हुँदा काठमाडौंको कुनै विद्यालयको एक छात्रको मृत्यु वारे चर्चा भएको थियो । छात्र एउटी युवतीसँग प्रेम गथ्र्यो – रातीराती । दिनमा ऊ भात खाँदैन थियो । ऊ राती खान्थ्यो, जो अभक्ष हुन्थ्यो । हुँदाहुँदा ऊ एक दिन सारै बिरामी भयो । परिणाम ऊ म¥यो । कारण थियो कुनै दरवारमा हत्या गरिएकी युवतीको भूतसँग उसको लसपस भएको थियो ।
पहाडमा गोठमा राती आगो बालेर ताप्तै गोठाला भूतका कुरा गर्छन् । कुनै भूत फेटा बाँध्छन्, कुनै राँको लिएर आउँछन् । कुनै राती आएर ढुङ्गा हान्छन् । कुनै भूत बाटामा हिड्दाहिंड्दै ‘आइमाई’ भई खितितिति हाँस्छन् । कोही ठिङ्ग उभिन्छन् ।”
रेल स्टेसनमा उभिएर बङ्गालीले ‘गरम चना आसे’ भनेको सुन्दा म झसङ्ङ भएँ । उफ् ! म आफै थकित भएँ र मनलाई सम्झाएँ – “म त्यसै शङ्का गर्छु । त्यो अफवाह हो । भूत छैन पनि । अन्धविश्वास नै भूत हो ।”
“के सोच्नुहुन्छ ?” साथीले सोध्नुभयो ।
“जे भएपनि आइयो ।” मैले भनें । श्रीमती थकित जस्ती थिइन् । जेहोस् सबै प्रसन्नै देखियौं ।
सिलगडी ! आयो झिलिमिली । दार्जिलिङ जाने सानो रेल पनि देखियो । नेपाली अनुहार पनि धेरै देखिए । रेलबाट ओर्लिएपछि जक्सनबाहिर “दार्जिलिङ जाने ?” ड्राइभर भन्दै थिए, रिक्सा लिई हिड्यौं होटेलतिर ।
होटलमा साथीले बस्ने ठाउँ सोध्नुभयो । विशाल थियो होटल । झिलिक र मिलिक गथ्र्यो होटलको साइन बोर्डमा बिजुली । विज्ञानले व्यापारलाई सजाएको छ ! सोचें । एक जनाले लग्यो बस्ने ठाउँतिर, त्यो पनि विशाल थियो, टाउको ठाडो पारें – घर अग्लो थियो र अक्षर देखिन्थ्यो– “आराम गृह” । मैले सोधें यहाँ त “निवासस्थल” थिएन र ? मेनेजर थियो बाउन्ने खालको, बाख्रा आँखे मोटो मान्छे । उसले तब यसो हे¥यो र हिन्दीमा भन्यो “तपाईंहरू कहाँबाट आउनुभएको ?”
“नेपालबाट ।”
“ए भद्रपुरबाट ?”
“अँ !”
“तब त थाहा छँदैछ । सारा हल्ला हजुर, मान्छे विरामी भई म¥यो, होटेलले मा¥यो भनी हल्ला गरे । हेर्नोस्, यो होटेलको आम्दानी लाखौं छ । विरोधीको सेखी झार्न यो निवासस्थल भत्काइयो र यो झिलिमिली सुन्दर भव्य भवन बनाइयो । हाम्रो मालिक र विरोधीको होटलमा मात्रै ठुलो प्रतियोगिता छ । खर्च लाखौं भयो, तर विरोधीलाई मुख थुन्ने जवाफ दिइसकिएको छ ।” ऊ हाँस्यो ।
साथीले दुई कोठा ‘रिजर्व’ गराउनुभयो, प्रतिकोठा ३० लाग्ने हो, तापनि नेपाली कन्सेसन १० कट्टा गरी २०÷२० रुपियाँ लाग्ने भयो ।
भुईंमा मोटर, मोटरसाइकल र साइकलको जमघट थियो । “आउनोस् हजुर !” भन्दै मेनेजर आफैंले दुई तल्लामाथि हामीलाई लग्यो । सिंडी नै सुतूँ सुतूँको थियो । “हजुरहरू जो हामीलाई दया गर्नुहुन्छ, बस्नोस् हाम्रो कोठामा” भन्दै नंवर ६० र ६१ को कोठामा लग्यो– “तातो पानी । बरफ । चिया, कफि फ्री र यहाँहरूलाई मालिकलाई भनी खाना फ्री ल्याउँछु । यो होटेल बङ्गालीको होइन – नेपालीको हो ।”
हामी मख्ख प¥यौं । कोठा साफ, पलङ दुईटा । विस्तरा बाक्लो – स्प्रिङदार खाटमा । पङ्खा, बिजुली, कुर्सी गद्दादार, टेबुल, ऐना, भित्र बाथरुम तथा चर्पी । सजिएको कोठा ! सम्झियौं – आज स्वर्गपुरी भेटिएको छ । “एक दिनका वादशाह !” साथीले भन्नुभयो । हुन पनि हामी नेपालीको के छ र आम्दानी ? हामी तैपनि रहर गरी विदेश घुम्छौं र एक–दुई दिनको लिन्छौं आरामी । हामी व्यक्तिगत सुख, त्यो पनि छिनको निम्ति, निकै हुन्छौं परिश्रमी !
