18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गोकुल जोशीको सम्झनामा राईपुरको यात्रा

नियात्रा नारायण मरासिनी May 15, 2023, 12:05 am
नारायण मरासिनी
नारायण मरासिनी

आँखा खुलिसकेका थिए तर ओछ्यान छोडेको थिइन । सधैंजसो चाँडै नै उठ्ने मान्छे, यति बेला भने उठ्नै पर्ने बाध्यतामा थिइन अर्थात् कामको मेलोबाट बिदामा थिएँ म । बिहानको समय, छ बजेतिर सुतिसुती एफ.एम. रेडियोबाट प्रशारण हुने समाचार सुनिरहेको थिएँ, ठीक यसै समयमा मित्र स्ट्रगल रानाले गोकुल जोशी जन्मेकै स्थल तनहुँको राइपुरमा उनको जयन्ती मनाउन जाने भनेर पोखराको पृथ्वीचोकमा आउनका लागि फोनमार्फत अनुरोध गरे । ‘गण्डकी साहित्य सङ्गम’, पोखरा जुन संस्थाले गोकुल जोशीकै नाउँमा ‘गोकुल वाङ्मय पुरस्कार’को स्थापना गरेको छ र प्रत्येक दुई–दुई वर्षमा प्रगतिवादी कला–साहित्यमा साधना गरेका स्रष्टाद्रष्टा तथा कलाकारलाई पुरस्कृत गर्दै आएको छ, सोही संस्थामा लगभग स्थापनाकालदेखि नै संलग्न रहे पनि गोकुल जोशीकै जन्मस्थल तनहुँको राइपुरमा मलाई अहिलेसम्म पुग्ने अवसर मिलेको थिएन । यद्यपि मेरो जन्मथलो स्याङ्जाको ज्याग्दीखोला र तनहुँको राइपुर बीचको दुरी जम्मा पाँच–छ घण्टा पैदल यात्राको फरकमा न हो तर आफ्नो पायक त्यतातिर नपरेकाले हुन सक्छ म राइपुर पुग्न सकेको थिइन । अर्को कुरा हामीले प्रत्येक वर्ष पोखरामै गोकुल जयन्ती मनाउने गरेको हुँदा सोही कार्यक्रमका लागि त्यहाँ जाने समय अनुकूल नभएको पनि हुन सक्छ । गोकुलको जन्मथलोमा पुग्ने रहर निकै पहिलेदेखि पलाए पनि रहर मनभित्र मात्रै सीमित थियो, व्यवहारमा रुपान्तरित भएको थिएन । तर यति बेला आएर भने अवसर मिल्दै थियो र यस अर्थमा म खुसी थिएँ ।
स्ट्रगल राना जो क्याम्पस पढ्दाका मेरा सहपाठी र कवि मित्र पनि हुन् । उनी अङ्ग्रेजी र म नेपाली विषयको विद्यार्थी । हामी दुई कतिपय साहित्यिक सङ्घसंस्थामा सँगै पनि छौं । उनी गोकुल जोशीकै छिमेकी । अर्थात् स्ट्रगल र गोकुल जोशी एउटै गाउँका । स्ट्रगल अहिले पोखराका सडक सडकमा हल्लिरहेका छन् जसरी म हल्लिरहेको छु । यहाँ हामी दुवैको स्थायित्व छैन । बोर्डिङसोडिङका साहुहरुले पत्याएर काम दिइहाले भने हामी काममा पनि जान्छौं, काम नपाउँदाका समयमा हामी सडक सडक भौँतारिएका हुन्छौं । विगत केही वर्षदेखि यता पोखरामा यसरी नै बितिरहेका छन् हाम्रा दिनहरु । जीवनचर्या उस्तै छ हामी दुईको । हामी पोखरेली रङ्गमञ्चमा जीवन बाँच्नुको नाटक खेलिरहेका छौँ ।
