19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

‘रङ, रगत र मान्छे’मा समाज रूपान्तरणको स्वर

कृति/समीक्षा नारायण मरासिनी July 29, 2023, 9:29 am
नारायण मरासिनी
नारायण मरासिनी

‘ज्यालादारी’ उपनामबाट समेत रचना प्रकाशन गर्ने भीम रानाभाट (नागरिकतामा भीमबहादुर रानाभाट) पूर्णबहादुर र बाटुलीको ठाइँलो छोराका रूपमा २०२३ सालमा तनहुँ जिल्लाको जामुने भन्ज्याङमा जन्मेका हुन् । हालका दिनहरूमा पोखरालाई कर्मथलो बनाएका रानाभाट पोखरेली परिवेशमा प्रगतिशील प्रतिभाका रूपमा परिचित छन् । २०४६ सालको जनआन्दोलनपश्चात् पोखराबाट प्रकाशित साहित्यिक पत्रिकाहरू ‘मितेरी’ र ‘प्रयोग’मा यिनले व्यवस्थापक भई काम गरेको देखिन्छ । वर्तमानमा पनि यिनले पोखराबाट प्रकाशित साहित्यिक पत्रिकाहरू ‘गण्डकी सङ्गम’, ‘साहित्य–प्रभा’, ‘निगालो’ लगायतमा सम्पादन तथा व्यवस्थानको भूमिकामा रहेर काम गरिरहेका छन् । उनी अहिले ‘गण्डकी साहित्य सङ्गम’, प्रगतिशील लेखक सङ्घ’, ‘निगालो साहित्य समूह’, ‘अखिल नेपाल लेखक सङ्घ’ लगायत एक दर्जन जति साहित्यिक सङ्घसंस्थामा आबद्ध छन् । २०४६ सालकै सेरोफेरोबाट विभिन्न अखबारमूलक तथा साहित्यिक पत्रपत्रिकाहरूमा फुटकर रचनाहरूको प्रकाशनको सुरूवात गरेका रानाभाटले कविताका विविध उपविधाहरूमा कलम चलाएका छन् । गद्यका केही उपविधामार्फत् पनि उनले आफ्नो लेखनलाई अगाडि बढाएको पाइन्छ । कविताका विविध रूपहरू मुक्तक, गीत, गजल तथा फुटकर कविता लेखनलाई नै उनले विशेष मन पराएको मान्न सकिन्छ । हालसम्म उनका जम्मा पाँचवटा काव्यकृति प्रकाशित छन् । २०४९ सालमा ‘ज्यालादारी’ नामबाट उनको ‘रगतका छिर्का’ (मुक्तकसङ्ग्रह ) प्रकाशन भएको छ भने २०६४ सालमा ‘रङ, रगत र मान्छे’ शीर्षकको (कवितासङ्ग्रह), २०७० सालमा ‘यही हो मेरो देश’ (मुक्तकसङ्ग्रह), २०७३ सालमा ‘आँसुको छाल’ (हाइकुसङ्ग्रह) र २०७४ सालमा ‘पग्लिँदैन सगरमाथा’ (गीतिकविता सङ्ग्रह) प्रकाशन भएका छन् ।
२०४६ सालको जनआन्दोलनबाट स्थापित बहुदलीय व्यवस्थाप्रति असन्तुष्टि व्यक्त गर्दै कवि भीम रानाभाटले ‘रगतका छिर्का’ (मुक्तकसङ्ग्रह) प्रकाशन गरको देखिन्छ । यस सङ्ग्रहमा उनका ८२ वटा मुक्तक सङ्कलित छन् । उनका मुक्तक प्रायः सबैले सामाजिक शोषण, राजनीतिक विकृति, आर्थिक असमानता, बुद्धिजीवीहरुको अवसरवादी प्रवृत्ति, साम्राज्यवादी तथा विस्तारवादी नीति आदिप्रति तीब्र व्यङ्ग्य प्रहार गरेका छन् । मुक्तकहरु यथास्थितिका विरुद्धमा लेखिएका छन् । यस लेखमा भने उनको मुक्तकसङ्ग्रहको नभई कवितासङ्ग्रह ‘रङ, रगत र मान्छे’ कवितासङ्ग्रहमा व्यक्त भएको साज रुपान्तरणको स्वरलाई विषय बनाइएको छ ।
