उसले लेख्यो । छपायो । मान्छेहरू मान्छन् उसलाई । कम्ती बोल्नु उसको स्वभावको अङ्ग। घमण्डी - कति भन्छन् । रहस्यमय कति सोच्छन् । भन्नु र सोच्नुमा फरक छ। तर ऊ दुवै होइन । एकलोपन ज्यादा अनुभव भएर हो किंवा केले हो, अचेल ऊ केही मलिनचित्त भएको देखिन्छ । शङ्कालु भइसकेका छन् मान्छेहरू। तर ऊ साधारण छ। अचेल ऊ एकलै हिँड्ने गर्छ प्रायः । सायद विचार नमिल्दा मान्छे एकलै हिँड्ने गर्छ ।
जीवन बेस्वादको लाग्न थालेको छ उसलाई । किन ? बुझ्न सकेको छैन उसले। बुझ्ने प्रयासमा पनि छैन ऊ । दिनभरि घाममा पोलिएर थाकेको अनुभव हुँदा स्फूर्ति रहँदैन शरीरमा । मदेशको घाममा डढेर अनि मच्छड़द्वारा चुसिएर रक्त सञ्चालनमा केही असन्तुलन आएको छ कि क्या हो ? सोच्छ ऊ । केही कमजोर भएको अनुभव गर्छ । जीवन धान्नुपर्ने बाध्यतामा शरीरलाई घोटाउनु अनि त्यसको झोललाई सुकाउनुमा उसको दिन बितेर जाँदैछ ।
ऊ सोचिरहेकै हुन्छ- 'एकलो रहँदा रहँदा मन पनि एकलकाँटे हुँदैछ कि भन्ने शङ्कामा छु । आफैलाई लाग्छ कुनै लक्ष्य प्राप्तिका लागि अग्रसर हुँदा एउटा मोड़मा आइपुगेर अल्मलिँदैछु । यद्यपि म एउटा निर्दिष्ट लक्ष्य प्राप्तिका निम्ति लालायित बनेको छैनँ । तर यसरी कतिदिनसम्म जीवन बिताउने एकलै ? उसलाई सम्झाउनु परेको छ । यसपालि बिहेको प्रस्ताव पस्किन परेको छ ऊअघि । तर उसले एउटा पत्र पनि किन लेखेकी छैन?”
अचेल ऊ राती राम्ररी निदाउँदैन ।
एक रात ऊ निदायो । तर उसकी प्रेयसी रोई सपनामा । उसको मन दुख्यो बिपनामा । प्रेयसीबाट उसले धेरै लामो अन्तरालपछि पनि कुनै पत्र प्राप्त गर्नसकेको छैन। ऊ चिन्ताग्रस्त छ अहिले । सपनामाथि विचारमग्न भएर प्रेयसीको सम्झना गर्दैछ । कार्यालयको कार्यमा पनि चित्तवृत्तिले उसलाई साथ दिएन। आज उसले कुनै काम गर्न सकेन। किन पत्र आएन ? के भयो ? रिसाएकी छ कि ? कि कतै गई? कि रुग्ण छे? ऊ कुनै निष्कर्षमा पुग्न सकेन । आशङ्काले छोप्यो उसलाई । प्रश्नले निल्यो उसलाई। प्रेयसीलाई धेरै माया गर्दोरहेछ उसले। ऊ स्वयम्लाई त्यस्तो अनुभव हुनथालेको छ। उसको प्रेयसीसित व्यक्तिगत रूपमा भेट नभएको पनि एक वर्ष हुन आँटिसक्यो स्थानान्तरले गर्दा । नोकरीले गर्दा स्थानान्तरको चाप सहनुपर्छ । उसले पनि सहनु पर्यो त्यो चाप । पहिला हप्तामा दुईपल्ट भेट हुन्थ्यो उसको प्रेयसीसित । १५ दिनमा एउटा पत्र उसले पाउँदैथ्यो स्थानान्तर भएपछि पनि। त्यो पनि अहिले बन्द छ । कारण ऊ पनि जान्दैन । ऊ टाढ़ामा छ । यसर्थ नानाओलि विचार आउनु स्वाभाविक हुन जान्छ त्यस्तो अवस्थामा । उसले बारम्बार पत्र लेख्दैछ । तर उत्तर पाएको छैन उसले ।
