18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

सम्झनामा कुलप्रसाद गुरु

संस्मरण/स्‍मृति रघुनाथ अधिकारी May 29, 2023, 12:13 am
रघुनाथ अधिकारी
रघुनाथ अधिकारी

गुरु कुलप्रसाद खनालसँग मेरो पहिलो भेट वि.सं. २०३५ सालमा भएको हो र त्यसपछि वि.सं २०६७ सालसम्म सँगै काम गर्ने अवसर मिलेको हो । म त्रिभुवन विश्वविद्यालय, पृथ्वीनारायण क्याम्पसमा वि.सं. २०३५ साल माघ २५ मा नियुक्ति लिए आउँदा गुरु प्राध्यापनरत हुनुहुन्थ्यो । गुरु भोलानाथ पराजुली, मतिप्रसाद उपाध्याय, राधावल्लभ उपाध्याय, चुडामणि सोती, पीताम्बर शर्मा लगायत नेपाली विषय पढाउने प्राध्यापक हुनुहुन्थ्यो । पठनपाठनका सुरुका दिनमा बढी सान्निध्य भोला गुरु र वहाँसँग भयो । पाठ्यक्रम र पाठ्य विषयवस्तुका कतिपय विषयमा अस्पष्ट हुँदा उहाँहरूसँग सोच्न म हिचकिचाउँदैनथें । खनाल गुरुले पनि खुशीसाथ प्रष्ट पारिदिनुहुन्थ्यो । उहाँको भाषाशैलीसँग परिचित नहुँदासम्म अलि समस्या हुन्थ्यो बुझ्न । भोला गुरुको अलि बुझिने भाषाशैलीका कारण अलि बढी भोला गुरुसँग सहयोग लिएँ । भोला गुरु अलि खुला पनि लाग्थ्यो मलाई किनभने कुनै कुरा सोधेकै बखत स्पष्ट पार्ने स्थिति भएन भने ‘यस बारेमा म भोलि स्पष्ट पारौंला है’ भन्नुहुन्थ्यो र भोलिपल्ट नबिर्सीकन छिचोलेर स्पष्ट पारिदिनुहुन्थ्यो स्रोतसमेत खुलाएर । पछि भाषाशैलीसँग परिचित हुँदै गएपछि खनाल गुरुसँग पनि पठनपाठनका सन्दर्भमा प्रशस्त सहयोग पाएको थिएँ अग्रज प्राध्यापकका रूपमा ।
तीन दशकभन्दा बढी समय सहकार्यका सन्दर्भमा गुरुसँग पठनपाठनका अतिरिक्त संस्थागत र साङ्गठनिक क्षेत्रमा पनि काम गर्ने अवसर मिल्यो । उहाँ भोला गुरुपछि पृथ्वीनारायण क्याम्पसको नेपाली विभागको अध्यक्ष वि. सं. (वि.सं. २०४२–०४७) र नेपाली विभागको विभागीय प्रमुख वि.सं. (२०६०–२०६७) हुनुभयो र सामञ्जस्यपूर्ण भूमिकाका साथ नेतृत्व प्रदान गर्नुभयो । विभागको प्राज्ञिक उन्नयनमा दत्तचित्त रहँदै समयसमयमा देखापर्ने विभागगत र पठनपाठनसँग सम्बन्धित कक्षागत समस्याहरूको समाधानका सन्दर्भमा पनि कतिपय अवस्थामा सहयोग गर्न पाउँदा खुशी नै लाग्थ्यो एक कनिष्ठ प्राध्यापकका रूपमा । त्यस्ता परिस्थितिमा उहाँको निष्कपट र सौहार्दपूर्ण व्यवहारले गर्दा नै सहयोग गर्न पाउँदा खुसी वा गर्व लागेको हो भन्ने लाग्छ मलाई ।
त्रि.वि., पृथ्वीनारायण क्याम्पस, पोखराको व्यवस्थापन समिति र कार्यसमितिको सदस्यका रुपमा नेपाली विभागको अध्यक्ष र विभागीय प्रमुखका हैसियतले वहाँले भूमिका निर्वाह गर्नुभयो । व्यवस्थापन समितिको सदस्यका रुपमा सँगसँगै काम गर्ने अवसर पनि मिल्यो । पछि म कार्यसमितिको सदस्य हुँदासमेत उहाँका सुझबुझपूर्ण परामर्शले त्यहाँ प्रभावकारी भूमिका निर्वाह गर्न महत्वपूर्ण सहयोग पु-याएको सम्झना छ मलाई । खास गरी व्यवस्थापन समितिका बैठकहरुमा खासै धेरै बोल्नुहुन्नथ्यो । आफ्ना सङ्क्षिप्त कुरा आफ्नै शैलीमा राख्नुहुन्थ्यो । बैठक सकिएर सँगै निस्कँदा व्यक्तिगत रुपमा तर्कपूर्ण सुझाव दिएर अर्को बैठकमा प्रभावकारी रूपमा प्रस्तुत हुन आफू र मलाई पनि मद्दत पु-याइरहनुहुन्थ्यो ।
