17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

सोतखोलाको सुसेली

नियात्रा भेषराज रिजाल July 14, 2023, 11:56 pm
भेषराज रिजाल
भेषराज रिजाल

“यहाँ सिमलको रुख बाङ्गो थियो । त्यसकै नामबाट यस ठाउँको नाम बाङ्गेसिमल रह्यो ।” सरल भावमा बोल्नुहुन्छ ठाडा गुरु ।
“अब सिमलका सोझा रुखहरू हुर्के पनि यस ठाउँको नाम त बदलिँदैन नि !”
“समय बलवान छ, समयले बदल्न सक्छ हरेक ठाउँ, मान्छे र चिजबिजको नाम !”
“यो ठाउँको अरू कुनै नाम रहन सक्ला तर सोझेसिमल त रहन सक्दैन पक्कै !”
“साँच्चै कहाँनेर रहेछ हँ त्यो बाङ्गो सिमल ॽ”
ठाडा गुरुको एउटा वाक्यले हामीबीच यति तर्क–वितर्क र विचार जन्माइदियो कि बाङ्गेसिमल कटिसक्न लाग्दा पनि हँसिमजाकमा रल्लिएर गन्तव्य बिर्सिएका यात्री जस्तै हुन लाग्यौँ हामी ।
“बाङ्गिएको सिमल हेर्दै रहुँला । त्यसको इतिहास पनि सुन्दै रहुँला । तर अहिले त हर्न, लाइट, सडक सङ्केत र ट्राफिकको इशारा बुझ्न जरुरी छ बढ्ता । कि कसो हो ?” यात्राको निरन्तरताको कामना गर्दै सडक जस्तै सोझो जवाफ फर्काउँछु म ठाडा गुरु र अरू सहयात्रीहरूलाई । तथापि, मेरो मनमा भने घुम्न थाल्छन् सुर्खेत उपत्यका र कर्णाली राजमार्गका अनेकन चित्रहरू ।
बाह्र बण्डाल र अठार खण्डालको क्षेत्र भनिने सुर्खेतको पुरानो नाम दोभानचौर हो । सिरु खेत भएर सुर्खेत भनिएको होस् वा भेरी र कर्णालीले सुरक्षित राखेको खेत भएर सुर्खेत भएको होस्, यो कर्णालीको प्रवेशद्वार हो । बुलबुलेताल, काँक्रेबिहार, देउतीबजैको मन्दिर आदिले सिङ्गारेका छन् सुर्खेत उपत्यकालाई । झुप्राखोला, इत्रामखोला र निकासखोलाले रक्तबाहिनीको काम गरे पनि भेरी र कर्णालीकै फेरोले बेरेको छ सुर्खेत उपत्यकालाई । कर्णाली राजमार्गले आगन्तुकलाई सुर्खेतबाट रारातिर डो¥याउँछ र सिञ्जा उपत्यकाको प्रवेशद्वार नाग्ममा ओरालेर आफू खलङ्गातिर लम्कन्छ । सुर्खेत देखि कर्णाली नदीको किनार हुँदै कालीकोट जिल्लाका असङ्ख्य भीर पहरा छिचोल्दै तिला नदीको किनार भएर जुम्ला सम्म तानिएको त्यहि कर्णाली राजमार्गको शुरु बिन्दु हो बाङ्गेसिमल । वा भनौँ रत्न राजमार्ग भएर कोहलपुरतिरबाट आउँदा सुुब्बाकुना, धुलियाबिटबाट देखिने सुर्खेत उपत्यकाको पल्लो छेउ हो बाङ्गेसिमल । त्यहि कर्णाली राजमार्गको फेर समातेर सुर्खेतको बाङ्गेसिमल छोड्दै छौँ हामी । अनि बराहताल गाउँपालिकाको बड्डीचौर निस्केर सोतखोलातिर जाँदै छौँ । २०७८ सालको पुस महिनाको २८ गतेको कुरा हो यो ।
ठूल्ठूला टिप्पर देख्दा मुटु नै सिरिङ्ग हुने गरी डर छिर्छ मनमा । ती टिप्पर ओझेल हुन्छन् र निर्जन बाटोसँग आफ्नै गाडीको टायरको मधुरो सम्वाद सुनिन्छ, तब असीम आनन्दमा लुटुपुटिन्छु म । अनि रमाउँदै ओल्लो झ्याल, पल्लो झ्याल र सहयात्रीका अनुहार नियालिरहन्छु यात्रामा ।
जङ्गलै जङ्गलको बीचबाट छिरेको सडकमा कुदिरहेछौँ । कुहिरोले छोपिएका जङ्गली घुम्तीहरू भयानक लाग्छन् । कुहिरोले नढाकेको भए रानीमत्ता, रातानाङ्ला, गोठीकाँडा, वयलकाँडातिर नजर उचाल्न मिल्थ्यो होला । पञ्चपुरी, चौकुनेतिर जाने सडक कस्तो रहेछ भनेर नियाल्न सकिन्थ्यो होला । नेपालमा धेरै जङ्गल भएको जिल्लामध्ये अग्रस्थानमा पर्ने सुर्खेत जिल्लाका जङ्गली बोट वनस्पती र जीवजन्तुको अवलोकन गर्दै रमाउन पाइन्थ्यो होला । तर पाखा देखि आँखासम्म पर्दा खसाली दिएर दुुष्मन कुहिरोले गर्नु ग¥यो नि !
