17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

छक्कायौ एकाराम दाइ !

संस्मरण/स्‍मृति विजयराज आचार्य July 29, 2023, 9:17 am
विजयराज आचार्य
विजयराज आचार्य

“विजय सर, मेरो मृत्यको खबर घरमा सुनाइदिनु होला र भाउजु छोराछोरीलाई सम्झाइदिनु होला ।” नेपाल बालसाहित्य समाजको खोटाङमा हुन लागेको सम्मेलनमा जाँदै गर्दा नेपालथोक पुग्दा बेथाले च्यापेपछि एमबुलेन्समा अस्पताल फर्कदै गर्दा भन्नुभएको थियो ।
“सर, दाइ त बित्नु भयो । जतिगरे पनि बचाउन सकिएन । मैत्रि अस्पतालबाट भाउजुले भक्कानिदै एकाराम दाइको मृत्युको खबर सुनाउनु भयो ।”
“हत्तेरी दाइले त आफ्नो मृत्युको खबर भाउजुलाई सुनाउने जिम्मा मलाई दिनुभएको थियो । उल्टै भाउजुको पो दाइको मृत्युको खबर मलाई सुनाउनु भयो ।” खबर सुन्ने बित्तिकै भाउन्न छुट्टयो । खलखल पसिना आयो । मन स्तब्ध भयो ।
मरिसके पछि मनमा बसिरहने धेरै कम मानिस हुन्छन् । ति कम मान्छेहरुमा मेरो मनमा बसिरहेका मानिस हुन् एकाराम ! उनको अभावले दिनदिनै तड्पिरहेको छु ! स्तब्ध बनिरहेको छु !
मेरो र एकाराम दाइको पहिलो भेटघाट पचपन्न÷छपन्न साल तिर भएको हो । चिनजान सँगसँगै हाम्रो सम्बन्ध घनिष्ट भयो । चिनजान देखि मृत्यु सम्मै हाम्रो सम्बन्ध केही न केही तरिकाले निरन्तर भइरह्यो । कतै टुटेर पनि कतैनकतै जोडिनै रह्यो ।
एकाराम बहुआयामिक व्यक्तित्व थिए । खासमा उनी कलाकार हुन् । उनलाई समाजशास्त्र र संस्कृतिमा पनि त्यतिकै रुचि थियो । पछिल्लो समयमा उनले बालसाहित्य सिर्जनामा पनि आफूलाई होमेका थिए । “मूर्ति बनायो हात गुमायो ।” भद्रकाली चित्रकथा लेखन चित्राङ्कन सहित प्रकाशन भएका हुन् । त्यस्तै उनको एउटा शब्दविहिन चित्रकथा पनि प्रकाशीत छ ।
पछिल्लो समय उनले बारम्बार सुनाउथे काठमाण्डौँका ऐतिहासिक सभ्यता र संस्कृति समेटिएको चित्रहरु राखेर एउटा आर्ट ग्यालेरी खोल्ने इच्छा छ । त्यही प्रयोजनको लागि भनेर उनले केही वर्ष पहिले भक्तपुरको सल्लाघारी चोकैमा जग्गा किनेर एउटा टहरो पनि निर्माण गरेका थिए ।
खै के मिलेन उनले त्यतिवेला टहरो बनाएर पनि आर्ट ग्यालेरी खोलेनन् । उल्टै त्यो टहरोलाई भाडामा लगाए । प्रशासनिक आनाकानी र छिमेकीको कचकचले अहिले गाह«ो भयो । उपयुक्त वातावरण मिलाएर ग्यालेरी खोल्ने हो भनेर सुनाई रहन्थे । जिवीत हुनजेल उनले यो रहर पूरा गर्न सकेन्न । नेपाली कला जगतको लागि यो अपूर्णिय क्षतिनै भयो ।
एकारामलाई मैले पहिलो पटक भेटेको प्रकाशन र लेखको हैसियतले बालसाहित्यका पुस्तकमा चित्र बनाउने कलाकारको रुपमा हो । उनले मेरो पहिलो उपन्यास परिवर्तन, आकाश ओडने जिन्दगी, बाल कथा सङ्ग्रह, रमाइलो स्कूल चित्र कथा, कान्छा कुमार सचित्र जीवनी गरि चारवटा पुस्तकमा चित्र बनाइदिएका छन् ।
चिनजानका बाइस वर्षमा विस वर्ष सम्म उनीसित मेरो सम्बन्ध निकै आत्मियताका साथ वित्यो । उनलाई केही नयाँ काम गर्नु परे सल्लाहको लागि म भएको ठाँउमा आउथे लामो छलफल पछि यसै गर्नु पर्ला भनेर फिस्स हाँसेर जान्थे ।
एक पटक उनी कार्यरत संस्थाले स्वास्थ्य सम्बन्धि पोष्टर बनाउने जिम्मा दिएछ । भर्खरको सानो बच्चा भएको युवा जोडी र बुहारी सासुको वास्तविक फोटो राखेर बनाउनु पर्ने । खासमा त मोडल प्रयोग गर्नु पर्ने बजेट धेरै छैन् के गर्ने होला ? अलमलमा थिए । बागबजारको विवेकसिर्जनशीलको अफिसमा लामो छलफल पछि मेरी आमालाई सासुको रोलमा राख्ने र युवा जोडीमा हाम्रै अफीस भएको घरमा होटल भएका मेरा गाँउले भाई बुहारीलाई बनाउने निस्कर्ष निकालियो । अर्काे दिन आएर फोटो खिचे । केही परिश्रमिक पनि दिए । पोष्टरमा फोटो पनि आउने पारिश्रमिक पाए पछि आमा र भाइ बुहारी पनि मख्ख ।