नेपालमा सर्वहारा वर्गले सुरु गरेर उत्कर्षमा पुर्याएको दश वर्षे जनयुद्धका परिवेशमा प्रस्तुत कवितासङ्ग्रहका कविताहरु सिर्जित छन् । २०४२ सालदेखि २०६४ सालसम्म बाइस वर्षे अवधिमा लेखिएका लेखिएका लोकछन्द र मुक्तछन्द गरी यस सङ्ग्रहमा जम्मा ४६ वटा कविता सङ्गृहीत छन् । आकारगत दृष्टिले फुटकर कविताकै औसत आकारका कविताहरू यसमा सङ्कलित छन् । यसमा सङ्कलित कविताहरूमा विभिन्न प्रकारका विषयवस्तु समेटिएका छन् । विषयवस्तुका आधारमा यस सङ्ग्रहमा सङ्गृहीत कविताहरूलाई विभिन्न कोणबाट विश्लेषण गर्न सकिन्छ । कविताहरू कुनै नेपालमा भएको दश वर्षे वर्गयुद्धसँग सम्बन्धित छन्, कुनै उन्नाइस दिने जनआन्दोलनसँग सम्बन्धित छन् । यसै गरी कतिपय कविताहरू देशभक्तिको भावनाप्रबल पनि छन् । अधिकांश कविताहरू प्रगतिवादी चेतनाले युक्त छन् । मजदुर, किसान, भरियाहरु जो सामाजिक रूपान्तरणका लागि क्रियाशील छन् तिनीहरूको जीवनक्रियालाई आत्मसात् गरेर कला–साहित्य सिर्जना गर्नुपर्छ भन्ने मान्यताअनुरूप नै यसमा सङ्कलित धेरैजसो रचनाहरु देखापरेका छन् ।
वस्तुगत जीवनको यथार्थ उद्घाटन नहुने कवितालाई सुन्दर कविता मान्न सकिँदैन । समयको आवाजलाई बुलन्द पार्न नसक्ने रचनाहरू जनताका रचना बन्न सक्दैनन् । प्रगतिवादी स्रष्टाले साहित्य जहिले पनि श्रमिक, किसानजस्ता सर्वहारा वर्गको हितमा लेखिनुपर्छ भन्ने अवधारणालाई बुझेको हुन्छ र सोहीअनुरूप उसले आफ्ना रचनामार्फत् श्रमिक वर्गले गर्ने मुक्तिको आन्दोलनलाई सहयोग पुर्याइरहेको हुन्छ । पुँजीवादी शासनव्यवस्थामा पैसालाई सर्वोपरि ठानिन्छ । राज्यको धेरै पैसा सीमित पुँजीपतिहरूको हातमा हुन्छ । त्यही पैसाको उन्मादमा मुट्ठीभरका पुँजीपतिहरूले श्रमिक तथा मजदुरहरूको शोषण गर्दछन् । प्रगतिवादी सृष्टाले यिनै शोषितपीडित मजदुर तथा श्रमिक वर्गको पक्षमा लागेर वर्गसङ्घर्षलाई तीव्र रूपमा बढाउँदै सामाजिक रूपान्तरणमा सहभागिता जनाउनुपर्छ । सामन्तवादी, साम्राज्यवादी तथा पुँजीवादी पीडकहरूबाट पीडित जनतालाई मुक्ति दिलाउनु प्रगतिवादी स्रष्टा तथा तिनका रचनाको उद्देश्य हुनुपर्छ । वस्तुगत यथार्थलाई चित्रण गर्ने क्रममा जनाकाङ्क्षा तथा जनउद्देश्यविपरीत सिर्जना गर्नुहुँदैन । सुधारवादी भएर होइन, क्रान्तिकारी विचार तथा रचना सिर्जना गर्नाले नै वास्तवमा स्रष्टा यथार्थवादी स्रष्टा बन्न सकिन्छ । अग्रगामी सोच प्रस्तुत गर्न चाहने स्रष्टा यस मामिलामा सचेत रहनु आवश्यक हुन्छ ।
