हरेक व्यक्तिले जीवनका प्रति आफ्नै खालको दृष्टिकोण बनाएको हुन्छ । जीवनका प्रतिको धारणा आम मानिसहरुको एउटै हुनुपर्दछ भन्ने केही छैन । बाँचेको भूगोल, पारिपारिक पृष्ठभूमि, पेशा व्यावसाय, शिक्षा, हुर्काइ बढाइको वातावरण, सरसङ्गत, संस्कार वा संस्कृति आदिले व्यक्तिको जीवन बुझाइमा पृथकता ल्याउन सक्दछ । यसको सारभूत अर्थ के हो भने सबै मानिसको जीवनलाई बुझ्ने वा हेर्ने आफ्नै आफ्नै तरिका वा सोच वा विचार हुन्छन् ।
सरसर्ती बोध गर्दा जीवन भनेको दुःख सुखको एउटा यात्रा हो । मानव जीवनका मानवीय, पारिवारिक र सामाजिक पाटाहरु छ्न् । कसैको जीवन सुखमय हुन्छ भने कसैको दुःखमय हुन्छ । कतिपयले जीवनलाई एउटा संघर्षको गोरेटो मानेका छन् भने कतिले जीवनलाई मोजमस्तीको रुपमा मात्र लिएका छन् । मूलतः जीवन भनेको जसले जसरी यापन गरेको छ त्यहि नै जीवन हो । विख्यात कवि विलियम सेक्सपियरले भनेका छन की जीवन एक रंगमञ्च हो र हामी यस रंगमञ्चका कलाकार हौं । जन्मनु, आफ्नो भूमिका निर्बाह गर्नु र अन्त्यमा मर्नुको बीचको उहापोह नै जीवन हो भनी मान्ने आधारहरु जुटाउन कठिन छैन ।
प्रख्यात समाजसेवी मदर टेरेसाले जीवनलाई एक अवसरको रुपमा बुझेर यसको भरपूर सदुपयोग गर्न सुझाएकि छन् । उनले जीवनमा सुन्दरता, खुशी, सपना, चुनौती, कर्तव्य, संघर्ष, प्रतिज्ञा, शाहस र दुःख पनि देख्छिन् र यसको सोहीअनुरुप सकारात्मक ढंगले उपयोग गर्नुपर्ने तर्क गर्दछिन् । टेरेसाले भनेजस्तै हरेक व्यक्तिको जीवन बहुमुल्य छ र बहुआयामिक पनि छ । सवाल यसलाई कसले कसरी सदुपयोग या दुरुपयोग गर्दछ भन्ने नै हो । गीतकार दुर्गालाल श्रेष्ठले भनेजस्तै ‘फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार’ । जीवनमा फूल देख्ने र उमङ्गित हुने कि काँडा देखेर दुःखी हुने भन्ने छनोट गर्ने जिम्मेवारी सम्बन्धित व्यक्तिमा नै निहित विषय हो ।
त्यसो त विचार नै जीवनको मूल स्रोत हो जसले मानिसलाई सुख र दुःखको अनुभूति दिन्छ । आफूभित्र उत्पन्न हुने विचार, भावना, आवेग, सोच र चिन्तनले नै व्यक्तिलाई असल वा खराब, शुखी वा दुःखी बनाउने हो । हामीले आफ्नो जीवनलाई कसरी बुझ्न र ग्रहण गर्न चाहान्छौं त्यो हाम्रो कुरा हो । यसलाई सकारात्मक रुपमा ग्रहण गर्ने या नकारात्मक रुपमा, त्यो व्यक्तिको वैयक्तिक मामिला हुन जान्छ । जसले सकारात्मक रुपमा आत्मसाथ गर्दछ ऊ जीवनदेखि अतिशय पुलकित र उमङ्गित हुन्छ । जसले नकारात्मक रुपमा ग्रहण गर्दछ ऊ सदैव दुःखी, चिन्तित र निराश भैरहन्छ । यस मानेमा जीवन भनेको जीउनुको एक विशिष्ट कला पनि हो भन्न सकिन्छ ।