यद्यपि केही दिन पहिले नै मलाई कुलप्रसाद खनाल र भीम रानाभाटलगायत तनहुँतिरका साथीहरुले गोकुलकै गाउँमा गएर गोकुल जयन्ती मनाउनका लागि निम्तो दिइसक्नुभएको थियो । भीम रानाभाट भने आफ्नो कार्य व्यस्तताका कारण जान सक्नुभएन । गोकुल जोशी जन्मेको गाउँ राईपुरका स्थानीय बासिन्दा एवं त्यहीँको सिमाना प्रा.वि.द्वारा २०६४ सालको जेठ ७, ८ र ९ गते गरी तिन दिनसम्म अर्थात् त्रिदिवसीय रुपमा गोकुल जयन्ती मनाउने कार्यक्रम तय भएको रहेछ । सोही कार्यक्रममा ‘तनहुँ सम्पर्क समाज, पोखरा’ पनि जोडिएको रहेछ । तनहुँबाट पोखरा आई बसोबास गरेका साथीहरु प्रायः सबैलाई र ‘गण्डकी साहित्य सङ्गम’, पोखरामा आबद्ध केही साथीहरुलाई आमन्त्रण गरिएको रहेछ । म ठिक ७.२० बजे नयाँ बजारको डेराबाट हिँडेर पृथ्वीचोक झरेँ । पृथ्वीचोकमा पुग्दा थाहा लाग्यो कि– स्ट्रगल रानाबाहेक अरु सबै साथीहरु बाटो लागिसकेका रहेछन् । म केही ढिलो भएको रहेछु । हामी दुई भाइले उनीहरुलाई तनहुँको दुलेगौंडा पुगेर भेट्यौं । पूर्व दमौलीतिरबाट आउने अन्य साथीहरुलाई पर्खंँदै थिए तिनीहरु । यही ठाउँबाट हामीले हाइवे छोडेर कच्ची बाटो समाउनु पथ्र्यो । पहिल्यै यहाँ आइपुगेका श्रीकान्त खतिवडा, अम्बिकाप्रसाद भट्टराई लगायतका साथीहरुसँग हामीले चिया पियौँ ।
दमौलीतिरबाट पनि साथीहरु आइपुगेपछि राइपुर जानेमा हामी लगभग दुई दर्जन जति भयौँ । दुईवटा महिन्द्रा जीप रिजर्भ गरिए । डा. भवानीप्रसाद पाण्डे ‘भास्कर’ र यो पंक्तिकारबाहेक अन्य सबैजसो साथीहरु तनहुँका थिए । यात्रा सुरु भयो कच्ची बाटाको । दुलेगौँडा बजारको केही पूर्व गाछेपानीबाट तल झरी सेती नदीको गल्छी तरेर हाम्रा दुई जीपले अगाडिपछाडि गर्दै ढोरफिर्दीको बाटो समाए । तनहुँको फिर्दी फाँट खेतिपातीका लागि अब्बल पनि छ । मैले गाउँमै रहँदा केटाकेटीमा सुनेको– फिर्दी फाँट जहाँ बढी मात्रामा असिना पर्छ त्यसैले त्यतातिर छोरी दिन हुँदैन भन्थे हाम्रोतिरका बुढापाकाहरु ।
अघिल्लो रात पानी परेको हुनाले अरु बेला धुलो उड्ने बाटो पनि यति बेला भने हिलाम्मे थियो । जेठ मासको घाम पनि उस्तै चर्किरहेको । ती भ्याकुतो आकारका जीपभित्र भेडाबाख्रा कोचिएभैmँ कोच्चिएका थियौँ । घामको रापमा बाफ्फिँदै गुडिरहेका थियौँ हामी । ढोरफिर्दीको उत्तरतिरको भित्तो अर्थात् पाखाको कन्दरामा थियो प्रसिद्ध ढोर बाराही मन्दिर जहाँ धार्मिक भक्तजनहरुको भिडभाड पनि हुने गर्छ, पशुको बलि दिने काम हुन्छ । केही मान्छे त्यही बाटामा