17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

साहित्यकार कृष्ण बजगाईंसँग कुराकानी

वार्ता राजु क्षत्री 'अपुरो' July 16, 2023, 12:09 am
राजु क्षत्री 'अपुरो'
राजु क्षत्री 'अपुरो'

लघुकथाकार कृष्ण बजगाईं बेलायतमा बसोबास गर्नुहुन्छ । विदेशमा बसेर संख्यात्मक हिसाबले सबैभन्दा धेरै लघुकथासङ्ग्रह प्रकाशन गर्ने उहाँ नै हुनुहुन्छ । प्रस्तुत छ स्थापित लघुकथाकार कृष्ण बजगाईं र हाम्रो लघुकथा केन्द्र नेपालका संरक्षक एवं व्यवस्थापक राजु क्षत्री अपुरो बिच लघुकथा कै सेरोफेरोमा रहेर गरिएको संक्षिप्त भलाकुसारी

१. अपुरो:- नमस्कार !,सर्वप्रथम यहाँको परिचय बताइदिनुहोस् न ?
बजगाई: विगत २३ वर्ष भन्दा बढि समयदेखि तन युरोपमा र मन नेपालमा भएको नेपाली भाषा साहित्यलाई माया गर्ने एक व्यक्ति हुँ । म वि.सं. २०३६ सालमा स्कूलको कार्यक्रममा बाल कविता लेखेर साहित्यतर्फ आकर्षित भएको थिएँ । वि.सं. २०४१ सालमा मेरो पहिलो कविता पत्रिकामा प्रकाशित भएदेखि आजसम्म घरदेशमा हुँदा होस् वा परदेशमा रहँदा निरन्तर लेखिरहेको छु । नियात्रा, कथा, लघुकथा, बालकथा, हाइकु आदि विधामा गरि १५ वटा कृतिहरु प्रकाशित भएका छन् ।
बेलायतबाट मैले विगत १६ वर्षदेखि नेपाली साहित्यको वेब पत्रिका समकालीन साहित्य डट कम(www.samakalinsahitya.com) को प्रकाशन तथा सम्पादन गर्दै आएको छु । समकालीन साहित्य प्रतिष्ठानका बेलायतको अध्यक्ष पनि हुँ । मेरो प्रधान सम्पादकत्वमा नेपाली साहित्यको अनुसन्धानमूलक अन्तर्राष्ट्रिय जर्नल ‘प्रवासन’को हार्ड कपी र सफ्ट कपी बेलायतबाट विगत ५ वर्षदेखि प्रकाशित भइरहेको छ । मैले डायास्पोरा नृपध्वज पुरस्कार(अमेरिका), नारायण जयन्ता लिटरेरी वेब जर्नालिज्म एवार्ड(अमेरिका), सुप्रमा साहित्य पुरस्कार(बेलायत), देवकोटा शताब्दी सम्मान (नेपाल), भानुभक्त द्विशताब्दी स्वर्ण पदक(नेपाल), सत्यमोहन जोशी शताब्दी पदक(नेपाल) आदि पुरस्कार र सम्मान पाएको छु ।

२.अपुरो:- लघुकथा लेखनमा यहाँको यात्रा कहिलेदेखि शुरु भएको हो नि ?
बजगाई : मैले लघुकथा २०४६ सालदेखि लेख्न सुरु गरेको हो । लघुकथासङ्ग्रह प्रकाशन गरौंला भनेर तयारी गर्दै थिएँ, अचानक विदेशतिर पो पलायन भएँ । विदेशको घनचक्करबाट बल्लतल्ल फुर्सद मिलाएर पहिलो लघुकथासङ्ग्रह वि.सं. २०६४ सालमा प्रकाशित गर्न सकेँ । अब त मेरा ५ वटा लघुकथासङ्ग्रह पनि प्रकाशित भईसके ।

३.अपुरो:- यहाँका लघुकथाहरू पाठ्यक्रममा पनि समाबेश गर्न थालिएका छन् । कस्तो महसुस गरिरहनु भएको छ?
बजगाईंः लघुकथा भन्दा पहिले मेरा ४ वटा नियात्रा त्रिभुवन विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयको स्नातक तह नेपाली विषयको पाठ्यक्रममा पढाई भईरहेका थिए । त्यसपछि मेरो एक लघुकथा नेपाल सरकार पाठ्यक्रम विकाश केन्द्रको कक्षा १२ को अनिवार्य नेपालीमा र अर्को लघुकथा म्यान्मार(बर्मा)को नेपाली विद्यालयको कक्षा ९ मा पढाई हुन थालेको हो । लघुकथा पाठ्यक्रममा पढाई भइरहँदा एकदम खुसी लागेको छ । लघुकथा त्यसरी पाठ्यक्रममा पढाई होला भनेर सोचेको पनि थिईनँ । त्यसरी लेखेको पनि थिइन् । पाठ्यक्रममा लघुकथा परेपछि लेखनमा अलिक गम्भिर भएको छु । लघुकथा लेखनमा थप जिम्मेवारी थपिएको महसुस गरेको छु ।