‘रङ, रगत र मान्छे’ कवितासङ्ग्रह पढ्दा कवि यथार्थबाट पलायन भएको वा भागेको देखिँदैन । नेपालमा सर्वहारा वर्गले चलाएको वर्गयुद्धकालीन परिवेश यस सङ्ग्रहका अधिकांश कवितामा देखिन्छ । शोषितपीडित, हेपिएका तथा चुसिएका गरिब नेपाली जनातले जनयुद्धमार्फत सङ्गठित रूपमा क्रान्ति गरेका हुन् । निरन्तरको क्रान्तिबाटै समाजको रुपान्तरण हुने वास्तविकताको बोध यस सङ्ग्रहका कवितामा पाइन्छ । कविले अधिकांश कवितामा यही वर्गद्वन्द्वलाई प्रस्तुत गर्दै क्रान्तिप्रति समर्थन जनाएका छन् र परिवर्तनको चाहना व्यक्त गरेका छन् । क्रान्तिकारी रूपान्तरणका सन्दर्भमा सङ्ग्रहभित्रका कविताहरूको विश्लेषण गर्नु कवि भीम तथा उनका रचनाप्रति पनि न्यायसङ्गत हुन्छ ।
भीमका कवितामा समाज रूपान्तरणका लागि आत्मिक रूपान्तरणको चाहना प्रबल देखापर्छ । उनी समाजको रूपान्तरणका निम्ति प्रथमतः आत्मिक रुपान्तरण आवश्यक छ भन्ने पक्षमा वकालत गर्दछन् । जबसम्म व्यक्तिको सोचाइमा परिवर्तन आउँदैन तबसम्म आमूल परिवर्तनको सम्भावना रहँदैन । मुखले क्रान्तिका ठूलाठूला कुरा गरेर व्यवहारमा सिन्को नभाँच्नेहरू पनि हाम्रो समाजमा प्रशस्त छन् । सदीयौँ पुरानो आभिजात्य सोच बोकेर अगाडि बढ्न चाहनेहरूका विरुद्धमा भीमले आफ्ना आफ्ना कविताको सिर्जना गरेको देखिन्छ । कवि व्यक्तिको निजी स्वार्थका विरूद्ध उभिएका छन् । यस सङ्ग्रहका कविता पढ्दा व्यक्तिले सिद्धान्तअनुरूप व्यवहार गर्नुपर्छ भन्ने कविको धारणा देखिन्छ । पुराना रुढिग्रस्त तथा सडेगलेका विचार बोकेर हिँड्नेहरू नयाँ युगका संवाहक बन्न सक्दैनन् । सतही तथा सङ्कीर्ण चिन्तन त्याग्नुपर्छ र व्यावहारिक रूपमै परिवर्तनलाई आत्मसात् गर्नुपर्छ भन्ने सन्देश भीमका कवितामा पाइन्छ ।
कवि भीम यथास्थितिको विरोध गर्दै अग्रगमनका लागि स्वर उराल्ने भ्रष्टा हुन् । प्रस्तुत ‘रङ, रगत र मान्छे’ मा सङ्कलित सबैभन्दा पहिले अर्थात् २०४२ सालमा रचना गरिएको ‘तिम्रो आगमन’ शीर्षकको कवितामा यिनले पनि हाम्रा आधुनिक कवि गोपालप्रसाद रिमालले देखेजस्तै सुनौलो सपना देखेका छन् । जीवनलाई सङ्घर्षको पर्याय मान्दै कवि भीम जीवनप्रति आशावादी देखिन्छन् । भोलि जनताका लागि सुनौलो दिनको उदय हुन्छ भन्ने आशावादी विचार उनले २०४२ सालमै प्रकट गरेको पाइन्छः
अज्ञानीलाई ज्ञान दिई झलमल पार्ला
शोषक र सामन्तलाई मेचीकाली तार्ला
उचनीच मिलाएर समथरै पार्ला
मानवताको चौतारीमा वरपीपल सार्ला
(तिम्रो आगमन, पृष्ठ– १३ )