हाम्रो सम्बन्ध यति प्रगाढ बन्दै गएको थियो कि मित्रताको सम्बन्धलाई छिचोल्दै पारिवारिक भैसकेको थियो । मैले उनलाई साथी भन्दा पनि अभिभावक र दाइकै रुपमा स्वीकारी सकेको थिए । चाडवाडमा खुवाइने भोज र नखट्या को लागि त म स्थायी सदस्य जस्तै भएका थिए । योमरी पूर्णीमा आउनु भन्दा दुइ चार दिन पहिले बाटै एकाराम ठूलोबुबाको फोन कतिवेला आउला भनेर मेरो छोराछोरी आश गरिरहन्थे । उनको फोन आइहाल्थ्यो । फोन आए पछि खुसीले फुरुङग हुन्थे । वर्षै हाम्रो त्यो दिन साँझ उनकोमा गयौँ । मनपर्ने योमरीको भोजन ग¥यौँ । एक खालले हामी चारै जनामा योमरीको लत बसेको थियो । यसरी लत बसाल्नमा एकाराम दाइको ठूलो योगदान थियो ।
हामी एक अर्कालाई निस्फिक्री विश्वास गर्थेयौँ । मैले उनबाट व्यवहारिक सल्लाहा लिन्थे । उनले कथा लगायत केही रचना लेखे तुरुन्त आउथे मेरो घरमा । पढेर सुनाउथे । सुझाव माग्थे । मैले जानेको
सुझाव दिन्थे । उहाँको अनौठो बानी थियो सुझाव माग्ने तर कार्यन्वयन नगर्ने । घुमाइफिराई आफूले गरेके ठिक हो भनेर प्रमाणित गर्न खोज्ने मलाई पनि सजिलो भयो । जे लेखेर ल्याए पनि दाइको एकदम ठिक छ भन्थे । हो र विजय सर ? भनेर मख्ख परेर जान्थे ।
उनी निकै सहयोगी थिए । यसको महसुस मैले बहत्तर सालको भुकम्प ताका गरेको छु । भुकम्पले बनाउँदा बनाउँदैको घर गल्याम्म ढालिदियो । त्यसले मेरो मनमा गहिरो चोट परेको थियो नै । त्यो बुझने एकाराम दाइनै थिए । उनले ममा नैराश्यता नआओस् भनेर दिनदिनै फोन गर्ने र भेटघाट गरेर हौसला दिइ नै रहे । दह«ो मन गराउनुस् तपाईँ एकलै हुनुहुन्न । तपार्इँको साथमा हामी छौँ भनेर ढाडस दिइनै रहे । घरको विमा प्राप्ति देखी अन्य कामको लागि जहाँ जानु पर्छ । त्यहाँ पु¥याउने काममा सहयोग गर्ने गरेको गुन मैले कहिल्यै विर्सने छैन् ।
भावनात्मक रुपमा एकाराम दाइ र म निकै नजिक थियौँ । केहि कार्यक्रममा भाग लिन र एक पटक घुम्न हाम्रो काठमाडाँै बाहिर सँगै गएका छौँ । विजय सर तपाईँ त्यो कार्यक्रममा जाने कि नजाने ? तपाईँ जाने भए म पनि जाने नभए नजाने गालामा खोपिल्टो परेर फिस्स हाँसेर भन्थे । म जाने हो दाइ तपार्इँ पनि जानुपर्छ । यसरी हामीले सरसल्लाह ग¥थ्यौँ । चित्लाङ बाहेक उनको र मेरो यात्रा बुकिङ गडीमै भयो । जब यातायातको साधनमा बस्ने वेला हुन्थ्यो उनले मेरो पुरै नाम भनेर म विजयराज आचार्यसित बस्छु है भन्थे । मिले सम्म उनी र म एकैठाँउ बसेर यात्रा गर्थेयौँ । ति दिनहरु मेरो मस्तिस्कमा क्यामेराको रिल जसरी घुमिरहेका छन् ।
एक पटक हाम्री चित्लाङ घुम्न गयौँ । सहयात्री थियौँ के के कर्माचार्य, एकाराम, हरी भण्डारी र म । त्यहाँ पुगेपछि त हामी तिन छक्क प¥यौँ । एकाराम दाइलाई त चित्लाङको धारो पधेरो, बाटो, इतिहास, भूगोलदेखि सबै कुरा थाहा रहेछ । यहाँ घुम्दा यस्तो लाग्थ्यो उनी त्यहीका रैथाने अनुभवी गाइड हुन् । हामी अनुसन्धान गर्न गएका पर्यटक हौँ । गाडीबाजे भनेर चिनिने काठमाण्डौँ सम्म गाडी बोकेर ल्याउने काममा नेतृत्व गर्ने एक जना तामाङ दाइलाई भेटघाट गराउनु भयो । लक्ष्मीप्रसाद देवकोटाले यात्री कविता पनि चिल्लाङ मै यात्राको क्रममा लेखेका रहेछन् । हामी जहाँ बास बस्यौँ त्यो घर चित्लाङ्ग जादा देवकोटा र रुपचन्द्र विष्ट बासा बस्ने घर रहेछ । फर्कदा हामीलाई भालेश्वरको बाटो फर्काउनु भएको थियो । अहिलेको चन्द्रगिरी । सात आठ वर्ष पहिले हामी जाँदा त्यहाँ केही थिएन । फुत्त फुत्त चितुवा कुद्थे । होली पूणिमामा त्यहाँ मेला लाग्छ भन्थे एकाराम दाइले ।
