17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

जीवन्त स्रष्टाः कुलप्रसाद गुरु

संस्मरण/स्‍मृति गेहेन्द्रेश्वर कोइराला July 14, 2023, 11:48 pm
गेहेन्द्रेश्वर कोइराला
गेहेन्द्रेश्वर कोइराला

म एउटा विश्वविद्यालयको कर्मचारी, शिक्षक छनोट प्रक्रियामा थिएँ । अन्तर्वार्ता बिहानैबाट सुरु भइरहेको थियो । मेरो मोबाइल फोन म्यूटमा थियो । लगातार फोनको सङ्केत आएपछि त्यहाँ मेसो मिलाएर अलिकति छेउको झ्यालतिर उभिएर सुस्तरी बोलेँ । उताबाट आवाज आयो, ‘बाबाले अन्तिममा तपाईंको नाम लिएर कुरा गर्दै हुनुहुन्थ्यो, अचानक बेहोस हुनुभयो, तुरुन्तै अस्पताल भर्ना ग-यौँ, हिजोदेखिबाटै होस आएन, अहिले बिहान ...’ बोल्दाबोल्दै उहाँको भक्कानो छुट्यो । केही सान्त्वनाका शब्दहरु मैले भनें । फोन काटियो । मलाई पनि एकदम दुःख लाग्यो । मैले ठानें, अहिले बिहान हामीबीच गुरु रहनुभएन । यो पीडा मैले रघुनाथ अधिकारी गुरुलाई प्रवाह गरें र पुनः शिक्षक छनोट प्रक्रियामै सहभागी भएँ ।
काठमाडौँबाट मोबाइलमार्फत आएको त्यो आवाज कुलप्रसाद गुरुको छोरा प्रकाशको थियो । करिब द्ई घण्टापछि रघु गुरुबाट थाहा पाएँ, कुलप्रसाद गुरु अस्पतालमा कोमामा नै हुनुहुँदो रहेछ । मनमा थोरै भए पनि शान्ति मिल्यो । अलिकति भए पनि आशाको सास फेरेँ । त्यसको तीन दिनपछि अर्थात् २०७९ साल साउन चार गतेका दिन कोमाको अवस्थाबाटै कुलप्रसाद गुरु हामीबाट ‘अलबिदा’ हुनुभयो । उहाँसँगको अन्तिम क्षणको संवादले मलाई केही दिनसम्म मलाई उद्वेलित बनाइरह्यो । ग्लानि महसुस गरेँ । मनमनमा ठानें, पोखराको साहित्यक तथा बौद्धिक फाँटको एउटा चम्किलो नक्षत्र बिलायो । कुलप्रसाद गुरु अब सशरीर रहनुभएन ।
पोखराको पृथ्वीनारायण क्याम्पसले मलाई २०४० सालदेखि गुरुसँग सामीप्य जुटाइदियो । हामी क्याम्पसमा प्राध्यापन गर्ने क्रममा सहकर्मी हुन पुग्यौँ । गुरुले मलाई मायालु संरक्षकत्व दिनुभएको थियो । मैले उहाँबाट सधैँ नयाँ नयाँ सूचना र सुझावहरू पाइरहन्थँे । त्यसका पछाडि हाम्रो वामपन्थी झुकावको वैचारिकी प्रबल थियो । उहाँ र हामीहरुबीच समसामयिक राजनीतिक, सांस्कृतिक, शैक्षिकलगायतका धेरै विषयमा छलफल हुन्थ्यो र जीवनको उत्तरार्धमा यो छलफल अझ बढी घनीभूत थियो । लामै भलाकुसारी गर्थ्यौं। म मर्निङ वाकका क्रममा बेलामौका गुरुको घर पोखरा, मालेपाटनको पर्स्याङमा भेट्न पुग्थेँ । साथै पछिल्लो समय गुरु काठमाडौँ हुँदा पनि फोन वार्ता भइरहन्थ्यो । गुरुले प्रकाशन गर्नुभएको अन्तिम पुस्तक ‘मनोगत’ निबन्धसङ्ग्रहका बारे केही कुराहरु भएका थिए । त्यस सङ्ग्रहको शैक्षिक संस्थाहरूमा वितरण गर्न सहकार्य गर्ने योजना बनेको थियो । म गुरुको पोखरा आगमनको प्रतीक्षामै थिएँ । फोन संवाद चलेकै थियो । तर फरक, यसै बीचमा अनपेक्षित घटना भयो ।
