18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

‘आफू हराएको देश’मा विचरण गर्दा

कृति/समीक्षा नारायण मरासिनी June 7, 2023, 10:16 pm
नारायण मरासिनी
नारायण मरासिनी

१. निबन्धकार कुलप्रसाद खनाल
वि. सं. २००१ (नागरिकतामा २००४) मा तनहुँ जिल्लाको चुँदीमा जन्मेका निबन्धकार कुलप्रसाद खनालको २०७९ साल साउन ४ गतेका निधन हुन पुग्यो । पोखराको मालेपाटनमा स्थायी बसोबास गरेका खनालको कलम नेपाली निबन्ध र समीक्षाका क्षेत्रमा बढी चलेको पाइन्छ । समीक्षाभन्दा पनि बढी उनको रुचिको विधा निबन्ध हो भन्ने कुरा उनकै प्रकाशित चारवटा निबन्धसङ्ग्रहले पुष्टि गरेका छन् । उनका प्रकाशित निबन्धसङ्ग्रहहरुमा ‘पाँच लाखको चिट्ठा’ (२०२९), ‘सडक र संस्कृति’ (२०५५), ‘आफू हराएको देश’ (२०६६) र ‘मनोगत’ (२०७९) छन् भने समीक्षातर्फ ‘चिन्तनका पाइलाहरु’ (२०४४) र ‘दृष्टिका आयाम’ (२०६४) गरी दुई समीक्षासङ्ग्रह प्रकाशित छन् । यी कृतिका अतिरिक्त खनालका विभिन्न फुटकर लेखहरु पनि विविध पत्रपत्रिकामा प्रकाशित छन् ।
कुलप्रसाद खनाल साहित्यिक संस्थाहरुका साथै शैक्षिक तथा सामाजिक सङ्घसंस्थाहरुमा पनि क्रियाशील व्यक्तित्वका रुपमा परिचित छन् । ‘गण्डकी साहित्य सङ्गम’, पोखराको स्थापना र विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेका खनाल यस संस्थाका संस्थापक अध्यक्ष पनि हुन् । ‘प्रगतिशील लेखक सङ्घ’अन्तर्गत कास्की शाखाको अध्यक्ष र केन्द्रीय सदस्य भएर पनि प्रगतिशील साहित्यको उन्नयनमा लागिपरेका खनालको सम्पादन व्यक्तित्व पनि उल्लेख्य रहेको छ । ‘गण्डकी सङ्गम’, ‘पृथ्वी वाङ्मय’, ‘तनहुँ सङ्गम’ लगायतका पत्रपत्रिकाको सम्पादनमा संलग्न खनालले लगभग चार दशकको समय प्राध्यापन पेशामा व्यतीत गरेका छन् । उनले पृथ्वीनारायण क्याम्पस, पोखरामा नेपाली विभागको विभागीय प्रमुख भएर पनि काम गरेका छन् । शिक्षा सेवा पुरस्कार (२०४८), दीर्घ सेवा पुरस्कार (२०५३), गण्डकी वाङ्मय पुरस्कार (२०६६) आदि यिनले प्राप्त गरेका मानसम्मान तथा पुरस्कारहरु हुन् ।
२. ‘आफू हराएको देश’ निबन्धसङ्ग्रह
‘आफू हराएको देश’ बिसवटा निबन्ध सङ्कलित सङ्ग्रह हो । ‘जमघट गुफाको, थालनी नयाँ यात्राको’, ‘आतङ्क स्रोत’, ‘अनेक सत्य’, ‘विद्रोह’, ‘सार्थक बाँच्नु’, ‘ठूला मान्छे’, ‘बौद्धिक विसङ्गति’, ‘उधर का माल इधर’, ‘प्रतिभा र प्रवृत्ति’, ‘आफू हराएको देश’, ‘मान्छे मौसमी मान्छे’, ‘कविता कलामा हिट्लर’, ‘विश्राम एउटा मृत्यु’, ‘आन्दोलन एउटा निरन्तरता’, ‘बधाईभित्रका बोलीहरू’, ‘सडक र सालिक’, ‘मृत्यु र चोट’, ‘मन र मान्छे’, ‘देखेका कुरा’ र ‘आजको सांस्कृतिक विचलन’ शीर्षकका निबन्धहरु यस सङ्ग्रहमा सङ्कलित छन् । सङ्ग्रहको प्रकाशक ‘गण्डकी साहित्य सङ्गम’, पोखरा रहेको छ । कभरबाहेक जम्मा ६८ पृष्ठमा बिस्तारित यस सङ्ग्रहका अधिकांश निबन्ध सङ्गृहीत हुनुपूर्व विभिन्न पत्रपत्रिकामा प्रकाशन भइसकेका देखिन्छन् । यसमा २०५७ सालदेखि २०६४ सालसम्म छ वर्षको अवधिमा लेखिएका निबन्धहरू सङ्कलित छन् । निबन्धहरु प्रायः लघु आकारका छन् । कम्तीमा दुई पृष्ठदेखि बढीमा पाँच पृष्ठसम्म बिस्तारित निबन्धहरु यसमा छन् । ‘विद्रोह’ यस सङ्ग्रहको सबैभन्दा छोटो आकार (डेढ पृष्ठ) को निबन्ध हो भने ‘जमघट गुफाको, थालनी नयाँ यात्राको’ सबैभन्दा लामो आकार (पाँच पृष्ठ) को निबन्ध हो ।
३. सङ्गृहीत निबन्धहरुमा विषयवस्तु
