17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

लता केसीका लघुकथामा समकालीन यथार्थको चित्रण

कृति/समीक्षा प्रा. डा. कपिल लामिछाने July 29, 2023, 9:34 am
प्रा. डा. कपिल लामिछाने
प्रा. डा. कपिल लामिछाने

नेपाली लघुकथाको विकासमा लता केसी छोटो अवधिमै स्थापित भएका लघुकथाकारमध्ये एक हुन् । २०७६ असार–भदौको लोकभावना (अङ्क ४६) मा ‘दुर्घटना’ शीर्षकको लघुकथाबाट उनको लघुकथाको यात्रा थालिएको हो । उनका २०७७ मा चोटदेखि मृत्यसम्म र २०७८ मा दृश्य लघुकथासङ्ग्रह प्रकाशित भएका हुन् भने अब २०८० को सुरुमै तेस्रो लघुकथासङ्ग्रह सफलता शीर्षकमा आइपुगेको छ । यसअघि मैले लता केसीबाट नेपाली लघुकथामा एउटा ह्याट्रिक हुने विश्वास व्यक्त गरेको थिएँ । त्यो अहिले प्रमाणित भएको छ र मलाई औधी खुसी लागेको छ ।
लता केसी एडमिन रहेर हाम्रो लघुकथा पाठशाला एउटा सामाजिक सञ्जालका रूपमा स्थापित भयो । अहिले त्यो हाम्रो लघुकथा केन्द्रका रूपमा विकसित भई एक साहित्यिक संस्थाका रूपमा स्थापित भएको छ । उनी यसको संस्थापक अध्यक्षको भूमिकामा समेत छन् । लघुकथाका काममा रातदिन खटे पनि उनले लघुकथाको सिर्जनालाई निरन्तरता दिएको पाइन्छ । यसको साक्षात् प्रमाण हो, प्रस्तुत सङ्ग्रह ।
सफलता लघुकथासङ्ग्रहका लघुकथामा सामाजिक यथार्थको सूक्ष्म चित्रण पाइन्छ । उनी स्थूल होइन, सूक्ष्मतातिर अभिमुख छन् । यस सङ्ग्रहका अधिकांश लघुकथाको विषयवस्तु समकालीन नेपाली समाजबाटै लिइएको छ । त्यसैले यिनमा समकालीन नेपाली समाजको यथार्थको सूक्ष्म चित्रण भएको छ । पारिवारिक सम्बन्ध, कुसंस्कार, अनियमितता, असमझदारी र आशङ्का, रोग, शोक, भोक, महामारीजन्य पीडा आदिलाई केसीका लघुकथाले उदाङ्गो पारेका छन् । यो उनको रुचिको विषय भएको छ । ‘कदम’, ‘आरोप प्रत्यारोप’, ‘प्रभाव’, ‘बुझाइ’, ‘भोक’, ‘कुण्ठा’, ‘अदृश्य’, ‘कला’, ‘वृद्धाश्रम’, ‘चेली’, ‘दुर्वचन’, ‘किन ?’, ‘सहयोग’, ‘अवस्था’, ‘चरित्र’, ‘परिवर्तन’, ‘दोषारोपण’, ‘लाचार’, ‘मनस्थिति’, ‘कर्म‘, ‘निशब्द’, ‘बोधक’, ‘विवरण’, ‘उपदेश’, ‘छेपारो’, ‘सभ्यता’, ‘परिवेश’, ‘बोली’, ‘घमन्ड’, ‘रहस्य’, ‘कथा’, ‘फरक’, ‘बालापन’, ‘मूल्याङ्कन’, ‘परिणाम’, ‘स्वार्थ’, ‘निर्णय’, ‘कुपात्र’, ‘खेल’, ‘मूल्य’, ‘सोच व्यवहार’, ‘भाग्य’, ‘इच्छा’, ‘वेदना’, ‘फैसला’, ‘आदर्श’, ‘हल्लैहल्ला’, ‘असमझदारी’, ‘मनोविज्ञान’, ‘निर्माण’, ‘प्रतिकार’, ‘चाहना’ आदि यस्तै लघुकथा हुन् ।
