17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

कोपिला तेह्र वर्षे स्कूले जीवनबाट फक्रिएपछि….

निबन्ध नम्रता गुरागाईं June 3, 2023, 2:46 pm
नम्रता गुरागाईं
नम्रता गुरागाईं

नानीले भनेको कुरा हो रहेछ मामु ! कत्रो ठूलो स्कूल, कति नयां विद्यार्थी ! म त आज आफनै साथीसंग बसें, सबभन्दा ठूलो फ्री भनेको के रहेछ थाहा छ ? फोन जतिखेरपनि हेर्न पाइनेरहेछ ! छोराले बेलुका नबिसाइ बेलिबिस्तार लायो । ला….. जतिखेरपनि फोन हेरेर अनि ? भन्न के मुखमा आएको थियो तर शब्द भित्रै लगेर उसका कुरा सुनिमात्र रहें। स्कूले जीवनका ९ वर्ष सकिएको दिन अर्थात मिडिल स्कूल (८ कक्षा)को ग्य्राजुएसनको दिन बधाइ दिदैं अब माध्यामिक विद्यालयको मुख्य ढोका खोलेर भित्र जाउ छोरो, त्यहांभित्र तिमीले अरु धेरै ढोकाहरु देख्ने छौ, भनेका कुरा उत्तिबेलै सम्झिएँ । साथीहरुको लहैलहैमा लागेर कतै बेठीक ढोका देख्ने त हैन ? आमा मन थोरै हच्कियोपनि ।

हामी सबै आ–आफनै ब्यस्तताका डुंगा खियाउंदै समयको फेर समाउनैमा ब्यस्त भयौं । दिदी ११ कक्षामा त्यही विद्यालयमा पढथी, भाइ भर्खर ९ कक्षामा उसंगै गएको । मेरा फ्रेसमेन र जुनियरहरू खुशी नै थिए । म बेलाबेला छोरीलाई भाइको बारेमा सोध्थें । “मैले म फ्रेसमेनमा हुंदा भनेका कुरा र अहिले उ आफैंले देखेका कुरा उस्तै उस्तै लागे रे” ! छोरीले सुनाउंथी, म त्यसैमा ढुक्क हुन्थें ।

आफूमा स्वतन्त्रताका प्वाख हालेर स्कूल जान पाएकोमा खुशी त देखिन्थे नै छोराछोरी संगसंगै चिन्तितपनि उत्तिकै । कलेजमा पढनै पर्ने विषयहरु बिद्यालयमा निशुल्क पढन पाउने तथा उक्त विषयहरु जाँच स्कूलकै समयमा सकिने भएकाले धेरै विद्यार्थिहरु आफूले धान्न सक्नेजति विषयहरु लिंदारहेछन । हामी त छक्क पर्दै थियौं कसरी लेलान भनेर, छोराछोरीले भने एकपछि अर्को लिन थाले । कलेजमा ति विषयहरु फेरी पढन नपर्ने बनाउन कलेज र स्कूलको जांच दुबैमा पास हुनु पर्छ अरे, उनिहरु भनिरहन्थे ।

सबैकुरा उही गतिमा चलिरहेकै थिए । यसैबेला अचानक संसारलाई ठप्प पार्ने कोरोना नामको अदृश्य भाइरस आयो । त्यो जिवाणुको संक्रमणबाट संसारभरी नै भकाभक मान्छे मर्न थालेको समाचार आउन थाल्यो । मान्छे मान्छेबाटै सर्ने भएकोले एकअर्काको नजिक जानपनि डर लाग्न थाल्यो । छोराछोरी आ–आफना कक्षाको अन्त्यतिर थिए । धेरै छिटोछिटो नसरोस भनेर सरकारले लकडाउनको उर्दी जारी गर्यो । स्कूल, कलेज, अड्डा, अदालत, बजार, ब्यबसाय सबै बन्द भए केही समयका लागि । घरबाट पढन मिल्ने, काम गर्ने मिल्नेले घरबाट गर्न थाले, नमिल्नेहरु कि त धेरै सर्तकता अपनाएर अफिस जान थाले, कि त जागीर छोडेर घरमा बस्न थाले । ज्यानभन्दा ठूलो के नै पो हुनेरहेछ र ! हामीले नि त्यसै गयौं ।

