17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

केटोको कथा

लघुकथा डा. खगेन्द्र दाहाल June 1, 2023, 12:48 pm
डा. खगेन्द्र दाहाल
डा. खगेन्द्र दाहाल

केटोको जुंगाको रेखी कोरिन थालेको थियो। कामकर्तव्य बुझ्ने बेला भएको थिएन। मिल्ने भए उसलाई बिहानभरि सुत्न मन थियो।

बाले झिसमिसेमै उठाए, अनि सोधे, “घुम्न जान्छस्?”

केटोले जान्न भनेर हुनेबाला थिएन।

हिंडेर तिनीहरू अनौठो ठांउमा पुगे। शान्त देखिने त्यो ठांउमा बेतमासको अशान्ती फैलिएको थियो। सडक किनारमा कमजोर मानिसहरू उभिएका थिए। तिनका हातखुट्टाभरि निलडाम थिए। कतिपय निलडाम निको हुंदै थियो, कति आलै।

केटोले नसोधि रहन सकेन। “यिनलाई के भएको हो, बुबा?”

बुढाले बिस्तार लगायो। “यिनीहरूका नेल भर्खरै मात्र काटिएका हुन। सयौंबर्ष नेलमा जकडिएको भएर यिनलाई खुला बस्न अभ्यस्त भएको छैन।”

केटो छक्क पर्यो। बुढाले थप्दै गयो, “अझै केही छन, जो सिकंजा नभै हिंड्न सक्दैनौ भनेर, उभिने-हिंड्ने अभ्यास नगरी बसेका छन्।”

“बिहानै कस्तो ठांउमा ल्याएका बुढाले!” मनमनै मुरमुरियो।

बुढोको हिंड्ने क्रम रोकिएन। अर्को गल्लीमा अर्काथरि मान्छेहरु सडक किनारमा बसेका थिए कालो चस्मा लाएर। पुरै उज्यालो भैसकेको थिएन।
“ति मानिसहरूले कालो चस्मा किन लगाएका?” केटोले आश्चर्यचकित हुंदै सोध्यो।

“यसको कथा लामो छ।” बुढाले सुरु गर्यो, “छोटकरीमा भन्नुपर्दा, धेरै युगसम्म यिनीहरू अध्यारोमा बसे, आंखामा कुनै उज्यालो परेन। चम्किलो प्रकाश यिनका आंखाले हेर्न सक्दैनन! त्यै भएर बिहान उज्यालो हुनु अघिदेखि घाम नअस्ताएसम्म यिनीहरू कालो चस्मा लाउंछन्।”

कुनै दार्शनिकले लेखेको निवन्ध भन्दा कम थिएन यो। केटोको दिमाग भाउन्न भयो। हिंड्न भने रोकिएन।

हिंड्दै जांदा, तिनीहरू अलिक डरलाग्दो ठांउमा पुगे। संधिग्ध देखिने बादल फैलिएको थियो। मान्छेको चालचुल थिएन तर मान्छे जस्ता आकृति सलबलाउंदै थिए।

छेउमा पुगेर देखियो, ति त अस्थीपंजर रहेछन। केटोको सातोपुत्लो गयो। “के हो यो, भागौं!” केटोको मुखबाट अरू केही निस्केन।

केटोलाई समाउंदै बुढोले भन्यो, “यिनले केही गर्दैनन्! यिनको शरिरमा प्राण छैन। मुर्दा खोतल्नेहरूले यहां ल्याएर छोडेका हुन।”

केटाको डर अलिक हरायो। बुढाले थप्यो, “यिनै मुर्दा उधेर्नेहरूले बोक्छन यि मुर्दा, अनि तिमी तर्सेझैं तर्साउन खोज्छन। यो मर्नु र तिमी जन्मनु एकै पल्ट थियो।”

केटोले कुरो बुझेझैं गर्यो। केटोलाई कहिले त्यंहाबाट हिंडौ भयो। अलिक पर पुग्दा उज्यालो देखियो। एउटा सुन्दर बस्तीमा मानिसहरू आफ्नो काममा लागेका थिए। त्यहां राम्रो चौतारो बनेको थियो। त्यो चौतारोमा बस्न ठेलमठेल थियो। बस्नेहरू सबैले श्रिपेच लगाएका थिए।

केटो छक्क पर्यो। बातिर हेर्यो मात्र। बुढोले कुरो बुझेर सम्झाउन सुरु गर्यो, “यिनलाई छोटे राजा भन्छन बाबु!”

“तिम्रो जन्मअघि एउटा मुख्य राजा हुन्थे, अनि ससाना रजौटाहरू। अहिले जो सुकैलाई राजा हुने अधिकार छ। ति मध्ये केहीलाई आफू सर्वेसर्वा हूं भन्ने छ। तिनैलाई भनिएको हो छोटे राजा!”

केटोले कुरा बुझेको भावले टाउको हल्लायो। बुढोले सम्झाउदैं भन्यो, “तिमीलाई धेरै खेलेर डुल्ने समय छैन। फटाफट ठूलो भएर राम्रो काम गरेर देखाउन पर्छ बाबु!”

बुढो रोकिएन, “तिमी जन्मिएर यत्रो भएको कतिलाई मन परेको छ, तर केहीलाई मन परेको छैन। त्यही भएर तिमीलाई धेरै रमाइलो नगर, काम चांडै सिक अनि खुट्टामा उभिहाल भनेको हो!”

केटोले बुझ्यो बा बुझेन थाहा भएन। तर बुझेको भावमा एकशव्द नबोली बुढोको पछि लुखुरलुखुर हिंडीरह्यो।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।