18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

के म भन्दा जान्ने, सुन्ने कोहि होला त?

निबन्ध योगेन्द्र उपाध्याय 'पुष्प' July 6, 2023, 8:38 pm
योगेन्द्र उपाध्याय 'पुष्प'
योगेन्द्र उपाध्याय 'पुष्प'

कहिलेकाँही मनमा आउने सवालहरुले मस्तिष्कलाई विचलित गराउँछन् । विचलित गराउने प्रत्येक प्रश्नहरु महत्वपूर्ण पनि हुँदैनन् तर महत्वपूर्ण नठानिएका प्रश्नहरु नै हुन् जसले विचलनको स्थितीसम्म जो कोहिलाई पनि पुर्याउने क्षमता राख्दछन् । महत्वपूर्ण ठानिएका प्रश्नहरु उत्तरसमेतका हुन्छन् । या भनौं महत्वपूर्ण रहेका विषयवस्तुहरुमाथिको गरिएका प्रश्नले नै मानिसलाई भौतिक विकास गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्यो जस्तै यो जंगलमा रहेको बिरुवा घर आफू बस्ने ओढार नजिकैको स्थानमा गएर रोप्दा के होला? भन्ने प्रश्नले कृषिक्रान्तिको सुरुवात भयो भने केट्लीको ढक्कन बाफले कसरी उचाल्न सक्यो होला? भन्ने प्रश्नले अठारौं शताब्दीमा औद्योगिक क्रान्तिको सुरुवात गर्यो । चरा कसरी उड्यो? पानी किन पर्छ? स्याउ कसरी खस्यो? मानिस बिरामी कसरी पर्छ? जस्ता थुप्रै महत्वपूर्ण प्रश्नहरुको योगदान हामीले कहिल्यै बिर्सन हुँदैन जसले मानवलाई भौतिकीको क्षेत्रमा नयाँ उचाई एवं जिवनमा नयाँ आयाम प्रदान गर्न आफूलाई समर्पित गर्यो । अब प्रश्नहरु शायद बाँकी नभएर होला या बाँकी रहेका प्रश्नहरु मेरो क्षमता/विद्वता/व्यवहार/ अनुभवभन्दा बाहिरको पनि भएर होला, काम लाग्ने प्रश्नहरु सकिएपश्चात् मनमा एकमात्र प्रश्न बाँकि रहँदो रहेछ के म भन्दा जान्ने, सुन्ने कोहि होला त?
रुचि धेरै भएतापनि आफू विज्ञानको विद्यार्थी परिएन, नेपाली परियो त्यो पनि एजुकेशनवाला, नेपाली एजुकेशन हुनुको पीडा मलाई मात्र थाहा छ । विदेशबाट आएपश्चात थोरै धन र ठूलो मनको साथमा जाँगर चल्यो विवाह गर्ने, बुवाको कुण्डलीको कहरबाट बचेका स्त्रीहरुमात्र मेरा लागि विवाह गर्न योग्यता प्राप्त गर्न सफल हुने हुनाले मनले खाएकाहरु पाउने आशा निकै कम थियो । कुण्डलीमा पास भएका ५-६ जनाको इन्टरभ्यू लिईयो/दिईयो तर आफू होचो, मझौनी गाउँ, बैदेशिक रोजगारबाट फर्केको बेरोजगार आदिका कारणले कुरा मिलिरहेको थिएन । इन्टरभ्यूकै क्रममा एक ठाउँमा मामाको साथमा पुगियो । उनी रहिछन् अंग्रेजी एजुकेशन, आँट र जाँगरको अभाव भयो अंग्रेजी सुन्ने बित्तिकै किनकी उनले अंग्रेजीमा इन्टरभ्यू लिन थालिन् भने संस्कृत र नेपालीका श्लोक हानेर पनि त भएन । तर स्पिकिङ्ग अंग्रेजी राम्रो थियो मेरो २ वर्ष अमेरिकन र ब्रिटिसहरुको साथमा काम गरेर आएको थिएँ, मात्र थिएन सर्टिफिकेट, उनको अंग्रेजीको प्रज्ञानतालाई मेरो हेलो, हाए, एस.एस. र बाई बाट जितिदिन्छु भन्ने लाग्यो अनि मामाले दिएको "भाञ्जा मैले मिलाउँछु" भन्ने हौसला पनि छँदै थियो साथमा ।
