16 वर्षदेखि निरन्तर
समकालीन साहित्य

बाध्यता

लघुकथा जेबी खत्री June 3, 2023, 2:54 pm
जेबी खत्री
जेबी खत्री

वल्लाघर–पल्लाघर,तल्लाघर–माथ्लाघर,छर–छिमेकका प्रायःसबै युवा,युवतीहरू रोजगारका लागि विदेश जाने आउँने गर्छन् । कसैको गलामा विदाइको माला र निधारमा रातो टीका । कसैलाई आगमनको स्वागत । अस्ति भर्खर मात्र पल्लाघरे जेठो दुवईबाट फर्केको । आज फेरि तल्लाघरे कान्छो साउदीबाट टुप्लुक्क आइपुग्यो ।

बाबाले विदेशबाट ल्याइदिएको खेलौनासँग खेल्दै खुशीले आँगनमा उफ्रिरहेको आकासलाई देखेर अन्जुले आँखाभरि आसुँ पार्दै रुन्चे स्वरमा आमालाई सोधी,मामु हाम्रो बाबा पनि विदेशबाट कहिले आउँनु हुन्छ ? आउँदा मलाई पनि आकासको जस्तै खेलौना अनि कम्प्यूटर ल्याई दिनु हुन्छ हगि ?

छोरीका प्रश्नको प्रतिउत्तरमा उनका आँखाबाट आसुँ झर्न थाले । उनलाई धेरै दिनपछि आजफेरि विदेशमा मृत्यु भएका आफ्ना श्रीमान्को पीडा बल्झियो । उनीले केवल काखमा बसेकी सानी छोरीको टाउको सुम्सुम्याई रहिन् । गालाका पेट चिर्दै उनका आँखाबाट निरन्तर आसुँ झरिरहे ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।