फेरि चर्को हर्न सुनिन्छ नजिकै । होशियार गराउँदै छेउबाट वेगिन्छ अर्को गाडी । हर्न बजाउन निषेध गरिएको छैन यहाँ । म सोच्छु– गाडी गुड्नै नमिलेर जाम खाँदै घर्सनु पर्ने काठमाडौँमा हर्न निषेध गर्नु ठीकै होला । कुहिरो मुन्तिरका कर्णालीका यी भयानक भीर र घुम्तीमा हर्न नबजाई कुद्न सक्छ होला त कोही !
एमानका सालका रुख आइपुगेपछि भने हरायो कुहिरो । एउटा पुल तरियो । गिरीघाट रहेछ त्यो । रानीघाट अलि तल्तिर पर्छ रे । एउटा खोलो हुर्तुरिँदै भेरी नदीतिर जाँदै छ । शायद भेरीले रानीघाटमा पर्खी बसेको छ होला त्यसलाई ।
घना वनमा अनायास झुप्रे बस्ती टुपुल्कियो । सुकुम्बासी बस्ती रे त्यो !
“सुकुम्बासीलाई राख्नुपर्ने जग्गामा हुकुमबासीको कब्जा भएर जङ्गल छिरेका हुन् कि यी सुकुम्बासीहरू ?” नयाँ ठाउँमा अधिकांश जिज्ञासा मैले नै तेस्र्याउँछु ।
“२०७१ सालमा सुर्खेतमा भएको अति वृष्टिका कारण बाढी पीडित भएकाहरू यस जङ्गलमा आएर बसेका रे । गिट्टी, बालुवा सङ्कलन गरेर र दाउरा बेचेर निर्वाह गर्छन् रे यिनीहरू ?”
“यिनीहरूलाई शिक्षा, स्वास्थ््य, सुरक्षा केही चाहिँदैन रहेछ । यिनीहरूका सन्तान दरसन्तानले पनि यो जङ्गलमा यसरी बिताउँछन् त जिन्दगी ॽ”
“अहिले यिनको सब समाधान यही जङ्गल र यही सडक, अरू कुरा त भविष्यले नै बताउँदै जाला !”
“आफ्नो अमूल्य स्रोतसाधनको संरक्षण र आफ्ना नागरिकको सुरक्षाका लागि पनि केही गर्न नसक्ने कति निरीह छ है राज्य !”
रेशम र मबीच भएको सम्वाद हो यो । यस्ता विषयमा ठूूलै हुँ भन्नेको ओठे जवाफले मात्र चित्त बुझ्दैन कत्ति । कसैले काम गरेछ भने मानौँला भोलि । मुख बाएको गरिबी र जङ्गलको दुरावस्था देखेर तीरले झैँ छाती घोचेको छ चस्स चस्स ! घाँटीसम्म आइपुुगेका हजारौँ प्रश्नलाई मनमै गाँठो पारेर राख्न विवश छु म अहिले !
वनभरि सेतो फुस्रो रङमा फुलेको छ भट्टे । भट्टेका फूल जति हल्का छन् पात पनि उत्तिकै हल्का ।
“भट्टेले घर गोठ छाउन मिल्छ । भट्टेघारी भन्ने गाउँ नजिकै छ ।” रेशम बोल्नुहुन्छ मनै शीतल हुने गरी । तब भट्टेघारी झन् सुन्दर लाग्छ मलाई । भट्टेका स्याउलाले छाएको झुपडी बनाएर मेरो पनि एउटा घर छ है भन्दै हिँडौँ कि जस्तो लाग्छ मलाई । त्यसै भनिएको होइन रहेछ– म आफ्नै घरको राजा झुप्रै घर भए पनि !