एक छिन बजार डुल्यौं । खानापिना हामीले बाहिरै खायौं । “मेनेजरको छट्याइँ सम्झी माछा भात ठटायौं । भारत पकिस्तान लडाईंपछि राती प्रायः बजार सुनसान हुँदोरहेछ र सिनेमा छिट्टै सुरु भएछ । त्यसैले आफ्नो आरामकक्ष घु¥यौं । गुन्द्रीमा बस्ने हामी बस्यौं गद्दादार सिटमा र थाल्यौं सिग्रेट उडाउन । हामीले यताउति गफ गरी निकै समय बितायौं । साथीहरूले होटलको उन्नतिको साथै व्यवस्थाको निकै तारिफ गर्नुभयो । एक साथीले म सुत्न गएपछि भन्नुभयो– “डर लागे बोलाउनू !” मेरो ‘साइकोलोजी’ अध्ययन गर्नुभएछ ।
कोठामा श्रीमती निदाइसकेकी – शून्य र अहिले लाग्यो – उदास ! लुगा फुकालेर लुङ्गी फेरें अनि सुतें आफ्नो खाटमा बत्ती र पङ्खा चलिरहेको थियो । कातिकको दिन सिरक पनि थियो, ओडें । रेलको धङ्धङी र गलगलियाको बेकार बसाइको थकाइले होला । थोरै रिङटा लाग्यो । एक छिन आर्थिक क्षति सोचें । कन्सेसन पाएर पनि ट्वाक्कै एक रातको बसाइ बिसको ! अर्कातिर भद्रपुरको धुलोमय वातावरण र सिलगडीको यो चहलपहल र उज्यालो वातावराण्को पनि तुलना गरें । एक छिनमा सोचें– आनन्द के हो र ? आनन्द मूर्खतामा छ । यस्तै अन्तदर््वन्द्व चल्दाचल्दै कताबाट हो ढ्वाङ्ग आवाज आयो अनि त मेरो भित्री भुईंमा बिष्फोट भएझैं भयो । म आँखा चिम्लिएरै सुत्छु ननिदाए पनि । तब आँखा खोलेर यताउति हेरें – श्रीमती सुईंसुईं निदाइरहेकी । पङ्खा घुमिरहेको, बिजुली बलिरहेको । बाथरुमतिर गएँ र आएँ अनि त्यताको ढोका दरो गरेर लाएँ । यसो हेरें – कोही छैन । सोचें – मेरो कम्जोरी कसैले देखेन । फेरि सुतें । १० मिनटपछि एउटा कुकुर भुक्यो र मेरो तन्द्रा टुट्यो । आँखा खोलें – पङ्खा घुमिरहेको छ । बत्ती बलिरहेको छ । धिक्कार ! सिरक ओढें र गुटुमुटु भएँ । लाग्यो – बाहिर कोही आइरहेको छ । के भूतै हो त ? जुरुक्क उठें – उही कोठा उस्तै ! सोचें – यो घर भत्कियो र नयाँ बन्यो, किन ? अफवाह फैलियो किन ? सिनेमाका कुरा सोचें – कति होटेलका जासुसी दृश्य । उता बाथरुमपटिको ढोका राम्ररी लागेको थिएन । अब मैले विचार गरें – बत्ती पङ्खा बन्द गर्नु पर्छ । स्वीचहरू हेरें, कुन पङ्खाको, कुन बत्तीको एउटा स्वीच दबाएँ, बत्ती निभ्यो । फेरी बालें किनभने पङ्खा पहिले निभाउनु थियो । एउटा स्वीच थिचें – सारा होटेलघर थर्किने गरी घण्टी के बजेथ्यो – हात झिकिहालें, मुटु ढुक्–ढुक् ढुक्–ढुक् ग¥यो । हरे गल्ती ! आयो भने कोही ! गुटुमुटु भएँ चुपचाप ! चुपचाप !
उज्यालो भएपछि साँच्चै कोठा आरामप्रद थियो । चिया–नास्तापछि बजार डुल्यौं । सामान किन्यौं र मेनेजरसँग विदा लियौं । मेनेजरले विदाइ हुँदा मलाई सुटुक्क भन्यो– “हजुर, घण्टीको अर्थ मैले बुझेको छु । फेरि पनि पाल्नुहोला !”
यात्रा यस्तै भयो । एउटा बाँकी कुरा भनूँ । यो सारा घटनाको चर्चा मैले श्रीमतीसमक्ष भद्रपुरमा गर्दा उनले भनिन्– “धत् ! भूतघरको कुरा किन गर्नुभएन ? जानेको भए म त्यहाँ बस्ने थिइनँ, खाने थिइनँ र त्यसरी निदाउने थिइनँ ।” यस जवाफले फेरि म कति सन्तुष्ट भएँ, के भनौं !

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।