जीवन भनेको अनुभवको संगालो पनि हो । यही अनुभव, अनुभूती र भोगाइ–गराइलाई सारसंक्षेपका रुपमा आफ्ना मानसपटलका अन्तरकुन्तर छिचोलेर अग्रज स्रष्टा यमबहादुर ढुंगाना केसीले आफ्नो नवीनतम् कृति ‘जीवनमा गराई र भोगाई’ सार्वजनिक गर्नुभएको छ । आफ्नो जीवनवयको ८४ औं बसन्त पारगर्दै गर्दा लोकार्पित हुन लागेको यस कृतिले स्रष्टा यमबहादुर ढुंगाना केसीको साङ्गपाङ्ग जीवनबृत्तलाई सार्वजनिक गरेको विश्वास गर्न सकिन्छ । आफ्नो जीवनकालको अधिकांश समय सरकारी सेवा, सामाजिक सेवा तथा मानवसेवामा खर्चिनुभएका साहित्य सर्जक ढुंगाना केसीले आफूभित्र अन्तरनिहित साहित्यिक चेत र हुटहुटीलाई सेवा निबृत्त भैसकेपश्चात सम्पूर्ण रुपमा साहित्य सिर्जनामा खर्चिनुभएको प्रमाण उहाँकृत १० वटा विभिन्न विधाका कृति सार्वजनिक भैसकेको बाट पुष्टी हुन्छ ।
साहित्यकार यम ढुंगाना केसी पर्वत साहित्य सङ्गमको सल्लाकार सदस्यमात्र होइन, सङ्गमको सबैभन्दा जेष्ठ सदस्य पनि हुनुहुन्छ । उहाँका अधिकांश सिर्जनाहरुले नेपाली ग्राम्य समाजको जीवन भोगाइलाई जस्ताको तस्तै पस्कन सफल भएको पाउन सकिन्छ । साधारण नागरिकले भोगेका अनुभव र अनुभूतिहरुलाई आफ्नो सरल, सरस र लालित्यपूर्ण शिल्पले टपक्क खिप्न साहित्यकार ढुंगाना केसी पोख्त हुनुहुन्छ । उहाँका लेखनीहरुमा कुनै कृतिमता, अहमता र क्लिष्टताको गुञ्जाइस पाउन मुस्किल पर्दछ । उहाँको नैसर्गिक विशेषता भनेकै सादगीपन हो । चिन्तनमा मौलिकता, दृष्टिकोणमा प्रष्टता, जीवन दैनिकीमा सरलता, लेखनमा सादगी, व्यवहारमा समानता र अरुसँगको सम्बन्धमा सुमधुरता स्रष्टा ढुंगाना केसीका अनुकरणीय एवम् अनुशरणीय गुणहरु हुन् । यिनै आत्मिक परिधानहरुले उहाँलाई सामाजिक र साहित्यिक जीवनमा महान् व्यक्तित्वका रुपमा सुशोभित तुल्ल्याएको छ । सत्कर्मलाई प्रधानता दिने र जिम्मेवारीलाई पुनित अवसरको रुपमा ग्रहण गर्ने स्वभावकै कारण सर्जक यम ढुंगाना केसी कसैको आँखाको धुलो बन्नु परेको छैन आजसम्म । बरु अरुको दुःख, पीडा र कठिनाइमा मलम बनेर सहयोगका हात फैलाउन हरदम तत्पर रहने उहाँले सर्वजन हितायः सर्वजन सुखायको मर्मलाई आत्मसाथ गर्दै आउनुभएको देखिन्छ ।
यम ढुंगाना केसी स्रष्टा साहित्यकार मात्र होइन, उहाँका जीवनका धेरै पाटापक्षहरु रहेकाछन् । सरकारी सेवामा रहँदा लामो समय शिक्षा क्षेत्रमा काम गर्नुभएका उहाँले नेपालको शिक्षा प्रणालीलाई समयानुकुल सुधार गरेरमात्र मुलुकले उन्नती प्रगति हासिल गर्न सक्ने तथ्यमा विश्वास राख्नुहुन्छ । समाजको समग्र विकास र समृद्धिका लागि विभिन्न भूमिकामा रहेर योगदान पु¥याउँदै आउनुभएका उहाँले आफ्नो जन्मस्थान