16 वर्षदेखि निरन्तर
समकालीन साहित्य

अनिदो रात

कथा नारायण मरासिनी June 13, 2023, 11:32 pm
नारायण मरासिनी
नारायण मरासिनी

उसलाई निद्रा लागेन । बेलाबेलामा हाइ काढे पनि पटक्कै निदाउन सकेन ऊ । ओछ्यान फेरिएको थियो । छटपटी बढिरह्यो । घरको पूर्वपट्टिको कोठीमा उमेरले असी काटेका बुढा बा र सत्तरीको हाराहारीमा हिँड्दै गरेकी बुढी आमा सुतेका छन् । बालाई खोकी लागिरहन्छ । घरिघरि त लगातार खोकिरहन्छन् बुढा सासै फुस्केला जस्तो गरी । बेलाबेलामा आमाले पनि खोक्छिन् फुको खोकी । आठ वर्षकै कलिलो उमेरदेखि सुरु भएको तमाखु र भुसाहाको अम्मल छुटेको छैन अहिलेसम्म बुढा बाबाट । सजिलै बुझेको छ उसले खोकी लाग्नाको कारण । ओखतीमुलो नगरेको पनि होइन उसले तर रोग र उमेर दुबै छिप्पिसकेपछि केही गर्न सक्दो रहेनछ औषधिले । दम फुल्छ बुढाको । आमालाई पनि सताउँछ कहिलेकाहीँ बाथले समेत ।
मझेरीमा सुतेको छ ऊ गुन्द्रीमाथि एउटा लम्पट ओछ्याएर । ओढ्नका लागि ध्वाँसे रङको एउटा पुरानो कम्बल छ । उहिल्यै एउटा पल्टनिया लाहुरेले बालाई उपहारस्वरूप दिएको थियो यो कम्बल । अहिले निकै झुत्रो भएछ । नाना कुरा आएर मन बिथोलिन्छ । निदाउन सक्दैन । गाउँको सिरानमा छ उसको घर । घर वनको मुखमा छ । माथितिर ठुलो सालघारी । गाउँको पुछारमा पनि उस्तै ठुलो छ सालघारी । पहिले त थुप्रै घरहरू थिए यस गाउँमा । लगभग साठीवटा थिए । घाँसदाउराको कमी थिएन । गाउँलेहरू हरेकले वस्तुभाउ पालेका थिए । गाउँ बेंसीको पाइपात, दुःखसुख गुजारा चलिरहेकै थियो । जब छोराहरू विदेसिए तब गाउँमा रेमिट्यान्स भित्रिन थाल्यो र रेमिट्यान्स सँगसँगै फेरिए गाउँलेका सपनाहरू । छिमेकमा सबैभन्दा नजिकको पल्लो घर मधेसतिर बसाइँ सरेको छ । सँगसँगै त्यतै गएको छ तल्लो घर पनि । बसाइँ सर्नेहरूले त्यत्तिकै छाडेर हिँडेका छन्– घरबारी, पाखापखेरा, बुटाबुटी र टारी खेतहरू पनि । अचल सम्पत्ति किन्नका लागि कोही तयार हुँदैनन् ।
