19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

कागजको मन्त्रीमाथि एक नजर

कृति/समीक्षा लता केसी July 6, 2023, 1:53 pm
लता केसी
लता केसी

वरिष्ठ लघुकथाकार कृष्ण बजगाईंको पाँचौँ लघुकथासङग्रह “कागजको मन्त्री” बजारमा आयो भनेर सामाजिक सञ्जालले खबर गरेपछि म पढ्ने लालसाले आतुर भएँ । जागिरको सिलसिलामा बेलायत बसिरहेका सर्जक बजगाईंलाई सिधै मेसेन्जरमा सम्पर्क गरेँ । कुराकानी र पक्कापक्की भएपछि नेपालमा सम्बन्धित पक्षबाट किताब हात पर्न मलाई २४ घण्टा लाग्यो ।


उसो त सर्जक समकालीन साहित्य प्रतिष्ठान बेलायतका अध्यक्ष तथा समकालीन साहित्य प्रतिष्ठान फेसबुक पेजका संस्थापक हुन् । १५ वटा साहित्यिक कृतिका लेखकका यन्त्रवत्, रोडम्याप, कवच, संवैधानिक पत्नी र कागजको मन्त्री ५ वटा लघुकथासङ्ग्रह प्रकाशित छन् । नेपाल घर धरान भएका बजगाईंका नेपाल र बर्माका विद्यालयमा पढाइने नेपाली स्कूलमा उनका तीनवटा लघुकथाहरू र करिव दुई दर्जन बालकथाहरु समावेश भएका छन् । सत्यमोहन जोशी शताब्दी पदक, वैजयन्ति स्रष्टा सम्मान, डायास्पोरा नृपध्वज पुरस्कार, लिटरेरी वेब जर्नालिज्म एवार्ड, सुप्रमा साहित्य पुरस्कार, भानुभक्त द्विशताब्दी स्वर्णपदक, देवकोटा शताब्दी सम्मानजस्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार र सम्मानले सम्मानित व्यक्तित्व हुन् भनेर चिनाइरहनु पर्ने नाम होइन कृष्ण बजगाईं ।


भुँडीपुराणले प्रकाशन गरेको कागजको मन्त्री किताबको नामले नै मलाई पढ्न लोभ्यायो । हात परेपछि मैले पढ्ने भोकलाई शान्त पार्न थालेँ । शुभकामना सन्देश, प्रकाशकीय, सम्पादकीय वा भूमिका लेखनको औपचारिकतालाई यस पुस्तकले खर्लप्पै बिरोध गरेको रहेछ । आकारले किताब मसिनो भएकाले होला, मूल्य पनि रू १९०।– मात्र छ । सर्जकको छोटो आत्मकथन पढेपछि म विषयसूचीमा प्रवेश गरेँ । यस कृतिमा ५२ वटा लघुकथाहरू समेटिएका रहेछन् ।


पहिलो लघुकथा नै किताबको नाम कागजको मन्त्रीबाट शुरु भएको रहेछ । मन्त्रीहरूको कलुषित प्रवृत्तिप्रति ब्यङ्ग्य प्रहार गरेर पदीय चरित्र उदाङ्गो पारिएको छ कागजको मन्त्री लघुकथामा । घरमा स्वास्नी परिवार भएपनि विदेशमा बस्दा एउटा पुरुषले कागजी बिहे गरेको र धोका पाएर आत्महत्यासम्म गरेको पुरुष पीडालाई मार्मिक ढङ्गबाट प्रस्तुत गरिएको छ कागज लघुकथामा ! बृद्धाश्रममा बसेकी आमाको जन्मदिनमा नै मृत्यु भएको खबर परदेशमा रहेको छोरो अनभिज्ञता र जन्मदिने आमाप्रति सन्तानको गैर जिम्मेवारीलाई कथाले छोएको छ । वैदेशिक रोजगारीमा परदेशिएको युवालाई श्रीमतीले धोका दिएको र कामको सिलसिलामा छतबाट खसेर मृत्यु भएको भयावह अवस्थाको चित्रण गरेको छ सम्बन्ध लघुकथाले ।