एकाराम व्यवस्थापनमा पनि अब्बल थिए । उनकै व्यवस्थापन र बालबाङमय तथा अनुसन्धान केन्द्रको आयोजनामा हामीले टिष्टुङगमा प्रशिक्षक प्रशिक्षण तालिम राखेका थियौँ । त्यहाँ पनि उनी त्यहीका रैथाने जस्तै लाग्थ्यो । त्यहाँ त उनी जनमानसमै भिजेका थिए । त्यहाँको भूगोल संस्कृति, संस्कार र इतिहास बारेमा हामीलाई धेरै जानकारी दिए ।
कहिलेकाहीँ हामी साँझ पख बसन्तपुर, इन्द्रचोक, हनुमानढोका, किलागल, रक्तकाली, ठहिटीतिर घुम्न जान्थ्यौँ । किलागलको जडिबुटी र इन्द्रचोकको दहिमा लत बसालिदिने काम पनि उनले गरेका हुन् ।
उनी शाहाकारी थिए । जाँड रक्सी मुखमै हाल्दैन थे । मेरा भने यि दुवै कुरा प्रिय थिए । उनको घरमा मैले उनले नखाने दुवै चिज खुव खाएको छु । खुव खुवाए उनले । ढुक्कले लिनुस् घरसम्म म पु¥याउँछु भनेरै उस्काउँदै पिलाउँथे । काठमाडौँको बसन्तपुर, पाटनको कृष्ण मन्दिर नजिक, भक्तपुर र वनेपाका नेवारी रेष्टुरेन्ट मात्र चिनाएर पिलाए बहुत । “खुव स्वादिलो छ है ! विजय सर ?” आफूले नखाने भए पनि रसिलो मुखले सोध्थेँ । कतिसम्म गर्थेँ भने बालसाहित्य सम्मेलनमा भाग लिन पाल्पा गएका थियौँ । दोस्रो दिन कानमा सुटुक्क भने ‘साँझ कसैलाई समय नदिनू । दाजुभाइ जम्नुपर्छ । ध्वस्त भएको दरबारको छेउमै रहेको एकतला माथिको रेष्टुरेन्टमा सरासर गएर साहुसँग भन्नु भयो विनय कसजु पाल्पामा छँदा यहाँ जम्नु हुन्थ्यो । भनेको होइन र ? मैले उहाँकै चेलोलाई लिएर आएको छु । मैले छोय्लासित अय्ला खाएँ । उनले आलु चना खाए । होटल फर्केर मैले त्यो घटना विनय सरलाई सुनाए । “हो, कहिले काहीँ हामी साथी भाइ त्यही जम्थ्याँै । अचम्म ! यस्ता कुरा कसरी पत्ता लगाउँथे होलान् ?” यो सबै उनमा भएको नेवारी संस्कार, संस्कृती र भाषाप्रति भएको गहिरो प्रेमको कारणले नै हाला ।
साच्ँिचकै भन्ने हो, भने उनमा नेवारी संस्कार र संस्कृति प्रति अन्ध भक्तता थियो । जुन सुकै संस्कार र संस्कृतिका राम्रा नराम्रा पक्ष हुन्छन् । कुनै कुनै संस्कार र संस्कृतीमा त अन्धविश्वास र कुरीति पनि जकडिएका हुन्छन् । सचेत मान्छेले राम्रो कुरालाई आत्मसाथ गर्दै खराब कुरा छन् भने बदल्न प्रयत्न गर्नुपर्छ । बालवाङ्मय तथा अनुसन्धान केन्द्रको आयोजनामा संस्कार सम्बन्धी बालकथा लेख्न कार्यशाला गरिएको थियो । त्यहाँ खराब संस्कार र
राम्रा संस्कारको बारेमा छलफल भएको थियो । छलफलकै क्रममा सहभागी मध्यका एक नेत्र तामाङले छाउपडी प्रथा र कुमारी प्रथा उस्तै उस्तै रहेछ है भने । त्यो सुन्ने वित्तिकै एकाराम दाइले रिसले कालो निलो भए । उनले ओठ कमाउँदै भने कुमारी प्रथा जस्तो वैज्ञानिक चलनलाई छाउपडी जस्तो कुसंस्कारसँग जोडी दिने ? यो त नेवारी संस्कृति माथिको ठाडो प्रहार हो त्यो कार्यक्रमको संयोजक विनय सर हुनुहुन्थ्यो । पन्ध्र जना सहभागी मध्ये छ जना नेवार हुनुहुन्थ्यो । एकाराम बाहेक अरु पाँच जनाले नेत्रजीको जिज्ञासालाई स्वभाविक रुपमा लिनु भएको थियो ।
मेरो शुभ चिन्तकले मलाई आफन्त र चिनजानका मान्छेसित आर्थिक कारोवार र साझेदार व्यवसाय नगर्नु । यो सुझावले मलाई सधैँभरि अलमलाँउछ । आफन्त र चिनजानकासित नगरेर कोसँग गर्ने त ? एकारामसित मेरो अन्तरङ्गका कुरा हुन्थ्यो । घरका मान्छेलाई कसरी व्यस्त राख्ने भनेर पनि छलफल हुन्थ्यो । यसै सिलसिलामा उनी, म देवी नेपाललगायत मिलेर पुतलीसडकको पद्मोदय स्कुलको सटर भाडामा लिएर प्रेरणा पुस्तक पसल खोल्यौ । त्योे पसल एकारामको श्रीमती (भाउजु) र मेरो भान्जाले चलाए । केही समय चलाएर त्यो पसल बेचियो । त्यहाँबाट हामी सुरक्षित अवतरण भयौँ । कसैको बिचमा मनमुटाउ भएन ।