साना केटाकेटीका अबिभाबकहरुलाई कति गाह्रो छ होला म अनुमान मात्र गर्थे तर ठूला केटाकेटीलाई घरमा राख्नपनि कम चुनौती कहाँ थियो र ! के गर्ने होला ? सोच्दासोच्दै १ महिना बित्यो । एक महिनापछि बिद्यालयहरुले पढाउने नयां तरिका अपनाएर भर्चूअल स्कूल शुरु गरे । हामी त घरबाट काम गर्दै थियौं नै, छोराछोरीकोपनि घरैबाट विद्यालय शुरु भयो । २४ सै घण्टा सबैजना संगै हुंदापनि मनमा चैन भने भएन । कोरोना भाइरस ढोकामै बसेको छ कि भनेजस्तो भयो । हामी कसैमा खुशी चाहेरपनि आएन ।

शैक्षिकसत्र सकियो, केटाकेटी कक्षा चढे तर पढाइको तरिका उही भर्चूअल नै भयो । छोराछोरी नचाहेर पनि भर्चूअल कक्षा लिन थाले । यस्तैमा दिदीको हाइस्कूलको अन्तिम वर्ष अर्थात सिनियर इयर, साथीभाइको मुख नदेखि सकियो । धन्न औपचारिक ग्रयाजुएसन समारोहपनि नभइ उसले स्कूलबाट बाहिरिन परेन । सानोतिनो भए नि स्कूलमै ग्रयाजुएसन समारोह भएकोले उसलाई थोरै खुशी दियो तर मलाइ भने आफनो छोरीले सकुशल विद्यालयको पढाइ सिध्याएकोमा खुशी हुन कोरोनाले एकछेउपनि छोएन । आफूले देखेको एउटा सपनाले साकार रुप लिएकोमा छोरीको ग्रयाजुएसनको ताज आफैँ पहिरिएर उफ्रिएं, नाचें, गाएं आफनै लयमा ।

छोरीले १२ सक्नुअघि नै कोरोनाको भ्याक्सिन आइसकेकोले विद्यार्थि, शिक्षक धेरैजसोले लाएपनि । केही मत्थर भएकोले गएको डेढ वर्षदेखि बन्द भएका स्कूल, कलेजहरु खुल्ने समाचार आयो । मेरिआमै….छोराछोरीमा खुशी त कति थपियो कति । स्कूलमा गएर साथीहरु भेटेर पढनुको मज्जा कहाँ भर्चुअल शिक्षाले दिंदोरहेछ र ! ११ कक्षादेखि भाइ स्कूल गयो, दिदी कलेज गइ । आफैले लगाएको गुंडबाट एउटा बच्चा भुरुरु…… उडयो, आफनो आकाश खोज्नका लागि । स्कूल जाने त घरैबाट जान्छ तर आँटको पखेटा हालेर उडेकी छोरीको उडानको परिधि कति होला ? केही बाधा त हुदैन उसलाई ? आमाको मनपनि आधा स्कूलतिर, आधा कलेजतिर उडीरहयो ।

छोरीको कलेजका झिना मसिना समचारपनि आमालाईं ठूला लाग्न थाले । शूरुशूरु मा त कतिखेर सुतीहोली, के खाइहोली, मिठ्ठो लाग्यो कि लागेन होला भन्ने कुराले धेरै सतायो। घरमा पाकेको उसलाई मन पर्ने खाना आमाको घाँटीमै अडकन थाल्यो तर बिस्तारै मलाइ यस्तैमा बानी पर्न कर लाग्यो । दिदी नभएको शुन्यतालाईं मेटाउन बेलाबेलै भाइलाई जिस्क्याइरहन्थेँ, स्कूलका बारेमा सोधिरहन्थेँ । दिनदिनैको स्कूलको बारेमा अलि धेरै भन्न लगाउन कर गर्न थालें । बल्लबल्ल अलिअलि भन्न थाल्यो तरपनि दिदीलेजस्तो बेलिबिस्तारमा हैन ।

