मेरा सारा रातहरू आँसुले भिजाउन नआऊ
जलिसकेको चिता म,फेरि जलाउन नआऊ
टाढा हुँदा यादहरूमा बाँचेँ सम्झेर बेस्मारी
चुहिसकेको आँसु म,फेरि बगाउन नआऊ
नर्क यहीँ छ स्वर्ग यहीँ,बुझे जीवन रसिलो
मरेपछि स्वर्ग जाने लोभ फलाउन नआऊ
विश्वासमा बाँच्छ माया,घातमा मरिदिन्छ
माया बनी शङ्काको छुरा चलाउन नआऊ
जीवन कटु सङ्घर्ष हो मृत्यु अकाट्य सत्य
कलिलो उमेरमा फेरि रोग लगाउन नआऊ
पिरहरूमा बाँचे पनि सपना त देख्छ ‘राजु’
एकछिन रमाउने मन फेरि गलाउन नआऊ
डाउहिल, खरसाङ।