प्रस्तुत ‘आफू हराएको देश’ सङ्ग्रहको पहिलो निबन्ध ‘जमघट गुफाको, थालनी नयाँ यात्राको’मा निबन्धकार कुलप्रसाद खनाल साहित्यकार सरुभक्तको निम्तो मान्न २०५७ सालको फागुपूर्णिमा दिन पोखराको महेन्द्रगुफामा पुगेका छन् । रङ र कोलाहलबाट मुक्तिका लागि स्रष्टा–द्रष्टाहरु पोखराको उत्तरी भेगको पहाडी घाँचमा पुगेका हुन् । त्यहाँ कार्यक्रमको चाँजोपाँचो सरुभक्तले मिलाएका छन् । केही समय गुफाभन्दा माथिको घार्मी डाँडातिर घुमेको शब्दचित्र छ । त्यहाँ पोखरेली साहित्यकार–कलाकारहरुको जमघट छ । तेजनाथ घिमिरे, सरुभक्त, रविलाल अधिकारी, भूपनिधि पन्त, विश्व शाक्य, प्रकट पँगेनी ‘शिव’, रामबहादुर बानियाँ, क्षेत्रलाल कायस्थ लगायतको उपस्थिति छ । आत्मालोचना गोष्ठी नाम दिएर गुफामाथिको चौरमा आयोजित उक्त कार्यक्रममा समसामयिक साहित्यिक लेखनसम्बन्धी विमर्श गरिएको छ । दोस्रो निबन्ध ‘आतङ्क स्रोत’ निबन्धमा निबन्धकार खनाल मान्छेले आतङ्कको खेती गरेकामा चिन्तित छन् । सामूहिक चिन्तन र प्रवृत्तिको ह्रास हुँदै गएकामा उनी दुःखी बनेका छन् । व्यक्तिवादी प्रवृत्ति हावी भएकाले समाज नै आतङ्कित बनेको उनको ठहर छ । राजनेताहरुका सत्ता र सौविध्य खिचातानीहरु नै आतङ्क उत्पादनका कारक तत्व हुन् भन्दै यस निबन्धमा निबन्धकार खनालले सीमित मान्छेले नै आम जनमानसमा आतङ्क फैलाएका छन् भन्ने उल्लेख गरेका छन् । उनले प्रजातन्त्र पनि बाँदरको हातको नरिवल भएको ठानेका छन् । उनले लेखेका छन्, ‘सीमित मान्छेले जनताका नाममा व्यक्तिका असीमित अधिकारहरु लुटे । त्रस्त र आतङ्कित मानव बस्तीमा यस वेला छट्टु स्यालहरुको बिगबिगी छ' (पृष्ठ ७) । आतङ्क रोक्ने नाममा मच्चाइएको आतङ्कका कारण जनता आहत छन् भन्दै निबन्धकारले हिंसाविरुद्धको हिंसात्मक आक्रमणलाई नियमसङ्गत प्रकृति ठानेका छन् । आतङ्कका कारण परिवारहरु क्षतविक्षत छन्, समाज विखण्डित छ, मानवीय मूल्य स्खलित हुँदै गएको छ । मान्छे आफ्नै मान्छेहरुबाट आतङ्कित छ । विचार विचलन र नैतिक अवसानतर्फ उन्मुख हाम्रो आजको जीवन पद्धतिमा आतङ्क व्याप्त छ । मानिस असामाजिक बन्दै गएको छ । सर्वसाधरणहरु आतङ्कित जीवन बाँच्न बाध्य छन् । हामी परजीवी राष्ट्रवादी भएर बाँचिरहेका छौं । यो निकै विडम्बनायुक्त कुरा हो । शैक्षिक माफियाहरु, भ्रष्ट कर्मचारीहरु, धूर्त नेता सबै सबैले समाजमा आतङ्क फैलाइरहेको छन् भन्ने आशयमा यो निबन्ध सिर्जित छ ।
‘अनेक सत्य’ निबन्धमा निबन्धकार खनालले विश्वासको परिणामलाई सत्य मानेका छन् । उनले सत्यलाई विचार जगत्मा पलाउने व्यक्ति मानवसत्ता भित्रको मनोगत वस्तु ठानेका छन् । हिजोको सत्य आज पनि उही रुपमा सत्य हुन सक्दैन भनेका छन् । यस निबन्धमा सत्यता व्यक्तिको दृष्टिमा भरपर्ने कुरा हो भन्ने आशय छ । ‘विद्रोह’ निबन्धमा निबन्धकारले विद्रोहलाई सङ्गतिको अभावमा विचारद्वारा निर्देशित भएर जन्मने प्रतिक्रिया ठानेका छन् । विद्रोह एकाएक विष्फोट हुँदैन, विगतका क्रमबद्ध विसङ्गतिहरुको थाकबाट नै विद्रोह जन्मने कुरा उल्लेख गर्दै उनले विद्रोहलाई विरुपताको प्रतिक्रियात्मक अभिव्यक्ति मानेका छन् । सामाजिक जीवनका हरेक फाँटमा विद्रोह अनिवार्य छ भन्दै निबन्धकारले जीवनलाई नै विद्रोहको अर्को नाम हो भनेका छन् । ‘जीवन भन्नु विद्रोह हो अर्थात् गति हो पृष्ठ १३) । ‘सार्थक बाँच्नु’ निबन्धमा जीवनलाई सार्थक तुल्याउने उपायको खोजी गरिएको छ । गतिहीन जीवन सार्थक जीवन हुनै सक्दैन, पसिनाको नुन खानेहरुले अर्थात् श्रममा बाँच्नेहरूले मात्रै जीवनको मूल्यबोध गर्न सक्छन् । क्रियाशीलता तथा सिर्जनशीलताबिना सार्थक जीवन बाँच्न सकिँदैन भन्दै निबन्धकार खनालले सहरिया जीवन यान्त्रिक तथा खोक्रो बन्दै गएकामा चिन्ता व्यक्त गरेका छन् । हनुमान वृत्तिका मानिसहरुले सार्थक जीवन बाँचेको अभिनय गरेकाप्रति पनि उनले यस निबन्धमा कटाक्ष गरेका छन् । निबन्धकार खनालको जीवनसम्बन्धी मान्यता तथा दृष्टिकोण यस निबन्धमा आएको छ ।
