हाइबुन (नियात्रा)
मान्छे पनि त प्रकृतिकै एक हिस्सा त हो । प्रकृतिमा भएका अरु जनावर कति घुम्छन् ? तिनलाई घुम्न पैसा चाहिँदैन । तर हामी मान्छेलाई घुम्न पैसा नभई नहुने । अझ समय मिलाउनको धौ धौ । तर पनि पाएसम्म घुम्नु मेरो भने अभीष्ट हो ।
त्यसो त मानव जातिको इतिहास भनेकै भ्रमणबाट बनेको हो भन्दा अत्युक्ति नहोला । विज्ञान र इतिहासले नेपालमा परापूर्व कालमा ठूलो समुद्र थियो भन्ने प्रमाणित गरिसकेको छ । कालान्तरमा त्यो समुद्र पुरिएपछि बनेको जमिनमा विभिन्न ठाउँबाट यात्रा गर्दै आएर बसेका मान्छेहरूको वर्तमान रूप नै नेपाली जाति हो । त्यसैले हामी नेपालीको रगतमै भ्रमणको मोह घुलेको छ । बस्, त्यसका लागि उचित अवसर चाहिन्छ हामीलाई ।
जेठको गर्मी दिनमा घरमै बसी आराम गरिरहेको बेला एक दिन सनराइज स्कुल, भरतपुरका +२ संयोजक जीवलाल चालिसे सरको फोन आउँछ । फोनमा उनी सोध्छन्, “सरलाई कत्तिको फुर्सद छ होला ?” किन ? कहिले ? र केका लागि ? भन्ने मेरा छोटा प्रश्नहरूको जवाफमा उनी ‘अ जर्नी टु वाइल्डरनेस’को अवधारणा सुनाउँछन् । अङ्ग्रेजीको शिक्षक भए पनि उनको कुरा सुन्दा उनी वातावरणप्रेमी देखिन्छन् । वनसँगको त्यस्तो सामीप्यताका बारेमा सुन्दा म लख काट्छु पक्कै उनले ‘इकोक्रिटिसिज्म’मा शोधपत्र तयार पारेको हुनुपर्छ । मलाई उनको अवधारणा मनपर्छ र शनिबारको दिन उनीसँग बिताउन तयार हुन्छु म ।
“यात्राको मोह
बोकी बस्छु मनमा
सधैँ सधैँ म ।”
+ + +
निर्धारित मिति २०८० साल जेठ ६ गते शविबार बिहान आठ बजे विद्यालय प्राङ्गणमा पुग्दा केही शिक्षक र केही विद्यार्थी जम्मा भइसकेका रहेछन् । अझै केहीको प्रतीक्षा गरिदँै रहेछ । त्यसरी प्रतीक्षा गर्दा थप एक घन्टा बितेको पत्तै भएन । स्कुल कम्पाउण्डमा दुईवटा बस हिँड्नका लागि तयारी अवस्थामा थियो ।
बिहानको नौ बजेपछि भने हामी यात्राका लागि बसमा चढ्यौँ । बसभित्र सबैलाई सजिलोसँग बस्न मिल्ने अवस्था थियो । हामी शिक्षक र विद्यार्थी गरी जम्मा ५६ जनालाई राखेर दुई वटा बस निस्कियो। ‘अ जर्नी टु वाइल्डरनेस’का लागि । हाम्रो गन्तव्य थियो चारैतिर चितवन राष्ट्रिय निकुञ्जले घेरिएकोमाडी उपत्यका र त्यस वरपरका प्राकृतिक तथा सांस्कृतिक स्थल । हाम्रो साथमा थियो हाहा र हुहु अनि बसमा बजेका विविध खालका गीत–सङ्गीतको कोलाज ।
“उखुमै गर्मी
स्कुल बस चढेर
माडीको यात्रा ।”
+ + +
भरतपुरको पिपलचोकबाट छुटेको बस चितवनका घनाबस्तीहरू बुद्धचोक, क्यान्सर गेट, प्रेमबस्ती, गीतानगर, पटिहानी, जगतपुर हुँदै करिब पौने घन्टामा घैलाघारी पुग्यो । त्यसपछि बस राप्ती नदी तरेर चितवन राष्ट्रिय निकुञ्जमा प्रवेश ग¥यो । जङ्गलको छेउछाउमा चर्दै गरेका दुईचार वटा भाले हरिण र आठदश वटा पोथी हरिण बाहेक बाटोमा अरू कुनै वन्यजन्तु देखिएन ।