काम गर्ने सिलसिलामा म शुभकामना एकेडेमीको प्रध्यानाध्यापक भए । रतिदेवी भाउजुको पनि शिक्षण क्षेत्रका अनुभव थियो । त्यतिवेला उहाँ खाली हुनुहुन्थयो । विद्यालयमा माथिल्लो तह र तल्लो तह गरी दुई उपप्रध्यानाध्यापक राखेर कार्य सम्पादक गर्ने योजना बनाएका थियौँ । एकाराम दाइ, भाउजु र म बसेर तल्लो तहको उपप्रध्यानाध्यापकको जिम्मेवारी समाल्ने सहमति ग¥यौँ । केही शेयर स्कूलमा लगानी गर्नै निश्चत पनि ग¥यौँ । निजी विद्यालयमा समय र निरन्तरता निकै महत्वपूर्ण हुन्छ त्यो पालना हुन सकेन । घरयसी र यातायातको कारणले एकाराम दाइसँगै सल्लाहमा शेयर फिर्ता सहमतीमा भाउजुलाई विद्यालयबाट विदाइ गर्नु पर्ने भयो । एकाराम दाइले विद्यालयलाई समस्या पर्ने भए विदा गर्नु भए पनि आपत्ति छैन भन्नु भयो । रति भाउजुले त समय दिन सकेको थिइन शेयर सहित विदा दिनु भएकोमा धन्यवाद भनेर विदावारी हुनुभएको हो ।
त्यसपछि एकाराम मेरो विरुद्धमा आक्रमक भएर लाग्नु भयो धेरैले सुनाए तिम्रो बारेमा एकाराम एकदमै नकारात्मक टिकाटिपणी गर्छन । यति सम्म गर्न भ्याउनु भयो कि । माधव महर्जन दाइको मण्डला पुस्तक पसलमा विद्यालय सञ्चालक समितिका अध्यक्ष दुर्कमान मर्हजनलाई बोलाएर उ कट्टर नेवार विरोधी हो । मेरो श्रीमतीलाई नेवारै भएको कारण निकालेको हो । उसलाई ठेगान लगाउनु पर्छ । उहाँको कुरालाई माधव दाइले कसरी लिनु भयो थाहा भएन । दुर्कमान दाइ त व्यवसाहिक मान्छे मलाई घरमा बोलाउनु भयो र भन्नुभयो अबदेखि चिनजान र आफन्तहरु कसैलाई कर्मचारीको रुपमा नराख्नु तिमी आफै दुःख पाउँछौ । एकाराम दाइ अलि उग्र एक्टिभिष्ट हुनु हुँदो रहेछ । तिम्रो र एकारामको त विसौँ वर्षको सम्बन्ध रहेछ नविग्रनु पर्ने जे भयो भयो अब ख्याल राख भन्नु भयो ।
मान्छेको बारेमा मेरो स्पष्ट धारण छ । प्राकृतिक वा लैङ्गीक हिसाबले महिला र पुरुष । वर्गिय हिसाबले शोसक र शोषित । मेरो यो धारण मलाई चिन्ने सबैलाई थाहा छ । एकारामलाई त झन बढी थाहा थियो । एकारामले मलाई कल्पना समेत गर्न नसक्ने विषय जोडेर आरोप लगाई दिए । मन अमिलो भयो । त्यतिबेला मैले मलाई माया गरेर मेरो व्यक्तित्व उठाउन मद्दत गर्ने शान्तदास मानन्धर, विनय कसजु, केके कर्मचार्य, प्रमोद प्रधानहरुलाई झलझली सम्झे । उहाँहरु सबै नेवार हुनुहुन्थ्यो । उहाँहरुको रचनात्मक अभिभावकत्व र मार्गनिर्देशन नपाएको भए स्रष्टा विजयराज आचार्य हुर्कनु फैलनु त कता कता जन्मदँै जन्मने थिएन होला ।
चिनजानकै दिनदेखि विसौँ वर्षसम्म स–हृदयताका साथ सहकार्य गरेको मित्र एउटा सानो घटनाबाट किन यति धेरै नकारात्मक हुन्छ ? यो प्रश्नले मलाई पिरोली रहन्छ । मेरो तर्फबाट उनीसित सम्बन्ध सुधार्न निकै प्रयत्न गरे । बालवाङ्गमय तथा अनुसन्धान केन्द्रको महासचिवमा फुर्सद छैन, बस्दिन भन्दा पनि मैले नै जोडबल गरेँ । आशा थियो महासचिव भएसी त बैठकमा बोलाउन फोन गर्लान । सबैलाई फोन गर्थे मलाई गरेनन् । बालसाहित्य समाजमा मैले महासचिवमा हार्न पनि उनको अन्तरघातले ठूलै काम गरेको थियो । मलाई धेरै पटक मेरा कलाका गुरुकोमा जानु छ जाउ भनेर गुरु पूर्णिमाको दिन के. के. कर्माचार्यको घरमा लिएर गएका थिए । पहिलो समय कर्माचार्य जहाँ पायो त्यही मलाई आफ्नो चेला भन्छन् भनेर रिसाउँथे । पछिल्लो जस्तो सम्मान भाव राखेको पाइँन । खै ? किन त्यस्तो भयो ?
