17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

विशेष विद्वान

लघुकथा राजेन्द्र पहाडी June 23, 2023, 11:39 pm
राजेन्द्र पहाडी
राजेन्द्र पहाडी

अनेक तरहले ‘धन बर्षा’ भएपछि अचेल उनलाई नेता बन्ने चाहना पलाएको छ ।
मञ्चमा बस्ने, नेता भनाउँदासँग कुम जोडेर सेल्फी खिच्ने र सामाजिक सञ्जालमा पोस्टाउने, नेताका अघिपछि हिंड्ने र आफू पनि स–सानो नेता नै भएको सार्वजनिक भ्रम दिने उनको अभिलाषा बुझ्न उनको जस्तो बुद्धि नभएकालाई पनि खासै कठिन छैन ।
असामान्य चातुर्यता, समझ, ढंग र बुद्धि भएका हुनाले नै उनले यसो गरे होलान् नी । यो सत्य हामीजस्ता ‘बुद्धिमा बिर्को लागेका’ ले पनि बुझ्नु पर्दछ है ।
आफ्नो बिरला कोटीको बुद्धि प्रमाणित गर्न उनले के के पो गरेनन् ।
हाकिम साप्सँग सेटिङ मिलाएर कृषकको नामको अनुदान आफ्ना नाममा पारे ।
आफ्ना र आफ्नाहरुका नाममा फर्म दर्ता गरेर कृषक भै टोपले ।
अनुदान पचाउनकै निम्ति फर्मलाई अर्कैलाई ठेक्कामा दिए र आफूले बसीबसी कमिशन खाए ।
दुई चारवटा विद्यालय सञ्चालन गरेर शिक्षासेवी कहलिए ।
थप केही व्यवसायिक प्रतिष्ठानका हर्ताकर्ता बने । आफ्नो कुशाग्र विद्वताको कुशल प्रयोग गरेर उनले जे जे गर्न सक्थे सबै गरे ।
उनी प्रकाण्ड बौद्धिक मनुवा हुन् भन्ने तथ्यलाई पुष्टि गर्ने कैयन प्रमाणहरु भेटाउन सकिन्छ ।
श्रमिक तथा कामदारले गरेको कार्यसम्पादनलाई आफूले गरेको भनेर मिडियाबाजी र प्रचारप्रसार गर्न उनलाई कसैले पनि टक्कर दिन सक्दैन ।
किनभने उनीसँग खास बुद्धि छ, जसले सानातिना ठिनामिना (उनको भाषा) भनिनेको बुद्धिलाई सहजै खरिद गरिदिन्छन् ।
भोजभतेर खुवाएर हुन्छ कि, रकमसहितको थैली चढाएर हुन्छ कि, चाकडीको चरम उत्कर्षलाई प्रयोग गरेर हुन्छ उनी आफ्नो काम पट्याउन माहिर छन्, किनकी उनी विशिष्ट बौद्धिक क्षमता भएका मनुवा हुन् ।
वर्तमान, भूतपूर्व, पूर्व सबैलाई टिकाखादा ओढाएर दुनो सोझ्याउने पनि यिनै हुन्, समाजवादी शिक्षाका ब्यापारी पनि यिनै हुन्, जिल्लातिर आउने यदाकदा प्राज्ञिक कार्यक्रमको ठेगेदारी पनि यिनैले गर्छन्, अमूक नेतालाई सल्लाह दिने गोप्य सल्लाहकार पनि यिनै हुन् ।
किनभने यिनी अब्बल दर्जाका विद्वान हुन् । कुनै शंका नरहोस् यिनी विद्वानहरुका पनि गुरु विद्वान हुन् । अरु त यिनका अघि भुसुना ठहरिन्छन् । यिनी विद्वानमा हुनुपर्ने कैयौं गुणले परिपूर्ण खास विद्वान । यिनले अचेल सुझबुझसहितका ‘विशेष मानव’ भनिने अमुक राजनैतिक दलसम्बद्ध कथित विद्वानहरु कै संस्थाको खटनपटन पनि गर्दछन् । यिनी खासमा जानेमाने विशेष विद्वान हुन् । जय विद्वान महात्मे ।

कुश्मा, पर्वत

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।