नेपाल प्रगतिशिल प्राध्यापक सङ्गठनमा वहाँले विभिन्न तहमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभयो । सङ्गठनका साधारण बैठकहरु प्रायः सबैजसोमा उपस्थित हुनुहुन्थ्यो । आफूलाई लागेका कुरा सामान्य रुपमा राख्नुहुन्थ्यो जानुहुन्थ्यो । नेतृत्वको आकाङ्क्षी त्यति देखिनुहुन्नथ्यो मात्र हैन विशेष रुपमा अनुरोध नै गर्नुपर्थ्यो । साथीहरुले अनुरोध गरेपछि नेतृत्व लिन अवस्थाअनुसार मञ्जुर पनि हुनुहुन्थ्यो । यसरी नै नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनको क्याम्पस एकाइको अध्यक्ष, पश्चिमाञ्चल क्षेत्र ‘क’ हुँदै केन्द्रीय कार्यसमितिको सदस्यका रुपमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभयो । विभिन्न स्थानमा नेतृत्व गर्दा सङ्गठनका साङ्गठनिक, प्राविधिक, सैद्धान्तिक र नीतिगत सवालहरुमा समस्या आउँदासमेत साथीहरुसँग सहज रुपमा सल्लाह लिनुहुन्थ्यो । त्यस्ता सिलसिला र अवस्थाहरुमा विशेष रुपमा बाबुराम पौडेल सर र अन्य साथीहरुले जस्तै मैले पनि सघाउने अवसर पाएको छु । त्यस्ता सन्दर्भहरुमा क्याम्पसमा भेट भए त्यहीं र त्यहाँ नभए घरमै आएर भए पनि सहयोग र रायसुझाव लिनु हुन्थ्यो । मसँग जस्तै अन्य साथीहरुसँग पनि पक्कै लिनुहुन्थ्यो होला । यसलाई मैले नेतृत्वकर्ता वहाँको सरलता र एक किसिमको महानता पनि ठानेको छु । नेतृत्व तहमा रहँदा पनि तलका साथीहरुसित सँगै रहेको अनुभूति गराउँथ्यो वहाँका यस्ता व्यवहारले ।
उहाँले साहित्यिक क्षेत्रमा लेखनका साथसाथै विभिन्न साहित्यिक संस्थाको स्थापना र नेतृत्व पनि गर्नुभएको छ । विसं २०४९ सालमा कुलप्रसाद खनाल, रविलाल अधिकारी, घनश्याम ढकाल, नुमराज बराल, गोविन्द सुकुमलगायत साथीहरु भएर ‘गण्डकी साहित्य सङ्गम’ नामक प्रगतिशील साहित्यिक संस्थाको स्थापना गर्नुभयो र कुलप्रसाद खनालको अध्यक्षतामा पहिलो कार्यसमिति गठन गर्नुभयो । त्यस संस्था र खनाल गुरुसँग म त्यति साहित्यिक व्यक्ति नभएका कारण सुरुमा सम्पर्कमा थिइन । त्यस संस्थाले एउटा अक्षयकोष स्थापना गरेर ‘गोकुल साहित्य पुरस्कार’ राष्ट्रिय स्तरको र ‘गण्डकी साहित्य पुरस्कार’ क्षेत्रीय स्तरको स्थापना गर्ने निर्णय गरेछ । त्यसकै निम्ति सहयोग जुटाउने सन्दर्भमा मेरो उहाँहरुसँग सम्पर्क भयो । यसमा आफूले सहयोग रकम दिने र आफूले जानेसम्मका सहयोग पाउन सकिने व्यक्ति र क्षेत्रबारे जानकारी उपलब्ध गराएँ । पछि घनश्याम ढकाल र खनाल गुरु घरमै आउनुभयो र सहयोग जुटाउने अभियानमा म पनि सँगसँगै हिँडें । त्यसपछि मात्र एउटा प्रगतिशील साहित्यिक संस्थाको शुभेच्छुकका रुपमा म पनि त्यससँग सम्बन्धित हुन पुगें र वहाँहरु र मेरा बीचको सम्बन्ध कसिलो बन्दै गयो । सुरुका दुई कार्यकाल खनाल गुरु नै अध्यक्ष हुनुभयो । खनाल गुरुलाई त्यसमा पनि प्रतिभा छनोट समितिलगायत विभिन्न कार्यक्रमका सन्दर्भमा पनि सल्लाहसुझाव र सहयोग गर्ने अवसर पाएको छु । त्यस संस्थालाई पनि उहाँकै नेतृत्वको टिमले स्थापित गरेको हो प्रगतिशील साहित्यिक संस्थाका रुपमा र त्यतिखेर राजधानी बाहिरको जनस्तरबाट स्थापित सबैभन्दा ठूलो राशिको पुरस्कार स्थापना गर्ने संस्थाका रुपमा पनि ।
