भनिन्छ यस धर्तीमा जन्म लिनेले जन्मसँगै मृत्यु लिएर आएको हुन्छ । मृत्यु शाश्वत सत्य हो । यो जान्दाजान्दै पनि आफन्तको मृत्युको पीडाले छट्पटाउँछ बाँच्ने मान्छे । सजिलै स्वीकार्न गाह्रो हुन्छ उसलाई । अनि मृत्युको यथार्थलाई बिर्सेर खोसेर ल्याउन मन लाग्छ मृत्युको मुखबाट र पुनःस्थापना गर्न मन लाग्छ । तर सकिँदैन । जे सत्य हो त्यसलाई स्वीकार गर्नु बाँच्नेहरूको बाध्यता हो ।
विनय सरलाई सम्झनुपर्दा, छोटो समयमा उहाँसँगका थुप्रै कुराकानी र घटनाका चित्र सङ्गृहीत म आपैm एउटा एल्बम हुँ जस्तो लाग्छ । ती सबै चित्र ताजै छन् स्मृतिमा र व्युँझाइरहन्छन् बेलाबेलामा । बिर्सन कठिन हुन्छ । जब म बालकथा लेखूँ भनेर कम्प्युटर अगाडि बस्छु, सल्बलाउन थाल्छन् ती चित्रहरू स्मृतिमा । उहाँ हुनुहुन्न, अब आउनुहुन्न भन्ने सम्झनाले पनि छट्पटिन्छु । अभिभावक गुमाउनुको पीडाले बोझिलो हुन्छ मन ।
विनय सरलाई मैले पहिलोपल्ट २०६९ सालमा उहाँकै निवासमा भेटेकी हुँ । नाम सुनेको भए पनि भेट्ने मौका जुरेको थिएन । पारिवारिक भेटघाटको क्रममा म मेरी फुपू दुर्गा पौडेलसँग त्यहाँ पुगेकी थिएँ । मकहाँ आउनुभएको बेला फुपूले भन्नुभयो, “विनय दाइ, गङ्गा मेडमको घर पनि यहीँ नजिकै हो । चिनजान हुन्छ, हिँड जाम !” हामी विनय सरको घरतिर लाग्यौँ । करिब दश मिनेटको हिँडाइपछि उहाँको घरमा पुग्यौँ ।
हँसिलो अनुहार लिएर ढोकामै स्वागत गर्न आउनुभयोे गङ्गा मेडम । विनय सर बैठक कोठाको सोफामा बस्नुभएको थियो । नमस्कारको आदानप्रदान चल्यो ।
“यो लेखनाथ दाइकी छोरी हो । मेरी भदै !” भन्दै फुपूले मेरो परिचय गराइदिनुभयो ।
“ए कस्तो काटीकुटी बाबाको अनुहार रै’छ । । मलाई त दाइलाई नै भेटेजस्तो भयो । लेखनाथ दाइलाई पाल्पामा पार्टीको स्कुलिङको बेला पहिलो पटक भेटेको थिएँ । त्यसपछि दुर्गाजीको घरमा एकपटक झुलुक्क मात्र भेट भएको थियो । आज उहाँको छोरीलाई भेट्न पाएँ । कस्तो खुसी लाग्यो !” गङ्गा मेडमले आत्मीयताभाव प्रकट गरिरहँदा विनय सर मुसुमुसु हाँसेर हेरिरहनुभएको थियो ।
गङ्गा मेडम र दुर्गा दिदी बैठक नजिकै रहेको भान्सातिर लाग्नुभयो । म विनय सर बस्नुभएको सोफा नजिकैको सोफामा बसेँ । सामान्य पारिवारिक कुराकानी भए । कामको सन्दर्भमा उहाँले सोध्नुभयो, “तपाईं के गर्नुहुन्छ ?”
“बिहान पार्ट टाइम पढाउँछु । रेडियोमा काम गर्ने रहर लागेर रेडियो सगरमाथामा भोलन्टियरको रूपमा एउटा कार्यक्रम चलाउन थालेको छु । रेडियो लुम्बिनीमा काम गर्ने रहर थियो । बिहे भएर यता आएपछि रहर रहरमै सीमित भयो । अहिले सिक्दै छु ।”
अलि गम्भीर हुँदै उहाँले भन्नुभयो, “रेडियो लुम्बिनीको स्थापना गर्ने बेला प्राविधिक टोलीसहित हामी त्यहाँ पुगेका थियौँ । लेखनाथजीसँग पछिल्लो समय त्यहीँ भेट भएको थियो । पछि एक्कासी अन्नपूर्ण पोस्टमा उहाँको निधनको खबर पढेँ । बडो दुःख लाग्यो ।”
पितृशोकको पीडा मनभरि थियो । अनायासै आँखा रसाएर आए । सायद सरले थाहा पाउनुभयो कि कुन्नि ? कुरालाई मोड्दै फेरि सोध्नुभयो, “तपाईं अरू केही लेख्नुहुन्छ कि ?”