मन्दिर जानका लागि हिँडिरहेका थिए तर हामी त्यतातिर लागेनौँ । सिधै अगाडि बढ्यौँ । लोक गायक प्रेमराजा महतको घरको आँगन हुँदै हामी मूल बाटो नछोडी पश्चिमतिरै बढिरह्यौँ । केही अगाडिको मान्द्रे खोलो तरेर उकालो चढेका जीपहरु देउराली भन्ज्याङमा पुगेपछि सालघारीको ओरालामा गुड्न थाले । ओरालो सकिनासाथ एउटा सानो फाँट भेटियो । त्यस फाँटको बिचबाट बग्दोरहेछ क्याङ्दीखोलो । खोलाको किनारमा सानो चिटिक्कको बजार । साँखे बजार । साथीहरु यहाँ झरेर चिया पिई उकालो लाग्ने भन्दै थिए तर अबको बाटो ठाडो उकालो र अप्ठेरो पनि भएकाले गाडी गुडाउन कठिन छ र खाना खान ढिलो हुन्छ भन्ने कुरा भयो । हामी जीपबाट कोही पनि ओर्लेनौँ । बजार नजिकैबाट क्याङ्दी खोलो तरेपछि जीपहरु पुनः उकालो चढ्न थाले । भुस्नापुरको उकालो । पहाडको बाटो, उकालो सकिनासाथ ओरालो र ओरालो सकिनासाथ उकालो । हाम्रो पहाडी भूगोलको विशेषता नै हो यो ।
दुईवटा जीपमध्ये म अगाडिकामा थिएँ । ड्राइवर सँगैको सिटमा डा. भवानीप्रसाद पाण्डे र अर्का एकजना मित्र थिए भने पछाडिपट्टिको भागमा मसहित निबन्धकार तथा समीक्षक कुलप्रसाद खनाल, बुद्धिजीवी मुरलीमोहन काफ्ले, पत्रकार विश्वबन्धु भण्डारी, पृथ्वीनारायण क्याम्पसका प्राध्यापक डा. कर्णवीर पौडेल, राइपुर गाविसका पूर्व अध्यक्ष फणिनारायण पोखरेल, पत्रकार बसन्ती बाँस्तोला, जनार्दन दाहाल लगायतका साथीहरु थियौँ । बाटाको दुईतिर मकैबारी अर्थात् मकैबारीको बिचमा बाटो । हावा छेकिएको थियो मकैका बोटहरुद्वारा । निकै राम्रा थिए मकै । दोहोरो गोड्ने बेलाका मकै । पारिपट्टि कालिकोटको डाँडामा वनको हरियाली लम्पसार थियो । त्यो हरियो वनभन्दा बढी निलाम्मे थियो हामी गुडिरहेको मकैबारीको परिवेश । मैले किसानहरूको परिश्रमलाई उच्च सम्मान गरेँ जसले बजारमा बस्नेहरुलाई खान दिएका छन् । यी धर्तीपुत्रहरुले मिहिनेत नगरिदिने हो भने यतिका यी मान्छेहरु के खाएर बाँच्दा हुनन् ! मेरो मानसपटमा परिवेशले ल्याएको सोचाइ हो यो । सायद् बलिया तथा सक्षम युवाहरूको विदेशतिर पलायन हुने चलन अन्यत्र जस्तै यतातिर पनि रहेछ कि कुन्नि ! केही माथि बतासे डाँडावरपरको पाखो बारी र टारी खेत भने बाँझै देखिए । यस्तो उराठिलो परिवेश देख्दा भने मेरो मन भरङ्ग भएर आयो । छातीमा कता कता दुखेको अनुभव पनि भयो ।