यस सङ्ग्रहका केही लघुकथामा बेजोड पारिवारिक सम्बन्ध देखाइएको छ । यहाँ सङ्कलित लघुकथामध्ये ‘कदम’ शीर्षकको लघुकथाले छोरीको विवाहको सन्दर्भलाई औँल्याएको छ । हुर्केकी छोरीको विवाह उपयुक्त केटासँग गरिदिन खोज्ने बाबुआमा र आफूले चाहेकै केटासँग विवाह गर्ने छोरीको चाहनाका बिचको तानातानमा लमीसँग सुटुक्क कुरा मिलाउने छोरीको कदमले काम गरेको देखाइएको छ । ‘आरोप प्रत्यारोप’मा लुकीलुकी फोन गर्ने लोग्नेको चियोचर्चो गर्ने पत्नीले लोग्नेलाई क्यान्सर भएको चाल पाएपछि उसको अनावश्यक भ्रम निवारण भएको देखाइएको छ । ‘प्रभाव’मा गर्भमा छोरी भएको थाहा पाएर गर्भ तुहाउन औषधी सेवन गर्दा पनि छोरी जन्मेको तर त्यसले गर्दा छोरीको स्वास्थ्यमा भने गम्भीर असर परेको देखाइएको छ । ‘बुझाइ’मा बुहारीलाई फुटेका आँखाले देख्न नसक्ने आमालाई केही दिनका लागि माइत आएकी छोरीले “एकछिन आएर आमाको अनुहार चाट्ने छोरी के काम ? सधैँ खट्ने बुहारीलाई माया गरे पो सुख हुन्छ ।” भनी सम्झाइबुझाइ गरेको देखाइएको छ । सासूबुहारीका विषयमा त धेरै लेखिएको पाइन्छ, तर छोरीकै कुरा सुन्ने आमालाई छोरीले यहाँ जसरी बुझाएको देखाइएको छ, यो अत्यन्त नौलो छ र सकारात्मक पनि छ ।
‘कुण्ठा’मा पहिले राम्रो व्यवहार गर्नेे छिमेकी बाले पूजाका लागि फूल टिपेको थाहा पाएपछि भने आक्रोश पोखेको देखाइएको छ । यसले दुई छिमेकीबिचको सम्बन्ध देखाएको छ । ‘कला’मा सुमधुर सामाजिक सम्बन्धले फलिफाप हुने तथा रुखो व्यवहारले सम्बन्ध बिग्रने देखाइएको छ । पहिले जागिर खाने म पात्रको जागिर खोसिएपछि जीविकोपार्जनका लागि मासु पसल खोलेको र ग्राहकसँग व्यवहार गर्ने कलाले गर्दा व्यापार बढ्दै गएको तथा रुखो व्यवहारले गर्दा ऊ पात्रको व्यापार घटामा गएको देखाइएबाट यस तथ्यको पुष्टि भएको छ । ‘वृद्धाश्रम’मा विदेशी साथीको भ्रमणलाई माध्यम बनाएर देश वृद्धवृद्धाहरूको विश्रामस्थल बनेको देखाइएको छ । यहाँ सामाजिक तथा राजनीतिक व्यङ्ग्य छ ।
‘चेली’मा चेलीले आइपर्दा घर र माइत दुबैतर्फ हेर्ने दोहोरो जिम्मेवारी वहन गर्दै आएको यथातथ्यलाई प्रकट गरिएको छ । ‘दुर्वचन’मा भाषाको प्रयोगको महत्त्व देखाइएको छ । नीतिशास्त्रमा सत्यं र प्रिय बोल्न तथा सत्य भए पनि अप्रिय वचन नबोल्न भनिएको छ । यहाँ राम्रै सम्बन्ध भएको लोग्ने–स्वास्नीका बिचमा यही सत्य तर अप्रिय वचनका कारणले असहज स्थितिको सिर्जना भएको देखाइएको छ । ‘सहयोग’मा यत्तिकैमा आर्थिक सहयोग जुटाउन नसकिएको अवस्थामा सामाजिक सञ्जालमा सहयोगको अपिल गरी स्ट्याटस राख्दा त्यहाँ आएको लाइक र कमेन्ट देखेर ऊ आशावादी भएको देखाइएको छ ।
