16 वर्षदेखि निरन्तर
समकालीन साहित्य

कर्मको फल

लघुकथा राजेन्द्र पहाडी July 16, 2023, 12:07 am
राजेन्द्र पहाडी
राजेन्द्र पहाडी

समाजसेवा, व्यापार व्यवसाय, राजनीतिदेखि लिएर धार्मिक गतिविधिमा समेत उत्तिकै सक्रिय देखिएर भूमिका निर्वाह गरेको अनुभव भएका आवरणका मात्र भएपनि सही, सदाचारी पात्र हुन् खलेनाथ शर्मा ।
यिनले व्यापार व्यवसायको क्षेत्रमा जिल्ला उद्योग बाणिज्य संघको महत्वपूर्ण पददेखि सामाजिक सेवाको क्षेत्रमा प्रतिष्ठित अन्तर्राष्ट्रिय पहिचान भएको संस्थाको अध्यक्षको भूमिका पनि निर्वाह गरे । निजी शैक्षिक संस्थामा लगानी गरेर शिक्षाप्रेमी कहलिए ।
उनी र उनका सहोदर भाञ्जा मिलेर पारिवारिक सदस्यहरुको सम्लग्नतामा एउटा सहकारी पनि सञ्चालन गरे । सिधासाधाको मन जित्नका लागि उनले व्यक्तिगत प्रयोजनका लागि गाडी पनि किने । खुद्रा प्रकृतिको व्यापार व्यवसायलाई विस्तार गर्दै डिलरसिपमा सञ्चालन गर्न थाले । बजार क्षेत्र वरपरका केही फालिएका जग्गा जमिन पनि खरिद गरेर राखे । अनेक तरहका काम गरेर खलेनाथले दुनियाँको आँखामा छारो हाल्न सफल भैरहे ।
गाउँबाट शहर झरेर छोटो समयमा आर्थिक छलाङ मार्ने थोरै व्यापारीहरुमा उनको नाम प्रथम दर्जामा आउन थाल्यो । उनी अध्यक्ष भएको र सैयौं आम सर्वसाधारण नागरिक सदस्य रहेको सहकारीमा सर्वसाधारणले करोडौं रुपैयाँ निक्षेप राखे । कतिलाई अरु वित्तीय संस्थाभन्दा धेरै ब्याज दिने भनेर प्रलोभनमा पारियो र निक्षेप रकम सहकारीमा भित्राइयो । खलेनाथले नेतृत्व गरेको ठाउँमा गलत परिणाम आउने कुरामा कसैले पनि शंका गर्ने अवस्था थिएन ।
शहरभरी खलेनाथ शर्माको आर्थिक, सामाजिक तरक्कीका बारेमा चर्चापरिचर्चा हुन थाल्यो । दिन दुई गुणा रात चार गुणाको दरले उनको आर्थिक चमकधमक बृद्धि भएको कुराले सबै आश्चर्य चकित परिरहेका थिए । सफलताको उदाहरण दिनुपर्दा सबैले खलेनाथबाट सिक्नुपर्दछ भन्ने गर्दथे । अभिभावकहरुले आफ्ना छोराछोरीलाई पनि भविश्यमा खलेनाथजस्तै सफल बन्नु भनेर हौस्याउने गर्दथे ।
दिनहरु खलेनाथमय भएर बितिरहेका थिए । अचानक एकदिन, एकाबिहानै खलेनाथ शर्मा सर्वसाधारणको करोडौं रकम कुम्ल्याएर रातारात भाग्यो भन्ने समाचार शहरभरी सनसनीपूर्ण ढंगले प्रवाहित भयो । मानिसहरु मुखामुख गर्न थाले । निक्षेपकर्ताहरु र उसँग आर्थिक कारोवार गरेकाहरु असिनपसिन भए । खलेनाथको व्यापक खोजी भयो । प्रहरी प्रशासन, सेयरधनी, निक्षेपकर्ता र सर्वसाधारणको सामुहिक प्रयासपछि उसलाई पक्राउ गर्ने काम भयो ।
अख्तियारको दुरुपयोग गर्दै सर्वसाधारणको निक्षेप रकम अपचलन गरी ठगी गरेको आरोपमा खलेनाथ शर्मा हिजोआज जेलको चिसो छिंडीमा दिन काटिरहेको छ ।

कुश्मा, पर्वत

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।