उत्पीडित तथा शोषित वर्गका पक्षमा कलम चलाउने भीम पसिनाका गायक हुन् । पसिना बगाउनेहरू निरन्तर पसिना बगाइरहेका छन् । मालिकले श्रमिक वर्गको पसिनाबाट थुप्रो मुनाफा आर्जन गरेको छ । पुँजीपतिले श्रमिकहरूको पसिनाबाट आर्जन गरेको नाफा आफ्नै गोजीमा हाल्छ, लाभांश समुचित रूपमा वितरण गर्दैन । पसिनाको यथोचित मूल्यको अभावमा श्रमजीवीहरू भोकभोकै बाँचेका छन् । थुप्रै ऋतुहरू फेरिए तर श्रमजीवीहरूको जीवनमा बसन्तको बहार आउन सकेको छैन । पसिना बगाउनेहरूको हालत नाजुक छ । अब पसिना बगाउनेहरूको दिन फिर्नुपर्छ भन्दै कवि भोको पेटमै भए पनि पसिनाको गीत गाउन चाहन्छन् । पौरखमा सङ्गीत भर्ने कविको अभीष्ट देखिन्छ । पुँजीवादीहरू सच्चा राष्ट्रभक्त हुन सक्दैनन्, तिनीहरु बहुसङ्ख्यक जनताका पक्षमा हुँदैनन्; वैयक्तिक स्वार्थमा चुर्लुम्म डुबेका हुन्छन् । राष्ट्र र जनताप्रतिको माया त श्रमजीवीहरूमा बढी हुन्छ । आफू भोकै भए पनि किसानहरू पौरख र पाखुरीको गीत गाउँछन् । भरियाहरू शोषणको भारीद्वारा जति नै थिचिए पनि श्रमको गीत गाउन छाड्दैनन् । यही सन्दर्भमा कवि भीमले पसिनाको महिमागान यसरी गरेका छन्ः
निरन्तर गाउँछु म
यही माटाको गीत
बिहानीमा पनि गाउँछु
साँझमा पनि गाउँछु
माटो फुल्ने गीत
पसिनाको गीत
(देशभक्ति, पृष्ठ– ४ )

कवि भीमले आफ्ना कवितामार्फत् विस्तारवादी तथा साम्राज्यवादी नीतिको विरोध गरेका छन् । तालहरूको सुन्दरतालाई कुरूप बनाउँदै फैलिएको जलकुम्भी झारलाई उनले साम्राज्यवादसँग तुलना गरेका छन् । पोखरामा रहेका प्रसिद्ध फेवा, रूपा, बेगनास लगायतका तालहरूमा जलकुम्भी फैलिएर ताललाई कुरूप बनाएझैँ आज साम्राज्यवादले सम्पूर्ण विश्वलाई नै प्रदूषित बनाइरहेको छ । गाउँका मुखिया तथा जिम्मावालहरूले सोझानिमुखा गाउँलेहरूलाई शोषण गरेजस्तै साम्राज्यवादीहरूले गरिब राष्ट्रहरूको अस्तित्वमा सङ्कट उत्पन्न गराएका छन् । निर्धन राष्ट्रहरूको छातीमा परेड खेल्दै ती राष्ट्रलाई आफ्नो वशमा पार्न साम्राज्यवादीहरू अन्तिम प्रयासमा जुटिरहेका छन् । क्यान्सर र एड्सभन्दा बढी भयावह रूपमा तालहरूमा जलकुम्भी फैलिएको दृश्यविम्ब उतार्दै कविले जलकुम्भीलाई साम्राज्यवादको प्रतीक बनाएर यसरी प्रस्तुत गरेका छन्ः
उस्तै उस्तै लाग्छ मलाई
गाउँका मुखिया बा र जलकुम्भी
व्यवहार समान देख्छु म
साम्राज्यवाद र जलकुम्भीको

हेर्दाहेर्दै जलकुम्भी नबन
मेरो आग्रह हो तिमीलाई
तालको समस्या मात्र देखेको छैन मैले
आजकल जलकुम्भीले संसार गाँजेको छ
(जलकुम्भी, पृष्ठ– ६६)
वर्तमान समाजमा सङ्घर्षरत जनताको मुक्ति र सुन्दर भविष्यको चाहना यस सङ्ग्रहका अधिकांश कवितामा देखापर्दछ । कवि भीमले मानवजीवनको वास्तविक मूल्यहरूको खोजीको प्रयत्न गरेका छन् । जात तथा रङका आधारमा हुने भेदभावको अन्त्य गरेपछि समतामूलक समाजको निर्माण हुन्छ र सामाजिक एकता कायम हुन्छ । धर्ती सबैको साझा हो । साम्राज्यवादीहरू सिङ्गो भूगोललाई आफ्नै मात्र पेवा