आज आइतबार एउटा पत्र लेख्यो उसले । भाड़ा तिरेर बसेको घरमा ऊ एकलै छ । घर मालिक परिवारसित सिनेमा हेर्न गएका छन् । कोठामा शून्यता छ । उसको मनमा हाहाकार छ, जिज्ञासा छ, छटपटी छ। ऊ सोच्दैछ- “आउँदो हप्ता म छुट्टीमा जान्छु। तर बड़ा हाकिमले छुट्टी दिन्छ के त! कामको चाप बढ़ी छ । माथिको स्थिति पनि तनावपूर्ण रहेछ। जे होस् म जान्छु एकपल्ट ।” ऊ सोच्दै छ । खाना पकाउने बेला भइसकेको छ। उसको मन खाना नपाकी अमन भएको छ । उसलाई प्रत्येक कुरा अमन भएर आउँदैछ सोच्दै जाँदा । आफ्नो जिन्दगी झर्कोलाग्दो लाग्न थाल्दैछ। ऊ सोच्छ “आफ्नो आँगनमा राम्ररी काम गर्दा गर्दै स्थानान्तर भएर टाढ़ो जानुपर्ने कस्तो नोकरी ? नगरुँ भने पनि यो बाहेक मेरो पृष्ठभूमिमा जिउने दरिलो आधार पनि त अरू कुनै छैन ।” उसको सोचाइ पलाउँदै जान्छ । राती सुत्न सकेन ऊ।
भोलिपल्ट । ऊ अनिदो आँखा दुखाउँदै खबरकागज पढ्छ । खबरकागजमा उसकी प्रेयसीको गाउँमा धेरै युवक-युवतीहरू पक्राउ परेका खबर पढ्छ। ऊ झस्किन्छ। लाठी चार्ज भयो, अश्रु ग्यास छाड़ियो, गोली पड्कियो। कति घाइते भए । कति मारिए । यस्तै अशुभ खबरहरू खबरकागजमा पढ्दा उसको मन चिन्ताले भरिन्छ ।
अर्को दिन, कार्यालयमा उसले छुट्टीको अर्जीपत्र पेश गर्छ । तर उसको अर्जीपत्र अस्वीकृत हुन्छ । धेरै आग्रह गरेपछि बड़ा हाकिम पनि विवश हुनुपरेको तथ्य उसले मुख्य कार्यालयबाट आएको आदेश पत्रमा देख्छ। कामको चापमा चेप्टिन्छ ऊ । ऊ नियास्रो बन्छ । कार्यालयको कर्तव्य पालन गर्न त्यस दिन उसलाई पटक्कै मन लाग्दैन, ऊ व्यग्र छ। बारम्बार उसको आँखामा प्रेयसीको रुग्ण अवस्था नाच्छ । परिवारका सदस्यका अनुहारहरू झलझली आउँछन् उसका आँखामा । अन्त्यमा उसले शारीरिक रुग्णताको आधारमा छुट्टीमा बस्ने विचार गर्छ ।