‘अवस्था’मा मान्छेको शङ्कालु स्वभावको चित्रण गरिएको छ । आँखा कमजोर भएकी श्रीमतीले लोग्नेका क्रियाकलापप्रति अविश्वास र सन्देह गरेको र त्यस्तैमा उसकै आँखा जँचाउन आँखाविज्ञ लिएर आएको देखाइएबाट यसको पुष्टि भएको छ । यस लघुकथाले समाज मनोविज्ञानलाई अघि सारेको छ । यहाँ अपेक्षा विपरीत परिणाम देखिएको छ । ‘चरित्र’मा डेरावाल र घरबेटीका बिचको आपसी सम्बन्ध देखाइएको छ । राम्रै परिवार ठानेर भाडामा दिएको दुई दिनपछि नै पूर्व घरबेटीले तपाईंका नयाँ डेरावालसँग सावधान रहनू, तपाईँलाई सताउलान् भनी फोन गरेकोबाट घरबेटीले डेरावाललाई हेर्ने दृष्टिकोण पृथक् रहेको स्पष्ट हुन्छ ।
‘परिवर्तन’मा सकारात्मक परिवर्तनलाई कथ्यविषय बनाइएको छ । दिनभर कार्यालयको काम गरेर लखतरान परी घर पुगेकी पत्नीउपर अनेक शङ्काउपशङ्का गरी असहनीय आरोप लगाउने उही लोग्ने पत्नी बिमारी भएपछि भने मानिसले शङ्का, लोभ जस्ता तुच्छ कुरा सोच्न नहुने, त्यसले आफूभित्र नकारात्मक असर पार्नेजस्तो कुरा गर्छ । यसबाट मानिस ठक्कर पाएपछि चेत पाउँछ र उसमा सकारात्मक परिवर्तन आउँछ भन्ने स्पष्ट हुन्छ । ‘दोषारोपण’मा सामाजिक विकृति देखाइएको छ । यहाँ छिमेकीहरू आफ्ना छोरा÷ छोरी बिगारेको भन्दै एकअर्कालाई गालीगलोज गरी झगडा गरेर टोलभरि रमिता गर्ने अनि उता छोराछोरीलाई होटेलबाट प्रहरीले रङ्गेहात समातेको खबर आउने जस्ता घटनाका माध्यमबाट युवावर्गमा बढ्दै गरेको विकृति उजागर भएको छ ।
‘लाचार’मा परोपदेशे पाण्डित्यम् भन्ने उखान चरितार्थ गरिएको छ । डोजर चलाएर घर, टहरा, पसल र सटर ढलाइएकोमा केही नागरिक समूहहरूले गासबास नखोस्न हारगुहार गरेको तथा कसैले एकदम राम्रो काम भएको भन्दै थिए । यस्तैमा, एक युवकले सान र गर्वका साथ भन्यो, “यो कार्य गर्व गर्न लायकको छ । समर्पणबिना विकास आउँछ र ? राज्यको हितमा व्यक्तिगत स्वार्थको टाङ अडाउनु हुँदैन ।” जब ऊ आफ्नो कोठामा पुग्यो तब आफ्नो गासबास दिने टहरो भत्किएको देखेर भक्कानिएर रुन थाल्यो । यस लघुकथामा यस्ता घटनाको संयोजनबाट मानिसले आफूलाई पर्दामात्र पीडाको बोध गर्ने सत्यको उद्घाटन गरिएको छ । ‘मनस्थिति’मा श्रमिक व्यवस्थापनलाई कथ्यविषय बनाइएको छ । कम्पनीलाई घर ठानेर दिलोज्यान दिएर काम गर्ने कर्मचारीहरूबाट खुसी भई व्यवस्थापकले वनभोजको आयोजना गरी आत्मीयता देखाए पनि मालिकको चाकरी गर्ने एक अर्को कर्मचारीले रमाइलो गर्नेभन्दा काममा ध्यान दिनुपर्ने भन्दै कम्पनीको मालिकसँग चुक्ली लगाएको, आफैँ व्यवस्थापक भएको र कर्मचारीमा काम गर्ने मनस्थिति नै नरहेको देखाइएको छ ।