घामको स्पर्शले छोइयो बाटो । बाटोको घाममै लुुटुपुटिँदै लामपुच्छ्रेले हलुका पयर उचाल्यो । हामी नजिक पुग्दा लामो पुच्छर हल्लाउँदै उड्यो त्यो । राता कलेजी पात भएको बडधाइरोको रुख चिनाए साथीहरूले । धाइरोका पोथ्रे डालीमा रातै फूल फुलेको त देखेकै हो, बडधाइरो भने आजसम्म चिनेको थिइनँ मैले । बडधाइरोलाई केमानुको रुख ठानेर घोत्लिएको थिएँ म शुरुमा । साथीहरू भन्दैछन्, चाम्रो हुन्छ बडधाइरोको काठ ।
जुम्ला २२२ किमी टाढा छ भन्ने सडक सङ्केत देख्दा कर्णालीको सम्झना छि¥यो मनमा । सुर्खेत बसेर कर्णाली सम्झनु कर्णालीको उपहास गर्नु जस्तै हो । मनले सम्झाउँछ फेरि मलाई ।
“गतिलो बाटोघाटो समेत नबनाई सुुगम सुुर्खेतले दुुर्गम कर्णालीलाई कसरी खुसी पार्न सक्ला खोई ॽ कसरी भन्न सक्ला म तिम्रै लागि समर्पित छुु ॽ” इमान्दार मान्छेको मुटुु त अनुुत्तरित प्रश्नकै हँसियाले रेट्दो रहेछ बढ्ता ।
जुरेली चरीको फिरफिर देखियो । चिबे चरीले सर्लक्क परेका खिरिला पखेटा उचाल्यो । एकछिनपछि बाटो किनारमा चरिरहेको मयुरको भाले पो देखियोे । त्यसलाई नजिकबाट हेर्ने रहरले गाडीबाट ओर्लियौँ हामी । एकछिन हाम्रो अघि अघि कुदिदिएर कता लुक्यो कता त्यो । त्यसका इन्द्रेणी पखेँटाको मोहनी जादु भने मनमा बसिरह्यो ।
ओदाल ताल आइपुग्यो । थुम्कै थुम्काका बीचमा रहेछ सुन्दर गैरी खेत । फनक्क घुमेका गराहरूले सिङ्गारेको बेँसी खेत रहेछ त्यो । तरकारी फलाउन मिल्ने सिमलो खेत बाँझै देखेर भने रमाएन मन । रमणीय बस्तीको त्यो सुन्दरता बाँझो खेतले निल्यो क्षणभरमा ।
सल्लाघारीको हरियाली आउन थाल्यो । थाकलले ढाकिएको वन आउन थाल्यो । घामले नुहाएको धर्ती आउन थाल्यो । यी सब देखेर चराको फुर्फुर झैँ भएको छ मन । पाठाको चुलबुल झैँ भएको छ मन ।
“थाकललाई खजुरी पनि भन्छन् । छोकडाको जस्तो हुन्छ यसको स्वाद । चैत बैशाखमा वनै कालै हुने गरी पाक्छ थाकल ।” साथीहरूका कुराले उत्तिकै चङ्गिएको छ मन ।
आशाभरि उत्साहले पनि तरङ्गिँदो रहेछ तन मन । मनले गाउन थाल्यो– कहिले आउला चैत बैशाख, खान पाउँला थाकल, ऐसेलु, चुत्रो काफल !
म निर्धक्क बोलिरहन्छु साथीहरूसँग । मलाई थाहा छ– असल नियतका मान्छेहरूसँग बोल्दा कुरो घुमाई रहनुपर्दैन । स्वार्थले कुप्रिएकाहरू भने सोझो बोले पनि खत थाप्छन् । कुरा बङ्ग्याउँछन्, बटार्छन्, बोलीकै पासो थाप्छन् र हुँदै नभएको लाइदिन्छन् तिनको स्वार्थसँग साखुल्ले हुने झुटो जमानालाई । के निहुँ पाउँ भनेर दाउ पर्खेको जमानालाई के चाहियो र अनि ॽ असल नियतको खेदो खन्ने बद्नियतलाई समयमै पहिचान्न जरुरी छ !