‘ठूला मान्छे’ निबन्धमा कस्ता मानिसलाई ठूला ठान्ने भन्ने बारेमा अन्योल छ । प्रत्येकले आफूलाई ठूलाबडा सम्झिरहेका छन् । शैक्षिक प्रमाणपत्रधारी भुइँफुट्टाहरुलाई ठूला ठान्न निबन्धकार खनालको मन मान्दैन । भ्रष्टाचारमा लिप्त नेताहरुलाई पनि उनले ठूलाबडाको कोटिमा राख्न सक्दैनन् । हाम्रो समाजमा धेरै मानिसले ठूलाको पहिचान गर्न सकेका छैनन् । छट्टुहरुले ‘बडाले जो ग-यो काम हुन्छ त्यो सर्वसम्मत’ भन्दै ठुल्याइँको विज्ञापन गरिरहेका छन् । धर्मका नाममा पण्डाहरुले समाजलाई नै दिग्भ्रमित पारिरहेका छन् । धूर्तहरुले नाइके बनेर मुक्तिका सपना बाँडिरहेका छन् । वास्तविक ठूला मान्छेको पहिचान हाम्रो समाजले गर्न सकेको छैन, देशले गर्न सकेको छैन । यो निबन्ध देवकोटाको ‘भलादमी’ निबन्धको विषयवस्तुसँग नजिक छ र विचार तथा शैली पनि भलाद्मीबाटै प्रभावित छ । ‘बौद्धिक विसङ्गति’ मूलतः शैक्षिक क्षेत्रमा देखापरेका विकृति उधिन्न उद्यत निबन्धका रुपमा आएको छ । ज्ञान नभई कागजी सर्टिफिकेट आर्जन गरेर मान्छे बौद्धिक बनेको छ । विश्वविद्यालयबाट डाक्टर र डिलिटका तक्मा लगाएका बुद्धिजीवी भनिनेहरुले कागजी सर्टिफिकेटको बल्छी थापेर शैक्षिक कारखाना खोली व्यापार गरिरहेका छन् । स्वघोषित बौद्धिकहरुले नै बहस, गोष्ठी, अन्तरक्रिया तथा भाषणको भ्रम छरेर अर्थहीन तर्कजालद्वारा समाज र राष्ट्रकै गन्तव्यलाई रोक्ने काम गरेका छन् । आज हाम्रो समाजमा देखिएका बुद्धिजीवीहरू भुइँफुट्टा छन् । उनीहरुलाई माटाको सुवास थाहा छैन । श्रमिक–मजदुरहरुसँग उनीहरूको सामीप्य छैन । मौलिकताबाट निकै पर छन् । सतही चिन्तनको भुलभुलैयामा छन् । आफूलाई बौद्धिक ठान्ने प्राज्ञहरु नै अवसरवादी छन् । बौद्धिकहरु सेवामुखी छैनन्, पैसामुखी छन् । उनीहरूले विद्यालय तथा कलेजहरूको खरिद–बिक्री गरिरहेका छन् । उनीहरु वास्तवमै उद्योगको मालिक जस्ता छन् । प्रकाशकसँग कमिशन माग्छन् भन्दै यस निबन्धमा निबन्धकारले लेखेका छन्, ‘समाज, राष्ट्र, युग र व्यक्तिको जीवनमा पनि शैक्षिक मूल्यका नाममा विद्रूप र विसङ्गत लाग्ने आजको बौद्धिक जगत् चरित्रका दृष्टिमा कुरुप लाग्छ’ (पृष्ठ २३) ।
‘उधर का माल इधर’ निबन्धले नेपालीले स्वतः गुमाउँदै गएको वर्तमानलाई विषय बनाएको छ । हामीले आफ्नो मौलिक पहिचान गुमाएका छौं । भारतका विभिन्न शहरहरुमा ‘कान्छा’ र ‘बहादुर’जस्ता अपमानपूर्ण नाम भिरेर हामी उधरका माल भएका छौं । मलेसिया र अरबका खाडीमा पनि हामी मालका रुपमा बिकिरहेका छौं । इतिहासका विभिन्न कालखण्डमा पनि हामी उधरकै साम्राज्य विस्तारका लागि प्रयोग भयौं र भी.सी. तक्मा थापेर नाक फुलायौं भन्दै यस निबन्धमा निबन्धकारले हामीले स्वत्व गुमाएकाप्रति असन्तुष्टि व्यक्त गरेका छन् । भारतीय व्यापारीहरु उधरका माल अर्थात् साडी, तन्ना र सिरकका खोल लिएर हाम्रा गाउँ, बस्तीबस्तीमा पुगिरहेका छन् । यता हामी भने भएका कलकारखाना र घरेलु उद्योगमा पनि भोटे ताल्चा लगाएर पटाङ्गिनीमा बसी घाम तापिरहेका छौं । खनालकै शब्दमा ‘अव्यवस्थित बजार बनेको छ नेपाल र यहाँका सडकपेटीहरु छोपिएका छन् विदेशी मालहरुबाट । हङकङ र खासाले आकर्षण दिइरहेका छन् फेन्सीहरुमा र जापान र कोरियाहरु सजिइरहेका छन् सुपरमार्केटभरि । नेपाली घरेलु कारखाना र कार्यालयहरु वर्षायामका छिँडी बनेर थन्किएका छन्’ (पृष्ठ २६) । ‘प्रतिभा र प्रवृत्ति’ निबन्धमा प्रतिभाको दुरुपयोग भएकामा चिन्ता छ । आज मान्छेले आफूभित्रको प्रतिभालाई सही रूपमा उपयोग गर्न सकेको छैन । प्रतिभाशालीहरु कर्तव्यबाट स्खलित छन् । प्राइवेट अस्पताल चलाउने डाक्टरदेखि विश्वविद्यालयमा प्रतिभा प्रदर्शन गर्ने प्राज्ञासम्म र कालोपत्र खाएर रोडमा रोडा मात्र छर्ने ठेकेदारहरु अनि हप्तैपिच्छे विदेश भ्रमणको निम्तो माग्ने शासकदेखि जनताका आँखामा छारो हाल्दै सत्तामोहको रोगमा डुब्ने नेतृत्वका प्रवृत्तिहरू आजका विसङ्गति हुन् भन्ने विषयमा यो निबन्ध बिस्तारित छ । वर्तमान समाजमा प्रतिभाको क्षयीकरण छ र यो प्रवृत्तिगत विचलन राष्ट्रका निम्ति दुर्घटना पनि हो भन्ने आशय यसमा छ । राजनेताहरुको चिन्तनदेखि कला साधकहरुमा समेत प्रवृत्ति स्खलन छ, विचारको पतन छ । उनीहरुमा आफ्नो हुनुको औचित्य सकिएको छ भन्ने आशयमा यो निबन्ध सिर्जित छ ।