‘बोधक’ अलिक अमूर्त छ । यसमा फूल, माली र म पात्रका माध्यमबाट प्राकृतिक यथार्थ उद्घाटित भएको छ । सुन्दर फूलहरूसँग खेलिरहेकी म पात्रको जीवनमा एक माली आएको र बिस्तारै जीवनमा प्रकृतिले सौन्दर्य छर्न थालेको, तर ऊ गएपछि दुखित म पात्रलाई फूलले नयाँ माली आउनुपूर्व तिमी नै हाम्रो माली थियौ भनी हौसला बढाएको देखाइएको छ । ‘विवरण’ अलिक विवरणात्मक नै छ । यसमा भूकम्पको सन्त्रास देखाइएको छ । समाचारले पनि काठमाडौँमा भरखरै मात्र भूकम्पको ठुलो धक्का महसुस गरिएको र यसबारे पुरा विवरण आउन बाँकी रहेको जानकारी गराएको छ ।
‘उपदेश’मा परोपदेशे पाण्डित्यम् भन्ने सन्देश छ । सानोतिनो सन्दर्भमा पनि सधैँ अरूलाई धन्यवाद भन्न लगाउने र धन्यवाद भन्नुपर्छ भन्ने रामले आफैँले भने नभनेको देखाइएको छ । ‘छेपारो’मा दाजु र भाइका बिचको इखले गर्दा भाइ दाजुको नजिक नपर्ने, उसकहाँ नजाने भन्ने भाइ लाचार हुँदै एक दिन दाजुको दैलोमा पुगी दाजुभाइ शत्रु नहुने र आफ्नो जीवनमा दाजु बाहेक आफूलाई आशीर्वाद दिने अरु कोही नभएको भन्दै खुट्टैमा ढोग गरेको देखाइएको छ । यहाँ भाइको चरित्रमा आएको परिवर्तनलाई झल्काइएको छ ।
‘सभ्यता’मा मानव समाजको झगडिया प्रवृत्तिलाई देखाइएको छ । सामाजिक शिक्षाका गुरुले आदिम मानव समाजको चर्चा गर्दै मानव सुरुमा जङ्गलमा बस्थ्यो, जङ्गली जनावर जस्तै व्यवहार गथ्र्यो र मान्छेले मान्छेमाथि आक्रमण गथ्र्यो भनी पढाइरहेकै बेलामा झ्यालबाट बाशिर हेर्दा सडकमा दुई समूहका मानिसबिच भिडन्त भइरहेको देखाइएको छ । यसबाट सभ्यताको जति विकास भए पनि मानिसको झगडिया आदिम प्रवृत्ति नगएको प्रस्ट हुन्छ । ‘परिवेश’मा धार्मिक क्षेत्रका विकृतिप्रति व्यङ्ग्य छ । यहाँ पुण्यलाभका लागि व्रत गर्ने, व्रतका समयमा व्रत गर्ने भन्ने र चमेना गृहमा पसेर इच्छाअनुसार बढ्ताबढ्ता खाने, कार्यक्रम सकिएपछि पनि घरमा गए भातभान्सा गर्नुपर्ला भनी त्यहीँ थपीथपी खाएर समय कटाउने महिला मण्डलीका क्रियाकलापको यथार्थ चित्रण गरिएको छ ।
‘बोली’मा बेलाको बोलीको महत्त्व देखाइएको छ । आमाले बुहारी गहनाले झकिझकाउ भएर हिँड्न लागेको देखेर लुटेराहरूको बिगबिगी भएकाले फर्किँदा सतर्क रहनू भनेको कुरालाई बुहारीले बेवास्ता गरेको, नभन्दै भोजबाट फर्किँदा छोराको टाउकोमा प्रहार गरी बुहारीका गहना लुटिएको, अस्पताल पु¥याए पनि बचाउन नसकिएको, केही दिनपछि रमेशले उनलाई सपनामा जिउँदा भगवान्को उपदेश नमान्दा अब तिमीले पनि आमाको जस्तै जीवन बाँच्नुपर्ने भयो भनेको देखाइएको छ । यसबाट यहाँ अग्रजका भनाइमा अनुभवजन्य ज्ञान हुने हुनाले त्यसको पालना गर्नुमा सबैको हित हुने कुरा प्रस्ट हुन आउँछ । ‘घमन्ड’मा टमाटर, खुर्सानी, करेला आदिलाई पात्र बनाई एकअर्कालाई हेप्दै घमन्ड गर्नेको गति देखाइएको छ ।