घाँटी तन्काउँदै तित्रोले छिटो छिटो बाटो काट्यो । त्यो जति छिटो दौडन खोजे पनि देखिहालियो त्यसको सेतो थोप्ले टाउको, रातो घाँटी, खैरो कालो शरीर । जब बाटो काटिसक्यो छेउको बाक्लो घाँसमा लुक्यो त्यो । वन थर्किने हाम्रो हाँसोले पनि निस्किएन त्यो । लुकी रह्यो, लुकी रह्यो । साथीहरू त भन्दै थिए नि काफर हुन्छ तित्रो, एक वेग उडाएपछि समात्न सकिन्छ सजिलै ।
चिस्यान हुँदो खोल्सा खाल्सीमा देखियो कालो चरा । गाढा निलो कालो रङका पखेटा उचाल्दै उडिरह्यो त्यो हाम्रो अघि पछि । त्यसको स्थानीय नाम जान्न चाहेँ साथीहरूसँग मैले । साथीहरू भन्छन्– “काल्चे चरा हो ।”
“कालो थिएँ, कल्चौँडो थिएँ, राजाको दरबारमा सुहाएको थिएँ, चुच्चीले बिगा¥यो ।” त्यसको पहेँलो चुचोतिर साथीहरूको ध्यान तानिदिएँ मैले । त्यसको नाम कालो कल्चौँडो पनि हो भन्ने सुन्दा साथीहरू बीच फेरि मच्चियो हाँसो ।
बड्डीचौर पुगेपछि हामी लाग्यौँ सोतखोलाको किनारैकिनार उत्तर । सोतखोला भने फालहाल्दै बगिरहेछ भेरी नदी भेट्न दक्षिणै दक्षिण । दक्षिण वेगिएको त्यसको सङ्लो प्रवाहको दृश्यलाई छेक्न सकेका छैनन् कुसुम, साज र सालका ठूल्ठूला रुखहरूले पनि । पाखापखेरालाई मन्त्रमुुग्ध पार्दै बगिरहेको सोतखोलाको सुसाइ पनि छोइएको छ छातीमै ।
अक्करमा अडिएर फुलिरहेछ चिउरी । रैनीको रुख चिनाउनुुहुन्छ रेशम वली । रङरोगनमा प्रयोग हुन्छ रे राता गेडा फल्ने रैनी । फेरि आउँछ बडधाइरो र रैनीको पाखो । धुर्सुलका पोथ्राहरू देखिन्छन् । धुर्सुल केरा पकाउने अर्गानिक औषधि हो भन्छन् साथीहरू । त्यतिबेलै देखिन्छ पहराको चेपबाट निस्केर सोतखोलामा मिसिएको पानीको ठूलै मूल । रसिलो भित्तो देखेर रसाउँछ हृदय पनि । पहाडी कन्दराको स्वच्छ जल मिसिएर नै त खोलामा बगिरहेछ यति धेरै सरसता र मिठास ।
सङ्लो पानी हेरेर जीवन बिताउने खोलेचरीको चिरबिरले मुग्ध बनाउँछ । यहाँ छ स्वच्छ हावापानी, खोलाको कलकल, मधुरो घाम र खोला किनारको एकलास । खोलाको त्यहि कलकलमा लठ्ठिए झैँ देखिन्छन् बल्ढ्याङ्ग्रे काला ढुङ्गाहरू पनि । लाग्छ, असल चिजले बदल्न सक्दो रहेछ कुरुप चिजको पनि स्वरूप र रूप ।
कुलो सफा गर्दा एकजना महिला पुरिएको ठाउँ– स्थानीयले देखाउँछन् हामी हिँडिरहेको बाटो छेउको पहिरो । मलाई हिँड्दा हिँड्दै ठेस लागेझैँ भयो । घाटीमा केही चिज अड्केर निल्नु न ओकल्नु भएझैँ भयो । वाध्यता र विपत्तिमा परेर वर्षेनी ज्यान गुमाउने हजारौँ नेपालीको सम्झनाले रन्थनिएँ म धेरैबेर ।
सोतखोलाको ढुङ्गेनी बगरमा आइपुग्दा भेटिए नाउली गाउँबाट झरिरहेका केही महिलाहरू । मैले तिनीहरूको नाम राखिदिएँ नाउलीका नौलीहरू ।
बोको डो¥याएकी चाहिँलाई सोधेँ मैले– “बोको बेच्ने हो र ?”
