16 वर्षदेखि निरन्तर
समकालीन साहित्य

एलियन

कथा हिमाल लिम्बु July 9, 2023, 12:37 am
हिमाल लिम्बु
हिमाल लिम्बु

समाजवाद र अध्यात्मवादलाई अंगीकार गरेर जनहितमा निर्लिप्त दार्शनिक नेता हुन् स्वामी हरिशरण महाराज । लोक कल्याणकारी आश्वासन र त्यसको कार्यन्वयनको कर्तव्यपरायणी गुणले गर्दा स्वामी हरिशरण जनसमक्ष राजनीतिका शिखर पुरुष मानिन्छन् । उनी राष्ट्रप्रमुख पनि भैसकेका नेता हुन् ।
एकदिन विशाल जनसमुदायको माझमा उभिएर नेता स्वामीजी आफ्ना दिव्य वचानामृतहरू मानवजनका कर्ण-कण्ठमा गुन्जाइ रहेका हुन्छन् । आफ्ना विचारहरूलाई प्रष्ट्याउदै उनी भन्छन्, "आदर र सम्मानका धोतक मेरा दाजुभाइ तथा दिदीबैनीहरू, सामाजिक प्राणी भएको नाताले मानिसले अरू केही गर्नु पर्दैन केवल मानिसले मानिसलाई चिने पुग्छ । यसैलाई मुण्डकोपनिषतमा भनिएको छ, तमेवैकं जानथ आत्मानम्, अन्या वाचो विमुञ्चथ, अमृतस्यैष सेतुः । यसको अर्थ हो 'केवल आवरणमा भिन्नता हो सबैको आत्मा एकै हुन्छ' भनेर हामीले एकअर्कालाई वसुधैव कुटुम्बकमको दृष्टिकोणले हेर्नुपर्दछ । सबै जातजातिलाई समान ठान्नुपर्छ । अनि यो धर्तीमा शान्ति बहाली हुन्छ ।"
नेता स्वामी हरिशरणको सद्उक्तिलाई उपस्थित जनताको स्वीकार्य तालिको गडगडाहटले गीतलाई संगीतले सुनमा सुगन्ध थपे झैँ थप कर्णप्रिय तुल्याइ दिन्छ । स्वामीजीको महावाणीले आकाशबाट धर्तीमा पुष्पवृष्टि भैरहेको छ अदृश्य निराकार । त्यसैबेला एक अधबैंसे व्यक्ति त्यो विशाल आमसभालाई माझबाट चिर्दे स्वामीको मञ्चको आसनतिर आइपुग्छ । त्यो अपरिचित व्यक्तित्व विचित्र छ । शारीरिक स्वरूप अपवादमा पर्दैन तर मनोविज्ञान बुझ्दा विव्हल भएको जस्तो देखिन्छ । उसको चेहरा निन्याउरो छ, प्रष्ट्र रूपले ऊ भोकप्यासले रन्थनिएको भान हुन्छ । उसको एक हात छैन त्यसैले उसको कमिजको बाउला हल्लिरहेको छ । उसले लाएको कमिज-सुरुवाल च्यातिएर तान्द्राङतुन्द्रुङ तेन्द्राले मात्र बनेका छन् । लगभग नाङ्गो छ ऊ । धूलिकणहरूले उसको आवरण धमलिएको छ । प्रत्यक्षः त्यो अपरिचित निर्धन, निर्बल र अपांग छ । ऊ कछुवाको तालमा स्वामी हरिशरण भएको आसनतर्फ सरासर जान्छ । मञ्चमा पाइला राखि सकेर जनसमुदायलाई एक हातले न्यानो अभिवादन गर्छ । बोल्छ पनि तर उसको ओठबाट प्रफुस्टित शब्द विचित्रको छ । दर्शकको सम्मखबाट फनक्क फर्केर स्वामी हरिशरण समीप जान्छ र प्रणाम गर्छ । उसले स्वामीलाई विनयसाथ आफ्ना मनो-भावनाहरू पोखे जस्तो देखिन्छ । तर प्रश्नचिन्ह