दुई दिनपछि । ऊ कार्यालय जाँदैन । तर आफ्नो घरतर्फ लाग्छ । मनभरि चिन्ता बोकेर ऊ बसद्वारा घरतर्फ जाँदै गरेको हुन्छ । बाटो बाटोमा सोझा मानिसहरूका घरका झ्याल, ढोकाहरू भत्किएका दृश्यहरू देख्छ । कति कति वर्ष पसिना बहाएर बनिएका घरहरू नष्ट गरिएको देख्ता उसले नाजीवाद सम्झन्छ । प्रजातन्त्र होइन। अमानुषिक अत्याचारका शिकार भएका घरहरू हेर्दै जान्छ ऊ । अचानक बस रोकिन्छ। ऊ चढेको बसअघि अर्को बस रोकिएको हुन्छ । त्यस बसको वरिपरि उर्दी लगाएका बन्दुकधारी देशको सुरक्षा कायम राख्नलाई खटिएकाहरू हुन्छन्। उनीहरूले प्रत्येक बसका यात्रीहरूलाई जाँच गर्दै रहेछन् । उसले देख्छ एउटा ठिटोलाई उनीहरूले बसबाट बाहिर निकाल्छन् अनि अन्धाधुन्ध ऊमाथि लाठी बर्साउन थाल्छन् । एकैक्षणमा स्थिति तनावपूर्ण हुन्छ । हेर्दाहेर्दै त्यो ठिटो पहेँलो हुँदै जान्छ। उसका हातखुट्टाहरू भाँचिन्छन् । उसले खुलस्त देख्छ । उसलाई लाग्छ - त्यो हातखुट्टा भाँचिएको होइन । तर प्रजातन्त्र भाँचिएको हो । उनीहरूले त्यो ठिटोलाई कुटेका होइनन् । तर समाजवादलाई कुटेका हुन् । उसलाई यस्तै लाग्छ । हेर्दाहेर्दै त्यो ठिटोलाई लास बनाएर उनीहरूले उनीहरूकै गाड़ीमा हाल्छन् र त्यहाँबाट जान्छन् । फेरि बस चल्छ ।
बिसाउनीमा बस रोकिन्छ । ऊ ओर्लिन्छ । आफ्नो शहरलाई वरिपरि फर्केर हेर्छ। शहर भक्कानो फुटाएर रुनसम्म नपाएको जस्तो उसलाई लाग्छ । ब्याग भिरेर ऊ सरासर अघि बढ्छ। शहरमा मानिसहरू कम्ती हुन्छन्। अचानक उसको आँखामा भित्तामा टाँसिएका पोस्टरहरू पर्छन् । ऊ पढ्न थाल्छ । उसको अनुहार एकाएक पहेँलिन्छ केही अक्षरहरू देखेर । त्यहाँ लेखिएको हुन्छ- "सुजाता प्रधानलाई जेलभित्र बलात्कार गर्ने अपराधीहरूलाई पक्रेर कानुनी कार्यबाही गरिएन भने हामी अनिश्चित कालसम्मलाई बन्द डाक्नेछौँ... "। उसले अरू धेर पढ्न सकेन। सुजाता प्रधान उसकै प्रेयसी हो, हुनेवाली जीवन सङ्गिनी हो । त्यो पोस्टर पढेर ऊ क्रोधाग्निमा जल्न लाग्यो । अचानक उसको शिरमा रोल बज्रियो अनि एउटा आवाज आयो– “साला, पोस्टर टाल्छस् ?” त्यसपछि उसको शरीरमा रोलको प्रहार भयो। छेउछाउमा भएका मानिसहरू भाग्न थाले । ऊ बेहोश भयो । आँखा खोलिँदा आफूलाई अस्पतालमा पायो । ऊ छाँगोबाट खस्यो । ऊ चिचाउन खोज्यो। तर शिरमा असीम पीड़ा हुनाले ऊ फेरि बेहोश भयो ।
भोलिपल्ट । उसले थाहा पायो ऊमाथि धेरै अभियोग लागेको रहेछ । ती अभियोगहरू थिए- फलानो ठाउँमा बम विस्फोट गर्यो, ढिस्का ठाउँमा पुलिस गाड़ीमाथि बम फ्याँक्यो, उत्तेजित कुराहरू भएको पोस्टर टाल्यो, फलानो स्थानमा दुईजनाको हत्या गर्यो इत्यादि । उसले न रुन सक्यो न विरोध गर्न नै ।
डाउहिल, खरसाङ, भारत।