16 वर्षदेखि निरन्तर
समकालीन साहित्य

नारी आवाज

कविता काशीनाथ मिश्रित June 30, 2023, 12:33 am
काशीनाथ मिश्रित
काशीनाथ मिश्रित

म नारी हुँ गाई सरि छु घरमा मात्र बँधुवा
जुरेली झैँ उड्ने मन छ कसरी उड्न सकुला?
पखेटा फड्कारी कसरत गरेँ उड्न नभमा
दिएनन् बाधाले अवतरण भो फेरि भवमा ।

तगारा छन् धेरै पुरुषहरूका जन्जिर खडा
म आईमाई रे ! उनिसरहकी हुन्न म बडा !!
मरी जान्छन् इच्छाहरू पनि भई कुण्ठित सधै
दबी बस्ने कैलेतक दमनको बोझ सहँदै?

नजन्मी मारिन्छू सहज भ्रुणहत्या गरिदिँदा !
दुवै बाबाआमा विखुसि किन हो जन्म म लिँदा?
म बुर्काको भागी किन हुन गएँ जान्न सकिनँ?
तिमी द्यौता, दासी चरणतलमै आज म किन??

दयाकी खानी हुँ नबुझ कमजोरीपन तिमी
परे लोहा जस्तै अतिशय कडा बन्दछु पनि !
म माया हुँ तिम्रै तल तल परी हेपिनु किन?
म आमा , छोरी हुँ पशु सरह भै बेचिनु किन??

म छोरीमान्छे रे ! पुरुषहरू झैँ हाँस्न नहुने !
तिमी झैँ स्वेच्छाले प्रणय पिरति गाँस्न नहुने !!
मरे लोग्ने आफू विकल, सधवा बाँच्न नहुने !
बनाए खै कल्ले नितिनियम यी भाँच्न नहुने?

मरे पत्नी उस्तै पहिरन तिमी लाउन हुने !
तिमी मर्दा रातो किन म कपडा भिर्न नहुने?
म सृष्टीकर्ता हुँ कुन प्रकृतिको यो नियम हो?
दुवै पाटा नारी-पुरुष रथका हुन्; नभन भो !!

तिमी हामी जन्म्यौ समउदरकै भेदन गरी
बनाएनौ वातावरण जिउने भेद नगरी
म चाहन्छू उस्तै पुरुष-महिलाको कदर होस् !
गरी खाने ज्याला फरक किन यस्तो बदर होस् ॥
(शिखरिणी छन्द)

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।