जब हामी चढेको बस निकुञ्ज छि¥यो, तब धूलोको साम्राज्यले हामीलाई स्वागत गरिहाल्यो । बसबाहिरको वातावरणमा हरियाली भए पनि बसभित्र सित्तैको पाउडर हावामा मिसिएको थियो । कोरोना कहर टरिसकेकाले खल्तीमा मास्क थिएन । हामीले धूलो खानुको विकल्प नदेखेर आफूलाई उक्त अवस्थामा छोडिदियौँ । गाउँतिरको बाटो पिच भएकाले त्यति धूलो उडेको थिएन, तर वनभित्र त्यसको ठीक विपरीत भेट्दा कसैकसैलाई निकै कठिन भयो । जेहोस्, वनभित्र गरिएको त्यो बसको यात्रा समग्रमा रमाइलै भयो ।
“धुलौटे बाटो
बसको घद्र्याकघुद्रुक
सुस्त गतिमा ।”
+ + +
चितवन राष्ट्रिय निकुञ्जभित्रको कसरा, ध्रुव, बनकट्टाजस्ता चेकपोस्ट हुँदै हामीले करिब नौ किलोमिटरको जङ्गलयात्रा आधा घन्टामा पार ग¥यौँ । धूलोले गर्दा टाढाको दृश्य देख्न पाइएन । बरु बसभित्र गफमा व्यस्त भएर समय कटाइयो । केही बेरमा रिउ खोला आइपुग्यो, त्यहाँ बनेको पूल तरेर हामी माडीको बघौडा छि¥यौँ । त्यसपछि सलल पिच बाटोमा गुड्दै केही बेरमा हाम्रो बस माडीको वसन्तपुर पुग्यो ।
हामी हिँड्नुअघि रामकृष्ण सरले फोनमार्फत् खाना र खाजाका लागि फरक–फरक होटलमा सम्पर्क गरेका थिए । उनले खानाका लागि वसन्तपुरको होटल प्याराडाइजमा सम्पर्क गरेका रहेछन् । हामी पुग्दा हाम्रो लागि खाना पाक्दै थियो । हामी त्यहाँ पुगेर हातमुख धुने र बसमा लागेको धूलो पखाल्ने काम ग¥यौँ । त्यसपछि केही बेर आराम ग¥यौँ । लगत्तै खाना खाने बेला भयो । भोकले लखतरान भएको पेटमा चारो हालेपछि भने सबै यात्राका लागि पुनः तयार भए ।
“भोकको झोंक
पेटभरि खाइयो
माडी पुगेर ।”
+ + +
खाना खाएलगत्तै फेरि बसमा चढियो यात्राका लागि । वसन्तपुरबाट हाम्रो गन्तव्य थियो, सोमेश्वरगढी । त्यहाँबाट जम्मा दूरी रहेछ आठ किलोमिटर । करिब एक किलोमिटर पिच बाटो हिँडेपछि बस कच्ची बाटोमा यात्रा गर्दै थियो । बस्ती छेउमा छरछरे खोलाको किनारमा रहेछ सीमा सुरक्षा बल । कठै हाम्रो सुरक्षा व्यवस्था । त्यति पर छ नेपाल भारत सीमा, सीमा सुरक्षा बल यति वर ?
खोला तरेर वनको भिरालो बाटोमा बस उकालो लाग्यो । सोमेश्वर डाँडा आइपुग्न लागेपछि बस बिसौनी भेटियो । त्यसपछि सिँढी चढेर गढीतर्फ हाम्रा पाइला लम्किए । बाटोमा रहेका ढुङ्मा लहरै विभिन्न आकृति कोरिएका थिए । कतै यथार्थ र कतै काल्पनिक आकृति कोरिएका ती ढुङ्गा हेर्दै उकालो चढ्दा समय र बाटो कटेको पत्तै नहुँदो रहेछ । आखिर कलामा त्यति शक्ति त हुनै प¥यो नि !