आँखामा टिल्पिलाएको आँसुलाई भित्रै विलाउने कोसिस गर्दै मैले भनेँ, “अरूले लेखेका साहित्य पढ्दा लेख्ने रहर जाग्छ । कहिलेकाहीँ कविता कोर्छु तर ती डायरीमै छन् । यही नै लेख्छु भन्ने छैन । विद्यार्थी कालमा कविता, निबन्ध लेख्ने गर्थेँ ।” सरले “ए !” भन्दै टाउको हल्लाउनुभयो । एकछिन केही बोल्नुभएन । गङ्गा मेडम र दिदी पनि सोफामा बसेर चिया पिउँदै लेखनकै कुरा गरिरहनुभएको थियो । त्यसै सिलसिलामा बालकथा लेखनको पनि चर्चा चल्यो ।
“बालबालिकाले धेरै समय आमासँग बिताउँछन् । बच्चाको आनिबानी, रुचि के छ भन्ने कुरा आमालाई जति अरूलाई थाहा हुँदैन । बालबालिकालाई सही दिशामा डो¥याउन महिलाले बालसाहित्य लेख्नुपर्छ !” उहाँले विदेशमा धेरै महिला बालसाहित्यकार रहेका उदाहरण पनि दिनुभयो ।
मैले पनि लेख्न मन लागेको तर के लेख्ने भन्ने आइडिया नभएको कुरा गरेँ । “तपाईंका छोराछोरी पनि साना रहेछन् । स्कुलमा पनि केटाकेटीसँगै हुनुहुन्छ । भनेपछि त तपाईंलाई केटाकेटीको बारेमा धेरै कुरा थाहा हुन्छ । बालसाहित्य लेख्ने गर्नुस् न ! लेखेर पठाउनुस् । म हेरेर सुझाव दिउँला !”
सेतै फुलेको कपाल, बाटुलो चेहरा, शान्त र शालीन व्यक्तित्व । कम बोल्ने तर निकै विचार गरेर बोल्ने, ठ्याक्कै बुबाको जस्तो स्वभाव ! पहिलो भेटमै यति स्नेहीभावले लेख्नलाई प्रेरित गर्ने उहाँको सरलपना देखेर म निकै प्रभावित भएँ । मलाई गुमाएको अभिभावक पुनः भेटेजस्तै लाग्यो । केहीबेरको बसाइपछि हामी विदा भएर निस्कियौँ । उहाँको ‘बालसाहित्य लेख्ने गर्नुस्’ भनेको वाक्य कानभरि गुञ्जिरह्यो । एक पिताले छोरीलाई दिएको आशिर्वचनजस्तै लाग्यो । त्यतिबेलै मनमनै प्रण गरेँ, ‘म पनि बालसाहित्य लेख्छु !’
चाउचाउले बालबालिकाको स्वास्थ्यमा पारेको असरबारे एउटा कथा लेखेर पठाएँ । भोलिपल्ट नै उहाँको इमेल आयो । “कथाको विषयवस्तु राम्रो छ तर कथालेखनका टेक्निक सिक्नुपर्छ । बसेर छलफल गरौँला । फुर्सत मिलाएर आउनुहोला !”
“कस्तो टेक्निक सिकाउनुहुन्छ होला ?” मनमा यस्तै प्रश्न आए । छिट्टै भेटेर सिक्न पाए हुन्थ्यो भन्ने हुटहुटी मनमा जाग्यो ।
आइतवार पारेर बलरामजी र म दुवैजना विनय सरलाई भेट्न गयौँ । मेडम ज्वाइँ पनि आउनुभएको भनेर खुसी हुनुभयो । उहाँहरूको आतिथ्य र आत्मीयताले मलाई माइतीघर पुगेजस्तै भयो । विभिन्न विषयमा कुराकानी भए । कुराकानीका क्रममा विनय सर र गङ्गा मेडमले एकअर्कालाई गर्ने सम्बोधन, एकअर्काप्रतिको सम्मान र आदरभाव देखेर हामी निकै प्रभावित भयौँ । कस्तो आदर्श जोडी ! मनमा यस्तै भाव आयो ।
केहीबेरको गफपछि हामी फर्किने तरखरमा थियौँ । सरले एउटा हस्तलिखित पेपर मेरो हातमा दिँदै भन्नुभयो, “यसलाई टाइप गरी पठाउनुहोला !”