गईयो उनको घरमा मामाको यामाहा लिबेरो बाइक चढेर गर्मी नै भएपनि कोट भने छोड्नै मन लागेन भनिन्छ नि - फर्स्ट इम्प्रेशन इज द लाष्ट इम्प्रेशन । उनको घरको बराम्दामा रहेको २ थान स्टुल, १ थान बेन्ची र १ थान प्लास्टिकको कुर्सीमाथि राखिएको कुशनले मलाई मनमनै लाग्यो कुशनवाला मेरै लागि होला प्रमुख अतिथी त म नै हो नी आजको कार्यक्रमको । बसें कुशनमा कुसन पनि बिझाउन थाल्यो बसेको केही क्षणमै जब भित्रबाट आएको मधुरो आवाज मेरो कानमा पर्यो –गर्दिन म बिहे नेपाली पढेकोसँग । अरु स्थानमा झैं चियाको प्रतीक्षा थियो मलाई हेरुँ न त कस्ती रहिछन्, आशा विपरीत उनकी आमाले चिया ल्याइदिनुभयो । त्यती तीतो चिया मैले आजसम्म खाएको छैन यद्यपी त्यो चियामा चिनीको मात्रा बढी थियो । इन्टरभ्यूको लागि गरिएको तयारी पनि बेकम्मा सावित भयो । पहिलो पटक त्यही समयमा लागेको थियो म भन्दा जान्ने सुन्ने पनि कोही रहेछ यो संसारमा ! घटना माने सानै हो तर त्यस समयमा मेरो मनमा एउटा वस्तुको कमी थियो स्वीकार्यता, आज सोंच्छु उनको पनि त अधिकार हो, सम्मान गर्छु उनीप्रति, उनले बाबुआमाको अघि बली दिइनन् आफ्नो इच्छाको ।
भौतिक विज्ञान २ भागमा विभाजित छ, पहिलो पुरातनवादी फिजिक्स (Classical Physics) र आधुनिक विज्ञान (Quantum Physics) । क्लासिकल फिजिक्सका प्रणेता अल्बर्ट आइन्सटाइनको थ्योरी अफ रिलेटिभिटि सबैभन्दा महत्वपूर्ण मानिन्छ यद्यपि क्लासिकल फिजिक्सको विकास एवं प्रवर्द्धनमा आइन्स्टाइन भन्दा पूर्ववर्ती भौतिक वैज्ञानिकहरुको योगदानलाई पनि कम आँक्न भने हुँदैन । भौतिक विज्ञानको क्लासिकल विज्ञानमा रिलेटिभिटि जस्तै आधुनिक विज्ञानमा क्वान्टम थ्योरी नवीनतम र महत्वपूर्ण अवधारणा हो । क्वान्टम फिजिक्सले अध्ययन गर्ने धेरै विषयवस्तुहरु जस्तै क्वान्टम मेकानिक्स, स्ट्रिङ्ग थ्योरी, थ्योरी अफ रियालिटी आदिमध्ये मलाई स्ट्रिङ्ग थ्योरी र थ्योरी अफ रियालिटिको अवधारणाले निकै चकित बनाउँछ मलाई । रियालिटिका सम्बन्धमा हाम्रा पूर्वीय दर्शनहरुमा पनि प्रसस्त शोधहरु भएका छन् तर स्रोत सामग्रीहरुको अभाव तथा पाश्चात्य विज्ञानप्रति हामीहरुको आकर्षणले तिनलाई ओझेल बनाउँदै गयो जस्तै-संसार एक माया मात्र हो । रियालिटीको कन्सेप्ट पनि त्यही नै हो । रियालिटि या भनौं सत्यता सधैं मेरो सापेक्ष हुने गर्दछ । मेरो मात्र होइन तपाईंको सत्यता तपाईंको सापेक्ष हुन्छ । हुन सक्छ म तपाईंको मस्तिष्कको मात्र उपज हुँ । तपाईंले देखेका/भोगेका/सोंचेका/ भविष्यमा सोंच्नका लागि मस्तिष्कमा थिग्रिएका सबै वस्तुहरु तपाईंको मस्तिस्कमा मात्र छन् ।तपाईंले आफ्नो सुविधाका हिसाबले मेरो रचना गर्नुभयो र तपाईंपश्चात म पनि रहँदिन । कुनै पनि स्थानमा द्रष्टा छैन भनी दृष्टिहरुपनि रहँदैनन् । म तपाईंबाट ओझेल भएँ भने वास्तवमै म छु वा छैन भन्ने विषय तपाईंले यकीनका साथ भन्न सक्नुहुन्न । यस अवधारणा अनुसार आफूले सुनेको, देखेको, भोगेको बाहेक यस संसारमा, ब्रम्हाण्डमा घट्ने र घटिरहेका सबै घटनाहरु हाम्रा लागि असत्य हुन् । असत्य भन्दा पनि अझ ती वस्तु र घटनाको अस्तित्व नै हुँदैन । जब तपाईं कुनै माध्यमबाट कुनै घटना थाहा पाउनुहुन्छ बल्ल तिनीहरु सत्यतामा परिणत हुन पुग्दछन् । यस अर्थमा हामी सबैको सत्य फरक फरक हुन सक्तछ । यसै अर्थमा मेरो मस्तिष्कको उपज न हो सबथोक, के मेरो मस्तिष्कको एउटा उपज मात्र रहनुभएको तपाईं म भन्दा जान्ने सुन्ने हुनुहुन्छ होला त?