सिङ्गो सङ्ग्रहकै नामकरण गरिएको ‘आफू हराएको देश’ यस निबन्ध सङ्ग्रहको एक सुन्दर निबन्ध हो । देशभित्रका विकृतिहरु उधिनिएको यस निबन्धमा निबन्धकार खनालका अनुसार अहिले देश देशजस्तो छैन । देशमा विदेशी साम्राज्य विस्तार भएको छ । देश पराईको ईसारामा नाचिरहेको छ । देशभित्रका हाम्रा वाणीहरु खोसिएका छन् । यहाँ हामी हाम्रो भाषा बोल्न पनि हिचकिचाइरहेका छौं । अङ्ग्रेजी भाषाप्रतिको मोहलाई निबन्धकारले यसरी प्रस्तुत गरेका छन्, ‘मेरी छोरीले लर्ड बुद्ध एस्से कम्पिटिसनमा फस्ट प्राइज पाइछ’ (पृष्ठ ३०) । हामीले भाषाको मौलिक अस्तित्वलाई तिलाञ्जली दिएका छौं । विदेशी लवजमा अभिभावकहरुले गौरवको बोध गरेका छन्, स्वदेशी वाणी हराउँदै गएको छ, हाम्रो आफ्नै खालको चिन्तन र जीवनपद्धति स्खलित हुँदै गएको छ । नेपाल नेपालजस्तो छैन । भूगोलभित्रको ढुङ्गा र माटाको थुप्रो मात्र देश होइन, देशको जीवन्तता देशवासीको बानी र संस्कृतिमा झल्कन्छ । देशको अर्थ नागरिकहरूको जीवनपद्धति र प्रयोगमा फेला पर्छ । हाम्रो समाजका ऐतिहासिक गौरवहरु अहिले बन्धकमा परेका छन् । सांस्कृतिक चिन्तन साँघुरिएको छ । हामी आफैबाट गिर्दै गएका छौं । यहाँ राष्ट्रको चिन्तन गर्नेहरुको कमी छ । समाजमा माटाको गन्ध मन नपराउने मान्छेहरु बढी छन् । देश नदुःख्ने मान्छेहरुको बाहुल्य छ । अहिले राष्ट्र वास्तवमै अराष्ट्र बन्न पुगेको छ, देशको अस्तित्व गुम्दै गएको छ, हामी भित्रैबाट हाम्रो देश हराएको छ । सन्तानलाई विदेश पठाएर देश रित्तो बाँचिरहेको छ । आज सामाजिकता हराएको छ, सामूहिकता हराएको छ । समाज खोक्रिएको छ, विवेकशून्य भएको छ । मान्छे जडजस्तो छ, देशमा ढुङ्गामाटो मात्रै छ, मानवता छैन, आफ्नोपन हराएको छ । सांस्कृतिक पतन भएको समाजमा देश खोज्नुपर्ने विडम्बना छ । हिजो हाम्रो आफ्नो अस्मिता प्रदर्शनमा साक्षी बसेका भीमसेन थापा, अमरसिंह, अरनिको, बुद्ध र भानुभक्तहरु पनि आज लाज मानेर घोसेमुन्टो पारी बसेका छन् । देशभित्र विदेशी संस्कृति मौलाएको छ । आधुनिकताका नाममा हामी आफ्नो मौलिकता गुमाउँदै नक्कली जीवन बाँचिरहेका छौं । समाज स्वसभ्यताबाट पलायन हुँदै छ भनेर चिन्ता व्यक्त गरिएको यस निबन्धमा देशभक्तिको भावना अर्थात् देशप्रतिको सद्भावलाई विषयवस्तुका रूपमा विन्यास गरिएको छ । वर्तमान विकृत पक्षलाई उदाङ्गो पार्दै सुसंस्कृत र मौलिकतामा हामी चुक्न नहुनेतर्फ निबन्ध लक्ष्यित छ ।
‘मान्छे, मौसमी मान्छे’ आजको मान्छेको प्रवृत्तिलाई केन्द्रमा राखेर लेखिएको निबन्ध हो । आजको मान्छे आफैबाट भागिरहेको छ । गुन र बैगुनको संयोजन नै मान्छे हो तर आज मान्छे मान्छेजस्तै भएर बाँच्न सकिरहेको छैन, वर्गप्रेममा बाँच्न सकिरहेको छैन । मान्छे हुनुको धर्मबाट मान्छे विचलित छ, ऊ कर्तव्यपथबाट भड्किएको छ । जीवनको गहनता छोडेर सस्ता शब्दहरुको बहसमा भुलेको छ । समयको परिवर्तनसँगै मान्छेले छेपारे वृत्ति अँगालेको छ । चिन्तनबाट गिर्दै अवसरका लागि ‘जी’, ‘हजुरी’मा बाँचेको छ । विश्वदृष्टिकोणको अभाव छ, मौसम अनुसारको चरित्र प्रदर्शन गरेको छ । आज हाम्रो समाजमा यस्तै मौसमी मान्छेहरूको बिगबिगी छ । मौसमी मान्छेहरु बिना जीवनको यात्रामा सवार छन् । निबन्धकारका अनुसार मान्छेहरु हिमनदी हुन् र मौसमी मान्छेहरु वर्षाको खहरे हुन् । ‘कविता कलामा हिट्लर’ निबन्ध बागलुङमा कुनै एक कविद्वारा वाचन गरिएको ‘साला हिटलर !’ शीर्षकको कविताको टिप्पणीका रुपमा आएको छ । यस समाजका मान्छेहरु अझै पनि हिट्लरी शासनका भक्त बनेकामा निबन्धकारको विद्रोह छ । यसमा नेपाली शासकहरूको हिट्लरी चरित्रमाथि व्यङ्ग्य छ । हिट्लरहरु अधम र निकृष्ट चरित्र हुन् । आजको समयमा हिट्लर एउटा प्रवृत्तिमा रुपान्तरण भएको छ । स्वतन्त्रताका बाधक तथा सत्तालोलुप शासकहरु सबै हिट्लरका प्रतीकका रुपमा परिचित छन् । आज जताततै हिटलरी प्रवृत्तिको राइँदाइँ छ । हिट्लर जर्मनमा मात्र सीमित छैन, विश्वको कुना कुनामा पुगिसकेको छ । तानाशाही प्रवृत्तिप्रति व्यङ्ग्य गरिएको उक्त कविता सुनेर निबन्धकार खनालले हिट्लरी प्रवृत्तिलाई नै यस निबन्धको विषय बनाई निरङ्कुशताको विरोध गरेका छन् ।