छोरी कलेज गएको दुइ महिनाजस्तो भएको थियो, घरमा बुवाले आमाको नाउंमा पुराण लाउने हुनुभएकोले एक महिनाकालागि घर गएं । फर्किदा बुवालाइ लिएर आएं । कृसमसको बिदा भएर छोरीपनि एक महिनालाई घर आइ, दुइहप्तापछि छोरोकोपनि बिदा भयो । थपमा बुवापनि हुनुभएकोले मेरो घर खुशीले चुलिएको थियो। उनिहरु साथीसंग जस्तै कुरा गरेर बस्न थाले । गाडी ड्राइभ गर्ने लर्नर परमिट लिएकोले म बेलाबेला छोरालाई सिकाउनपनि निस्कन थालें । लाइसेन्स लिन ६० घन्टा गाडी कुदाएको हुनपर्छ रे, अलि धेरै जाउं न ! भनिरहन्थ्यो उ । म भने अल्लारे छोरालाईं छिटो लाइसेन्स लिइदिन त्यति हतारिएकी थिइन । बुवाले उनिहरुका स्कूल, कलेजका बारेमा उनिहरुसंगैं सोधिरहनुहुन्थ्यो । उनिहरु बुवाले बुझ्नेगरी भन्थे । अमेरिकामा भएपनि थोरै नेपाली भाषा सिकाएकीले आज बुवासंगपनि कुरा गर्न सक्ने भए छोराछोरी भनेर म भित्रभित्रै गदगद हुन्थें।

घरबाट आएको दुइहप्तापछि छोरालाई बाहेक हामी चारैजनालाई कोभिड पोजेटिभ देखियो । ज्यानमारा रोग घरभित्र पसेपछि लौ मारेन त अब ! नडराउं भन्दाभन्दै हामी डरायौं तरपनि भ्याक्सिन लाइसकेकोले हिम्मत बटुलेर म सबैको रेखदेखमा खटिंएं । हामी ३ जनाले कोरोनालाई सजिलै जित्यौं तर छोराछोरीको बाबालाई सोचेभन्दा धेरै नै गलायो । बाहिर सुनेका कोरानाका लक्षणहरु उनलाई सबै देखिएकाले धेरै समय लाग्यो टेस्ट नेगेटिभ आउन।धन्न अस्पतालकोको ढोका ढक्ढक्याउन परेन। छोरोमात्र ठीक भएकोले उसलाई जोगाउन धेरै साबधानी अपनाएकी थिएं मैले । बिचरालाई घरैभित्रपनि जेलमा बसेजस्तै भएछ । जब मलाइ र दिदीलाई नेगेटिभ देखियो, “मामु अब तपाइहरुलाई छुन हुन्छ ? भन्यो । उसले त्यसो भनेपछि पो म झसंग भएर पग्लिए, बिचारा….. आफ्नै आंखा अगाडी कति निस्ताएछ त छोरो ! रातदिन आफैंसंग थियो, आंफैले पकाएर खुवाएकी थिएं तर एकहप्ता उसलाई नछोइ वितेको चाहिं सत्य थियो । ओहो….छोएर लाग्ने मायां त अकैं पो हुनेरहेछ बच्चाहरुलाई ।