गाउँको यो माथिल्लो भागमा हिजोअस्ति मात्रै डोजर लगाएर बनाइएको रहेछ बाटो । रातो माटो भत्काएर डोजरले बनाएको बाटामा जीपका पाङ्ग्रा फसेपछि हामी ओरालिन्थ्यौँ र जीपलाई पछाडिबाट धकेल्ने गथ्र्यौं । भर्खरै खनिएको नयाँ बाटाको अप्ठ्यारामा केही समय हिँडेपछि पुनः चढ्थ्यौँ । बतासे डाँडाको चौतारामाथि धानिन नसकेर कोल्टे पर्दै जीप पल्टला कि जस्तो भयो । ड्राइवर भाइले हामी सबैलाई झर्ने आदेश दिनासाथ हामीहरु हतारहतार ओल्र्यौं । त्यो विकासे भैंसी जत्रो चारपाँग्रे वाहन ठिक ठेगानमा आएपछि हामी फेरि चढ्यौँ । बाटाको छेउछाउतिर केटाकेटीहरु बटुलिएर ‘भैँसी मटर आयो, भैँसी मटर’ भनेका शब्दहरू अहिलेसम्म पनि मेरा कानमा गुञ्जिरहे झैँ लाग्छ । सायद् जीवनमा पहिलोपटक ती केटाकेटीहरुले मोटर देख्न पाएका थिए । मैले आफ्नो विगतलाई पनि सम्झेँ यस समयमा– म केटाकेटी नै थिएँ, हाम्रो ज्याग्दीखोलामा मोटर आउँदैनथ्यो । मेरो मामाघर सिद्धार्थ राजमार्गको वालिङ बजारभन्दा केही माथिको डाँडामा । सानैमा मामाघर जाँदा नै हो मैले पहिलोपटक मोटर देखेको । कहिलेकाहीँ त दिनभरि बाटाछेउमा बसेर मोटर आएगएको हेरिरहन्थेँ, गनेरै पनि बस्थेँ । बेलुका मामामाइजूलाई सुनाउँदा उहाँहरु हाँस्नुहुन्थ्यो ।
माथितिरको बाटो हामी जानुभन्दा केही दिनअगाडि मात्र खनिएको र गएको रात ठूलो पानी परेकाले गाडी गुडाउन गाह्रो भएको थाहा लाग्यो । मुरलीमोहन, कुलप्रसाद प्रसाद र विश्वबन्धुहरु आफ्नै किसिमका बुढापुराना गफमा मस्त थिए भने म र कर्णवीर सर चाहिँ जीपभित्रका कुराभन्दा बाहिरकै हरियालीमा बढी मख्ख परेका थियौँ । मलाई त्यति बढी मात्रामा गफ गर्न नआउने र कर्णवीर सर पनि सोही प्रकृतिको हुनाले हामी दुई बाहिरी दृश्यमा नै बढी रमाएका थियौँ यद्यपि बुढाहरुका एकाथरी कुरा टुङ्गिनासाथ अर्को कुराका लागि मैले पनि बेलाबेलामा मेसो मिलाइदिने गरेको थिएँ । तनहुँका नेताहरु श्रीभद्रदेखि भेषबहादुरसम्म मात्र कहाँ हो र ! पञ्चायतकालका स्थानीय माननीय तारापति भट्टराई र पञ्चायतकालमै सुन काण्डमा मुछिएका मन्त्री नरबहादुर गुरुङका कुराहरु पनि बुढाहरुले गरे । अगाडि बढ्दै वाइसियलदेखि गिरिजा प्रसादसम्ममा कुराहरु फिँजारिए । बेलाबखत गोकुल जोशीको प्रसङ्ग पनि आइरहन्थ्यो । गफका सिलसिलामा घरि तनहुँको पूर्वी भेगका भानुभक्त बुढा झुल्कन्थे भने घरि पश्चिम भेगका गोकुल जोशीसँगै लोकगायक दाजुभाइ श्यामराजा र प्रेमराजा महतहरु पनि आउँथे । उनीहरुका कुरा सुन्दै बाटो काट्न पाउँदा रमाइलो अनुभूति मिलेको थियो ।