मसँग राजनारायण मा.वि. गेरमीमा अध्यापन गराउँदाका निकै मीठा अनुभवहरु छन् । त्यहाँ पढाएका विद्यार्थीहरु जस्ता मीठा व्यक्तिहरु मैले शायदै कहिल्यै भेटें र शायदै कहिल्यै भेट्नेछु । एकजना सर हुनुहुन्थ्यो जिउत दास उहाँले भनेको एउटा प्रसङ्ग मलाई हमेशा याद आउँछ अंग्रेजीमा एउटा उखान छ र यो सिद्धान्त पनि हो र गर्नुपनि पर्छ जीवनमा "हेल्प देम हु आर हेल्पलेस" तर नि योगेन्द्र सर तपाईंले सहयोग गरेको व्यक्ति यदि तपाईंभन्दा कमजोर स्थितिमा छ र कमजोर स्थितीमै रहिरह्यो भने उ तपाईंप्रति सधैं अनुग्रहित रहिरहन्छ तर त्यहि व्यक्ति जसलाई आज तपाईंले कमजोर स्थितिमा रहेको समयमा सहयोग गर्नुभयो र भोलि उ सम्पन्न भयो भने सबैभन्दा पहिला तपाईंको अगाडि नै सबैभन्दा पहिला सम्पन्नता प्रस्तुत गर्दछ जीवनलाई पल्टाएर हेर्नुस् तपाईंले पनि कुनै न कुनै समयमा आफूले सहयोग पाएकोसँग सम्पन्नता प्रस्तुत गरेको हुन सक्छ या आफूले सहयोग गरेकोबाट सम्पन्नताको बखान सुनेको हुन सक्छ । त्यो सम्पन्नताको प्रस्तुती जुनसुकै प्रकारको हुन सक्तछ जुनसुकै रुपमा हुन सक्तछ आश्था, अर्थ, मन या वचन । यो मैले पनि गरिरहेको हुन सक्तछु र तपाईंले पनि ।
अंग्रेजी साहित्य र संस्कारमा बटरफ्लाई इफेक्टले निकै महत्वका साथ हेरिन्छ । विश्वाश गरिन्छ कुनै एक स्थानमा उडेको पुतलीको पंखबाट चलायमान भएको हावाले एक अर्का हावाका अणुहरुसँग ठोक्किएर बनेको चेन रियाक्सनले कुनै अर्को ठाउँमा ठूलो हुरीको संयोग गराइरहेको हुन्छ । परमाणु बमको सिद्धान्त पनि यस्तै हुन्छ युरेनियमको अणुहरुको बाहिरी अर्बिटमा २ वटा इलेक्ट्रोन हुने र बाहिरी अर्बिटमा ८ वटा इलेक्ट्रोन भए मात्र युरेनियमको अणु स्थिर अवस्थामा पुग्ने हुनाले उसले वातावरणमा हुने अक्सिजन, कार्बनडाइअक्साइड लगायतका ग्याँसका बाहिरी अर्बिटबाट ६ वटा इलेक्ट्रोन लिएर आफू पूर्ण हुन चाहन्छ र यसबाट हुने चेन रियाक्सनले ठूलो विस्फोटको अवस्था सिर्जना गर्दछ । यसको मतलब वर्तमानमा घट्ने र सिर्जना हुने साना घटनाले पनि कालान्तरमा ठूला प्रभावहरु पारिरहेका हुन्छन् । आगोको एउटा सानो फिलिङ्गोले विश्वलाई जलाउने क्षमता राख्तछ । यद्यपी हुन सक्छ त्यो सानो फिलिङ्गो निकाल्न गरिएका प्रयासहरु असीमित होउन् तर विश्वले आगो देख्दछ, फिलोङ्गो होइन । यस अर्थमा विश्वले देख्ने आगो जस्तो म तपाईंको सानो फिलिङ्गोले उत्पन्न भएको होउँला त ? भ्रम होस् या यथार्थ भ्रम भए पनि आनन्ददायक यथार्थ भए पनि संतोषप्रदायक एउटै मात्र विचार "के म भन्दा जान्ने सुन्ने कोही होला त ?"

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।