17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

सहन शक्ति

लघुकथा डा. विदुर चालिसे May 10, 2023, 2:26 am
डा. विदुर चालिसे
डा. विदुर चालिसे

युध्दको महान कार्यका बेला नियत र नसिहत दुवै दुखदायी घटनामा परिणत भएका बेला छात्रावासमा रहेका छात्राहरू युध्दमा जान जब तयार हुँदैनथे र प्रतिवाद गर्दथे । त्यसको निर्णय भारको चर्काे चाप प्रमुखलाई पर्नु स्वभाविक थियो । केरकार, झिनाझम्टी र यातनाको कुनै सिमा रहन्नथ्यो । जन कारवाहीका कोर्रा यता निकै उचाइमा थियो ।
––“वर्ग शत्रु !”
हेड सरको मनोतरङ्ग उच्च हुन्थ्यो । आजीवन जनताको सेवा गरेका शिक्षा सेवीमाथि वर्ग शत्रुको आरोपले दिन दयालु समय अर्काे मर्माहत बन्थ्यो ।
––“भन्दिन, अहँ भन्दिन, मर्न परे पनि निर्णय गर्दै गर्दिन !”
गुप्त कोठाको चिसो छिंडीमा एउटा जब्बरजस्त मान्छे कराइरहेथ्यो । मसिनो आवाज घान्द्राङ घुन्द्रुङ गरेर फुस्किरहेको थियो । उसलाई भकुर्ने मानिसहरूले थर्काइरहेको सुनिन्थ्यो । तर पनि धिमा धिमाका दुष्ट आवाजहरूको खासखास कुरा बुझिदैन थियो ।
––“तैँ हैनस जोकर सर भनेको ?”
––“हो, मै हुँ !”
––“अनि हेड सर भनेको नि तैँ हैनस ?”
––“हो, हेड सर भनेको पनि मैँ हो !”
––“तेरो नाम ?”
––“विजय !”
––“कलेजमा गल्स होस्टेल राखेर छात्राहरूलाई बलात्कार गर्ने तैँ हैनस् ! खुब विजय हुँ भनेर हुँकार छोड्छस् !”
चर्काे युध्द दम्भको फर्मानका बीच निरीह हेड सर जोकरका रूपमा केरिँदै थिए । निकै चर्काे उचाइमा बेथा चर्किरहेको थियो । उता सेनाको सर्च टुकडी सशक्त अभियानमा थियो ।
––“साप ! होस्टलमा त तीनजना केटीहरू मात्र छन् ।”
––“अरू कता गए रे ? अरू राति नै उठेर भागे रे ! तिनीहरू चाहिँ घर टाढा भएर गएन छन् ।”
––“त्यसो भए, ती तरूनीहरू त्यही बसेछन् ?”
––“छन् साप ! ‘ब्वाइलरहरू’ !”
सिपाईं आफ्नो साहेबलाई जासुसी बताइरहेथ्यो । त्यसपछि त्यो रात साहेब त्यहाँबाट टोलीलाई लिएर छात्रावासको सर्च गर्ने निहुँमा हिंडे । छात्रावास सर्च सकियो ।
––“साप ! युध्द विराम भएछ ।”
सिपाईं आफ्नो साहेबलाई जाहेर गरिरहेको थियो ।
––“कमाण्डर, युध्दमा हाम्रो जीत भयो रे !”
उज्यालो हुने समय थियो । सत्ता अनि जनयुध्दको पूर्ण विरामको समाचार टेलिभिजन र रेडियोमा व्याप्त थियो । युध्दविरामको हौसलासँगै कलेज हेडसरको लास रगताम्य भएर ढलिरहेथ्यो । शुभेच्छुक, आफन्त र समर्थकहरू शोकमग्न थिए ।
––“देश बदलियो त ?”
हेड सरको हत्या गर्ने कुनै अपराधी भेटिएको थिएन । हेड सरका आफन्तजन जासुसीको आरोपमा थिए । तर उनीहरूको ‘सहन शक्ति’ यति धेरै थिए । हरपल मरिमरी बाँचिरहेकाहरू जल समाधीमा डुबिरहेथे । अचेल ‘जोकर सर’ नामको पराजित समाजको हेड सर सुनसान समयका बीच पक्ष विपक्षका गुपचुप योध्दा थिए । धरापमा थिए, मारिए । कस्ले मार्याे ? प्रमाण जलिसकेको थियो । हल्लै हल्लामा बजार पिटियो ।
––“जिम्मेवार दुश्मन !”
कलेजबाट खेदिएको दिन छात्रछात्राहरू सहन नसकेर “शोकलाई शक्तिमा” बदल्ने घोषणा गर्दथे ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।