घरमा आएर मैले टाइप गरेर पठाएँ । त्यसको दुईतीन दिनमा “इमेल पाएँ । धन्यवाद । कथा लेख्दै गर्नुहोला ।” भन्ने इमेल आयो । मैले दुइटा अरू कथा पनि लेखेर पठाएँ । म प्रतिक्रियाको पर्खाइमा थिएँ । धेरै दिनसम्म केही प्रतिक्रिया आएन । तर एकदिन अचानक सरको फोन आयो ।
“बुटवलमा कथालेखन कार्यशाला हुँदै छ । तपाईं जानुहुन्छ ? जानुहुन्छ भने नाम टिपाउँछु !” मैले “हुन्छ जान्छु” भनेँ र कार्यक्रम हुनेभन्दा एक दिन अगाडि नै गएर माइत बसेँ । भोलिपल्ट सरहरू पुग्नुभयो । बुटवलको बिटिआईको अतिथिगृहमा कार्यक्रम थियो । म र दुर्गा दिदी सँगै गयौँ । त्यहाँ पुग्दा केही परिचित र केही अपरिचित अग्रज स्रष्टा पुगिसक्नुभएको थियो । अभिभावक सचेतना कथालेखन कार्यशाला तीन दिनसम्म चल्यो । अग्रज व्यक्तित्वहरूसँग बसेर उहाँहरूका कथा सुन्ने र आपूmले पनि लेखन अभ्यास गर्ने अवसर पाएकोमा आपैmलाई धन्य ठानेँ ।
त्यसपछि मैले छोटा छोटा कथा लेख्दै पठाउँदै गर्न थालेँ । तर मनमा लागिरहन्थ्यो, ‘लेखेर मात्र के गर्ने ? आपूmले लेखेका कथा बालबालिकासम्म कसरी पु¥याउने ? कसले छापिदिन्छ र ?” एकदिन कुरैकुरामा सरसँग यस्तै प्रश्न गरेकी थिएँ ।
“लेख्दै जानुस् न ! छाप्नलाई हतार गर्नहुन्न ! एक न एकदिन छापिइहाल्छ नि !” सरले मनमा आशा जगाई दिनुभएको थियो । नभन्दै केही समयपछि मेरो एउटा बालकथा नागरिकको जुनकिरीमा छापिएर आयो । सरले नै पठाई दिनुभएको रहेछ । पहिलो पटक आफ्नो कथा पत्रिकामा छापिएको देख्ख्दा म दङ्ग परेँ । त्यसले ममा लेखनप्रति हौसला मिल्यो । सरकै सल्लाहमा म बालवाङ्मय तथा अनुसन्धान केन्द्रको सदस्य पनि बनेँ । ठ्याक्कै मिति बिर्सिएँ । पुल्चोकको एट डिग्री रेस्टूराँमा स्वीडिस बालसाहित्यकारहरूसँगको जमघट थियो । त्यसै कार्यक्रममा काठमाडौँका प्रतिष्ठित बालसाहित्यकारहरूसँग चिनजान गर्ने मौका मिल्यो । सरको क्रियाशीलतामा बालवाङ्मय तथा अनुसन्धान केन्द्रले हरेक महिनाजसो कार्यक्रम गरिरहन्थ्यो । त्यस्ता कार्यक्रमहरूमा सहभागी हुन थालेपछि लेखनप्रतिको मेरो रुचि बढ्दै गयो ।
पोखरामा आयोजना भएको ‘पोखरा र पर्यटन’ विषयक बालकथालेखन कार्यशालामा जाँदा काठमाडौँबाट म मात्र महिला सहभागी थिएँ । पोखरा पुग्दा मिश्र बैजयन्ती दिदी र तारा पराजुलीसँग चिनजान भयो ।
वि.सं. २०७१ मा मेरो पहिलो बालकथासङ्ग्रह चङ्खे स्याल र लाइफ ज्याकेट प्रकाशित भयो । पुस्तक प्रकाशित भएपछि सरले खुसी हुँदै भन्नुभयो, “बालसाहित्य लेख्नु भनेको बालबालिकालाई असल मार्गतिर डो¥याउन प्रेरित गर्नु हो । अब लेख्ने बालकथाहरू रहरले मात्र हैन, एक जिम्मेवार लेखक भएर लेख्नुपर्छ । उद्देश्यमूलक बालकथा लेखनतर्पm ध्यान दिनुहोला !” यी वाणीहरूले बेलाबेलामा झक्झक्याई रहन्छन् ।
