राजनीतिक आकाशमा
सेखीको पाखुरो सुर्केर पनि
अहमको चरो उड्नैपर्छ जसरी पनि
भन्ने/ठान्ने/मान्ने
स्वार्थहरूको बथानमा
कतिबेला निसासिएर मरिसक्यो
सपनाको पालुवा
थाहै भएन ।
पुराना घाउहरूले पिल्सिएको छातीले
न्यानो ताप्न नपाई
सपना निसासिएर
किन मर्छ हँ
पटकपटक ?
अब
सपनाको आत्माले
शान्ति पाउने हो कि होइन !
दन्किरहेको त्रासको आगोले
पोलिबस्छ भतभती सुर्तालाई ।
झसङ्ग झस्काउने भयावह बिपनाले भने
तर्साएको तर्साएकै छ
अझै पनि
कुन्नि के नपुगेर ।
अथाह गहिरो
भित्री
चुपचापभित्र
अहिले म पनि
निसासिँदै छु
बेस्मारी
सपनाजस्तै ।
डाउहिल, खरसाङ, भारत।