जीपबाट निस्केर लगभग आधा घण्टा जति तेर्सोतेर्सो हुँदै केही ओरालो हिँडेपछि मध्यान्हको साढे बाह्र बजेतिर हामी गोकुल जन्मेको थलोमा पुग्यौं । उनी जन्मेकोे पुरानो गोलो घर त्यहाँ थिएन । त्यो गोलो घुमाउने घर त हाम्रो मानसपट र पत्रपत्रिकामा मात्रै चित्रित थियो । गोलो घर जीर्ण भएपछि भत्काएर त्यही ठाउँमा अर्कै चारपाटे घर बनाइएको रहेछ । छेउमा रातो माटो र बीचमा हरियो गोबरले लिपेको पिँढीमा पराले गुन्द्रीहरु बिछ्याइएका थिए । पिँढीमाथि गाह्राको भित्तामा माथिल्लो आधा भाग रातो र तलतिरको हाधा भाग कालो माटो पोतिएको थियो । पानीसानी पिएपछि राइपुरेहरुले आत्मियताका साथ प्रदान गरेको भोजन ग्रहण ग-यौं । कुलप्रसाद सर र मैले एउटै गुन्द्रीमा बसेर खाना खाएका थियौं । उहाँले गोलभेँडाको चटनी पिरो ठानेर खानुभएन र भात पनि थप्नुभएन । प्रायः दस बजेभन्दा अगाडि नै खाना खाने बानी परेको मलाई भने भोक असाध्यै लागेको र भात पनि मिठो भएकाले मैले त थपिथपी खाएँ । खानेकुरामा पनि केको लाज मान्नु !
गोकुलकै घरको पछाडिपट्टि एउटा प्राथमिक तहको विद्यालय रहेछ । विद्यालयको उन्नाइसौँ वार्षिकोत्सव र तनहुँ सम्पर्क समाज, पोखराद्वारा आयोजित अठहत्तरौं गोकुल जयन्तीको कार्यक्रम संयुक्त रुपमा सम्पन्न गरिँदै थियो । कार्यक्रममा साथ दिइरहेका थिए राइपुरबासीहरुले । विद्यालयको वार्षिक गतिविधिमाथि प्रकाश पार्ने सन्दर्भमा प्रधानाध्यापक लोकनाथ पोखरेलले विगतका दिनहरु कोट्याउँदै थिए– पञ्चायतकालमा गोकुल जोशीको नाममा स्कुल स्थापना गर्ने जमर्को गरिएको थियो तर तत्कालीन शासकहरुले गोकुलको नाममा स्कुल स्थापना गर्न नदिएपछि गाउँलेहरुबाट गोकुल जोशीकै प्रसिद्ध कृति ‘सिमानाको दीप’बाट नामकरण गरी विद्यालयको नाम ‘सिमाना प्रा.वि.’ राखिएको थियो । नामलाई सार्थक पार्ने अर्को कुरा उक्त विद्यालय स्याङ्जा र तनहुँकोे सिमानामा पनि पर्दोरहेछ । त्यस विद्यालयबाट पश्चिमतर्फको भूभाग स्याङ्जा । कार्यक्रमको अध्यक्षता स्थानीय समाजसेवी वेदप्रसाद पोखरेलले गरेका थिए । हामी पौने दुई बजेबाट साढे चार बजेसम्म कार्यक्रम स्थलमा रहेका थियौं ।
‘शुक्ला साहित्य सङ्गम’, दुलेगौंडाका साथीहरु पनि गोकुल जयन्ती मनाउने सन्दर्भमा हामीसँगै त्यहाँ पुगेका थिए । कविता वाचन र मन्तव्यका बिच बिचमा स्कुले छात्रछात्राहरुको गीत तथा नृत्यको प्रस्तुति रहेको थियो । स्थानीय कलव एवम् आमा समूहहरुका तर्फबाट पनि आकर्षक नृत्य एवं गीतहरु प्रस्तुत गरिएका थिए । आनन्द भट्टराई, केदार पोखरेल, रामप्रसाद पोखरेल, जनार्दन दाहाल, भीम गुरुङ, प्रसाद ढोरेली, स्ट्रगल