बालवाङ्मय तथा अनुसन्धान केन्द्रका कार्यक्रमहरू देशका बिभिन्न ठाउँमा गरिने भएकोले सधैँभरि एकैजना मात्र जान सम्भव थिएन । त्यसैले अरू सदस्यहरू पनि बालकथा लेखन प्रशिक्षणका लागि तयार हुनुपर्छ भन्ने सरको धारणा थियो । यसरी ‘आपूmले मात्र जानेर हुँदैन, अरूलाई पनि लेखन र प्रशिक्षणमा दक्ष बनाउनुपर्छ’ भन्ने ध्येय राख्ने सरमा पछिल्लो पुस्ता कथालेखन प्रशिक्षणका लागि तयार हुनुपर्छ भन्ने चाहना थियो । अरूलाई पनि लेखनमा दक्ष बनाउने अचम्मको कला थियो उहाँमा ।
यसै सिलसिलामा कथालेखनको प्रशिक्षक प्रशिक्षण (त्इत्) कार्यक्रम मकवानपुरमा भएको थियो । उक्त तालिममा गङ्गा मेडम र म दुईजनामात्र महिला सहभागी थियौँ । यो तालिम लिएपछि विद्यालयस्तरीय बालकथा लेखनमा सहायक प्रशिक्षकको रूपमा पनि सहभागी हुने मौका मिल्यो । कतिपय कार्यशालामा महिला सहभागीको रूपमा एक्लै जानुपर्दा अप्ठेरो मान्थेँ ।
सरले सम्झाउनुहुन्थ्यो, “एक्लै पनि हिँड्न सिक्नु पर्छ । नहिँडेसम्म समाज बुझिँदैन । मानिस चिनिँदैन । तपार्इंजत्तिको पारिवारिक पृष्ठभूमि भएको मान्छेले पनि त्यसो भने अरू महिला कसरी अघि आउलान् ?”
मैले “मेरो एकजना साथी हुनुहुन्छ । सदस्य बनाउन पाए हुन्थ्यो । महिला सहभागिता पनि बढ्ने थियो” भनेर कुरा राखेँ ।
उहाँले “कस्तो विचारधाराको मान्छे हो ?” भनेर सोध्नुभयो । मैले यसरी सोध्नुको कारण जान्न चाहेँ । उहाँले आपूmले गर्न लागेको प्रोजेक्ट अर्कैले लगेको घट्ना सुनाउनुभयो । सायद उनीहरूसँगको विश्वास टुटेको थियो । त्यसले उहाँलाई दुःखित तुल्याएको रहेछ । संस्थामा सदस्य बनाउँदा पनि आपूmलाई विश्वास लागेको र विचार मिल्ने साथीहरूमात्र बनाउनुपर्छ भन्ने उहाँको आशय थियो ।
मैले “मिल्ने साथी हो । उहाँ पनि लेखनमा रुचि राख्नुहुन्छ” भनेँ । सरले “हुन्छ, भन्नुहोस् न !” भन्नुभयो । यसरी विस्तारै अरू महिला सदस्य थपिँदै जानुभयो ।
विनय सरकै अगुवाइमा बालसाहित्यमा महिला सहभागिता विषयक गोष्ठी पनि गरियो । कार्यशाला गर्दा संस्थाका सदस्यबाहेक बालसाहित्यमा कलम चलाउने स्रष्टाहरूलाई बढीभन्दा बढी समेट्नुपर्छ भन्ने विचार थियो उहाँमा ।
विनय सरको कार्यकालमा धेरै कार्यक्रम भए र कार्यशाला गरिए । अभिभावक सचेतना, पर्यटन र पर्यावरण, सूचना प्रविधि, स्वास्थ्य, किशोर–किशोरीका समस्या, वातावरण, जलवायु परिवर्तन, यसको प्रभाव र जोगिने उपाय, सीप र रोजगारी र संस्मरणलेखन, बालकथा सम्पादन, लघुकथा लेखनजस्ता अनेकौँ विषयमा कार्यशालाहरू भए । कार्यशालाबाट सिर्जना भएका कथाहरू छापिँदै पनि गए ।