‘विश्राम एउटा मृत्यु’ निबन्धमा निबन्धकार खनालले विश्राम लिनु भनेको जीवनदेखि नै पलायन भएर मृत्युलाई निम्त्याउनु हो भनेका छन् । मान्छे नब्बे–सय वर्षको हुँदासम्म पनि मृत्युलाई सहज रुपमा स्वीकार गर्न सक्दैन । ऊ बाँचिरहन चाहन्छ भन्दै निबन्धकारले जीवनबाट पलायन हुन खोज्नेहरु भौतिक चरित्रका हुनै सक्तैनन् भनेका छन् । कर्मशील मान्छेको जीवनमा गति हुन्छ, ऊ पोखरीको पानीजस्तै जम्दैन, छालतरङ्गहरुका साथ अगाडि बढ्छ । वर्तमानमा विश्राम गरिरहेको मान्छेको जीवन मृत्युमयी छ । आन्दोलनले विश्राम लिएको छ । आन्दोलन तथा सङ्घर्षले विश्राम लिनु दुःखद् हो । बिना आन्दोलन तथा सङ्घर्ष समाजले गति लिँदैन भन्ने विचार निबन्धकारको छ । गतिमय नहुनु मृत्युलाई आमन्त्रण गर्नु हो भन्दै यस निबन्धमा निबन्धकारले वस्तुवादी चिन्तन अँगाल्नेहरुले विश्राम लिन नहुने धारणा व्यक्त गरेका छन् । यसपछिको निबन्ध ‘आन्दोलनः एउटा निरन्तरता’ मा निबन्धकार खनालले आन्दोलनलाई असङ्गत परिवेशभित्र आआफ्नो वर्गीय हितका लागि लडिने लडाइँलाई आन्दोलन भनेका छन् । उनले यस निबन्धमा नेपालको सन्दर्भमा सात साल, सत्र साल, छत्तिस साल र छयालिस सालको आन्दोलनको सन्दर्भलाई साङ्केतिक रुपमा प्रस्तुत गरेका छन् । नेपालका पुर्खाहरुले विगतमा साम्राज्यवादसँग घुँडा नटेकेको ऐतिहासिक तथ्यलाई प्रस्तुत गर्दै परिवर्तनका लागि आन्दोलनको अनिवार्य पक्षलाई स्वीकार गरेका छन् । उनले परिवर्तनमा जोड दिँदै लेखेका छन्, ‘परिवर्तनले समाजका यावत् फाँटहरुमा प्रगतिशील प्रभाव दिनुपर्छ, उन्नत समाजको स्थापनामा समाजवादी जीवनपद्धतिका सन्देशहरु छोड्नुपर्छ र मान्छेका मानवोचित जीवनयापनका प्रश्नहरुलाई अघि सार्नुपर्छ’ (पृष्ठ ४३) ।
‘बधाईभित्रका बोलीहरु’ निबन्धमा बधाई अहिले बजारिया फेसन भएकाप्रति व्यङ्ग्य छ । आज बधाई निकै सस्तो भएको छ, हलुका भएको छ । हाम्रो समाजमा साह्रै सामान्य काम गरेकाप्रति पनि बडेमानको बधाईको पगरी गुथाउन थालिएको छ । पत्रपत्रिका, एफ.एम. आदिले पनि बधाई संस्कृतिलाई अनावश्यक प्रश्रय दिन थालेका छन् । आफ्नो बधाई छापिदिनका लागि अनुरोध गर्दै हिँड्ने प्राज्ञहरु पनि हाम्रै समाजमा छन् । बधाई खाएर गजक्क पर्नेहरुको अहम् सम्हालिनसक्नुको छ । प्राइवेट शिक्षण संस्था, नर्सिङ होम, एन.जि.ओ., आई.एन.जि.ओ. तथा क्लवहरुले शुभकामना र बधाईको गुलियो भाषामा ब्रह्मलूट मच्चाइरहेका छन् । शब्दमा लेखिएको बधाईमा हार्दिकता भेटिन गाह्रो छ । बधाईभित्र व्यक्ति र संस्थाको स्वार्थ लुकेको हुन्छ भन्दै निबन्धकारले यस निबन्धमा शुभकामना, बधाई लगायतका विज्ञापनहरुलाई जीवनयापनका नक्कली आदर्श ठह-याएका छन् । ‘सडक र सालिक’ निबन्धमा जीवित रहँदासम्म वास्ता नगर्ने, मरेपछि सडकको बिचमा सालिक ठड्याएर पूजा गर्ने संस्कृतिको विरोध छ । यस निबन्धमा हिजो ठड्याइएका सालिकहरु आज भत्काइएका छन्, एकथरीले सालिकहरु ठड्याउने र अर्काथरीले सालिकहरु भत्काउने काम गरेकामा निबन्धकार अचम्मित छन् । विशेष गरी इतिहासको कुनै कालखण्डका शासकहरु सालिकविरोधी आन्दोलनका निसाना बनेका छन् । सालिक बनेर ठडिएका पात्रहरुको इतिहास बुझ्नका लागि पनि सालिक तोड्नु हुँदैन भन्ने राय निबन्धकारको छ । युद्धको उन्मादमा घाइते भएका सालिकहरुको दुर्दशा देख्दा निबन्धकार चिन्तित छन् । सालिकहरु अनुसन्धानका विषय बन्न सक्छन् बरु सडकको बिचमा यात्रुलाई सास्ती हुने गरी नठड्याएर एउटा निश्चित ठाउँ वा सङ्ग्रहालयमा तिनलाई व्यवस्थित गरिनुपर्छ भन्ने धारणा निबन्धकारको छ ।