भारीका भारी मकै फल्ने बारी बाँझिएको छ । रुखबाटै पात झरेर गएका छन् डाले घाँसका । आफ्नो घरबाट नजिकको अर्को घर पुग्न पनि आठ-दस मिनेटजति लाग्छ । बसाइँ नसर्दासम्म त अधिकांश घरहरूका आँगन पनि जोडिएका थिए । मान्छे बस्न छाडेपछि घरहरू भत्कँदा रहेछन् । त्यै पल्लो घर पनि चिरिएको छ पूरै । आँगनमा मात्र नभएर पिँडीमा समेत झाडी भरिएको छ । घर भत्कनुभन्दा पनि मन भत्कनु ठुलो चिन्ताको विषय रहेछ । चिन्ताको भुँमरीमा फसेपछि उत्रन निकै गाह्रो । अस्ति भर्खर संसाँझै चितुवाले घरमा जोडिएको खोरबाटै बाख्रो थुतेर लगेको सुनाएकी थिइन् आमैले ।
मनस्थिति ठेगानमा रहँदैन तैपनि सोचिरहन्छ ऊ– बारी छ, अलिकति टारी खेत पनि छ, पाखुरा चलाउने हो भने वर्षभरिलाई खान पुग्छ । भैँसी र बाख्रा मात्रै पाले पनि कमाइ हुन्छ यहाँ । बारीमा अदुवा लगाउन मिल्छ, पाखामा सुन्तला फलाउन सकिन्छ । अहिले त उहिलेको जस्तो पानीको समस्या पनि छैन । बिहानभरिको समय लगाएर पानी खेप्नु पर्दैन । घरघरै धारा छन्, के छैन र यहाँ ! बिजुली बत्ती बल्छ । लोडसेडिङको समस्या छैन । सञ्चारका लागि मोबाइलले काम गर्छ । बेंसीमा अस्पताल खुलेको छ । कच्ची बाटो छ । चारपाङ्ग्रे जीपहरू नियमित रूपमा गुड्छन् । पहिले पहिलेको जस्तो नुनतेल र ओरापरिका लागि दिनभरिको बाटो पैदल हिँड्नु पर्दैन । तैपनि किन बस्न छाड्दै छन् हँ आफ्नै जन्मथलामा मान्छेहरू !
बारीका गराहरू बाँझै छन् । कोदो रोप्ने चलन पनि निकै घटेछ । काम गर्न सक्ने मान्छे नै छैनन् गाउँमा । अशक्त वृद्धवृद्धा, महिला र केटाकेटी मात्र छन् । पहिले त मान्छे मर्दाखेरि मलामी पनि सत्तरी-असी जना हुन्थे । अहिले त बिस जना पुर्याउन पनि गाह्रो ! हुन त पहिलेजस्तो दिनभरिको समय लगाएर लास कालीगण्डकीको घाटमा पुर्याउनु पर्दैन । अचेल त बेंसीमै खोलाको किनारमा पोल्न थालिएको छ ।
उफ् ! फेरि खोक्नुभयो बाले । कति लागेको होला यो खोकी पनि । ऊ छटपटियो । तैपनि निद्रा लाग्छ कि भनेर कोल्टे फर्क्यो । एकपटक राजधानीतिरै लगेर भए पनि बालाई अझै राम्रोसँग उपचार गर्नु पर्थ्यो । देखाउन त नजिकको सहरमा राम्रै डाक्टरलाई देखाएको थियो उसले । बुढेसकालको शरीर, रोगले समातेपछि उठ्नै गाह्रो !