जुनसुकै विषयमा बालकथा लेखन गर्नुपरे पनि त्यसको गहन अध्ययन र खोज गर्ने सरको जाँगर देखेर छक्क पर्थेँ । त्यो उमेरमा पनि सरको जाँगर र सक्रियताले आपूmमा पनि ऊर्जा थपिन्थ्यो । एकदिन कामको सिलसिलामा म त्यहाँ पुग्दा सर काममा व्यस्त हुनुहुन्थ्यो । उहाँ पुराना फाइलहरू पल्टाई रहनुभएको थियो ।
एउटा लिफाफा देखाउँदै भन्नुभयो, “यी सबै कागजपत्र छुट्याएर केही मदन पुस्तकालयको लागि दिने विचारमा छु । आज पुराना चिठीपत्रहरू छुट्याउने क्रममा लेखनाथजीको चिठी भेटेँ ।” त्यो २०३० सालतिर बुबाले पाहुर पत्रिकाको सम्पादकलाई लेखेको चिठी रहेछ । त्यतिबेला पाहुर पत्रिकाको सम्पादक विनय सर हुनुहुन्थ्यो । बुबाको हस्तलिखित चिठी देखेर छक्क परेँ । कति पुराना कागजपत्रहरू सङ्ग्रह गरेर राख्नुभएको रहेछ । नतमस्तक भएँ उहाँको त्यो सङ्ग्रह देखेर ।
खाली बस्नै नसक्ने हरबखत लेखन, अध्ययन र अनुसन्धानको काममा व्यस्त रहने बहुआयामिक व्यक्तित्वका धनी विनय सरका अनेकाँै विशेषता थिए । मिठो बोल्ने, अत्यन्त सरल र शालीन, सधैँ अध्ययन र चिन्तनमा लागिरहने यस्ता प्रेरक व्यक्तित्वलाई सम्झिँदा पनि हृदयदेखि नै सम्मान जागेर आउँछ, जुन शव्दले व्यक्त गर्न सकिन्न ।
दुई÷दुई पटक ओपनहर्ट सर्जरी गरिसक्नुभएका विनय सरले बेलाबखत झस्काउनुहुन्थ्यो, “मेरो मुटुले ३५ प्रतिशत मात्र काम गरेको छ । मेरो स्वास्थ्यस्थिति हेर्दा कतिबेला के हुन्छ भन्न सकिन्न । गर्नुपर्ने काम धेरै छन् । तपाईंहरूलाई दिनसक्ने जति दिएर जाने इच्छा छ ।” सरको यस्तो अभिव्यक्ति सुन्दा कताकता डर पनि लाग्थ्यो । त्यो अभिभावकत्व, त्यो छहारी सधैँ मिलिरहोस् भनेर कामना गरिरहन्थ्यौँ हामी ।
तर समय यत्ति क्रुर भैदियो कि हामी जे नभैदिओस् भनेर कामना गथ्र्यौँ, नियतिले त्यही रोज्यो । २०७६ कार्तिक उहाँलाई सामान्य रुघाखोकीले समातेको थियो । स्टार हस्पिटल हुँदै मेडिसिटीमा भर्ना हुनपुग्नुभएका उहाँको स्वास्थ्यस्थिति झन्झन् बिग्रन थाल्यो । उहाँको परिवारसँग र डा. सञ्जयसँग सोधपुछ गरिरहेकै थियौँ । बिरामीलाई सङ्क्रमण बढ्न नदिन भेटघाट कम गरेको जानकारी पायौँ । तैपनि मनले मानेन । एकदिन हामी दुवैजना माथि भेन्टिलेटरमै राखेको ठाउँमा गयौँ । मैले बोलाएँ सुन्नुभएन । बलरामजीले बोलाउँदा हात उठाएर प्रतिक्रिया जनाउनुभयो । नर्सले स्वास्थ्यमा केही सुधार आएको बताए । सरको त्यो अवस्था देखेर धेरैबेर अडिन सकिन । मनले “हे भगवान सरलाई केही नहोस्” भन्दै फर्कियौँ ।
केही दिनपछि भेन्टिलेटरबाट क्याबिनमा सारेको र नजिकका आफन्त र साथीहरू भेट्न आउनु भए हुन्छ भन्ने खबर पाएँ । हामी साँझ अबेर अस्पताल पुग्यौँ । अवस्था पहिलेभन्दा केही सुधार भएको देखिन्थ्यो । नजिकै गएर बौलायौँ । सरले पुलुक्क हेर्नुभयो ।
“चिन्नुहुन्छ ? को आउनुभ’को ?” मेडमले सोध्नुभयो ।