एकारामसँग सम्बन्ध बिग्रनु भन्दा ठिक एक वर्ष पहिले बालसाहित्य समाजको बालसाहित्य सम्मेलनमा भाग लिन खोटाङ्गको डिक्तेल जादैँ थियौँ । बुकिङ्ग बसमा यात्रा गरेका थियौँ । धुलिखेल भन्दा अलि अगाडी गएर चिया नास्ता खायौँ । त्यहाँसम्म म र एकाराम एकै ठाँउ थियोैँ । उनी त्यतिबेला सम्म हसिला खुसिला थिए । खाना खाए पछि एकजना वरिष्ठलाई सिट छोड्नु पर्ने भएकाले म पछिल्लो सिटमा गएर बसे । एकारामलाई एक्कासी विमारले च्याप्दै गएछ । नेपालथोक पुग्ने बेलामा विजयराजलाई बोलाइदिनु भनेछन् । विजय जी .. विजय जी... गाडीमा हल्ली खल्ली भयो । म हत्त न पत्त एकारामभएको ठाँउमा गए । उनलाई निकै गाह«ो भैसकेको थियो । नेपालथोक पुग्दा उनी अर्धचेत जस्तै भैसकेका थिए । उनलाई गाडीबाट भूँइमा झारियो । एम्बुलेन्समा राखिदिएर विजयदाइले । विजय जीले लैजानु हुन्छ भनेर एमबुलेन्स गुडन नपाउदैँ कोमल हृदयका बालसाहित्यकार सवार गाडीलाई हुइकाइयो । पिडाले छटपटाएका मित्रलाई लिएर म धुलिखेल तिर फर्के ।
कोमल हृदय भएका स्रष्टाहरुको मन र व्यवहार बुझने मौका मैले र एकारामले गज्जबैले पाएका थियौँ । कसैले निर्देशन नदिएको भए पनि उनलाई एम्बुलेन्समा चढाएर म रमाउँदै दिक्तेल कसरी जान सक्थे र? अरु साथीहरु आएका भए पनि म अवश्य आउथे । म कार्य समितीमा थिइन । एकाराम कार्यसमितीका सदस्य थिए । त्यहाँ उनलाई सहयोग गर्ने भन्दा पनि सहयोग गर्न पर्छ कि ? भनेर तर्कने झुण्ड थियो । एकारामको छटपटी र एम्बुलेन्सको नमिठो साइरन सँगै म एक्लै धुलिखेल हिँडे । बाटामा एकारामले देखाएको दृश्यको त म कसरी शब्दमा भन्न सक्छु र ? मेरै आँखामा घुमेका छन् फनफनी बाचुन्जेल घुमिनै रहनेछ । त्यो मेरो लागि अविस्मरणीय घटना बन्यो ।
“म मरे भाउजुलाई सम्झाउनु !” एकाराम । जे हुने भैहाल्यो नआत्तिनुस् । एम्बुलेन्स चालक । यो दुई वाक्यले मेरो मथिङ्गल हल्लाइ दियो । भाउन्न छु्ट्टयो । विहान सही सलामत हिडेको मान्छेको मृत्युको खवर कसरी सुनाउने ? मेरो मुटुमा ठेयाङ्गा ठोक्यो ।
“परिवारलाई मिलाएर धुलिखेल अस्पताल आउन भन्नुस् मृत्यु भयो नभन्नुस् ।” ड्राइभरले सम्झाउँदै भने । मलाई आश थिएन तर उनको सास बाँकी रहेछ ।
मैले पहिले के. के. कर्माचार्यलाई फोन गरेर डा. सुमनलाई भनिदिन आग्रह गरे । त्यतिबेला एकारामको मुखमा गजक्क फिज थियो शरिर सिथिल र चिसो थियो । मन थामेर रति भाउजुलाई फोन गरे । एकाराम दाइलाई अलि सञ्चो भएन । धुलिखेल अस्पताल ल्याउँदैछु । मिल्छ भने एकाराम दाइका भाइहरु लिएर आउनुहोला । बोल्दाबोल्दै मेरो गला अवरुद्ध भयो । अनायासै आँखाबाट आशुका धारा लागे । भक्कानो छुट्टयो । टाउको फुट्ला जस्तो भयो । के. के. सर र रति भाउजुको वारम्वार फोन आइरह्यो । दश मिनट त उठाउन सकिनँ । कर्मचार्य सरको फोन उठाए । विजय जी डा. सुमत बिदामा हुनुहँुदो रहेछ । मेरो बुहारीको भाइबुहारी त्यहाँ नर्स छिन उनले सहयोग गर्छिन् । कमाचार्य सरको कुरा सकिने वित्तिकै रति भाउजुको फोन आयो हामी हिँड्यौँ भनेर ।
मुर्दाे झै डङ्रङग लेडेको । चिसो शरीर । मुखमा गजक्क फिज भएको एकाराम संसारबाट बिदा भए भन्ने त पक्का भएको थियो । मैले माया मारिसकेको थिए । अबको समस्या भाउजुलाई कसरी सम्झाउने होला ? छोराछोरीलाई के भन्ने यस्तै कुरा मनमा खेलीरहे ।
अचम्म ! जहाँ हामले खाजा खाएका थियौँ ठ्याक्कै त्यही पुगेपछि त चलमलाउन पो थाले । विस्तारै वरवराउन पनि थाले सिधैँ धुलिखेल अस्पतालको इमर्जेनसीमा लग्यौँ । उनको शरीर मेरो पैताला माथि बजारियो । एउटी नर्सले “तपाईँ हो विजयराज आचार्य” भनेर सोधिन् । “हो” मैले भने । कर्मचार्य सरले भनेको नर्स उनै थिइन । इमेरजन्सीमा डाक्टरले जाँच्न थाले । धुलिखेल अस्पतालमा सेवा मलाई एकदम राम्रो लाग्यो । सबैकुरा एकै ठाँउ जाच्ने र तुरुन्त बिरामीको अवस्था पत्ता लगाउने । खतरा छ वा खतरा मुक्त छ ।