गाउँ रित्तो छ । एक्लो घर । घरमा बुढाबुढी मात्र छन् । नजिकै हारगुहारका लागि पनि कोही छैनन् । एउटा बकेर्नो भैँसी, त्यसको पाडो र गोडा चारेक बाख्रा छन् चौपायाका नाममा । सम्पत्ति नभएकाले चोरीको त डर छैन तर रातमा बाघ आएर बुढाबुढीको घ्याँक्रो अँठ्याउन पनि के बेर ! आखिर बाख्रा खाए पनि, मान्छे खाए पनि मासु नै त हो त्यसका लागि । वल्ला पल्ला घरमा मान्छे बस्थे भने त केही चिन्ता थिएन । ह्या, के नचाहिने कुरा सोचेको होला यो मनले पनि ! जुन कुरा नआओस् भन्यो त्यही कुरा मात्रै आउँछ मनमा पनि ! बेंसीमा कुहिरो भरिए झैं मन भरिएको छ कुरैकुराले । न निद्रा लाग्छ, न सोचाइ नै एकत्रित हुन्छ ! परारसम्म त त्यही टारी खेत पनि अधियाँमा रोप्थे बल भएकाहरूले । अचेल त रोप्न सकिँदैन भन्न थालेका छन् अरे ! अधियाँमा त के, गरेर खाऊ भन्दा पनि मान्न छोडेका छन् मान्छेहरू । बरु बेसाएरै खान सस्तो र सजिलो भन्ने सोचले ग्रस्त छ यहाँको मानसिकता ।
घर पनि गतिलो त कहाँ छ र ! बस्नै पर्ने बाध्यताका कारण घर भन्नुपरेको हो । लगभग बाकै उमेरको । ढुङ्गामाटाको गाह्रो, खरको छानो भएको घर । नछाएको पनि वर्षौं भइसक्यो । “बर्खामा त आँटीमा पानीको आहालै जम्छ । आँखो झिमिक्क गर्न पाउन्न म ।” आमाले भनेको सम्झ्यो उसले । बुढाबुढीसँग खरभिरको खर काटेर ल्याई छाउने सामर्थ्य छैन । भूकम्पका कारण चिरिएको छ अगाडि र सँगसँगै पछाडिको भित्तो पनि । आउने बर्खा पनि धान्दैन कि कुन्नि ! गाउँबासीहरू गाउँमै काम गरेर खान बस्न खोज्दैनन् । अचम्ममा पर्छ ऊ, यस्तो किन भइरहेको छ हँ ?
“कसरी हिँडेर आइस् नि बाबु यत्रो बाटो यो नाकाबन्दीमा ?” घर भेट्किनासाथ आमाले भनेकी थिइन् । भारतले नाकाबन्दी गरेका कारण राजमार्गबाट गाउँतिर जाने जीपहरू चलेका थिएनन् । पहिले पहिले यही बाटो जति पनि हिँड्न हुने, अहिले जीप चल्न थालेपछि हिँड्नै नहुने भन्ने छ र ! हाम्रो मानसिकतामा दरिद्रता किन ? मनमनै प्रश्न गरेर सोचमग्न भयो ऊ । सानैमा पनि असाध्यै माया गर्थिन् आमाले, सम्झ्यो उसले । कपाल फुलेर सेत्तै भएका छोराहरू पनि सानै देखिँदा रहेछन् आमाका नजरबाट । नत्र यत्तिको बलियो ज्यान छ, पाँच-सात घन्टा पैदल हिँड्दैमा केको चिन्ता ?