‘रहस्य’मा अग्रज (हजुरबा) को अनुभवजन्य ज्ञानको महत्त्व देखाइएको छ । म पात्रले हजुरबाका कुरामा झर्को मानेको तर पालेको कुकुरले सुनिरहेको, भदौको महिनामा बाढीले पुरै बस्ती बगाउँदा कुकुर सँगै रहेको र ऊ पर्खालभित्र पस्न सफल भएको, म पात्र असफल हुनु र कुकुर सफल हुनुमा हजुरबाको दिव्यज्ञान लिनु र नलिनुको प्रभाव हो भन्ने निष्कर्षमा पुगेको देखाइएको छ । यहाँ कुरा सुन्नु बुढाको, आगो ताप्नु मुढाको उखान चरितार्थ भएको छ । ‘कथा’ फरक शैलीको लघुकथा हो । यहाँ दुई नातिनातिनालाई घरपरिवार र लोग्नेबाट हेला भए पनि त्यसलाई साथी बनाएर जीवनको पहाड चढेको, मान्छेको कर्म र भाग्य सँगै हुने, बिहे भऐकी छोरी फेरि सन्तानकी आमा माइतमा पनि घाँडो हुनसक्ने, व्यवहार नमिल्न सक्ने भन्ने लागेर माइत नगएको कथा सुनाएको देखाइएको छ । वस्तुतः त्यो उनको आफ्नै जीवनको कथा थियो भन्ने कुरा कथानकको अन्तबाट बुझिन आउँछ ।
‘फरक’मा आफूले बेचेको खसी र पालेको भाइका बिचको अन्तर देखाउँदै मानवीय बेइमान चरित्र उजागर गरिएको छ । दसैँका बेलामा बजारमा खसी किन्न जाँदा पहिले आफूले बेचेको खसी ऊसित लुटुपुटु गर्न आएको, तर लामो समय सँगै जिन्दगीका उकालीओराली गरेको भाइ धेरै समयपछि दसैँमा आएर पनि अर्को दसँै सँगै मनाम्ला भन्दै ससुरालीबाटै मुक्तिनाथ घुम्न गएको देखाइएको छ । यसबाट यहाँ बेचिएको पशु र बिदेसिएको मान्छेमा हुने भिन्नता प्रस्ट पार्दै निकृष्ट मानवीय चरित्र उदाङ्गो भएको छ ।
‘बालापन’मा रमाइलो बालापनको स्मरण गरिएको छ । नातिसँगै मोबाइलमा रमाउने क्रममा बालबपनको स्मरण भएको हो । यहाँ बेहुली र बेहुला भएर खेलेको, पुतलीको बिहे गरी खेलेको, गुच्चा र खोपी खेलेको, बगैँचामा सुटुक्क पसेर आँपका टिकुला टिप्दै नुन–खुर्सानीसँग चोप्दै खाएको, काठका मुडाहरूमा दौडिएको, लुकामारी खेलेको, ट्रकबाट उखु तानेर खाएको, दौँतेरीहरूसँग वनभोज गएको अनि कम्मर मर्काएर नाचेको आदि बालापनको स्मरण गरिएको छ ।
‘मूल्याङ्कन’मा मानिसको गलत मूल्याङ्कन गर्ने प्रवृत्तिलाई उदाङ्गो पारिएको छ । अचानक भुइँचालो गएकाले सबै भागाभाग गरे पनि रीता बाहिर निस्किन नसकेकी र छिमेकीका नाताले ताराले उनको उद्धार गरी, उनले तारालाई केही नगद दिँदै तैँले यत्तिकै लागि त सहयोग गरेकी होलिस् नि भनेको देखाइएको छ । यहाँ मानवतावादी र समाजसेवी भनेर कहलाएकी रीताले मानवताको खिल्ली उडाएकी छ ।