ठान्दछन् । उनीहरुले बहुराष्ट्रिय कम्पनीका मार्फत सिङ्गो भूगोललाई नै आफ्नो कब्जामा लिइसकेका छन् । सबै मानिसले यस धर्तीमा समान रूपमा बास पाउनु पर्छ । सबैले समान रूपमा अधिकार पाउनपर्छ तर पुँजीवादीहरूले उत्पादित वस्तुहरूमा एकलौटी अधिकार जमाएका छन् । आज उनीहरूले मान्छेलाई रङ र जातका आधारमा अपमान गरेका छन् । धर्मको आडमा गरिएका शोषण, दमन तथा कुसंस्कारका पर्खालहरू भत्किएका छैनन् । दलित तथा उत्पीडित जातिले अमानवीय व्यवहार भोग्नुपरेको छ । दासता र दरिद्रतालाई पछार्न नसकिएको अवस्था छ । सतही रूपान्तरण होइन आत्मिक तथा व्यावहारिक रूपमै रूपान्तरणको खाँचो औंल्याउँदै समतामूलक समाजको निर्माणका पक्षमा कवि लेख्छन्ः
बर्लिनको पर्खाल ढाल्नुको के अर्थ ?
रङ्गभेदी नीति र शीतयुद्ध
अनि धार्मिक आडम्बर र दासत्व पो
क्षतविक्षत हुनुपर्थ्यो
(रङ, रगत र मान्छे, पृष्ठ– ३ ९)
नेपालमा २०५२ सालबाट सुरू भएको जनयुद्धलाई भुसको आगाको संज्ञा दिँदै कवि भीमले सर्वहारालाई आफ्नो वर्गको पहिचान गरी सङ्घर्षको मैदानमा उत्रन आव्हान गरेका छन् । सामन्ती राज्यसत्तालाई निमिट्यान्न पारी नयाँ जनवादी सत्ताको स्थापना गर्न उत्पीडित वर्गका सम्पूर्ण जातजातिहरूले सङ्गठित रूपमा क्रान्ति गर्नुपर्छ । हाम्रो नेपालमा विगतमा पनि पटकपटक गरी थुप्रै क्रान्तिहरू भए तर ती क्रान्तिहरू सफलतामा पुगेर टुङ्गिएनन् । सामन्ती राज्यव्यवस्थाकै सत्तामोहका कारण कतिपय क्रान्तिहरू तुहिएर गए । नेतृत्वको पदलोलुपता, सामन्तवादी– साम्राज्यवादीहरूसँगको साँठगाँठ आदिका कारण विगतका क्रान्तिहरू सफल हुन नसकेको ठहर कविले गरेका छन् । यसमा कवि चिन्तित पनि देखिन्छन् । राष्ट्रमा आमूल परिवर्तन ल्याउनका लागि फॉसीमा चढ्न पनि सक्नुपर्छ भन्ने विचार प्रवाहित गर्ने भीम आफ्ना हकअधिकार प्राप्तिका लागि आफै अगाडि सर्नुपर्छ भन्ने भाव अभिव्यक्त गर्न पुग्दछन् । सामाजिक रूपान्तरणका निम्ति सर्वहारा शक्ति एकजुट भएर लड्नुपर्छ भन्दै उनी लेख्छन्ः
अन्धकारमा डुबेकालाई उतार्नु छ सारा
आऊ साथी सँगै लडौं हामी सर्वहारा ।
(हामी सर्वहारा, पृष्ठ– २५)
१० वर्षे जनयुद्धकै आडमा २०६२÷२०६३ सालको १९ दिने जनआन्दोलन सफल भयो । जनयुद्धमा हजारौं योद्धाहरूले रगत बगाएझैँ जनआन्दोलनमा पनि दर्जनौं योद्धाहरूले रगत बगाए । नेपालको सामन्ती राजसंस्थाको अन्त्य र गणतन्त्रको स्थापना जनआन्दोलनको प्रमुख मुद्दा थियो । लाखौंको सङ्ख्यामा उपस्थित भएर जनताले सडकबाटै गणतन्त्रको घोषणा गरेका थिए । त्यस समयको आन्दोलनमा नेताहरूभन्दा जनता एक कदम अगाडि थिए । नेतृत्वमा रहनेहरूले जनादेशलाई तत्कालै कार्यान्वयन गर्न सकेनन् । गणतन्त्रको कार्यान्वयन गर्ने मुद्दालाई पछाडि धकेले । जनआन्दोलनको यस मर्मलाई आत्मसात् गर्दै कवि भीमले देशमा नयाँ बिहानीको अपेक्षा राखेका छन्ः