बुढाबुढीको मात्रै कति चिन्ता लिनु ! आफूले पनि कुन दौलतको चैन काटिएको छ र ? सहरमा अस्थायी नोकरी न हो । आम्दानीको अर्को दोस्रो कुनै स्रोत छैन । साहूले निस्की भनेको बेलामा कुम्लोकुटुरो बोकेर बाटो लाग्नैपर्छ । सानो छोरो पढाउन भनेर सहरमा बसेपछि छोराको स्याहारसुसारका लागि श्रीमतीलाई पनि सँगै राख्नै पर्यो । कतिका नजरमा स्वास्नीलाई काखी च्यापेर बुढा भएका बाबुआमालाई हेलाँ गर्यो भन्ने पर्या होला । सहरमा घरघडेरी जोड्न सकेको भए त बाबुआमालाई पनि उतै राखेर हेरिहाल्थेँ नि । यसो भनेर पनि भएन । अरु बेला त ठिकै थियो, अब भने बुढाबुढी नै अशक्त हुँदै गएका छन् । बाबुआमालाई सन्तानले नहेरेर कसले हेर्छ त ! सन्तानलाई बुढेसकालको सहारा भन्छन् । सहारा दिनेवाला नै बेसहारा भएपछि कसरी सहारा हुनु नि ! हाँसो उठ्यो अँध्यारामा । जे होस्, खित्कै चाहिँ छुटेन । यो हाँसो उसले आफैप्रतिको व्यङ्ग्य ठान्यो ।
तैपनि निदाइन्छ कि । आधा मिनेट जति कोसिस गर्यो । मनमा कुनै कुरा आउन दिएन । ‘बेसहारा’ शब्द आएर रोपियो मुटुमा भाला रोपिए झैँ । मन सीमाभन्दा बाहिर पुगेर दुःख्नुसम्म दुःख्यो । बिहे भएर पराइघर गएका बहिनीहरूलाई सम्झ्यो । उनीहरूको अवस्थालाई सम्झ्यो । सम्भावना नहुँदानहुँदै पनि सहयोगको आशा गर्यो । अर्को एउटा शब्दले पनि जिस्क्यायो उसको मस्तिष्कलाई । मानसपटलबाट हटाउन चाह्यो उसले भर्खरै जिस्क्याउन आएको शब्द ‘वृद्धाश्रम’लाई । अब भने यो शब्द आउन मात्रै थाल्दा पनि उसले सोचाइलाई अर्कैतिर मोड्न थाल्यो ।
जीवनको अधिकांश समय लगानी गर्दा पनि सहरमा एउटा बास बनाउन नसकेकामा ऊ चिन्तित भयो । “बजारमा लगेर राखिस् भने त बरु आधा पेट खाएरै बस्थेँ म । काम नगरेपछि त भोक पनि लाग्दैन होला नि !” आमाको गुनासो सम्झ्यो । विचरी आमा ! बिहान सबेरै उठ, अगेनामा खरानी खोस्रेर आगो फुक, दैलोपोतो, ढिकीजाँतो, कुँडोपानी, घाँसदाउरा, भातभान्छा, जुठोभाँडो, मेलापात, चुलोचौको यिनैमा सीमित रहे आमाका तिन बिस जति वसन्तहरू । जिन्दगीमा यहाँभन्दा कति खेप्नु दुःख ! दिन प्रतिदिन जीर्ण बन्दै छ शरीर । आधाभन्दा बढी जसो त दाँत पनि झरेछन् । बाको त झन् एउटै पनि छैन । दाँत भए पो खानपान राम्रो । चपाउने दाँतै नभएर त होला नि बुढाबुढीको शरीर झन् बढी कमजोर बन्दै गएको ।
“उफ् ! निद्रा किन नआएको होला ?” बलैसान्ति आँखा चिम्ल्यो केही बेरसम्म उसले । धेरै समयसम्म आँखा बन्द हुन सकेनन् । खुलिहाले एकै छिनमा । फेरि सक्रिय हुन थाल्यो मस्तिष्क । “के जीवनको लक्ष्य भन्नु नै सहरमा एउटा घर बनाउनु मात्र हो त ? यस दुनियाँमा घर बनाउनुभन्दा ठुलो काम अरु केही हुँदैन त ?” गम खाएर बस्यो केही बेरसम्म । आँखा बिझाए जस्तो लाग्यो । फेरि चिम्लेर निदाउने कोसिस गर्यो । सकेन । शरीर तातेको अनुभव भयो । छातीमा छाम्यो । गन्जी पसिनाले लछप्पै भिजेछ । तिर्खाको महसुस गर्यो । कम्बल एकातिर पन्छाएर उठ्यो । बत्तीको स्वीच अन गर्यो । गग्रेटामा गई पानी सार्यो र लोहोटाबाटै पियो । बत्ती ननिभाई ओछ्यानमै आएर पल्ट्यो ।