गुरु कुलप्रसाद खनालको पोखरा र काठमाडौँको बसाइ पनि जीवनकै एउटा द्विविधा थियो । पोखरा उहाँको लामो समयको कर्मथलो । साथीभाइ, सहयोगी टोलछिमेकी, सुन्दर प्राकृतिक वातावरण आदिले पोखराको बसाइ आकर्षक थियो । एउटा मात्र छोरा, परिस्थितिबस ऊ काठमाडौँ बस्नुपर्ने अवस्थामा; तीनवटै छोरीहरूको बसाइ पनि काठमाडौँ भएको, उमेरले छोराछोरीको हेरचाह आवश्यक पर्ने कारण जीवनको उत्तरार्धमा उहाँको काठमाडौँ बस्नुपर्ने बाध्यता पनि थियो । स्वास्थ्यले पनि काठमाडौँकै सेवक खोज्न थाल्यो । मन पोखरा बस्नुपर्ने, जीवनको उत्तरार्धमा तन चाहिँ काठमाडौँ, यस्ता कुरा पनि मन द्विविधा बनाउने तरङ्ग हुँदा रहेछन् । यसैले होला काठमाडौँ अनि केही समय पोखरा अनि फेरि काठमाडौँ । यसरी नै गुरुको जीवनका पछिल्ला दिनहरु बितेका थिए । सहज रूपमा परिस्थितिलाई स्वीकार्नु, आफ्नो कारणले परिवारका सदस्यलाई अप्ठ्यारो नपार्नु, व्यवहारबाटै सहिष्णुता प्रस्तुत गर्नु कम कुरा होइन ।
“ॐ शान्ति” भनिने ब्रह्मकुमारी धार्मिक संस्थाको माउन्ट आपु केन्द्रमा भएको उत्कृष्ट व्यवस्थापनबारे मैले सुनेको थिएँ । त्यसको अवलोकन गर्ने उत्कट चाहनाले म त्यहाँ पुगेँ । सेवाभाव लिएर कयौँ श्रद्धालुजन त्यहाँ जानुहुँदो रहेछ । अप्रत्याशित रूपमा कुलप्रसाद गुरुको मेडमलाई मैले त्यहाँको भान्छामा सेवा प्रदान गरिरहेको पाएँ । महिनौं दिन त्यहीँ रहनुहुँदो रहेछ । म फर्केपछि एक दिन गुरुसँग यात्राबारे छलफल भयो । साथै मेडमको धार्मिक आस्थाबारे पनि । मेडमले पूर्ण स्वतन्त्रता अनुभव गरेको पाएँ । गुरुको बुझाइ रहेछ– मानिसले तनावबाट थोरै समय भए पनि आनन्द अनुभव गर्छ भने सेवाभावले काम गर्छ र त्यससँग रमाएको छ भने ठिकै छ किन विरोध गर्ने । उनको चाहनामा म किन तगारो बन्नुप-यो र ! पितृसत्तात्मक समाजमा पढालेखा पुरुषले महिनौं दिन आफैले घर, लुगाफाटो सफाइ अनि खानपानको काममा खुसी साथ संलग्न हुनु र मेडमप्रति ससम्मान पूर्ण स्वतन्त्रताको उपभोग गर्ने वातावरण दिनु लैङ्गिक समानता र उदात्त व्यावहारिक चेत गुरुको अनुकरणीय आयाम हो भन्ने मलाई लागेको छ । यसबाट उहाँ खुला हृदयको हुनुहुन्थ्यो र नारीहरुप्रति सम्मान भाव प्रकट गर्नुहुन्थ्यो भन्ने कुराको पनि पुष्टि हुन्छ ।