साहित्यिक व्यक्तित्वका दृष्टिले उहाँ गद्य साहित्यकार हो । खनालका प्रकाशित कृतिमध्ये चारवटा निबन्धसङ्ग्रह हुन् भने दुइटा समालोचना त्यसैले उहाँलाई मुख्यतः निबन्धकार त्यसपछि समालोचक मान्न सकिन्छ । रविलाल अधिकारी र म उहाँको पहिलो कृतिको नाम ‘पाँच लाखको चिट्ठा’ (२०२९) देख्दा एकैचोटि एक प्रकारले हास्यौं पनि, यद्यपि उहाँका अघि त्यसरी प्रस्तुत भएनौं । रविलाल प्रगतिशील कविका रूपमा बनारसमा छँदै चिनिएका र म पनि त्यसैको पक्षधर माक्र्सवादी वा बामपन्थी विचार बोकेको युवा । सायद् हामी ठेट्नै नै भएका हौं कि जस्तो लागेको हो, एकैछिनपछि शीर्षकले मात्र के गर्छ र ? गुदी खँदिलो र गहन पनि हुन सक्छ नि भनेर । त्यतिखेर रविलाल र म एउटै कोठामा बस्थ्यौं र सर्सर्ती पढ्यौँ पनि । पहिलो प्रभाव वा सोचका बारेमा त्यति पछुतो मान्नुपर्ने देखिएन । त्यो र त्यसपछिका ‘सडक र संस्कृति’ (वि.सं. २०५५), ‘आफू हराएको देश’ (वि.सं. २०६६), ‘मनोगत’ वि.सं. (२०७९) जस्ता निबन्धसङ्ग्रहहरुमा जनपषधरता र प्रगतिशीलता पर्याप्त छ । प्रगतिवादी सैद्धान्तिक साहित्यिक दृष्टिले त्यति कसिला देखिन्नन् । भाषाशैली उहाँकै छ र विशिष्ट पनि छ । संरचनागत दृष्टिले निबन्ध साहित्यको एक स्वतन्त्र भावनात्मक र वैचारिक अभिव्यक्ति हो भन्ने मान्यताको उत्कृष्ट नमुनाका रूपमा देखिन्छन् उपरोक्त सङ्ग्रहभित्रका कतिपय निबन्धहरु ।
व्यावहारिक रूपमा उहाँ प्रगतिशील विचारधाराका हुनुहुन्थ्यो । त्यति धेरै धार्मिक कृत्यमा कट्टरता वहाँमा थिएन । सामाजिक व्यवहारमा पनि दह्रो परम्परागत प्रचलनमा परिवर्तन चाहनुहुन्थ्यो । विधवा छोरीको पुनर्विवाहलाई वहाँले सहज रुपमा स्वीकार मात्र गर्नुभएन, आफैले त्यसमा दह्रो समर्थन र पहलकदमीसमेत लिनुभयो । त्यस्तै उहाँको अन्य व्यवहार पनि सरल, सामान्य र प्रगतिशील नै थिए ।
सारांशमा, सादगीपूर्ण जीवनशैली, शालीन व्यक्तित्व र सरह व्यवहार, जिम्मेवारीलाई निष्ठापूर्वक निर्वाह गर्ने, प्राध्यापन कार्यलाई पेशा, जिम्मेवारी र सेवा ठान्ने व्यक्तिका रुपमा म वहाँलाई सम्मान गर्थें । वहाँको पनि ममाथि सहानुभूति र हार्दिक सद्भाव थियो भन्ने लाग्छ । सेवाबाट निवृत्त भएपछि पनि हाम्रो सम्पर्क कहिले फोनमार्फत र पहिले भेटघाटमार्फत भइरहन्थ्यो । पहिले पनि बेलाबखत विशेष गरी चिसो मौसममा स्वास्थ्य परीक्षणमा काठमाडौं गइरहनुहुन्थ्यो । केही समय फोन र भेट भएको थिएन । एक दिन फोन गर्दा उहाँ बस्ने गरी काठमाडौं जानुभएको थाहा भयो । त्यसपछि बेलाबखत मलाई फोन गर्न मन लाग्थ्यो र वहाँले पनि सम्झनुहुन्थ्यो । पछिल्लो निबन्धसङ्ग्रह ‘मनोगत’ मेरा निम्ति काठमाडौंबाटै व्यक्तिहस्ते पठाइदिनुभएको हो । यो मप्रति उहाँको विशेष प्रेम र सद्भाव हो भन्ने मैले ठानेको छु । त्यसको केही समयपछि नै उहाँको निधन भयो । यस्तै र अन्य घनिष्ठ मित्रतापूर्ण र स्नेहपूर्ण व्यवहारका कारण म उहाँलाई सम्झिरहन्छु र अझै पनि सम्मानपूर्वक सम्झिरहने छु ।

पोखरा– ४, कास्की

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।