पहिले पहिले कहिलेकाहीँ पढ्दापढ्दै निदाउने गर्थ्यो । अहिले पनि निद्राको शरणमा पुग्नका लागि पढ्ने विचार गर्यो । एउटा उपन्यास थियो, घर बस्दा समय बिताउन सजिलो हुन्छ भनेर लिई आएको । उठेर झोलाबाट झिक्यो । अक्षर निकै साना रहेछन्, दस प्वाइन्टका । बल्ब सायद् पच्चिस वाटको मात्र थियो, भान्छाको माथिपट्टि हुनाले केही ध्वाँसिएको पनि । बत्ती र ओछ्यानको दुरी नजिकको थिएन । आँखालाई गाह्रो पर्यो । अक्षर फुटाल्नै सकेन । चस्मा भने अहिलेसम्म लगाएको छैन उसले । “बत्तीको नजिकै गई उभिएरै भए पनि पढ्नु पर्छ कि क्या हो !” एक मनले यस्तो पनि सोच्यो तर यस्तो सोचाइ आएकामा उसलाई हाँसो पनि लाग्यो । उपाय केही नभएपछि किताब यथास्थानमै राख्यो । बत्ती निभाएन उसले । र ओछ्यानमै आएर पल्ट्यो ।
पहिले मुख छोपेर सुत्दैनथ्यो । अहिले चाहिँ कम्बलले मुख छोप्यो । उकुसमुकुस भयो । शरीरभन्दा बढी गुम्सियो मन । कुराले झम्टन थाल्यो मस्तिष्क । शब्दहरूले दोहोर्याएर चिथोर्न थाले । वाक्यले पनि उस्तै– “के जीवनको लक्ष्य भन्नु सहरमा एउटा घर मात्र हो त ?” मनमा नाना भाँतीका कुरा आए । धुवाँको मुस्लो झैं फैलन थाले कुराहरू । कुरैकुराको भिडमा बुद्धले दरबार त्यागेको एउटा अर्कै कुरो आएर अडियो मस्तिष्कमा । बुद्धको शान्त र सौम्य अनुहार सम्झ्यो र केही समय शीतलताको महसुस गर्यो । घरलाई महत्व नदिने हो भने राम्रो हुन्छ कि ? सोच्यो त्यतातिर पनि । घर बनाउने कुरालाई मनमा ढिम्कनै नदिने विचार गर्यो उसले । यही विचारले केही शान्ति मिलेको हो कि जस्तो अनुभव भयो ।
“तलको रमेशले बरु मलेसिया गएर पैसा कमायो । मधेसमा घरघडेरी जोडेर बाउआमालाई उतै राखेको छ । आफू दुई-दुई वर्षमा आउनेजाने गर्छ अरे ! पारि टोड्केली साइँलाको छोरो हुमे पनि तँसँगै पढेको त हो नि ! आई.ए. पास पनि नगरेर के भो त ! कोरिया गएर आएपछि सहरमा घर बनाएर बाउआमालाई उतै सुखसँग पालेको छ ।” आमाले गन्थन गर्दा बेलुका सुनाएको यो वचन छुराभन्दा पनि बढी धारिलो लाग्यो उसलाई । घाउ उगल्चिए झैँ वचनले बेस्सरी दुखायो मन आधा रातमा पनि । बुढीआमाको यो वचन अलिअलि पढेको आफ्नै पढाइप्रतिको व्यङ्ग्य ठान्यो उसले ।