कोरोनासंग लाप्पा खेल्दाखेल्दै केटाकेटीको बिदा सकियो तर सबैले त्यो असतीलाई पराजित गरेकाले हामी खुशी भयौं। यस्तैमा दिदी कलेज फर्किइ। भाइपनि ११ को अन्तिम सेमेस्टरको लागि स्कूल जान थाल्यो। ११ कक्षाका जांच, प्रोजेक्ट, भोलेन्टियर काम, क्ल्ब, स्कूलको दौड त्यसमाथि गाडी ड्राइभ गर्नपनि सिक्न पर्ने भएकोले धेरै ब्यस्त हुन थाल्यो उ । यस्तैमा ११ सकेर २ महिनाजतिलाई स्कूल विदा भयो । “मामु स्कूल लाग्ने बेलामा त मैले लाइसेन्स लिइसक्नु पर्छ नि ! मेरो छुट्टीका बेला मलाइ अलि धेरै समय दिनु है”, दिनको एकचोटी त भन्न थाल्यो छोरो। उत्तरमा हुन्छ भन्थे तर हतारिएकी भने पटक्कै थिइन। लर्नर परमिट नलिएसम्म घरबाट बाहिर निकाल्न गाह्रो हुने छोरो लर्नर परमिट लिएपछि त बाहिर जाने कुरा सुन्नै नहुने, अघि नै हंसिलो अनुहार लाएर मैले ड्राइभ गर्दा हुन्छ ! भन्न थाल्यो । हुनपनि सानैदेखि उडने र गुडनेका कथाबाहेक अरु पढदैनथ्योपनि अब आफैले गाडीको स्टेरिगं समाएपछि त झन कति हतार लागेको होला, म अनुमानमात्र गर्थें ।

थोरै थोरै गरेर मैले उसलाई गाडी चलाउन दिने समय बढाउन थाले । एक काम दो पन्थ गर्नका लागि हप्ताभरीका घरलाई चाहिने सामान लिन उसैलाई लिएर हिडन थालें । मेरा कामपनि भए, उसले पुरयाउनपर्ने घण्टाहरुपनि बिस्तारै बढदै गए । नभन्दै सिकेको ६० घण्टा पुग्यो । त्यसपछि त लाइसेन्सको अन्तरवार्ताको लागि के पर्खन्थ्यो र छोरो ! आजै लिई दिनु एपोइन्टमेन्ट, भोली लिई दिनु एपोइन्टमेन्ट भन्न थाल्यो । बस्न खाना दिएन छोराले । नभन्दै लिइपनि हाल्यो लाइसेन्स । ए काले अब एक्लै गाडी लिएर हिडने भइस ? आमा मन भित्रभित्रै डरायो तर ठूला भएका छोराछोरीलाई एकदिन त दिनैपर्छ भनेर बिस्तारै उसलाइपनि एक्लै गाडी लिएर हिडन दिन थालें तर बानी नहुन्जेल आफूले भनेका बाटातिरमात्र जाने सर्तमा । बिस्तारै ममाथि बिश्वास जित्दै गयो ।

छुटटीपछि स्कूल शुरु भयो । छोरो सिनियर इयरमा अरे, त्यसै गमक्क छ उ, त्यसमाथि कलेज एप्लाइ गर्न पर्ने भएकोले ब्यस्तपनि त्यस्तै । आफू बसेका राज्य र बाहिरका केही कलेजहरुमा बिस्तारै एप्लाइ गर्न थाल्यो । बिभिन्न कलेजका आ-आफनै प्रश्नहरु, तिनिहरुलाई दिनु पर्ने जवाफपनि कलेज अनुसारका फरक फरक । भर्खर स्कूले जीवन सक्न लागेका नानीहरुलाई ति प्रश्नहरूको उत्तर दिन पक्कैपनि सजिलो थिएन । १६, १७ वर्षको उमेरका केटाकेटीलाई भविष्यको त्यस्तो चिन्ता नै कहां भएको हुन्छ होला र ! तर सोच्न बाध्य बनाउने प्रश्नहरुले उसलाई निकै पसिना छुटाएको म प्रष्ट देख्थें तर गर्न केही सक्दिनथें । उसका हरेक अप्ठयारामा दिदीले बिशेष भूमिका खेल्ने भएकीले आफूले लेखेका कुरा दिदीलाई देखाउंथ्यो । सानैदेखि हाम्राभन्दा धेरै दिदीका कुरा सुन्ने भएकोले उसले दिएको फिडब्याकलाई बिश्वास गरेर त्यो अनुसार आफना लेखाइहरुलाई कोरीबाटी चिटिक्क पारेर उसले चाहेका सबै कलेजमा एप्लाइ गर्यो ।