डाक्टरले पैसा तिर्नेदेखि औषधी किन्नेसम्मको लिष्ट दिए त्यो कर्म गर्न ती नर्स बहिनीले सहयोग गरिन् । धेरै सहयोगी रहेछिन् । एकजना डाक्टरले रिर्पोट हेरेर मेरो मुखमा हेरेर मुसुक्क मुस्कुराउनु भयो । संकेतले बुझे खतरा मुक्त छ भनेर मन सितल भयो टाउको हलुङ्गो भयो । एकाराम दाइ त बिस्तारै कुरा गर्न थाले अस्पतालमा पु¥याएको पच्चिस मिनेटमा भाउजु र भाइहरु आए । त्यतिबेला त एकाराम सामान्य जस्तै भै सकेका थिए । भाउजु र एकाराम कुरा गरिरहँदा झल्यास्ससम्झे एम्बुलेन्समा मृत्यु भयो भनेर नभन्नु । अस्पताल आउन भन्नु भनेको । आङ सिसिङ भयो ।
अस्पताल पु¥याएको चालिस मिनेटमा खाटमा टुसुक्क बसेर कुरा गर्न थाले । किन किन मलाई घर फर्कने मन लागेन । के गर्ने होला ? एकाराम दाइसँग सल्लाह मागे । मलाई पनि ठिक हुदैँ गएको छ । घरका परिवार पनि आए तपाई कार्यक्रममा भाग लिन खोटाइनै जानुस एकारामले सुझाव दिए । एकाराम दाइका भाइले त्यही विहान खाजा खाएको ठाँउमा पु¥याइ दिए । म त्यहाँबाट खुर्काेट सम्म गाडी चढे । गाडीले दिउसो तिन बजे खुर्काेट पुरायो । खुर्काेटमा पाँच घण्टा कुरेर राती आठ बजेको गाडी चढे । दिक्तेल पुग्दा बिहानको तिन बजेको थियो । एकाराम बजारिएको मेरो पैतालाले कति पीडा दियो त्यो त सहभागीहरुले देखेकै कुरा भयो ।
हप्ता दश दिनको उपचार पछि एकाराम धुलिखेल अस्पतालबाट घरमा फर्के । मैले बेला बेलामा फोनबाट स्वास्थ्य अवस्था सोध्थे । उनले एउटै वाक्य दोहोराई रहन्थे यो दुनियामा मेरो कोही मान्छे छ भने तपाईँ एकजना हो । मेरो लागि तपाईँ भन्दा ठूलो भगवान अरु कोही छैन् । जिन्दगी के रहेछ र? देखी हाल्नु भयो । आउनुस् घरमा बसौँ दुःख सुखका कुरा गरौँ भनेर पटक पटक अनुरोध गरे । मैले उनको आग्रहलाई हार्न सकिन र एक साँझ उनको घरमा गए । पुग्ने वित्तकै भाउजुले नेवारी खाजामा सेट ल्यादिनु भयो । एकारामले मिनरल वाटरको वोतलको रक्सि देखाउदैँ भने यो त्यो त्योडको आफन्तीको बाट ल्याएको हो । ओरिजिनल छ । ढुक्कले पिउनुस.् । चिन्ता मान्नु पर्दैन भरे घर सम्म छोड्न म जान्छु । गालामा डिम्पल र बत्तिसै दन्त टल्काएर फिस्स गर्दै भने ।
किन हो थाहा भएन । अरु दिन पिउँदा कन्ट्रोल गर्थे त्यो दिन धेरै पिलाउन जोड गरिरहेका थिए । माहोल भावुक बनि रहेको थियो । हर्ष र उत्सुकता भन्दा पनि निरासा र मृत्युका कुरा भए । उनले थपिदिई रहने । मैले पिइरहने । यस्तो लागी रहेको थियो कि पिएको मैले छु । लागेको एकारामदाइलाई छ ।
एकाराम दाइ र मेरो नमिल्ने कुरा उनी घोर आस्तिक र म घोर नास्तिक । मैले कसैलाई खुट्टा मा ढोगाउदिन । आषिश र दक्षिणा ग्रहण गर्न टिका लगाउदिनँ र लगाइदिन्नँ पनि । त्यो कुरा उनलाई पनि राम्रै सँग थाहा थियो । त्यो दिन उनले मलाई लठिउनजेल मदिरापान गराउन चाहन्थे । त्यो पुरा गरे मदिराको बोतल रित्तिय पछि सँगै खाना खायैाँ र मलाई छाड्ने तरखर गर्दै थिए । एक्कासी मेरा खुट्टा च्याप्प समातेर आँखामा आशु टिलपिलाउँदै भक्कानिदै भने विजय सर यो दुनियाँमा मेरो लागि कोही भगवान छ भने तपार्इँ नै हो । उनले ख्वाप हेलमेट टाउकोमा हाले र सरासर बाहिर गएर मोटर साइकल स्टार्ट गरे । म पनि नबोली मोटर साइकलको पछाडी बसे । बाटोमा केही बोलचाल भएन । घर बाहिर पुगेपछि भाउजु छोराछोरीलाई सम्झेको छ भनिदिनुस् है भनेर फनक्क मोटरसाइकल घुमाएर कुदी हाले । जति राति पुगे पनि एक कप चिया खाएर पुष्पा र छोराछोरी सँग गफियर फर्कन्थे । त्यो दिन अनौठो व्यवहार देखाए । बीस मिनेटमै म घर पुगे भनेर फोन आयो । उनले त्यो दिन तिव्र गतिमा बाइक हाकेको प्रष्ट हुन्छ ।