‘परिणाम’मा अग्रजका भनाइ नमान्दाको दुष्परिणाम आइलाग्ने देखाइएको छ । यहाँ उसकी दिदीले उसलाई साथीभाइसँग आफूखुसी कतै नजानू र साथीका कुरा मसँग नलुकाउनू भनेको नमानेकाले ऊ नजिकैको खोलामा डुबेको दिदीको प्रयासले समयमै अस्पताल लगेको हुँदा उसको ज्यान बचेको देखाइएको छ । भाइको होस आएपछि उसले भनी, “मेरो भाइ ठुलो भयो भनेको त सानो पो रहेछ । ठुलाले भनेको नमान्दाको परिणाम देखिस् त, भाइ ?” त्यसैले यस लघुकथाले अग्रजका भनाइको अनुसरण गर्नुपर्ने सन्देश दिएको छ । ‘स्वार्थ’मा स्वार्थपरस्त यौनसम्पर्कको नतिजा देखाइएको छ । श्रीमान् बाहिर साथीभाइसँग बढी रमाउने हुनाले रिसिएकी श्रीमती रमाले सजायस्वरूप कैयौँ दिनसम्म अलग ओछ्यान लगाएको, अर्कै पुरुषसँग सम्पर्क बढाएको, पाठेघरमा क्यान्सर भएर अस्पतालमा रहेको थाहा पाएपछि भने सो पुरुषले फेरि रमाको खोजी नगरेबाट यो प्रस्ट भएको छ ।
‘निर्णय’मा बाबु फाल्ने डोको लोककथामा झैँ बाआमालाई उपेक्षा गर्ने बाबुआमालाई नातिका प्रश्नले झस्काएको देखाइएको छ । यहाँ यसलाई हजुरआमाको सपना र नातिको जिज्ञासाका माध्यमबाट प्रस्तुत गरिएको छ । आमाबाबुले डाक्टर पढ्दै गरेको छोरालाई यस्ता कुरामा ध्यान दिएर पढाइ नबिगार्न र दुःख गरेर पढाएर हाम्रो भविष्य सुखद बनाउने हाम्रो सपना पानीमा नहाल्न भनेपछि उसले आफू पैसा कमाउन नभएर वृद्धाश्रममा अलपत्र परेका बाआमाहरूको सेवा गर्न डाक्टर बन्ने बताएबाट यस कुराको पुष्टि भएको छ । यसले बाबुआमालाई वृद्धाश्रममा राख्ने परम्पराको विरोध गरेको छ ।
‘कुपात्र’ अलिक फरक किसिमको लघुकथा हो । यो कृषिका कुरा भएकाले कृषिक्षेत्रसँग तथा न्यायनिसाफको सन्दर्भ भएकाले न्यायक्षेत्रसँग सम्बन्धित छ । यहाँ बाटाको छेउमा रहेको फलफूलको बगैँचाबाट थोक र खुद्रा व्यापारीहरूले फलफूल किनेर लाने गरेको, गाउँमा आएको नयाँ परिवारले पनि नोकरलाई बोकाएर फलफूल पठाउने अनि आफू घन्टौँसम्म बगैँचामा बसेर मालीसँग नानाथरीका कुरा गर्ने गरेको, यसबाट मालीलाई काममा बाधा हुन थालेको, काम सकिएपछि यहाँ नबस्न अनुरोध गरेको, झगडाले विकराल रूप लिएको, जनताको अदालत गठन भई पक्ष र विपक्षमा वकालत गरिएको, न्यायाधीशले समाजका प्रतिष्ठित व्यक्तिको घोर अमपान भएकाले बगैँचाको लागत मूल्य तिरेर अधिकार सुम्पिन निर्णय सुनाएको, मालीले असन्तुष्टि जाहेर गरेको देखाइएको छ । यो पुँजीको बलमा कृषकमाथि गरिएको अन्यायको परिचायक हो ।
‘खेल’मा हड्डीका पछि दौडिने खेल देखाइएको छ । यहाँ एउटा स्वाभिमानी शिक्षित बेरोजगार व्यक्तिले दस रुपैयाँको टिकट लिएर हड्डीका पछि तँछाडमछाड गरी कुद्ने कुकुरहरूको खेल हेर्न थालेको र खेलमा बलियाले निर्धालाई टोक्दै लखेट्दै गरेको, निकै लामो सङ्घर्षपश्चात् एउटाले हड्डी लिएर सुइँकुच्चा ठोकेको निकै रोचक खेल हेरेको देखाइएको छ । यसले ससानो स्वार्थका पछि लाग्ने राजनीतिक दल वा व्यक्तिप्रति तिखो व्यङ्ग्य गरेको छ ।