श्रीमतीले भनेको पनि सम्झ्यो– “दिदी पार्वतीलाई बरु कति चैन छ । भिनाजुले मजाले कमाएका छन् । सहरमा ठुलो घर छ । एउटा फ्ल्याट भाडामा दिएका छन् । घरमा काम गर्ने मान्छे छ । लुगा पनि दिनैपिच्छे फेरी फेरी लाउँछे । सुतीसुती खान्छे दिदीले बरु ।” श्रीमती त पढालेखा नै हुन् तर कसरी भन्न सकेकी होलिन् यस्तो कुरा ! सर्टिफिकेटले काम नगरे पनि हातपाखुरा सबल नै छन् भने त काम पो गर्नुपर्छ । काम नगरेर सुती सुती खानेहरूको जीवन पनि जीवन हो र ! श्रममा विश्वास नगर्नु र सङ्घर्षदेखि विचलित हुनु के जीवनबाटै पलायन हुनु होइन र ? त्यस्तो जीवनलाई पनि कसरी सुखी ठान्न सकेकी होलिन् ! तनाव नहुनु भनेको जीवनकै अस्त हुनु हो भन्ने ठान्यो उसले । तनावबाटै पार पाउनका लागि मानिस क्रियाशील बन्छ, गतिशील हुन्छ र सङ्घर्षको मैदानमा होमिन पुग्छ ।
अरु जे जस्तो भए पनि बुढेसकालमा गाउँमा आधारविहीन भएर एक्लै बसेका यी बुढाबुढीलाई शहरमा आफूसँगै राखेर हेरविचार गर्न सके बुढाबुढीको इच्छा पूरा हुन्थ्यो र आफूलाई पनि सन्तोष मिल्थ्यो । गाउँले दाजुभाइ र इष्टमित्रहरूले पनि छोराले आफ्नो बाबुआमालाई हेर्यो है भन्ने थिए । कुरा काट्नेहरूको मुखमा बुजो लाग्थ्यो कि ! यत्ति गर्न सकेमा त कसैको नजरमा नालायक छोरो पनि भइँदैनथ्यो होला नि ! गाउँकै एकदुई जना भाइखलकले बाआमालाई “छोरो त काम नलाग्ने हुतिहारा जन्माएछौ” सम्म भन्न भ्याएछन् । “त्यसले पढ्नुको के अर्थ भयो र ! बाबुआमालाई यस्तो सास्ती छ । आफू आफ्नो परिवारसहित सहरमा चैन काटेर बसेको छ ।” यही भन्छन् रे आफन्त र गाउँलेहरूले पनि ।
साँच्चै एउटा झुप्रो त बनाउनै पर्ने हो भो सहरमा । “तँ व्यावहारिक हुन सकिनस्,” धेरै मान्छेले सुनाए उसलाई यो भनाइ । उसले सोच्यो– सहरबजारमा घर बनाउँदैमा व्यावहारिक भइन्छ भने बनाउनुपर्छ कि क्या हो एउटा घर ! फेरि सम्झ्यो आफ्नै आर्थिक अवस्था– न जागिर गतिलो छ, महिनाभरिको कमाइ खानबस्नमै ठिक्क हुन्छ । कहिलेकाहीँ अलि ठुलो खालको दुःख बिमार पर्यो भने त त्यै पनि मुस्किल । डेरामा बसिएको छ । बुढाबुढी डेरामा बस्न नमानेकाले नै यो तनाव भएको हो उसलाई । बुढाबुढी मान्थे भने त ऊ अझै बढी तनाव लिएर पनि बाँच्न सक्थ्यो । मान्दैनन् त के गरोस् ! वल्तिर पल्तिर केही मान्छेहरू हुन्थे भने त बुढाबुढीका हरेक चाहना जतिसक्दो पूरा गरिदिन हुन्थ्यो । यहीँ बस्थे, बस्न त गाउँमै राम्रो नि ! हावापानी राम्रो, ताजा तरकारी, अन्न फलफूल । स्वच्छता र स्वस्थताका लागि यिनै त हुन् चाहिने कुरा । बजारमा एउटा कोठामा कुचुक्क परेर बस्यो, कसैलाई कसैको दुःखसुखको वास्ता हुँदैन । नक्कली मान्छेहरूको भिडमा उसिनिएर बस्नुलाई पनि कसरी सुखी बसाइ ठान्न सकेका होलान् मान्छेले ! सक्कली मान्छे बस्ने ठाउँ त गाउँ नै हो नि ! बरु अब कसरी स्याहारसुसार गर्ने होला यी बुढाबुढीको ?