जुनदिन उनले मलाई देवत्वकरण गरे त्यसको केही समय पछि राक्षसीकरण गर्न थाले । मैले प्रयत्न गर्दा गर्दै पनि सम्बन्ध सुधार्न सकिन । एकैचोटी अस्पतालको मृत्यु सैयाबाट माफीको शैलीमा म तपाईँलाई मिस गरिरहेको छु भनेर लेखे । कोभिडको कारण न अस्पतालमा भेट्न जान सके न त अन्तिम संस्कारमा । मैले उनी प्रति कहिल्यै नकारात्मक सोच राखिन । एउटा अभिभावककै रुपमा सम्झेँ । अहिले मलाई एउटा भरपर्दाे अभिभावक गुमेकोमा छटपटी भइरहेको छ ।
एकाराम दाइ सितको अन्तिम भेट बैशाख विस गते ललितपुरको धुलिखेलमा सुमन के सी को घरमा भएको थियो । सुमनको जन्मदिनको अवसरमा हामी केही साथीभाइ त्यहाँ जुटेका थियौँ । अन्तिम दिन रहेछ र दिनभरी त्यतै रमायौँ । अरु दिन भन्दा त्यो दिन एकाराम दाइ मज्जाले खुलेका थिए ।
त्यसको ठिक एक महिनापछि मेरो मोबाइलमा उनकोबाट फोन आयो । म कोभिडको कारणले मैत्री अस्पतालमा हिजोबाट भर्ना भएको छु । मैले तपाईँलाई मिस गरिरहेको छु । उनको म्यसेज पढेर मन सिरिङ्ग भयो । तत्काल फोन गरे । बोल्न गाह«ो भइरहेको थियो । त्यो दिनबाट दैनिक म्यासेजबाट हालखवर सोधिरहेँ । तीनपटक फोनमा बोले । वित्नु भन्दा पाँच दिन पहिले फुर्सद मिलाएर भाउजुलाई सम्झाउनु है ? भनेर लेख्नु भएको थियो ।
त्यसपछि विमारले च्याप्दै गएर भेन्टिलेटरमा राख्ने अवस्था आएछ । .......गते दिउसो भाउजुले दाइत बित्नु भयो भनेर झक्कानिनु भयो । परिस्थतीले भाउजुलाई र छोराछोरीलाई प्रत्यक्ष भेटेर सान्तोना दिन पनि पाइन ।
रोकेर रोक्न सक्यिन । थेगेर थेग्न सकिएन । अल विदा एकाराम दाइ ! ! ! भन्नुको विकल्प रहेन ।
उनी सँग एउटा प्रश्न सोध्नु थियो । जुन दिन देवत्वकरण गर्नु भयो ? त्यही समयदेखि किन राक्षसीकरण गर्नु भयो ? किन माफ माग्ने अवसर पनि नदिएर तड्पाइ रहनु हुन्छ ? मेरो यो सपना अधुरै रह्यो ।
मेरो अर्काे सपना पनि अधुरो रह्यो । हामी पटक पटक उहाँको घरमा पाहुना पर्न गयौँ । उहाँको परिवारलाई हाम्रो घरमा स्वागत गर्ने ।
एकाराम दाइका धेरै योजना थिए । मूर्ति बनायो हात गुमायो जस्ता सम्पदा संस्कृति र एतिहासिक विषयवस्तुमा चित्र पुस्तकहरु लेख्ने । तिनै विषयवस्तु समेटिएको चित्र राखेर आर्ट ग्यालेरी खेल्ने । नेत्रदान सम्बन्धी कथालेखन कार्यशाला गरेर पुस्तक प्रकाशन गर्ने लगायत । यी योजनाहरु पुरा गर्न पाउनु भएन ।
सतप्रतिशत नास्तिक हाम्रो घरलाई अध्यात्मकता छिराउन पनि एकाराम दाइको राम्रै हात छ । मेरी श्रीमती विमारी हुने कहिले एक्सीडेन्टको कारणले घाइते । भेटै पिच्छे उनको सुझाव हुन्थ्यो । पुजा पाठ गरे शान्ति मिल्छ । डाक्टरको मात्र भर पर्नु हुन्न । कहिलेकाही जान्नेलाई पनि देखाउनु पर्छ । उहाँको प्रभावले हाम्रो घर पच्चिस प्रतिसत आस्तिक बनेको छ । उनलाई पण्डिव्याई गर्न पनि खुबै रमाइलो लाग्थ्यो । हाम्रो एउटा सानो समूह थियो । पहिला हामीले विनय कसजु सरको जन्मदिनमा सम्मानपत्र दियौँ । पछि आ–आफ्नो जन्मदिन पालै पालो घरघरमा गएर मनाउने निधो ग¥यौँ । अरुको जन्मदिनमा उनले गज्जबले पण्डितको काम गरेका थिए ।
भाउजुसँग उनको सम्बन्ध कस्तो थियो ? त्यो मलाई हेक्का भएन । उनी छोराछोरीको लागि असल पिता हुन् उनीहरुको भविष्यको बारेमा सधैँ चिन्तित हुन्थे । उनले काण्माण्डौँ उपत्यकामा भएका कार्यक्रममा सकेसम्म बाहिर खादैन्थे । छोराछोरीसँगै खानु पर्छ भन्थे । काठमाण्डौँ बाहिर गएको वेला पनि छोराछोरीकै फोन आउथ्यो । बाबा खाजा खानु भयो ? बाबा औषधी खानु भयो ? बाबा खाना खानु भयोे ? धेरै साथीहरु र मेरै पनि पाँच बजे पछि कतिवेला आउने ? भनेर श्रीमतीहरु फोन आइरहेको हुन्थयो । एकाराम दाइ सित राति सम्म बाहिर हुँदा पनि फोन आउदैन्थयो । तपाईँलाई भाउजुको फोन आउँदैन भनेर सोधेको थिए । राति नौँ बजे सम्म घर पुगिन भने आउने बेला भएन? भनेर फोन आउँछ नत्र आउदिँन उनले फिस्स हाँसेर भनेका थिए ।