नेता चरित्रप्रति एउटा आम मानिसको घृणा भाव र व्यबहारलाई घृणाले पस्किएको छ । शङ्काले मानसिक रोगीको विक्षिप्त रुपलाई चित्रण गरेको छ । ईष्र्याले गाउँ र शहरको महिलाबीचको मनोविज्ञान प्रस्तुत गरेको देखिन्छ । वादीले कुनै पनि वादको प्रतिवाद गर्ने व्यक्ति नै प्रतिवादी हो भनेर तार्किक शैलीमा प्रष्ट्याएको छ । विस्मृतिमा अल्जाइमर पीडितको मनोदशा चित्रण गरेको छ । भ्रममा महत्वाकांक्षाले मानिसलाई पागल बनाउने अवस्थाको कल्पना गरिएको छ । दलालमा दलहरूप्रति राजनीतिक चरित्र हावी हुने सत्यलाई उजागर गरिएको छ । किचेन क्याबिनेटमा तरकारीहरूलाई पात्रको रूपमा उभ्याएर प्रतिपक्षीको दोहोलो काढिएको छ । चुनावमा नेपालको वर्तमान राजनीति, चुनाव र उम्मेदवारको खिल्ली उडाइएको छ । मुर्दा शान्तिले जनतालाई नेताले उल्लू बनाउने दृश्य प्रष्ट देखाइएको छ । भ्रष्टमा नेपाललाई भ्रष्टपुर र अल्पसंख्यामा रहेको भ्रष्टजातिको बिगबिगी प्रस्तुत गरिएको छ ।


पुतलामा बिम्ब प्रयोग गर्दै नेपालको प्रजातन्त्र व्यबस्था, सरकार र कार्यकर्ताको धज्जी उडाएको छ । उद्योगमा गरिव नेपाली जनतालाई उल्लू र नेतालाई चण्डालको रूपमा प्रस्तुत गरिएको छ । परिवर्तनले सशस्त्र द्वन्दको परिवेशमा बनेको जनअदालत र बिरोधको भाषा बोल्नेलाई दिने सजायको झल्को दिएको छ । सदृशले सत्ताधारी चरित्रप्रति व्यङ्ग्य कसेको छ । सेवा लघुकथामा पैसा लिएर गरिने सेवामा नेता, व्यापारी, पुजारी र यौनकर्मीलाई चड्काएको छ ।

सङ्कट लघुकथामा जस्तोसुकै समस्याका साथमा जुझ्ने बानी परेका नेपाली जनता र शासक पक्षलाई व्यङ्ग्य गरिएको छ । यात्राले एउटा दलमा सहभागी वेश्या र दलालबीचको द्वन्द र घटना साम्य हुँदाको नौटङ्की पस्किएको छ । शिक्षा लघुकथामा शिक्षक होस् वा शिष्य ? विदेशमा पुगेर समान पीडा खेपेको विषयलाई मार्मिक शैलीमा प्रस्तुत भएको छ ।

सङ्क्रमणले दुई ढुङ्गाको बीचमा पिल्सिएको नेपालमा छिमेकीको राजनीति सङ्क्रमणले आक्रमण गर्ने गरेको भाव झल्किएको छ । अरूको कुरा काट्ने र खुट्टा तान्ने नेपालीहरूको संस्कारलाई निन्दाले व्यङ्ग्य हानेको छ । कार्यक्रमको नाममा चटक गरेर बजेट कुम्ल्याउने प्रवृत्तिलाई हरियालीले झापड हानेको छ । माया र विश्वास नभएपछि आफन्तहरू संगै बसेको सार्थक नहुने भावलाई नयाँ प्रेमले प्रस्तुत गरेको छ । मूर्ख लघुकथामा लोग्ने मूर्ख भएर स्वास्नीलाई हेप्नु र दोष थोपार्नुको परिणाम दुःखद् हुने सन्देश प्रवाह गरेको छ ।

ईक्रान्तिमा प्राविधिक विषय उठान गरेर ह्याकरहरूको बिगबिगी देखाइएको छ । महँगी देवीमा धर्मको नाममा ब्रह्मलुट, हतियारमा महिलाको हकको विषयमा कानुनको खिल्ली उडाएको, गोजीमा भ्रमको खेती, नव अवतारमा नेताहरूको नयाँ रूप, आशङ्कामा शङ्कालु प्रवृत्ति, प्रत्यभिज्ञामा उपचारको क्रममा स्वास्नीलाई पुरानो कुरा स्मरण हुँदा लोग्नेको दुर्दशा व्यक्त भएको देखाइएको छ ।