यसैविचमा दशैं तिहार आयो । घरबाट दिदी आउनुभएकोले वहांको हातबाट धेरैपछि टिका लाउन पाउनुपनि ठूलैकुरा भयो हामीलाई। आफन्तहरु भेट भयौं, सकेसम्म रमाइलो गर्यौ । दशैतिहार सकिएपछि यहांको चाड थ्यांग्सगिभिंग डे आयो । आफूलाई सहयोग गर्ने सबैलाई धन्यबाद दिन जुराइएको दिनलाई पर्वको रुपमा मान्न थालेको कुरा नानीहरु दिदीलाई भनिपनि रहन्थे । आजभन्दा भोलीभन्दा स्कूल र कलेजको पहिलो सेमिस्टरपनि सकिएर बिदा भयो । फेरी दुबैको रमाइलो दिन शुरु भयो । नजिकै आइरहेको कृसमसलाई कसरी मनाउने उनिहरु कुरा गर्न थाले । बुंइकलमा राखेको कृसमस ट्रि झिकेर ल्याएर सजाउन थाले । दिदी उनिहरुलाई देखेरे त्यसै दंग हुनुहुन्थ्यो त्यसमाथि यहांको जताततैको झिलिमिली आंखैले देखेर झन दंग परिरहनुभयो । मैले सजावटका सबैकुरा गर्न उनिहरुलाई जिम्मा दिएकीले धुपीको रुख सजाइसकेपछि सबैलाई पुग्नेगरी उपहारपनि किनेर ल्याए र रुखको मूनी राखे। आफनोपनि बिदा भएकोले मेरो काम उनिहरुले के खाने भन्छन त्यही पकाइदिने, नजिकैका ठाउं कहां जाने भन्छन त्यहीं जाने भयो । कृसमसको दिन बिहान सबैले आ आफना उपहार खोलेर रमाइलो गर्यौ ।

चाडबाड सकिएपछि स्कूल, कलेज फेरी शुरु भए । ओ हो छोराकोपनि १३ वर्षे स्कूले जीवनको अब अन्तिम सेमिस्टरमात्र बांकी ? यसपछि उसलेपनि दिदीलेझैं आफनो गुंड छोडेर उडने दिन आउने भयो त ? आमाका मनमा अनेकौ तर्कना खेल्न थाले तर राम्रो कुरालाई राम्रै ढंगले लिनुपर्छ नि ! मेरो भित्रि मनले भनिरहेकै थियो । फाराम भरेका कलेजहरुबाट घरमा चिठी आउन थाले । कुनै हेरेर खुशी भयो, कुनै हेरेर अलि दुखीपनि तर जाने एउटामा भएकाले तिनै मध्ये छानेर टुंगो गर्यों । छोरो घरबाट २ घण्टा पर नर्थ क्यारेलाइना राज्यमै पर्ने सारलेट भन्ने शहरमा रहेको यूनिभरसिटी अफ नर्थ क्यारोलाइना सारलेटमा जाने भयो ।

“यसपाली त प्रम पार्टीमा जान्छु है मामु पोहोर त गइन”, एकदिन छोराले भन्यो । जुनियर र सिनियर क्लासका विद्यार्थिलाई रमाइलो गरुन भनेर विद्यालयले एकदिन औपचारिक पार्टीको आयोजना गरिदिने रहेछ, नाम Promenade, छोटकरीमा Prom भन्दारहेछन। छोराका कुरा सुनेर हुन्छ, को को जान्छन् नि? मैले उतिर प्रश्न फालें । मेरा केही साथीका गलफ्रेन्ड छन उनिहरु तिनैसंग जान्छन म चाहिं अरु बांकी मजस्तै साथीसंग जान्छु भन्यो । यही मौका पारेर अनि तिम्रो चांही कोही....मैले भनिसक्न नपाउंदै “मसंग त्यो टाइम नै भएन”, उसले हास्दै भन्यो । मपनि उसंगै हांसे । थोरै भएनि आफना कुरा आमासंग बांडने भएछ छोरो, खुशी लाग्यो । म अलि महंगो हुन्छु होला है मामु टाइ सुट लाएर जान्छन सबैजना उसले फेरी थप्यो । छोराले कति महंगो हुन खोजेको हो थाहा थिएन तरपनि त्यति धेरै नभन्ला भन्ने लागेर एकदिन मैले उसलाई सुट किन्न लगें, साथमा उसकी दिदीपनि थिइ । लुगा छानेर ति सबै लाउंदा त मेरो सानो बारीको फूलको कोपिला कहिले फक्रिसकेछ थाहै पाइन, मैले एक निमेशले उसलाइ हेरिरहें । मेरो तन्नेरी छोराको वालापन मेरा आंखा अगाडि छरपष्ट भए ।