“बलरामजी, मन्जुजी हो !” भनेर एकपटक पुलुक्क हेर्नुभयो र फेरि आँखा बन्द गर्नुभयो । केहीबेर बसेपछि “तपाईंलाई ढिला भयो अव जानुभए हुन्छ” मधुरो स्वरमा भन्नुभयो । सरको स्वास्थ्य सुध्रिने भो भन्ने आशा पलाएको थियो ।
२०७६ मङ्सिर १० गते गङ्गा मेडमको फोन आयो, “सरलाई गाह्रो भएको छ । भेट्न मन भए आउनुहोला । अरू साथीहरूलाई पनि खबर गर्दिनुस् है ।” मन झसङ्ग भयो । प्रमोद सरलाई फोन गरेँ र तुरुन्तै मेडिसिटीतिर हान्निएँ ।
त्यहाँ पुग्दा मेडम गेटनजिकैको भित्तामा भावविह्वल मुद्रामा उभिनुभएको थियो । सँगै उहाँकी भान्जी थिइन् । कुर्र्चीमा इन्दिरा मेडम र भोला सरलाई देखेँ । इन्दिरा मेडमका आँखाबाट अश्रुवर्षा भइरहेका थिए । मलाई के गरुँ ! के गरुँ भयो । छोराहरू कोही देखिनँ । डा. सञ्जयलाई फोन गरेँ । खबर राम्रो पाइनँ । मैले शान्तिजी, विजय सर र अरू साथीहरूलाई फोन गरेँ र सिधै माथि आइसीयु वार्डमा पुगेँ । सरको शरीरबाट मेसिनहरू हटाइएको थियो । यस्तो लाग्थ्यो उहाँ मस्त निद्रामा हुनुहुन्छ । मनले ‘उहाँँ हुनुहुन्न’ भनेर पत्याउन गाह्रो मानिरहेको थियो । तर नियतिले आफ्नो क्रुर स्वभावलाई उदाङ्गो पारेको थियो । हामी विवश थियौँ पत्याउन ।
सत्य स्वीकार्नुबाहेक अरू विकल्प थिएन । म भावविह्वल हुँदै तल झरेँ । गङ्गा मेडमलाई छोराले घर लगिसक्नुभएको रहेछ । एकैछिनमा प्रमोद सर, नेत्रजी, अनन्तजी आइपुग्नुभयो । पुस्तकालयका साथीहरू, रम्भा दिदी पनि पुग्नुभयो । सबै निःशब्द थियौँ । सबै अलमलमा थियौँ । एकैछिनमा प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटा आउनुभयो । छलफलपछि भोलिपल्ट आर्यघाटमा श्रद्धाञ्जलि सभा गर्ने भन्ने सल्लाहबमोजिम हामी सबै त्यहाँबाट हिँड्यौँ ।
साँझ परिसकेको थियो । साथीहरूसँग सिधै गङ्गा मेडमलाई भेट्न उहाँको निवास पुग्यौँ । छिमेकीहरूले गङ्गा मेडमलाई सम्झाइरहेका थिए । एकैछिन बसेर घर फर्किएँ । “कस्तो दुःखद् खबर ! असल मान्छे गुमाउनुप¥यो !” भनेर श्रीमान्ले सान्त्वना दिइँरहँदा मन थाम्न सकिनँ । बाँध बनेर जमेकोे मन एक्कासी भेल बनी बग्न थाल्यो ।
भोलिपल्ट श्रद्धान्जलि सभापछि शवदाहगृहमा उहाँको पार्थिव शरीर जलिरहेको थियो । नरमाइलो शून्यताले हृदयमा बिझाइरह्यो । त्यही शून्यताबिच विनय सर, बालसाहित्यका मेरा गुरुलाई अन्तिम पटक श्रद्धान्जलि अर्पण गर्दै बाहिर निस्केँ । शवदाहगृहको चिम्नीबाट निस्किरहेको धुवाँमा मैले विनय सरको हँसिलो आकृति खोजिरहेँ ।
र, अहिले यस क्षणमा पनि विनय सरको अनुभव गरिरहेकै छु । विनय सर तपाईं हाम्रो सम्झनामा बाँचिरहनु हुनेछ । तपाईंले देखाएको बाटोमा निरन्तर लागिरहने प्रण गर्दछु ।
सानेपा, ललितपुर