सम्बन्ध टुटनु र जोडिनु जीवनका संयोग हुन् भन्ने भाव संयोग लघुकथामा समेटिएको छ । एकान्तले मानिस एक्लो बस्दा हुने मानसिक भ्रम हुने, प्रतिच्छायाले मन र मस्तिष्क एक अर्काको प्रतिच्छाया बन्ने , आत्महत्याले हल्लाको भरमा मिडियाले सामाजिक सञ्जालको दुरूपयोग गर्ने, पैँचो र लाजले सामाजिक विकृति, बन्धनले दलमा बसेर विवेक बेच्नुभन्दा स्वतन्त्र रहने बारे वकालत गरेको छ । यसैगरी शोकतन्त्रले जुन जोगी आए पनि कानै चिरेका भनेझैँ नेपालको शासनतन्त्रप्रति व्यङ्ग्य, सुरक्षाले जीवनको सुरक्षित र शान्तिको घर चिहान हुनु, पखेटाले पागल लोग्नेको उपचारमा स्वास्नीको बाध्यता, तितो सत्यले प्रशासन र प्रहरीमाथि प्रहार गर्नु र गालीको सङ्कटले नकारात्मक मानसिकताको चित्रण गरेको छ ।


सङ्ग्रहका सबै लघुकथा पढिसकेपछि लाग्यो, कलम र कृति उत्कृष्ट छ । नेपालका नागरिक बजगाईं विदेशमा बसेर लघुकथाको उन्नयनमा लागि परेका छन् । विदेशभूमिमा सेवापश्चात् बचेको अलिकति समय नेपाली साहित्यको विकासमा खर्चिनु उनको स्तुत्य कार्य हो, त्यसलाई सलाम छ । कृतिमा सर्जकले नेपाल र नेपालीलाई जुरूक्कै बोकेका छन् । कथामा नेपाली समाज, माटो, हावा, पानी, सामाजिक र राजनीतिक विकृति, संस्कार र धर्म, विज्ञान र प्रविधि, वैदेशिक रोजगारीमा भोगेका पीडानुभूति अनि अलिकति मायाप्रेम र धेरै चाहीँ व्यबस्था, सरकार, नेता र जनताका चरित्र उदाङ्गो पारिएको छ । बहु विषयलाई समेटेर कथ्यशील्पले सिँगारेका छन् । पढ्दै जाँदा प्रायः जसो धेरै लघुकथामा आउने घटनाहरूको टर्निङ प्वाइन्टले सिरिङ्गै बनाउँछ । नेपाललाई बुझाउन गरिबपुर, भ्रष्टपुर, समस्यापुर, निन्दापुर, चिन्तापुर, शोकपुर, गालीपुर जस्ता बिम्बात्मक शब्द शैली र भरपुर व्यङ्ग्यको प्रयोग रोचक छ कथामा । त्यसले कृतिको ओज बढाएको छ ।


अधिकांश लघुकथाहरू विवरण ढाँचामा लेखिएका छन् । त्यसभित्र संवादका छिटपुट बाछिटाहरू पनि यदाकदा देखिन्छन् । ८० को दशकबाट चर्चाको शिखरमा आएको लघुकथाको तत्व अकस्मात् उठानमा त्यति सतर्कता अपनाइएको छैन तर कौतुहूलता प्रचुर मात्रामा छ । ४/५ वटा लघुकथाका शीर्षक दुई पदमा भएपनि बाँकी सबै एक पदमा छन् । लगभग सबै लघुकथामा, समापन अवस्थामा सर्जक बढो सतर्क देखिएका छन् र पाठक सन्तुष्ट बन्न सक्ने अवस्था बनेको छ । सिङ्गो किताब पढिसक्दा ३/४ स्थानमा भाषिक त्रुटि फेला परेको छ । मानव, मानवेतर र मानवीय भावनाका संवेगहरू पनि पात्रका रूपमा आएका छन् । पात्रविधान यथोचित छ । वाक्य छोटा, छरिता र सरल छन् । बोधगम्य नै छ । आयतनको दृष्टिले ३/४ वटा बाहेक सबै लघुकथाहरूले न्याय पाएका छन् । लघुकथाहरू रोचक र घोचक छन् । यस्तो भएको भए हुन्थ्यो भनेर खासै खोट लगाउनु पर्ने ठाउँ छैन । कृति पढनै पर्ने स्तरीय देखिन्छ । आगामी दिनमा स्रष्टाको साहित्यिक आयामहरू बिस्तारित हुँदै जाऊन् भन्ने शुभेच्छाका साथ बिट मार्न चाहेँ ।


तीनकुने, काठमाडौँ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।