४. अपुरो:- यहाँ विदेशमा बसेर लघुकथा लेखिरहनु भएको छ । विदेशमा लघुकथाको प्रभाव कस्तो छ ?
बजगाईंः लघुकथा भनेकै ब्यस्त रहेका मानिसलाई साहित्यको तिर्सना मेटाई दिने विधा हो । परदेशको ब्यस्ततामा लघुकथा धेरैले पढ्छन् । परदेशमा लघुकथाका थुप्रै पाठकहरु छन् । विडम्वनाको कुरा लघुकथाकार भने थोरै छन् ।

५. अपुरो:-हाम्रो लघुकथा केन्द्रका गतिविधिहरूलाई यहाँले कसरी नियालिरहनु भएको छ?
बजगाईंः तपाईंहरुले लघुकथाको उन्नयनका लागि थुप्रै कार्य गर्दै आउनु भएको छ । त्यसलाई नजिकबाट नियाँली रहेको छु । लघुकथाको सामुहिक संंकलनको प्रकाशनदेखि स्मारिका आदिको प्रकाशनका अतिरिक्त लघुकथाको वाचन लगायतका कार्य नियमित भईरहेको पाएको छु । फेसबुक ग्रुपको रुपमा स्थापना भएको समूह अहिले संस्थाको रुपमा दर्ता भएको छ । यी सबै प्रशंसनिय कार्यहरु हुन् ।

६. अपुरो:- हामीले खेल्न पर्ने भुमिकामा कुनै कसर बाँकी भए यहाँको अमूल्य सुझाव को अपेक्षा समेत राखेका छौं । केही सुझाव दिन चाहानु हुन्छ कि ?
बजगाईंः तपाईंहरुको जोशिलो र सक्रिय टिम छ । स्वयंसेवाको रुपमा गरिरहेको यो महान कार्यलाई पछिसम्म निरन्तरता दिनु होला ।

७. अपुरो:- एउटा गम्भीर प्रश्न ,यदि कुनै पाठक लघुकथा पढ्दापढ्दै हाँंस्यो भने कथाकारको शिल्पको तारिफ गर्ने कि कथाकारलाई चुट्किला उन्मुख भयो भनेर आरोप लगाउने ?
बजगाईंः पहिला त लघुकथामा हाँस्य तत्व हुनुहुँदैन भनेर म मान्दिनँ । हास्य कथा, हाँस्य निबन्ध, हाँस्य कविता हुन्छ भने हाँस्य लघुकथा पनि हुनसक्दछ । मुख्य कुरा त्यसमा लघुकथाका सम्पूर्ण तत्व हुनैपर्दछ । हाँस्य तत्व भएको लघुकथा लेख्नु चुनौतिपूर्ण कार्य हो । त्यसलाई चुट्किला हुनबाट जोगाउन विशेष शिप चाहिन्छ ।

८. अपुरो:*एकै विषयमा पनि लघुकथा लेखिन थालिएका छन् । केही एकल सङ्ग्रह र संयुक्त सङ्ग्रहहरू प्रकाशित भएका छन् । एकै विषयमा धेरैले लघुकथा लेख्दा प्रभावकारिता कस्तो हुन्छ ?
बजगाईंः एकै विषयमा लघुकथा लेखिनु राम्रो कुरा हो । संयुक्त रुपमा एकै विषयमा धेरैले लेखेको लघुकथा प्रकाशन गर्नु झन् राम्रो हो । त्यस्तो सङ्ग्रहमा एउटै विषय उपर विभिन्न लघुकथाकारहरुको दृष्टिकोण र शिल्पको अवलोकन गर्न सजिलो हुन्छ । यसरी एउटै विषयमा लेखिएका लघुकथाहरु एउटै सङ्ग्रह आउनु सम्बन्धीत लघुकथाकारहरुको परिक्षा पनि हो । त्यो लघुकथाकारलाई जाँच्ने कसी पनि हो ।

९. अपुरो:- लघुकथा सम्बन्धी आफुलाई लागेका, छुटेका कुराहरू केही छन् कि ?
बजगाईंः नेपाली लघुकथा साहित्य अझै परिपक्क भईसकेको छैन । अहिले लघुकथा लेखनमा बाढी आएको छ । लघुकथामा नयाँ विषय र नयाँ लेखन शैली प्रयोग गर्नु पर्ने आवश्यकता देखेको छु । म पनि यस कार्यमा प्रयासरत छु ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।