प्रतिउत्तरमा हो भन्ने आशय बुझिने गरी मुन्टो मात्र हल्लाइन् उनले ।
“कति हो त यसको मूल्य ?” किनौँला झैँ गर्दै जीवन अघि सर्छन् ।
“खोई मलाई थाहा छैन ?” उनी लजाउँदै र पन्छिँदै बोलिन् ।
उनको लज्जामिश्रित मुस्कानलाई हामीले पनि साथ दियौँ हाँसेर । वास्तवमा पहाड उक्लन हिँडिरहेका हामीलाई बोको चाहिएकै थिएन, चाहिएको थियो त केबल नौलीको मुस्कान ! हेर्नुथियो सरल गाउँले जनजीवनको सुन्दरता र सुन्नुथियो सुन्दर गाउँले लवजको मधुरता !
“२०४६ सालमा आएको सोतखोलाको बाढीले बढारेर सबै खेत बगर बनाइदियो !” गणेश र दीपक बोल्नुहुन्छ एकै स्वरमा ।
बाढीले सोत्तर पारेको वषौँँ बितिसक्दा पनि बगरै भएर पल्टेको छ सोतखोला किनारको खेत । मान्छेको मेहनतले उर्बर र हराभरा लाग्ने खेत बगर भएको देखेर मन रोयो बेस्सरी । सोतखोलाको बगरमा उभिएर नजर घुमाउन थाल्दा काम छिटो भ्याउने ध्याउन्नमा मलाई छोडेर टाढा पुगिसकेछन् मेरा सहयात्रीहरू । आँखा तानेर हेर्छु– टाढा टाढा सम्म आउँदै वा जाँदे गरेका कुनै मान्छेको पदचिन्ह समेत छैन । मान्छे बिनाका खेत, खलियान, झुप्रा र बाटाहरू उदास लागे मलाई । अनि चरा, रुख र खोलाका गीत सुन्छु म । राता ढुङ्गा र तिनको धुलोसँग भुल्छु म । आङमा खुम्चिएको जड्यौरी लुुगा जस्तो भएको देखिन्छ बचेखुचेको बेँसीखेत । त्यहि खेत रोप्दा बास बस्ने कटेरी र खिइएका पराले टौवासँग पनि छन् होला यस्तै अनेकन कथा व्यथा ! तिनका यत्ति दुखेसा पनि नसुने यो बाटो किन हिँड्नु र खोई मैले ?
भीर उक्लेर कुलोको डिलमा पुग्छौँ हामी । कुलोको डिलमा होशियारीपूर्वक राख्छु पाइला । पाइला सुस्तरी चले पनि दिमाग चल्छ बेस्सरी । म विगतमा पुग्छु । आईए पढ्दा हिँडेको कुलोको डिलमा पुग्छु । अझ पल्तिर आमाबुबाको काखमै पुग्छु म ।
“तँ उत्ताउलो छस्, सुस्तरी हिँड् ।” बुवा बोल्नुहुन्छ नजिकै आएर ।
“तेरा पैताला बाटुला छन्, सानोमा खुब दौडिन्थिस्, लड्न लाग्दा पनि कसरी कसरी जोगिन्थिस् ।” आमा बोल्नुहुन्छ सामुन्ने आएर ।
“सुस्त हिँडे लर्कन सकिन्छ, अलि छिटो हिँडौँ कि सर !” सहयात्री बोल्दा झस्किन्छु म । झन् झस्किन्छु डिल मुन्तिरको कहाली लाग्ने भीर देखेर ।
भीरमा फिता लाउँदै हिँडेका सहयात्रीहरूलाई देखेपछि बल्ल सम्हालिन्छु म । नसम्हालिएर सुख्खै छैन मलाई । शरीरको थकान र पैतालाका चोट बिर्सेर यसरी नै कयौँपटक कुद्नु छ भेरीकै वारिपारि ! यहि मेसोमा पुग्नु छ चेपाङ, कुमीकोट, तरङ्गा र बराहताल । भेरीमा मिसिएका र भेरीसँग छुट्टिएका अनगिन्ती भङ्गालाहरू नियाल्दै भुल्नु छ धेरै कुरा र सङ्गाल्नु छ अजम्बरी सम्झनाहरू !

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।