16 वर्षदेखि निरन्तर
समकालीन साहित्य

अक्वारियम र माछा

कविता गोपाल झापाली May 29, 2023, 12:28 am
गोपाल झापाली
गोपाल झापाली

ओ ! अक्वारियमको माछा,
तिमी आफुले आफूलाई माछानै ठान्छौ है ?
पानीमा तैरिन सक्छु, पौडिन सक्छु,
फुल्काले स्वास फेर्न सक्छु
भनेरै होला तिमीले आफूले आफूलाई माछा ठानेको ?
के तिमीलाई थाह छ, सागरको गहिराई ?
थाह छ, तिमीलाई नदीको बेग ?
थाह छ, तलाउको शुन्यता ?

काँचको बाकसमा पौडिएर,
खन्याएको चारो खाएर
बिजुलीको रोशनीमा चम्किएर
पठाई दिएको स्वास निलेर
माछानै ठान्छौ होईन आफूलाई ?
के तिमीलाई थाह छ, ह्वेलको झम्ट्याई ?
थाह छ, अक्टोपसको फँडा ?
थाह छ, मोतीको चमक ?

एक पटक सागरमा पौडिएर हेर,
तलाउमा डुवेर निस्क, नदीमा तैरिन सिक,
सक्छौ ? कहाँ सक्नू ?
तिमी आँफै पानीको कैदी हौ,
खन्याई दिएको पानीमा पौडिने
शिशाको सागरमा दौडिने
तौलिएको चारामा अघाउने ।
के तिमीलाई मात्र भन्नु है ?
तिमी जस्तै मान्छेहरु पनि
तिमीलाई माछानै भनि रहेका छन्,
तिमीसँगै रमाई रहेका छन्,
अक्वारियमको माछा जस्तै,
आफू हुनुको भ्रम पालिरहेका छन् ।
मान्छेहरुनै मान्छे हुँ भनेर भ्रमको बर्कोमा रमाएका बेला
तिमी अक्वारियममा कैद माछालाई के बल्छी हानिरहनु ?
के तिमलिाई तिमी को हौ भनेर सोधिरहनु ?
बरु सोधेर हेर एक पटक तिमीजस्तै मान्छेहरुलाई,
भनि हेर, ओ मान्छे तिमी के साँच्चै मान्छेनै हौ ?

दमक, झापा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।