राना, नारायण श्रेष्ठ लगायतका स्रष्टाहरुबाट गीत, कविता तथा गजलहरु वाचन गरिए भने बसन्ती बाँस्तोला, श्रीकान्त खतिवडा, ईश्वर सुवेदी, हरिप्रसाद खनाल, मुरलीमोहन काफ्ले, विश्वबन्धु भण्डारी लगायतले मन्तव्य व्यक्त गरेका थिए । यसैगरी मन्तव्य व्यक्त गर्ने अन्य व्यक्तिहरुमा तनहुँ सम्पर्क समाज, पोखराका अध्यक्ष चन्द्रविक्रम अधिकारी, नेकपा एमाले तनहुँका सचिव प्रतापलाल श्रेष्ठ, डा. भवानीप्रसाद पाण्डे थिए । कार्यक्रममा ‘गण्डकी साहित्य संगम’का संस्थापक अध्यक्ष कुलप्रसाद खनालले प्रमुख अतिथिको मन्तव्य व्यक्त गरेका थिए भने सञ्चालन चाहिँ कवि अम्बिकाप्रसाद भट्टराईबाट भएको थियो । कार्यक्रमको रौनक बढिरहेको थियो तर फर्केर पोखरा पुग्न ढिला हुने भयो भनेर हामी भने छटपटाइरहेका थियौँ । आकाशमा कताकति बादल देखिन थाल्यो । पानी परिहाल्यो भने त हिले बाटामा जीप गुडाउन पनि गाह्रो । पानी पर्लाजस्तो हुन लागेकाले पनि हामी हतारमा थियौं । स्थानीय समूहहरुका केही प्रस्तुति बाँकी नै थिए । हामीले कार्यक्रमको बिचैमा बिदा माग्यौँ । फक्र्यौं हामी । लगभग आधा घण्टा उकालो चढेपछि दिउँसो ल्याइएका जीपहरु भेटिए । तिनैमा छि¥यौँ हामी । यतिबेला बेलुकाको पाँच बजिसकेको थियो ।
साँखे बजारमा झर्दा घाम डाँडामा बसिसकेका थिए । अहिले चाहिँ हतारहतारमै भए पनि चिया पिएरै जाने निधो ग¥यौँ र केही समय त्यहाँ भुल्यौँ पनि । दुलेगौंडा ओर्लंदा साँझ परिसकेको थियो । त्यहाँबाट दमौलीतिर लाग्ने साथीहरु बिदा भए भने हामी पोखरा फर्कनेहरु एउटै बसमा चढेर सँगै बाटो लाग्यौं । जीपको यात्रा सकेपछि हामी बस चढेका थियौँ । बसमा बसिरहँदा मभित्र गोकुलप्रतिको श्रद्धा अझ उर्लेर आयो । सिटमा बसिरहँदा भावना छङछङाउन थाल्यो । गोकुल जोशीका चेलाहरु जो देशको शासन सम्हालिरहेका छन् उनीहरुबाटै उपेक्षित छन् आज गोकुल जोशी । गोकुलको विचारबाट प्रभावितहरु जो सत्तामा छन्, उनीहरु भानुभक्त र लेखनाथहरूका बारेमा जति चिन्तित छन्, भानुभक्त र लेखनाथहरुको जन्मस्थललाई पुननिर्माण र पर्यटकीय स्थल बनाउने विषयमा जति सोचमग्न हुन्छन् र बजेट छुट्याउँछन्, त्यति नै मात्रामा गोकुल जोशीका बारेमा सोच्ने उनीहरुलाई फुर्सद हुँदैन ! गोकुलकै सिर्जना ‘कस्तो होला सामूहिक खेतालाले गाउँदा \ गण्डकीको थाप्लामाथि नयाँ युग आउँदा’ भन्ने गीत गाउँदै जनसंस्कृतिको निर्माणमा लागेका जनवादी संस्कृतिकर्मीहरुका लागि योभन्दा विडम्बनाको विषय अरु के नै हुन सक्छ र !