एकाराम कुसल व्यवस्थापक र असल नेतृत्व कर्ता पनि हुन् । वालवाङ्मय तथा अनुसन्धान केन्द्रमा कार्य समितीको सदस्य हुदैँ महासचिव बनेर नेतृत्वदाही भूमिका निभाह गरे । उनी झण्डै आधा दर्जन पटक बालसाहित्य समाजको कार्य समितिको सदस्य भए । नेपाल आँखा दान समाजको महासचिव भएर सक्रय पूर्वक काम गरेका थिए ।
एकाराम दाइको घरमा भएको एउटा घटनाले सधैँ भरि मैले आफैले आफैलाई प्रश्न गरिरहन्छु । मेरो वैचारिक धरातल के हो ? सन्र्दभ एकाराम दाइको बुबाको वार्षिकी थियो । मल्लके सुन्दर लगायत नेवार एक्रिभिष्ट नेताहरुको राम्रो जमघट थियो । म पनि उहाँहरु सँगै बसेको थिए । प्रसाद भनेर रक्सि र मासु टुक्राइयो । मृत्यु संस्कारमा रक्सि र मासु मेरो मनले खान मानेन । प्रसाद भएकोले खानै पर्छ भनियो । चाखे मलाई दिगमिग लाग्यो । त्यसपछि तीन महिनासम्म मैले माछा मासु खानै सकिनँ । विचारले त म नास्तिक छु । मनले किन मानेन । यो मेरो लागि आत्मसमीक्षाको लागि दरिलो घटना बनेको थियो ।
उनका विदेश भ्रमण सम्बन्धि पनि रोचक प्रसङ्ग छन् । एक पटक बालसाहित्य समाजको सिफारिसमा दक्षिण कोरियामा चित्र प्रर्दशनको लागि जान लागेको थिए । सबै तयारी गरेको थिए अन्तिममा आएर संस्थाका टाउकेले धोका दिएर फिस्स परे । दोस्रो पटक वरिष्ठ कवि रामबाबुले चीन घुमाउने भनेर उनी र मसित पच्चिस हजार एड्भान्स लिए । पछि भ्रमण खर्च सरकारले दिने भएपछि हामी दुइको नाम लिष्टबाट हटाइयो । त्यो दिएको पच्चिस–पच्चिस हजार फिर्ता गर्न कति झमेला गर्न प¥यो भनी साध्य छैन् ।
विदेश जाने रहर र योजना एकपछि अर्काे असफल भइरहेको सन्र्दभमा विनय कसजुको पहल र बालवाङ्मय तथा अनुसन्धान केन्द्रको निमन्त्रणमा स्वीडेनका लेखक सासा र विवेका नेपाल आए । उनीहरु नेपाल आउनुको उद्देश्य थियो । उनीहरुले नेपालको बालसाहित्यको अवस्था बुझने र नेपालबाट हाम्रो सस्थाका पाँच जनालाई स्वीडेन भ्रमण गराएर त्यहाँको बालसाहित्यको अवस्था बारे जानकारी गराउने । हाम्रो तर्फबाट ति दुई नारीको भव्य सेवा सत्कार ग¥यौँ । शहरका होटलमा राख्दो डिष्ट्रव होला भनेर टौदह खहरेको एउटा होम स्टेमा राख्यौँ । करिव सय जना बालसाहित्यकार बोलाएर ललितपुर झम्सीखेल स्थीत एट डिग्री रेष्टुरेन्टमा उनीहरुको सम्मानमा भव्य कार्यक्रम ग¥यौँ ।
हामीले सुरक्षित भनेर राखेको होमस्टे यस्तो भयो । बाख्रा खोरमा चितुवाबाट असुरक्षित भए भनेर घनघोर जङ्गलको बिचको ओडारमा राख्न लगे जस्तै भयो । हामीले त्यो कार्यक्रममा निम्तै नदिकन एकजना महानुभव आउनु भयो । विनय सरको शब्दमा भन्नु पर्दा होमस्टे मालिक र ति विना निम्तो आएका व्यक्तिबाट हाम्रो परियोजना हाइज्याक भयो ।
हामीले हाम्रो संस्थाबाट पाँच जना को को जाने भनेर छलफल चलाउदै थियौँ । सुचना आयो होमस्टेबाट र निम्तै नगरी आएको महानुभवको सिफारिसबाट दुइजना बालसाहित्यको प्रतिनिधित्व गरेर स्वीडेन जाने भए । पाचौँ नम्बरमा पनि अर्कैको नाम थियो रे ! पछि के भएर एउटा कोटा बालवाङ्गमय तथा अनुसन्धान केन्द्रलाई परेछ । त्यो कोटामा जान विनय कसजुले मलाई जन भन्नु भयो । मैले पहिलो पटक उहाँको प्रस्तावलाई अस्वीकार गरेँ । म के कुरामा दृढ छु भने घुम्ने नाममा आफ्नो देशको वदनाम गर्नु हुन्न । मलाई हिम्मत थिएन म बालसाहित्यको छवि देखाउने गरी विदेशमा गएर प्रस्तुत हुन सक्छु ।
विनय सरले तपाईँ नजाने भए कसलाई पठाउने त ? भनेर सोध्नु भयो । मैले झवाट्ट सम्झेँ एकारामले विदेश जाने निहुमा दुइ दुइ पटक धोका पाएको । पठाउनै पर्ने भए एकाराम दाइलाई पठाऔँ । हाम्रोतर्फबाट एकाराम दाइ जानुभयो । स्वीडेनमा देशको नाममा भएको बेइज्जत र देखाएको हर्कतको बारेमा एकाराम दाइले सुनाएको अनुभव मैले लेख्न सक्दिनँ ।
हार्दिक श्रद्धाञ्जली एकाराम दाइ !

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।