सहिदको रगत बग्दा
युद्धमा साथी ढल्दा
म त्यहीँ थिएँ आमा
आन्दोलनमा गोली चल्दा
जुलुसमै थिएँ आमा
त्यसैले मैले भुल्नुहुन्न
कालो शासन देशमा अब चल्नुहुन्न ।
(आमा ! म रापाइँमा व्यस्त छु, पृष्ठ ७०–७१)
कवि सुनौलो भविष्य प्राप्तिका निम्ति साधनारत देखिन्छन् । उनको यस ‘रङ, रगत र मान्छे’ सङ्ग्रहभित्र गोकुल जोशी, नारायणगोपाल जस्ता आदरणीय तथा श्रद्धेय पात्रहरूलाई पनि काव्यात्मक स्थान दिइएको छ । यसमा विजय ढकाल लगायतका जनयुद्धका सहिदहरूलाई स्मरण गरेर पनि केही कविता सिर्जना गरिएका छन् । मजदुर, किसान तथा भरियाका मर्मलाई उनले अधिकाधिक कवितामा स्थान दिएका छन् भने स्थान विशेषलाई आधार बनाएर रचना गरिएका कविताहरू पनि यसमा समेटिएका छन् । मूलतः रुढि र अन्धविश्वासले ग्रस्त समाजको आमूल परिवर्तनको चाहना यस सङ्ग्रहका अधिकांश कवितामा अभिव्यक्त छ ।
लयका दृष्टिले ‘रङ, रगत र मान्छे’ मा सङ्कलित लोकछन्दका कविताहरू बढी लयात्मक तथा साङ्गीतिक छन् भने गद्य छन्दका कविताहरूमा पनि केही मात्रामा आन्तरिक लय संयोजनको परिपाक देखिन्छ । शिल्पसंरचनाका दृष्टिले उत्कृष्ट रहे पनि वैचारिक कोणबाट हेर्दा यहाँका केही कविताहरू अलि फिलता छन् । अर्थात् धेरैजसो कवितामा वैचारिक प्रतिबद्धता र समाजप्रतिको यथार्थ दृष्टिकोण देखिन्छ भने केही सीमित कवितामा कवि यस पक्षमा सचेत देखिँदैनन् । गतिशील यथार्थलाई अङ्गीकार गर्दागर्दै पनि कतिपय कवितामा कवि यथास्थितिको आलोचनामा मात्रै सीमित छन् । वर्गीय चिन्तन तथा विश्वदृष्टिकोणले कवि भीममा क्रमशः गति लिइरहेको अवस्था हुनाले यस सङ्ग्रहका केही कविताहरू कमजोर मानिएका हुन् तर अधिकांश कविताहरू भने समाजसापेक्ष छन् र ती कविताहरू प्रगतिवादी मूल्यमान्यताका उपज हुन् । जनता अर्थात् पाठकहरू आफ्नै युगका यथार्थ पढ्न या सुन्न मन पराउँछन् भन्ने वास्तविकतालाई बुझेर कवि भीमले यस सङ्ग्रहमा वर्तमानलाई प्रस्तुत गरेका छन् । उनले यस सङ्ग्रहका सबैजसो कवितामा सरल शब्दहरूको प्रयोग गरेका छन् । शब्दावलीमा क्लिष्टमा देखा पर्दैन । सरलतामा पनि कलात्मक हुनुलाई कविको सिर्जनाको विशेषता मान्न सकिन्छ । अन्त्यमा, कविद्वारा सचेत र सङ्गठित क्रान्तिबाट नै समाजको रूपान्तरण गर्न सकिन्छ भन्ने विश्वास प्रकट गर्नु नै यस कवितासङ्ग्रहको मुख्य प्राप्ति हो ।

ज्याग्दीखोला, स्याङ्जा, हालः पोखरा– १७, कास्की

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।