मृत्यु जीवनको विपरीत किनारा हो भनिएको ‘मृत्यु र चोट’ निबन्धमा मृत्युलाई छेक्न वा रोक्न नसकिने तर्क अघि सारिएको छ । जन्म र मृत्यु प्राणीका लागि नियमित प्रक्रिया हुन् । मृत्यु एक किसिमको चोट हो । जब कुनै मान्छेको मृत्यु हुन्छ तब उसले बाँचेकाहरुलाई चोट पु-याएको हुन्छ । मृत्युमा पनि वर्गीय चिनारी रहन्छ । उच्च वर्गको मानिसको मृत्यु हुँदा त्यो देशदेशान्तरमा प्रसारित हुन्छ तर यदि कुनै सडकको फुटपाथमा बसेर जीविकोपार्जन गर्ने मानिसको मृत्यु हुन्छ भने त्यो प्रसारित हुँदैन । मानवीय संवेदनामा देखापर्ने यस्तो भिन्नताले निबन्धकारलाई अचम्ममा पारेको छ । वैज्ञानिक, समाजसेवी, राजनेता, विचारक आदिको मृत्युले गहिरो चोट पु-याउँछ भन्दै यस निबन्धमा निबन्धकारले मृत्युको दर्शन र त्यसले आम मानिसमा पार्ने प्रभावलाई मिहीन ढङ्गले केलाएका छन् ।
'मन र मान्छे’ निबन्धमा मानवीय मनोवृत्तिको चर्चा छ । निबन्धकारले मन नभएको मान्छे नै हुँदैन भन्दै मन साँघुरो बनाउन नहुनेतर्फ जोड दिएका छन् । वर्तमान पुस्ता यान्त्रिकतामा जकडिएकामा चिन्ता जाहेर गर्दै उनले आधुनिकताका नाममा मान्छे संवेदनहीन बन्दै गएकामा दुखेसो पोखेका छन् । मनहरु जागृत बन्नुपर्छ, चिन्तनशील बन्नुपर्छ । मनमा फोहोर जम्यो भने घाटा व्यक्तिलाई मात्र होइन, समाजलाई पनि हुन्छ । मनमा विसङ्गतिको जन्म हुँदा व्यवहारमा विचलन आउँछ र राष्ट्रिय जीवन नै गतिहीन बन्न पुग्छ । जुर्मुराएका मनहरुलाई चेतनाको लगामले नियन्त्रणमा राख्न सकिएन भने दुर्घटना पनि निम्तन सक्छ । मनमा छाडापनले घर ग¥यो भने मान्छे आफ्नै जीवन, समाज र सामाजिक जीवनबाट पनि टाढिन सक्छ । मन कुनै वस्तुको अनुचित प्राप्तिका लागि पनि लोभिन सक्छ भन्दै प्रलोभनबाट मनलाई टाढै राख्नुपर्छ भन्ने सल्लाह पनि यस निबन्धमा निबन्धकारले दिएका छन् । आफ्नो मन आफ्नै लागि शत्रु बन्न सक्छ र मित्र पनि बन्न सक्छ भन्दै यस निबन्धमा मनलाई दुर्व्सनतिर नलगाएर सौन्दर्यचेतका साथ सिर्जनातर्फ लगाउनुपर्छ भन्ने राय निबन्धकारको रहेको छ ।
‘देखेका कुरा’ निबन्धमा स्रष्टा वस्तुजगत्को यथार्थबाट भाग्नु हुँदैन भनिएको छ । यसमा ‘स्वान्त सुखाय’ आजको लेखनको अभीष्ट बन्नु हुँदैन भन्ने निबन्धकारको विचार रहेको छ । अभिजात वर्गीय पात्र र तिनका भोगवादी चरित्रलाई अँगालेर बृहत काव्य सिर्जनामा कलमको दुरुपयोग गरेका हुन् हाम्रा पुर्खा स्रष्टाले (पृष्ठ ५७) भन्दै निबन्धकारले भुइँमान्छेहरुकै विषयलाई प्राथमिकतामा राख्नुपर्ने मनसाय यसमा व्यक्त गरेका छन् । आफ्नो मनमा लागेका र आफूले देखेका कुरालाई निर्धक्कसँग लेख्ने क्रममा उनले नेपालको बिग्रँदो राजनीतिक संस्कारमाथि व्यङ्ग्य गरेका छन् । आफूलाई जनताका सेवक भन्न रुचाउनेहरुले समाज र राष्ट्रको हितमा काम नगरेकाप्रति आक्रोश व्यक्त गरेका छन् । इतिहासमा इमान्दारहरुको देश भनेर चिनिएको नेपाल अहिले बेइमान र तस्करहरूको अखडा बनेकामा आक्रोश व्यक्त गरेका छन् । यस सङ्ग्रहको अन्तिम निबन्ध ‘आजको सांस्कृतिक विचलन’ मा प्रगतिशील संस्कृतिको चर्चा छ । अपसंस्कृतिले समाजलाई विखण्डनतर्फ उन्मुख गराएको छ भन्दै निबन्धकारले व्यापारीहरूको ठगी संस्कृतिप्रति विरोध गरेका छन् । देश बनाउने युवाहरुको विदेशिने संस्कृति झ्याङ्गिएकामा उनी चिन्तित छन् । हाम्रा कतिपय मौलिक र सुन्दर परम्पराहरु नै छिन्नभिन्न भएकामा पीडा व्यक्त गर्दै निबन्धकार खनालले संस्कृतिमा देखापरेका विकृतिहरुमाथि प्रहार गरेका छन् । मूलतः भौतिकवादी यस दुनियाँमा राम्रा पक्षलाई आत्मसात् गर्दै गतिशील हुन सक्नुपर्छ भन्ने आशयमा नै यो निबन्ध सिर्जित छ ।
यस सङ्ग्रहका बिसवटा निबन्धमा विविध विषयवस्तु आएका छन् । विषयवस्तुको यहाँ व्यापकता छ । व्यापक विषयलाई निबन्धकारले सूत्रात्मक र सङ्क्षिप्त रुपमा प्रस्तुत गरेका छन् । निबन्धकारले मुख्य गरी हाम्रो समाजमा व्याप्त विकृत पक्षलाई केलाउँदै विषयलाई प्रगतिशील कोणबाट प्रस्तुत गरेका छन् ।
४. सङ्गृहीत निबन्धहरूमा विचार पक्ष