त्यहाँ थियो । उसको भाषा कसैले बुझेनन् । उसको भाषा सायद यो लोकमा प्रचलित थिएन र छैन । सबै बुद्दिजीवी, भाषाविद्का साथै स्वयं स्वामीजीकालागि त्यो भाषा मध्यकालीन विश्वको आठौं आश्चर्य बन्न पुग्छ । स्पष्टतः त्यो व्यक्ति सामान्य लाग्छ उसको भाषा अबोधगम्य छ । र ऊ अब त्यहाँ अपरिचित लाग्छ, पर-लोकको प्राणी हुनपुग्छ । उसले बोल्यो तर अर्कै भाषामा । उसको मुखाप्रेक्षित भाषा कसैले बुझ्न सकेनन् । नेता स्वामीजीले त्यो अपरिचितलाई राम्ररी निरीक्षण गर्दै अंग्रेजीमा प्रश्न गर्नुहुन्छ, "What is your name, gentleman?"
विश्वव्यापी भाषा उसले बुझेन । ऊ चुप लागेर हेरिरह्यो ।
नेता स्वामीजीले फेरि सोध्नु हुन्छ, "What is your name, gentleman?"
उसले एक हात उठाएर मुखमा पु-यायो र केही खाना आग्रह गरे जस्तो संकेत गर्छ ।
"भोकः भोकबहादुर, भोकप्रसाद, भोककुमार ।"
स्पष्टै उसले आफू भोको भएकोले 'भोक' को नाम दिइरहेको हुन्छ । नेता स्वामीजीले उसको इसाराको वास्ता नगरी अर्को प्रश्न तेर्स्याउनु हुन्छ, "Where have you come from, man?"
त्यस अपरिचितले उसकै भाषामा उत्तर दियो जुन नेता स्वामीजीका लागि क्लिष्ट हुन्छ । "प्यासीः प्यासीमाया, प्यासीदेवी, प्यासीकुमारी ।"
"What language do you speak like a bushman?" नेता स्वामीजीले अर्को प्रश्नको माला लगाइदिन्छन् त्यसलाई ।
उसले नेता स्वामीजीलाई हेरिरहन्छ । एक निमिष बरररर बड्बडाउँछ त्यो अपरिचित ।
"नंगाः नंगाराज, नंगानाथ, नंगानारायण ।"
तर के बोल्छ? नेता स्वामीजीले बुझ्नसक्दैनन् । कसैले बुझ्ने कोसिस गर्दैनन् ।
"यो प्राणी मेरो लोकमा जासुसी गर्न पठाइएको एलियन जस्तो छ । यसलाई इन्क्वाइरिका लागि हिरासतमा राख ।"
नेता स्वामीजीले राजनैतिक कुटिल कदम चाल्छन् । उनको निर्देशन पालना गर्दै त्यहाँ मौजुद सुरक्षाकर्मीले त्यो अपरिचितलाई पक्रेर लैजान्छन् । उसको मेडिकल परिक्षण गरिन्छ । त्यो अपरिचितको श्रवणशक्ति पूर्णमृत भएको रिपोर्ट आउँछ । तथापि आँखाको ज्योति धेरै तिक्ष्ण भएको पत्ता लाग्छ । उसको जिब्रोमा स्वादग्रन्थि सुकिसकेको देखिन्छ । गजबको कुरा चाहिँ के हुन्छ भने उसको एम.आर.आइ. (MRI) रिपोर्टमा नेता स्वामीजीको प्रश्नको जवाफ प्रिन्ट भएको छ ।
"मेरो नाम भोक हो; प्यासको दुनियाबाट आएको हूँ र चेतनाको नाङ्गो भाषा बोल्दैछु ।"
उही एलियन ...................।

उर्लाबारी, मोरङ, हालः धरान

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।