‘मूल्य’ कृषिक्षेत्रसँग सम्बन्धित लघुकथा हो । यसले अर्गानिक कृषउपजको मूल्यको खोजी गरेको छ । यस कथ्यतथ्यलाई दिदी, बहिनी र एक महिलाका माध्यमबाट प्रस्तुत गरिएको छ । सहरिया विषादीयुक्त तरकारीको चर्चा भइरहेका बेलामा डोकामा अर्गानिक तरकारी बेच्न ल्याएकाले उनीहरूले झोलाभरिे तरकारी किनेको, ग्राहकहरूले तरकारी किन्दै हरियो खुर्सानी र धनिया बोनसमा मागेको, जाबो धनिया र खुर्सानी त हो भन्दै एउटीले त हातै हालेर मुठ्याएको देखेर तरकारीवालीले हातबाट खोस्दै धनिया र खुर्सानी बोनसमा नफल्ने हुँदा किसानको पसिनाको मूल्य बुझिदिन भनेको देखाइएको छ । यसले अरुको सामग्री सित्तैमा हत्याउन खोज्ने सामाजिक चरित्रलाई उजागर गरेको छ ।
‘सोच व्यवहार’ लघुकथा सहरिया सोचसँग सम्बन्धित छ । यहाँ पढाइ सकेर सक्षम भएपछि मात्र बिहे उसको इच्छा रहे पनि सहरिया केटा भएकाले विवाह गरेर पढ्ने आमाको सल्लाह ठिकै लागेर उसले बिहे गरेकी, श्रीमान्ले किन पढ्नुप¥यो भनेको, ऊ एक प्रकारले घरभित्रै रहन बाध्य भएकी, नन्दको टीकाटालोको दिन ऊ साडी र गहनामा सजिएकी तर नन्द भने तिघ्रा देखिने एक पिस लुगामा टक्रिएको देखेर उसले श्रीमान्सँग आजको दिन कमसेकम साडी लगाउनु पर्ने भनेकी र श्रीमानले उसलाई हकार्दै मेरी बहिनी तँ जस्ती गाउँकी केटी होइन भनी जबाफ फर्काएको देखाइएको छ । यसबाट सहरिया सोच र व्यवहार प्रकट भएको छ । यहाँ सहरिया र गाउँले तथा श्रीमती र बहिनीमा विभेद गरेको देखाइएको छ ।
‘भाग्य’मा एउटी यौनकर्मी महिलाको भाग्य देखाइएको छ । यहाँ बसमा यात्रा गर्दा अकस्मात् भेटिएकी रमाले आफू एक यौनकर्मी भएको, आफ्नो समस्या समाजमा राखिदिन भनेको, यौनकर्मी भएको सुनेर म पात्र बसिरहेको सिट छाडेर अलि परको सिटमा बसेको र गन्तव्य नै नआई बसबाट ओर्लिएको, घर पुग्दा श्रीमतीले स्कुलमा एक सातापछि हुने अभिभावक दिवसमा जान भनेको, प्रिन्सिपलले बिहे गरेकाले सबै अभिभावकलाई श्रीमती चिनाउने कार्यक्रम राखेको, निश्चित समयमा विद्यालय पुग्दा प्रिन्सिपलले नयाँ दुलहीलाई देखाउँदै उहाँ मेरी धर्मपत्नी भनी चिनाएको, उनी उनै यौनकर्मी रमा रहेकीले म पात्र जिल्ल परेको देखाइएको छ ।
‘वेदना’ आमाको अभावको पीडा जनाउने लघुकथा हो । आमा र छोरीमा त्यस्तो प्रगाढ सम्बन्ध हुन्छ, जसको क्षतिपूर्ति हुनसक्दैन । यहाँ रमेश आमाको मृत्युमा तडपिएकी पत्नीलाई कुनै प्रकारले पनि सान्त्वना दिन र सम्झाउन नसकेको, केही सिप नलागेपछि उसले सासूआमाको तिथि पारेर केही थान लुगा र खानेकुराहरू सहित उनलाई वृद्धाश्रममा लिएर गएको, आमालाई सम्झेर वृद्धाश्रमका आमाहरूलाई दान गर्न लगाएको, ल्याएका सामान बाँड्दै जाँदा एक वृद्ध आमाले मेरी छोरी बाँचेकी भए तिमी जत्रै हुने थिई भनेको र अचानक उनको अनुहार उज्यालो भएको देखाइएको छ । यसबाट आमाको अभाव आमाहरूको सेवाबाट नै केही कम गर्न सकिन्छ भन्ने बोध हुन आउँछ ।