कुलप्रसाद खनालको यो निबन्धसङ्ग्रहको अध्ययन गर्दा उनी वैचारिक निबन्धकार हुन् भन्ने स्पष्ट हुन्छ । उनी प्रगतिशील विचारबाट प्रभावित निबन्धकारका रुपमा यसमा प्रस्तुत भएका छन् । निबन्धहरु पढ्दा समाज परिवर्तनको चाहना यिनको लेखनको अभीष्ट देखिन्छ । जर्जर समाजको रुपान्तरणमा लक्ष्यित यस सङ्ग्रहका निबन्धमा सुन्दर समाज निर्माण गरी समानताको संसार बनाउने विचार पाइन्छ । अधिकांश निबन्धमा निबन्धकार क्रान्तिको पक्षमा उभिएका छन् । उनी सङ्घर्ष तथा आन्दोलनबाटै समाजमा परिवर्तनको बहार ल्याउन सकिन्छ भन्ने पक्षमा छन् । निबन्धहरुमा विद्रोहचेत व्याप्त छ । अराजक अभ्यासको उनले विरोध गरेका न् । सामन्तवाद तथा सामन्ती संस्कृतिका विरुद्धमा उनले लेखेका छन्, ‘जीवनका यावत् फाँटहरुमा विगतका सामन्ती मुखिया संस्कृतिले नङ्ग्रा गाडिरहेको छ र हैकमवादी चङ्गुलमा चेपिएको जनताको विचारचेतममा विद्रोह मच्चिएको छ’ (पृष्ठ १३) । ‘विश्रामः एउटा मृत्यु’ र ‘आन्दोलनः एउटा निरन्तरता’ निबन्धमा निबन्धकारले क्रान्ति तथा आन्दोलनलाई निरन्तरता दिनुपर्ने विचार व्यक्त गरेका छन् ।
निबन्धकार खनालले देशीविदेशी प्रतिक्रियावादी एवं साम्राज्यवाद र विस्तारवादका विरुद्धमा आफ्नो लेखनीमार्फत औंला ठड्याएका छन् । उनले भारतीय हस्तक्षेपको विरोध गरेका छन् । बेलाबेलामा भारतले गर्ने नाकाबन्दी, सीमा अतिक्रमण, असमान सन्धि–सम्झौता तथा राजनीतिक रुपको अनावश्यक हस्तक्षेप पनि निबन्धकारलाई सह्य छैन । भारतीय ज्यादतीका विरुद्धमा उनले स्पष्ट विचारका साथ इतिहासका विभिन्न प्रसङ्गहरुलाई औंल्याएका छन् । ‘उधर का माल इधर’ निबन्धलाई यसको साक्ष्यका रुपमा लिन सकिन्छ । यसै गरी आज देश साम्राज्यवादीहरूको चङ्गुलमा फस्दै गएकाप्रति पनि निबन्धकारले रोष प्रकट गरेका छन् । हाम्रो समाजमा पुँजीवादी चिन्तन र उपभोक्तावादी संस्कृति हावी भएको निबन्धकारले सहन सकेका छैनन् । विश्वबजारको एकाधिकार तथा बहुराष्ट्रिय कम्पनीको विरोधमा पनि उनका निबन्धमा स्वर मुखरित भएको पाइन्छ । हाम्रो नेतृत्व साम्राज्यवादीहरूकै पिछलग्गु बनेको निबन्धकारलाई मन परेको छैन ।
निबन्धकार खनालले आफ्नो राष्ट्र, राष्ट्रियता तथा स्वाधीनताका सवालमा यी निबन्धहरूमार्फत आफूलाई खरो रुपमा लेखनको मैदानमा उतारेका छन् । राष्ट्रिय मूल्यमा स्खलन हुँदै गएकाप्रति उनलाई दुःख लागेको छ । मान्छेमा राष्ट्रिय भावना तथा राष्ट्रिय जागरण घट्नु दुःखद हो । उनले देशवासीका मनमुटुमा राष्ट्रपतिको सद्भाव हुनुपर्छ भन्ने आशय व्यक्त गरेका छन् । नागरिकले राष्ट्रकै चिन्तनमा आफूलाई समर्पित गर्नुपर्छ भन्ने विचार उनको रहेको छ । नेपालीहरु पराइका खुट्टामा उभिएको उनले मन पराएका छैनन् । यी निबन्धहरुमार्फत शिर ठाडो पारेर आफ्नै खुट्टामा उभिनुपर्नेमा जोड दिँदै उनले आत्मविश्वास र स्वाबलम्बी बनी स्वाधीनताका साथ बाँच्नुपर्ने सन्देश दिएका छन् ।
राष्ट्रिय जनजीवनमा देखापरेका यावत् विकृतिहरुमाथि प्रहार गरी लेखिएका केही निबन्धमा व्यङ्ग्यको कसिलो झापट पनि पाइन्छ । विशेष गरी देशभित्र मौलाएको एनजीओ तथा आइएनजीओ संस्कृतिप्रति उनले व्यङ्ग्य गरेका छन् । बोर्डिङ तथा कलेजको खेती गर्ने शैक्षिक क्षेत्रका माफियाहरु र प्राइवेट अस्पताल खोलेर जनता लुट्ने धूर्तहरूको खेदो खनेका छन् । ‘जी’, ‘हजुरी’मा लाग्दै शासकको चाकरी गरेर देश डुबाउनेहरुलाई उनले देखिसहेका छैनन् । कालो व्यापार गर्ने व्यापारीहरु, तस्कर, घूसखोर, दलाल तथा भ्रष्टाचारीहरूको उछित्तो काढेर लेखिएका यिनका केही निबन्ध व्यङ्ग्यात्मक हुनुका साथै विचारोत्तेजक पनि छन् ।
जीवन–वसन्तका लगभग साठीवटा खुड्किलाको आसपासमा लेखिएका यी निबन्धमा निबन्धकारको जीवन दर्शनसम्बन्धी मान्यता पनि पाइन्छ । उनले वर्तमान जीवन कुरुप बन्दै गएकामा त्यसलाई सुरुपमा ढाल्नुपर्ने विचार व्यक्त गरेका छन् । जीवन र मृत्युसम्बन्धी उनको चिन्तन ‘मृत्यु र चोट’ निबन्धमा पाइन्छ । जीवनलाई सार्थक बनाउनका लागि सङ्घर्षलाई निरन्तरता दिनुपर्छ भन्ने उनको चिन्तन रहेको छ । भोगविलास तथा मोजमस्तीलाई उनले जीवन ठानेका छैनन् । परजीवी भएर बाँच्नुमा पनि उनले जीवनको सार्थकता देखेका छैनन् । जे छ यही जीवनमा छ । मृत्युपछिको संसारमा उनको विश्वास छैन । श्रममा बाँच्नु नै जीवनको सार्थकता हो भन्ने जीवनसम्बन्धी उनको धारणा ‘सार्थक बाँच्नु’ निबन्धमा रहेको छ । कर्ममा विश्वास गर्ने खनाल जीवनवादी निबन्धकारका रूपमा यस सङ्ग्रहमा प्रस्तुत भएका छन् ।