ओहो कस्तो छटपटाहट ! आत्तियो ऊ । सिरानीको छेउबाट मोबाइल झिक्यो र स्विच अन गर्यो । आँखा मिच्दै हेर्यो– बिहानको चार बजेछ । बलजफ्ती निदाउनका लागि भनेर उठेर गई बत्तीको स्विच अफ गर्यो । आएर पल्ट्यो त्यही लम्पटमा । कम्बल केही छोटो थियो । खुट्टा खुम्च्याएर भित्तातिर फर्क्यो । निदाउनका लागि अन्तिम प्रयत्नस्वरूप आँखा चिम्म गर्यो । झकाउन पाएकै थिएन, घरक्क ढोका उघ्र्यो । आमाले रहेछ । आमाकै हातबाट बत्ती बल्यो । अगेनामा गएर आगो सल्काएपछि गाग्रीबाट पानी सारेर पोतारी घिसार्न पुग्यो आमाको एउटा हात, अर्को हातमा डल्ले लोहोटा । अब त झन् कसरी निदाउनु नि ! ऊ कम्बल छोडेर उठ्यो । बाहिर निस्क्यो । पूर्वी पहाडतिर केही उज्यालो देख्यो उसले ।
आँगनको छेउमा पुग्यो ऊ । डिलमा तल खोलाबाट बोकी ल्याएको लाम्चो ढ्ङ्गो बिछ्याएको थियो । त्यसैमा थुचुक्क बस्यो । मिर्मिरे उज्यालामा धित मरुन्जेल हेर्न मन लाग्यो उसलाई आफ्नो बाबुले बनाएको बुढो घर । अनिदा आँखाहरूलाई पाली हुँदै धुरीसम्म पुर्यायो उसले । रातो माटो, कमेरो र कालो माटो पोतिएर उभिएको घर । निकै सुन्दर लाग्यो उसलाई लगभग पौने शताब्दीदेखि यही रूपमा उभिएको आफ्नो घर । आजसम्म आफू जन्मेको यही घरलाई त्यति राम्रोसँग नियालेको रहेनछ कि कुन्नि ! आज निकै आकर्षक लाग्यो उसलाई सानै उमेरमा बाले दुःखसुख गरी बनाएको यो घर । भूकम्पले चर्काएको भागलाई पनि उसले चन्द्रमाको दागसँग तुलना गर्यो । एकपटक पश्चिम पहाडबाट अस्ताउनै लागेको चन्द्रमा हेर्यो । अनुहारमा खुशी चम्केको अनुभव गर्यो उसले । डिलमुन्तिर आँखा पुगे । लहलहाउँदा नील परेका सागका पातहरू र मुलाका माथिल्ला भागहरू प्रस्टै देखिए । उसलाई त्यो परिवेश हेरिरहन मन लाग्यो । त्यसभन्दा तल्लो गरामा पनि पुर्यायो आँखा । ठुलो गरो । त्यसैको एका छेउमा पानीको धारो ।
गोठमा सुतिरहेको भैँसी उठ्यो । आमाले भैँसीलाई घाँस दिनुभएको रहेछ । बिहानीपखको यस परिवेशले निकै रोमाञ्चित तुल्यायो उसलाई । मुटुभरि आफ्नो जन्मथलोप्रतिको माया उर्लेर आयो । उसलाई आफू जन्मेहुर्केको यो ठाउँ छोड्नै मन लागेन । मनमनै साहूको नोकरी छोड्ने विचार गर्यो । बरु केही बाख्रा र एउटा भैँसी थप्ने विचार पलायो । बाआमाको सेवा यहीँ बसेर गर्ने सोच बनाउँदै उसले तल बाटातिर हेर्यो । टापुडाँडे काइँला बा घाँस काट्नका लागि उकालो लाग्दै गरेको देखेर आँसी उद्यायो उसले पनि । एउटा हातमा नाम्लो र अर्को हातमा आँसी लिएर ऊ पनि काइँला बासँगै घाँस काट्न घरमाथिको जङ्गलतिर लाग्यो ।

- ज्याग्दीखोला, स्याङ्जा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।