दिनभरिको दौडधूप, थकान । बसमा त्यति गफगाफ भएन । मनमा शृङ्खलाहीन विविध सोचाइहरु आए– गोकुल जोशीको योगदानको कदर गर्ने तथा उनको सम्झनालाई चीरस्थायी बनाउने हो भने राज्यले नै गोकुलको नाममा प्रतिष्ठानको स्थापना गर्नुपर्छ । गोकुलको जन्मस्थल राइपुरलाई साहित्यिक पर्यटकीय स्थलका रुपमा विकसित गराउनुपर्छ । उनी जन्मेको गोलो घुमाउने घर जसको अहिले नाम निशान छैन त्यो निर्माण गरेर पूर्ण संरक्षण गर्नुपर्छ । दुलेगौंडादेखि राइपुरसम्मको बाटालाई कालोपत्रे गरी गोकुल मार्ग नामकरण गर्नुपर्छ । अर्काको घरमा गएर लालटिनको उज्यालामा कखरा सिकेका गोकुलको घरछेउको सिमाना प्रा.वि.लाई गोकुलकै नाममा नामकरण गरियो भने त्यसको सार्थकता अझ बढी झल्कन्छ ।
वास्तवमा जनताका कवि गोकुल जोशीले भाट कविहरूले जस्तै राजामहाराजाहरुको स्तुतिगान गरेनन् । सामन्तवाद तथा साम्राज्यवादका विरुद्धमा गीत, कविताहरू लेखे । नेपालभित्र मात्र नभएर नेपालबाहिर प्रवासमा समेत पुगेर नेपाली बस्ती बस्तीहरुमा गाउँदै हिँडे । पुरस्कारको लोभ तथा सम्मानको मोहमा उनी कहिल्यै फसेनन् । आफ्नो जीवनको छोटो अवधि जम्मा एकतिस वर्षीय जीवनकालमा जे जति गरे सबै जनताका लागि गरे । गरिब-निमुखाहरुको हकहितमा लेखे । सामन्ती संस्कारका विरुदद्धमा लेखे । गरिबनिमुखाहरुकै बस्तीमा गाउँदै हिँडे । ‘समाजमा महिलाको कदर हुनुपर्छ \ पुरुषको बराबरी हक मिल्नुपर्छ’ भन्दै दिदीबहिनीहरुलाई घुँघट फालेर क्रान्तिदीप बाल्न अनुरोध गर्ने कवि गोकुलले सर्वहारा वर्गकै वर्गीय मुक्तिको गीत गाए । उनको सम्पूर्ण जिन्दगानी नै सर्वहारा वर्गको मुक्तिका लागि समर्पित रह्यो । एकपछि अर्को गर्दै गोकुलका रचनाहरु मेरो मानसपटमा आइरहेका थिए । मस्तिष्कमा समाज विकासको ऐतिहासिक कालखण्ड आइरहेको थियो । जीवन रहेसम्म सङ्घर्ष सकिँदैन– सोचाइले उग्र रुप लिन थाल्यो । शरीर बसभित्रकै सिटमा कुचुक्क परे पनि मेरो मन वर्गसङ्घर्षको मैदानमा दौडिरहेको थियो । ‘पृथ्वीचोक आयो, झर्ने होइन’ डा. भवानी पाण्डेको ठाडो आवाजले झस्केँ । अनि अन्धकार बाक्लिँदै गरेको समयमा बसबाट ओर्लेर लुरुलुरु म आफ्नै डेरातिर लागेँ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।