बागलुङ बलेवादेखि हालको बसोबासस्थल पर्वतको कुश्मासम्ममा थुप्रै सामाजिक÷साँस्कृतिक उन्नयनका काममा आफूलाई सरिक बनाउँदै आउनुभएको छ । आफ्नो जीवनकालका दिब्य ८४ बसन्त पारगर्दै गर्दाका बखत उहाँसँग जीवनका कैयन सुखद, उत्साहजनक र प्रेरणादायी अनुभवका फेहरिस्तहरु छन् । ‘दुई बारको जुनी’लाई हाँसीखुशी बिताउनु श्रेयष्कर ठान्ने ढुंगाना केसीले दुःख, पीडा, अभाव, धोका र असफलताबाट यथोचित पाठ सिक्दै अघि बढ्नुपर्दछ भन्ने मान्यता राख्नुहुन्छ । उहाँमा रहेको जीवन प्रतिको आशावादिता स्तुत्य छ । उहाँले जीवन आफैमा सुखद र अमूल्य प्राप्ती भएकाले यसलाई पूर्ण उत्साहका साथ व्यतित गर्नुपर्दछ भन्ने ठान्नुहुन्छ । सत्यम्, शिवम्, सुन्दरम्को मार्गबाट मात्र मानव चोलाले सत्मोक्ष प्राप्त गर्न सक्ने उहाँको ठम्याई रहेको देखिन्छ ।
मनुश्य जीवनप्रतिको अतिशय आशावादिता, इमान्दारिता, अनुशासन, निष्ठा र समर्पणका भावहरु नै यम ढुंगाना केसीको लागि साहित्य सिर्जनाका औजारहरु हुन् भन्ने ठम्याउन कठिन छैन । उहाँले जे कर्म र भूमिका निर्वाह गर्नुभयो, त्यसमा इश्वरतत्व÷भगवततत्व देख्नुभयो । ‘कर्म गर फलको आशा नगर’ भन्ने मान्यताका आधारमा जिम्मेवारी सम्पादन गर्दैै जाँदा स्वतःस्फूर्त स्वर्गीय खुशी र आनन्द प्राप्त हुने कुरामा उहाँ विश्वस्त देखिनुहुन्छ । ‘जीवनमा गराई र भोगाई’ शीर्षकको यस कृतिभित्र विचरण गर्दा उहाँका यिनै जीवनदर्शनहरु अटेसमटेस गरी मुखरित भएको पढ्न पाइन्छ । आफू जन्मेहुर्केदेखि शिक्षादीक्षा लिँदै आजको दिनसम्म आइपुग्दा जीवनका उकालीओराली, गौंडागल्छेडा र भञ्ज्याङचौतारीलाई उहाँले बढो मार्मिक तरिकाले उदिन्ने प्रयत्न गर्नुभएको छ । यसैले यो पुस्तक उहाँको जीवनअनुभवको सारभूत फेहरिस्त हो भन्न सकिन्छ ।
‘जीवनमा गराई र भोगाई’ कृति स्रष्टा यम ढुंगाना केसीको जीवनबोधको दस्ताबेज हो । यसमा उहाँले आफ्ना बाल्यकाल, यौवनकाल र प्रौढावस्थाका बग्रेल्ती भोगाइ, गराइ र स्वान्त चिन्तनहरुलाई स्मरण गर्नुभएको छ । समाजमा रहँदा बस्दा र आफ्ना बहुपक्षीय भूमिकामा हेलिँदा भोगिएका, देखिएका र अनुभव गरिएका सैयौं दृष्टान्तहरु सिनेमाको रिलजस्तै एक पछि अर्को सम्झने प्रयास देखिन्छ कृतिकार ढुंगाना केसीको । आफ्ना जीवनका तरेलीहरुमा बहेली खेल्दै आर्जन गरेका अनुभव र अनुभूतीहरुलाई सार्वजनिक सम्पत्तीका रुपमा पस्कने जमर्कोमा लाग्नुभएका साहित्यकार केसी मानव चोलालाई अनुभवजनित ‘पावर हाउस’ का रुपमा ग्रहण गर्न आतुर देखिनुहुन्छ । ‘अप्प दीपो भवः’ को आदर्शका अनुयायी यम ढुंगाना केसी आफ्ना सुख र दुःखका पोकाहरुलाई आफूमा मात्र सिमित गर्न चाहानुहुँदैन । यही विश्वासको उपजको रुपमा उहाँको ‘जीवनमा गराई र भोगाई’ कृति हाम्रा सामु छ ।
