झण्डा, सगरमाथा, बुद्ध, हिमाल जस्ता शब्द त हाम्रा लागि झुक्याउने शब्द मात्र रहे । यहाँको राजनीति न यहाँको छ, न यहाँको संस्कृती यहाँको नै बन्न पुगेको छ । बरु आँखै नभैदिएको भए देख्नु पर्थेन, बरु कानै नभैदिएको भए सुन्नु पर्थेन तर आँखा र कान भएको बुख्याँचा झै बनेर यहाँको राजनीतिक अतिसार खपेर बस्नु परेको छ ।
कहिलेकाँही भ्रष्टचारीलाई समातियो भन्छन् तर आकाशमा मिलिक्क हुने बिजुली झैं एकाध भ्रष्टाचारी समातिएर झुक्याईने देश पो बनेको छ यहाँ । समातिँदा पनि मुस्कानका साथ हात हल्लाई हल्लाई भ्रष्टाचारी जेल जाने देश पो हो मेरो । यस्तो लाग्छ कि मानौं कुनै जितको उत्सव ति भ्रष्टाचारीले मनाएका छन् । अब अझ ५ बर्षमा नै चोख्याईने पो भन्दैछन् गाँठे । भ्रष्टाचार गर्नुस् अनि ५ बर्ष बिदेश लुकेर बस्नुस् अनि भ्रष्टाचारको मुद्धा नै लाग्दैन नि हैन र ? उसो त भ्रष्टाचारीले पुरै जेलमा बसेर बाहिर रिहा हुँदा सय किलोको मालाले जयजकार गरेर बिजय उत्सव मनाउँदै बिभिन्न राजनीतिक दलले स्वागत गर्ने पो देश हो यो, हैन र ?
देशका अधिकांश दलको नामको पछाडी — पार्टी भन्ने शब्द झुण्डिएको छ । लौन भन्दिनुस् यो — पार्टी भन्ने शब्द नेपाली शब्दकोषमा यहाँको नै हो कि आयातित होला । आखिर आफ्नो दलको नाम पनि स्थानीय राख्न नसक्नेले यिनीहरुको सिद्धान्त र नीति नेपाली नै होला र ?
आजकल संसद भवनमा राजनीतिक बहस हेर्दा लाग्छ कि कुनै गाउँमा जग्गाको लागि दुई पक्षको बीचमा अपशब्द बोलेर बाझाबाझ भएको छ । संसद भवन भनेको त बिदेशीले बिधेयक बनाईदिएर पास हुने संस्था जस्तो पो देखिन्छ । यहाँ जति बोलिन्छन् के तिनको बारेमा बृहत छलफल भएर निचोडमा पुगिएको छ र ? नत्र त देशले पहिले नै बिकासको चरम उत्कर्षमा पुगेर बिकास नै अतिसंतृप्त अवस्थामा पुग्थ्यो होला हैन र ?
यो देशमा दल नै फुटाउन र अस्थिरता उत्पन्न गर्नको लागि बिधेयक ल्याईन्छ । यो देशमा भ्रष्टाचार गर्नेले मिडियामा आएर कसम खाईदिए चोख्याईएको बुझिन्छ । यो देशमा चर्का भाषण र नाराले मात्र व्यक्तित्व बन्दछ ।यो देशमा जसले अर्काको बिरोध र सत्तोसराप गर्न सक्यो उसैले प्रसिद्धि पाउँदछ । यो त यस्तो देश रहेछ जहाँ आफैं बिदेशी नागरिक बनेर शरणार्थी बन्न लालयित हुने देश रहेछ । यो देश यस्तो देश हो जहाँ बोलिदिए पुग्छ, पु¥याउनै पर्दैन । आचि आउने गरेर टुँडिखेलमा जस्ले बोल्न सक्छ त्यसको जिन्दगी बन्न सक्ने देश हो यो ।
यहाँ भिम मल्लले शिर सेरिएर मर्न परेको देश हो । कुख्यात हत्यारा र डाँकाहरु खुल्लमखुल्ला संसद भवन छिरेर शान्तिको प्रवचन दिने देश पो हो यो त । चोरलाई चौतारो, साधुलाई सुली, ईमान्दार कर्मचारीलाई सजायँ, भ्रष्टाचारीलाई फुली लाउने देश हो यो । लौन हामी कस्तो देशमा जन्मिएछौं भनिदिनुस् न ल । तारेमाम् !