गुरुको जीवनमा सायद् सबैभन्दा ठूलो एउटा बज्रपात प¥यो । असैह्य वेदना । विवाह गरेकी छोरीको आँखाको आँसु मात्रले पनि हरेक बाबुआमालाई भतभती पोल्छ भने उनको संसार भत्किँदा हुने पीडाको गहिराइ सीमाविहीन छ । विवाह भएको मात्र केही समयपछि कान्छी छोरीको श्रीमान् छोरीज्वाइँ सोमनाथ पौडेलको जागिरकै काममा फिल्डमा रहँदा टेलिफोन वार्ता हुँदाहुँदै चट्याङको हाइ भोल्टेजका कारण निधन भयो । उहाँको तत्कालको मृत्यु असैह्य थियो । त्यसबेला यस क्षेत्रका धेरै मानिसले गहिरो पीडाको महसुस गरे । सोमजी मेरो पनि विद्यार्थी र साथी दुवै थिए । म पनि मर्माहत थिएँ । पीडाको घाउमा मलमपट्टी लगाउन गुरुले धेरै कुरा गर्नुभयो । ज्वाइँको मृत्युपछि छोरी आफ्नो घरमा बस्ने वातावरण बनेन । स्वाभाविक रूपमा गुरु संरक्षक हुनुभयो । यो संरक्षकत्वका इँटाहरू अत्यन्तै अनुकरणीय छन् । सानी नातिनीको शिक्षादीक्षा सँगसँगै छोरीले पाउन सक्ने घरको सम्पत्ति प्राप्ति त्यति सजिलो थिएन । गुरुकै पहलमा छोरीलाई एउटा राम्रो संस्थामा जागिरमा अड्याउनु प¥यो । जागिरले छोरीलाई मानसिक तनाव कम हुने नै भयो । तर त्यो दीर्घकालीन समाधान थिएन । नर्सिङ पढाउनुभयो । छोरीको अलि राम्रो गुजाराको बाटो भयो । समय क्रममा उहाँले पुनः छोरीको विवाह गराउनुभयो । अहिले छोरीको राम्रो घरजम छ । सन्तोषको सास फेर्ने वातावरण बन्यो । यी सबै कुरामा गुरुसँग म नजिक थिएँ र थाहा छ । एउटा सामान्य बाबुले एकल छोरीलाई गर्न सक्ने अधिकतम यही त हो । विधवा छोरीको हक प्राप्ति, संरक्षकत्व, जागिर, थप शिक्षादीक्षा र पुनः विवाह नेपाली ब्राह्मण समाजमा अधिकतम प्रगतिशील कार्य हो । सबैका लागि अनुकरणीय छ ।
कुन परिवेशले गुरुलाई प्राध्यापक पेशामा डो¥यायो त्यो मैले जानकारी पाउन सकिनँ । २०४० सालदेखिको मेरो सहकार्यमा मैले जानेदेखि पेशाबाट निवृत्त नहुँदासम्म प्राध्यापनका साथै नेपाली विभागको विभागीय प्रमुखको जिम्मेवारी समेत निर्वाह गर्नुभयो । प्राध्यापन पेशामा मैले सधैँ उहाँलाई केही कागजपत्र, किताबसहित एउटा ब्याग वा झोला साथमा रहेको पाउँथें । उहाँ हाम्रो जिम्मेवारीप्रति सचेत, लगनशील, अनुशासित र जिम्मेवार हुनुहुन्थ्यो । प्राध्यापन पेशामा उहाँमाथि कहिल्यै कसैको गुनासो रहेन । अध्ययन, लेखन, प्राध्यापन जीवनपर्यन्त साधनारत रहनुभयो । जीवनको अन्तिम समयमा पनि उहाँले ‘मनोगत’ निबन्धसङ्ग्रह प्रकाशन गरेर छाड्नुभएको छ । उहाँका साहित्यिक कृतिहरू प्रकाशित छन् । ती कृतिहरुको मीमांसा, समालोचना साहित्यकार÷समालोचकहरुबाट हुने नै छन् । हामी जस्ता साहित्यानुरागीका लागि उहाँ असल मार्गदर्शक स्रष्टा हो । पेशाप्रति निष्ठा र साधनारत साहित्यिक स्रष्टा उहाँका लागि ‘प्राध्यापक पद’ को अपेक्षा स्वाभाविक थियो, उहाँ हकदार पनि हुनुहुन्थ्यो । तर त्रि.वि.को संस्थागत र व्यवस्थापकीय अप्रभावकारिताको शिकारमा उहाँ पनि पर्नुभयो । यथार्थमा उहाँलाई अन्याय भयो ।
मूलतः गुरुको व्यक्तित्व साहित्यिक हो । गुरुहरूको यो साहित्यिक यात्रामा एकपटक मैले पनि सहभागी हुने अवसर पाएँ । २०४६ सालको बहुदल आगमनपश्चात् समाज खुला हुँदै गयो । सायद २०४८–४९ तिर हो कि पृथ्वीनारायण क्याम्पसमा गुरुहरूका लागि म सजिलो साथी थिएँ । कुलप्रसाद खनाल, रविलाल अधिकारी र घनश्याम ढकाल क्रमशः अध्यक्ष, उपाध्यक्ष र सचिव हुनुहुँदो रहेछ– ‘गण्डकी साहित्य सङ्गम’ एक प्रगतिशील साहित्यिक संस्थाको । उहाँहरू साहित्यिक व्यक्तित्वको सम्मान–पुरस्कारका लागि एक अक्षयकोष स्थापना अभियानमा हुनुहुँदो रहेछ । उद्देश्यसहित सबै कुरा थाहा पाएँ । त्यसबेला म पनि एउटा सङ्गठनको सक्रिय कार्यकर्ता भएकाले सहयोग जुटाउन मलाई सजिलै थियो । मैले पनि सहयोग अभियानलाई अगाडि बढाएँ । साथीहरूबाट राम्रै सहयोग प्राप्त भयो । गण्डकी साहित्य सङ्गमको यो अक्षयकोष राम्रो उद्देश्यमा प्रयोग भइरहेको थाहा पाउँदा आज पनि मलाई गर्व लाग्छ ।
गुरु ठूलो मान्छे होइन, असल मान्छे हो । सरल जीवनचर्या, सहिष्णु स्वभाव, मानवीय भावना, क्रियाशील जीवन असल मानिसका गुण हुन् । साथै उहाँ सचेत नागरिक पनि हो । जीवन र जगत्प्रतिको उहाँको वामपन्थी दृष्टिकोण प्रष्ट पाइन्छ । निरन्तर प्रगतिशील चिन्तन प्रणाली र व्यवहार उहाँको आदर्श हो । उहाँ भन्नुहुन्थ्यो– कागजी लोकतन्त्रमा धेरै जनअधिकार सुनिश्चित छ तर व्यवहार, सोच, कार्यशैलीमा नेतृत्वले विकृत अभ्यास ग¥यो । नागरिक सङ्घर्षको सफलता देशको मुहार फेर्ने राष्ट्रिय संकल्पको प्रस्थान विन्दु हुनु पर्नेमा स्वयम् सपनाहरू नै रङ्गविहीन भए । श्रमजीवीको रगत, पसिनाको विप्रेषणले देश धानिएको छ तर लोकको भलाइ विकृत सत्तासँग साटिएको छ । यो जनआक्रोश निरन्तर जीवन्त हुनुपर्छ । जीवन्त स्रष्टा कुलपसाद गुरु– हार्दिक श्रद्धाञ्जली !

पोखरा– ४, गैह्रापाटन, कास्की

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।