छोराका बिद्यालयका अतिरित्त क्रियाकलापहरु एक एक गरी सकिदै गए । आज फलानो भोलेन्टियर सकियो भन्दै केही उपहार लिएर आउन थाल्यो छोरो, भोली चिलानो। आमा भने यो सकिने क्रम अलि ढिलो भइदिएनी हुन्थ्यो नि भन्छे मनमनै। छोराको उज्यालो अनुहारमा वादल लाउनपनि चाहन्न आमा तर चांडो चांडो गती समातेको समयको फेरमा झुन्डिएर अलिकति ढिलो हिडाउंन भने चाहन्छे ।

अतिरित्त क्रियाकलापहरु सकिएपछि कलेज लेभलका विषयहरुको जांच धमाधम आयो । मानसिक र शारिरिक दुबैको तनाबले होला जांच सकेपछि निकै थाकेको देखिएपनि भोलीपल्ट जस्ताकोतस्तै देखिन्थ्यो उ। मुख्य जांचहरु सकिएपछि उसका सानासाना काम मात्र बाँकी रहे स्कूलमा । ति पनि सकिएपछि उ स्कूल जान मन गर्न छोड्यो । आमै एकदिन भन्दा दुइदिन भन्दा उसको बिद्यालयको अन्तिम दिनको ढोकाबाट बाहिरिने दिन आयो ।

आफनो सानो बच्चालेपनि आफनो आकाश खोज्न सुरसार गर्न थालेको कुरा सत्य हो तर आमालाई भने गुंड अहिल्यै रित्याउन भने पटक्कै मन छैन । मन नहुदां नहुंदै उसको १३ वर्षे बिद्यालयको यात्रा शकुसल सकिएर उच्चशिक्षाको मोडमा उभिने दिन आयो नै । अर्थात उसको दिक्षान्त समारोह बाजा बजाउंदै आयो । यो खुशियालीमा मेरो छोरालाइ बस म यति भन्छु-

छोरा !

तिमी दिक्षित हुने दिन नजिकिदै छ । धेरै धेरै बधाइ तथा शुभकामना १ मलाइ आफूपनि तिमीसंगै दिक्षिति हुंदैछु भनेजस्तो लागेको छ, जुन दक्षता मैले तिमीबाटै सिकेर हांसिल गरेकी हुं । यो त शुरुवात मात्र हो । तिमीले पछि धेरै कुराबाट दिक्षित हुन पर्ने हुन्छ, कुनै पढेर त कुनै परेर । तिमी तिम्रो आकाशको उडान भर्दै जाउ । कहिलेकाहि चलेको बेमौसमको हावाले एउटा रफतारमा उडिरहेको जीन्दगीलाई साह्रै नमिठोगरी हल्लाइदिन सक्छ, त्यसको सामना गर्नपनि तयार बनाउनु पर्छ आफूलाई । बाटो कहां सजिलोमात्र हुन्छ र सधै, अप्ठयाराहरु मै सजिलो खोज्न पर्ने हुन्छ । म आफूमा यो बिश्वास गर्छु कि मैले तिमिलाई त्यो हिम्मत भरिदिएकी छु । तिमी उडदै जाउ, म तिम्रो उडानका अप्ठ्याराहरुलाई सहज पारिदिन कोशिस गर्ने छु र तल बसेर तिम्रो सफलताको गीत गाइरहने छु ।

उही तिम्री मामु

अमेरिका

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।