सरसर्ती दृष्टिगोचर गर्दा एउटा सरल, झरल, बोधगम्य र सरसर्ती अघि बढेको आत्मपरक जीवनबृत्तका रुपमा यो कृति तयार भएको जस्तो अनुभूत हुन्छ । यसले यम ढुंगाना केसीको वैयक्तिक जीवन भोगाइलाई सार्वजनिक सम्पत्तीका रुपमा प्रकटिकृत गरेको छ । लाग्छ, हामी मध्ये धेरैले यम ढुंगाना केसीले भोगेको जीवन नै बाँचिरहेका पनि हुन सक्दछौं । नभएपनि उहाँको जीवन भोगाइसँग हाम्रा अनुभवहरुको तादात्म्यता स्थापित पो हुन सक्दछ कि । जे होस्, आफ्नो विगत र वर्तमानका अनुभव र भोगाइहरुलाई अभिलेखिकृत गरेर स्रष्टा यम ढुंगाना केसीले नेपाली समाज र सिङ्गो नेपाली साहित्य क्षेत्रलाई विशिष्ट गुन लगाउनुभएको छ । यस कृतिभित्र विभिन्न २५ शीर्षकहरुमा विनियोजित उहाँको लेखनीले समकालीन नेपाली समाजको सादृश्यता उदाङ्ग पार्ने प्रयास गरेको छ । परन्तु, उहाँका लेखनीहरुमा परिष्कार र परिमार्जनको खाँचो महशुष हुनु स्वाभाविक मान्न सकिन्छ । तथापि, उहाँको यस लेखनीबाट आजको पुस्ता र भोली जन्मिने पुस्ताले हिजोको समाजको बारेमा धेरै सत्य तथ्यहरु थाहापाउने अवसर प्राप्त गर्ने कुरा भने निश्चित छ । यस मानेमा यो कृति सर्जक यम ढुंगाना केसीको मात्र नभई सिङ्गो नेपाली समाजको दर्पण हो भन्दा अतिशयोक्ती नहोला ।
अन्त्यमा, यम ढुंगाना केसी उमेरवयका दृष्टिले, भोगाई र अनुभवका दृष्टिले परिपक्व, शालिन, हार्दिक र अभिभावकीय व्यक्तित्व हुनुहुन्छ । प्रस्तुत कृतिभित्र उहाँका सिर्जनाहरु अत्यन्त सरल भावधारमा सिर्जित भएका र ग्राम्यदेखि शहरिया जीवन भोगाइका अनुभवहरुको मिश्रणको रुपमा संग्रहित भएका देखिन्छन् । यस पुस्तक भित्रका हरेक शीर्षकहरु पठनीय छन्, मननीय छन्, रोचक छन्, सिकाइकेन्द्री छन्, जीवन सादृश्यता उदिन्न सक्षम छन् । नेपाली समाजको रसिलो–निरसिलो पक्षको सुन्दर प्रस्तुती यस कृतिभित्र यत्रतत्र छरिएकाछन् । यो पुस्तकले सबै वर्गका पाठकहरुलाई भिन्दै खालको कौतुहलताका साथ पढ्ने र मनन गर्ने इच्छा जागृत गर्नेछ भन्ने अपेक्षा गर्न सकिन्छ ।
आफ्नो ८४ औं बर्षगाँठ मनाइरहेको सन्दर्भमा ‘जीवनमा गराई र भोगाई’ पुस्तक विमोचन गर्ने तत्परताका साथ अघि बढ्नुभएका पर्वत साहित्य सङ्गमका जेष्ठ सदस्य तथा सल्लाहकार सदस्य अग्रज साहित्यकार यमबहादुर ढुंगाना केसीज्यूलाई सुख, शान्ति, सुस्वास्थ्य तथा दीर्घ जीवनको लागि आत्मिक शुभकामना अर्पित गर्दै यहाँको साहित्य सिर्जना थप पल्लवित एवम् शिखरित हुन सकोस् भन्ने सुभेच्छा प्रकट गर्दछु ।
कुश्मा, पर्वत