मानवीय अस्मिता गिर्दै गएको छ । सांस्कृतिक मूल्य ह्रास हुँदै गएको छ । यसमा व्यथित हुँदै चिन्ताका शब्दहरु उनेर निबन्ध लेख्ने निबन्धकार खनालमा सुसंस्कृत समाज स्थापनाको चाहना प्रबल देखिन्छ । उनी खराब संस्कृतिको अन्त्य चाहन्छन् । हाम्रो आफ्नो मौलिक संस्कृतिमाथि भएको बाह्य हस्तक्षेपको उनले खुलेर विरोध गरेका छन् । आज हामीभित्र मौलाएको सांस्कृतिक विचलनका कारण निबन्धकारको मन दुखेको छ । उनले भौतिकवादी प्रगतिशील संस्कृतिको विकास हुनुपर्नेमा जोड दिएका छन् । ‘आजको सांस्कृतिक विचलन’ निबन्धमा निबन्धकारको संस्कृतिसम्बन्धी मान्यता प्रस्तुत भएको छ । यसमा उनले देशभित्र फैलँदो विकृत संस्कृतिप्रति प्रहार गर्दै जीवनवादी संस्कृति अँगाल्नुपर्छ भन्ने कुरामा जोड दिएका छन् ।
५. भाषाशैली
निबन्धकार कुलप्रसाद खनालको प्रस्तुत ‘आफू हराएको देश’ निबन्धसङ्ग्रहका निबन्धमा कवितात्मक गद्य भाषाको उपयोग गरिएको छ । आलङ्कारिक भाषा, विम्बात्मक एवम् प्रतीकात्मक पदपदावलीहरुको समुचित प्रयोग आदिका कारण यस सङ्ग्रहका कतिपय निबन्ध पढ्दा पाठकलाई गद्य शैलीको कविता पढेको मिठासको अनुभूति पनि मिल्छ । निबन्धको भाषामा व्याकरणात्मकभन्दा बढी आलङ्कारिक पदक्रमको विन्यास गरिएको छ । अधिकांश निबन्ध देवकोटाकै जस्तो आत्मपरक शैलीलाई पच्छ्याएर लेखिएका छन् । बिचबिचमा विभिन्न घटना–प्रसङ्गहरुलाई जोडेर निबन्धकारले यी निबन्धलाई रोचक तुल्याएका छन् । यति हुँदाहुँदै पनि अनुभूतिको तरलतामा बग्ने क्रममा कतिपय अवस्थामा निबन्धकार चिप्लिएको अवस्था देख्न पाइन्छ । उनले उस्तै किसिमका पदपदावलीहरुलाई धेरै निबन्धमा दोहो-याएका छन् । सामाजिक विसङ्गति, शैक्षिक क्षेत्रमा देखापरेका विकृति तथा एनजीओ-आईएनजीओप्रतिको विरोध उनका धेरै निबन्धमा दोहोरिएको भावका रुपमा पाउन सकिन्छ । यसै गरी कतिपय निबन्धमा प्रयुक्त केही वाक्यहरु अस्पष्ट छन् । ती अर्थपूर्ण जँच्दैनन् अर्थात् तिनले निबन्धकारले भन्न खोजेका कुरालाई राम्ररी अर्थ्याउन सकेका छैनन् । वाक्यगठनमा भेटिने सानातिना कसरमसरले पाठकका लागि अर्थबोधमा अप्ठ्यारो तुल्याए पनि अर्थात् भाषिक प्रयोगमा एकादुई सीमित कमजोरी रहे पनि निबन्धहरु कवितात्मक शिल्पमा छन्, कलात्मक र रोचक छन् ।
६. निष्कर्ष
कुलप्रसाद खनालको निबन्धसङ्ग्रह ‘आफू हराएको देश’भित्रका निबन्धहरूमा नेपाली जनजीवनका विविध पक्षलाई विषयवस्तु बनाएर प्रस्तुत गरिएको छ । हाम्रो समाजमा मौलाएको सांस्कृतिक–सामाजिक विकृतिप्रति निबन्धकारले व्यङ्ग्य गरेका छन् । मान्छेमा हराउँदै गएको मानवता, ह्रासोन्मुख नैतिक पक्ष, वैचारिक स्खलन, राजनीतिक बेथिति, भ्रष्टता, शासक तथा नेताहरुको सत्तालिप्सा आदि विषयवस्तु भएका निबन्धमा निबन्धकारको विद्रोही स्वर मुखरित भएको छ । निबन्धकार राष्ट्रिय स्वाधीनताका पक्षमा उभिएका छन् । हाम्रो समाजमा एनजीओ तथा आइएनजिओ संस्कृति मौलाएको उनलाई मन परेको छैन । सामन्तवाद, विस्तारवाद, साम्राज्यवाद तथा विदेशी हस्तक्षेपको उनले खुलेरै विरोध गरेका छन् । विद्रोही स्वरमा सिर्जित उनका निबन्धमा क्रान्तिप्रतिको निष्ठा व्यक्त भएको छ । नेपालीपन तथा हाम्रो आफ्नो मौलिकता हराउँदै गएकामा उनले चिन्ता व्यक्त गरेका छन् । व्यक्तिभित्र झ्याङ्गिएको व्यक्तिवादी तथा स्वार्थी प्रवृत्तिको झाँको झार्दै निम्न वर्गको पक्षपोषणमा सिर्जित अधिकांश निबन्धलाई आधार मान्दा यस सङ्ग्रहलाई प्रगतिशील निबन्ध क्षेत्रको एउटा महत्वपूर्ण प्राप्ति मान्न सकिन्छ ।

पोखरा– १७, कास्की

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।