“प्रस्तर कला
जङ्गलका ढुङ्गामा
रमायो मन ।”
+ + +
करिब एक किलोमिटर जति उकालो चढेपछि चुचुरोमा अलिकति समतल भूभाग भेटियो । त्यहाँ एउटा मन्दिर र एउटा सत्तल रहेछन् । सत्तलमा केही बेर सुस्ताइयो । शरीरभरि पसिना जो आएको थियो । त्यसपछि त्यहाँको दृश्य हेर्न थालियो । सत्तलको छेउमा एउटा ठूलो खाडल थियो । शायद त्यसमा वर्षाको पानी जम्मा गरिँदो हो । खाडलको भित्तामा प्लास्टर गरिएको थियो भने गारोमा पुराना वर्गाकारका तेलिया इँटा लगाइएको थियो । यसले सेनवंशको इतिहास बताएको भान हुन्थ्यो ।
त्यही बचेको भूभागमा शायद सेन राजाका सिपाही परेड खेल्दा हुन् । त्यही बाटो भएर हिँड्दा हुन् पैदलयात्री । त्यो डाँडामा त्यति समतल भूभाग हुनु त्यतिबेला ठूलै उपलब्धि थियो शायद । हाम्रो साथमा कोही इतिहासविद् थिएनन्, त्यसैले तथ्य कम अनुमान ज्यादा गर्दै थियौँ हामी ।
“सोमेश्वरगढी
इतिहास बताउँदै
निःशब्द हामी ।”
+ + +
उकालो चढ्दै गर्दा बाटोमा कतै बोर्डमा लेखिएको थियो, “माथि डाँडामा पानी छैन ।” यस्तो लेख्नुको सट्टा “सोमेश्वरगढी घुमेर रमाइलो गरौँ ।” लेखिएको भए कति आनन्द आउँथ्यो । जेठको गर्मीमा साथमा बोकेको बोत्तलको पानी उकालो चढ्दैमा सकियो । डाँडोमा पुगेर एकापट्टि हेर्दा भारतीय भूमिको जङ्गल र अर्कोतर्फ नेपाली भूमिको जङ्गल देखिन्थ्यो । उस्तै थिए दुबैतिरका रूखविरुवाहरू । साँच्चै रूखविरुवाको कुनै राष्ट्रियता नहुँदो रहेछ । पानीको तिर्खालाई रूखविरुवाको हरियाली हेरेर आँखाका माध्यमबाट मेटाइयो ।
एक हुल मान्छे बोका लिएर आफूले गरेको भाकल पूरा भएकोमा पूजा गर्ने र बलि दिने तर्खरमा थिए मन्दिर परिसरमा । एक्काईसौँ शताब्दीमा पनि यसरी पशुबलि दिएर पूजा गर्ने चलन किन नहटेको होला । भगवान्लाई नरिवल चढाएर पूजा गरे पनि त नाइँ भन्थेनन् होला नि ? तर तिनीहरूलाई बुझाउने कसले ?
वरिपरि तुँवालो लागेकाले राम्रोसँग बस्ती देखिएको थिएन । करिब आधा घन्टा डाँडोमा बसेर देखिएजति दृश्यावलोकन गरियो । पसिना ओभाएपछि ओरालो झर्ने तर्खरमा लागियो । पुनः उही ढुङ्गामा कुँदिएका कला हेदैँ केही तल ओर्लेपछि एउटा कुवा देखियो । कुवाको पानी सफा थियो र थिए केही थान माछा पौडिरहेका ।
“कुवामा माछा
खाली बोत्तल चोपी
मेटियो तिर्खा ।”
+ + +
फर्कने बेलामा प्याकेटमा राखिएको मःम, चिसो पानीको बोत्तल र चौधरी ग्रुपको उत्पादन चिसो रियल जुस गाडीमा राखियो । होटलमा बसेर खाजा खाँदा हामीलाई बढी समय लाग्ने ठानेर चढियो बसमा । मगही खोलाको किनारमा रहेको खुला मैदानमा बसेर तातो मःम, चिसो पानी र चिसो रियल जुस खाँदै भोकाएको पेट भरियो । त्यसपछि गाडी फर्कियो भरतपुरतर्फ ।
भरतपुरमा बस्ने अधिकांश व्यक्ति माडीलाई चितवनको विकट ठाउँ ठान्ने गर्छन् । हो, दुःख छ माडीमा । खोला, जङ्गल र जङ्गली जनावर माडीका शक्ति र सीमा दुबै हुन् । त्यसैलाई देखाएर विदेशमा प्रशस्त पैसा कमाइ गरिन्छ भन्ने सुनिन्छ । यहाँ हामी त्यसो गर्न किन सक्दैनौँ ? राष्ट्रिय निकुञ्ज कहिलेसम्म माडीका लागि समस्या बनेर उभिने हो ?
साँच्चै छिमेकी मुलुक चीनमा जस्तै फ्लाई ओभरमा यात्रा गर्दै चितवन राष्ट्रिय निकुञ्जभित्रको करिब नौ किलोमिटरको बाटो सरर काट्ने दिन कहिले आउला हँ ? के यो परिकल्पना हाम्रै पालामा सम्भव होला त ? यदि त्यसो हुने हो भने त माडी मणि बन्न कति बेर लाग्दो हो ? कल्पना गर्न पैसा नलाग्दो रहेछ । यही हो हो वनविहार गर्नुको मज्जा भनेको ।
“कहिले बन्ला
भ्रमणको गन्तव्य
माडीका गाउँ ?”
० ० ०
(जापानी भाषको शब्द ‘हाइबुन’ नेपाली भर्खर चल्न थालेको छ । यसले यात्रा निबन्धसँग हाइकुलाई समावेश गरेर तयार पारिने साहित्यिक रूपलाई जनाउँछ । यहाँ सोही रूपको प्रयोग गरी एक दिने यात्रालाई वर्णन गरिएको छ । – लेखक)
अध्यक्ष, अक्षर समूह चितवन ।