‘फैसला’ शीर्षकको लघुकथामा मानवीय क्षुद्र व्यवहार प्रतिध्वनित छ । पात्र भने जङ्गलका काग, कोइली र बाज हुन् । यहाँ काग र कोइलीको एकआपसमा झगडा परेको, उनीहरूले अलगअलग सङ्गठन बनाएको, अरु पन्छीहरू पनि एउटाको समर्थक र अर्काको विरोधी भएको, दुवैलाई न्यायको कठघरामा उभ्याइएको, दुवैका कुरा सुनेपछि बाजले दुबैले तुच्छ कुरामा मानिसले जस्तै चरित्र देखाएकाले जङ्गलबाट निकाली मानवबस्तीमा पठाउनू भनी फैसला सुनाएको देखाइएको छ । यहाँ मान्छे ससानो कुरामा पनि झगडा गर्छन् भन्ने कथ्यविषयलाई जङ्गलका पन्छीका माध्यमले प्रस्तुत गरिएको छ । वस्तुतः यहाँ मानिस क्षुद्र व्यवहार गर्दछ भन्ने कुरा प्रतिध्वनित छ ।
‘आदर्श’ लघुकथा मानिसको आर्थिक व्यवहार तथा पठनसंस्कृतिसित सम्बन्धित छ । यतिखेर पठनसंस्कृति ह्रासोन्मुख छ । मानिस पुस्तक किन्दैनन् । किनिहाले पढ्दैनन्, तर सबै पढेको धाक लगाउन भने छाड्दैनन् । लेखकसित पुस्तक किनिहाले त्यसको रकम दिन खोज्दैनन् । यस लघुकथामा यही समकालीन यथार्थलाई उजागर गरिएको छ । यहाँ लघुकथाकार सहरको एक प्रसिद्ध विद्यालयका प्रधान अध्यापकको कार्यकक्षमा पुगेको, उनले विश्वका महान् साहित्यकारहरूको चित्र र महŒवपूर्ण उक्तिहरूले कार्यालयका भित्ता सजाएको, भेटमा साहित्यिक भलाकुसारी भएको, लेखकले मेरो लघुकथासङ्ग्रह पढ्नुभयो भनी सोधेको, उसले आफू पुस्तकको किरो भएको बताएको, कृति किनेर उसले दुई वर्षदेखि रकम नदिएकोमा लेखक हाँसेको देखाइएको छ । यसले आदर्श र यथार्थबिचको अन्तरलाई पनि देखाएको छ ।
‘हल्लैहल्ला’ लघुकथामा छोरा कुलतमा लागेको हल्लाले बाबुआमा पिरलिएको देखाइएको छ । यहाँ फलानोको छोराले गाँजा खान्छ भनेर गाइँगुइँ हल्ला चलेपछि बाबु रामप्रसाद आत्तिएको, मागे जति खर्च दिन रोकेको, छोरालाई सम्झाएको, छोरो उल्टै रिसिएको, छोरो साथीको लहैलहैमा लागेर ऋण गरी बिदेसिएको, कैयौँ महिना सम्पर्कविहीन भएकाले घरमा रुवाबासी चलेको, हिजोआज भने बाबुको खातामा रकम पठाउन थालेको, बुबाले मेरो भन्दा समाजको विश्वास गरेको गुनासो गर्न थालेको, उनी पनि टोलभरि आखिर छोरा कसको ? भनी भन्दै हिँड्न थालेको देखाइएको छ । यहाँ शङ्काले लङ्का डढाउँछ भन्ने उखान चरितार्थ भएको छ भने राम्रो गरे मेरो भन्ने समाजमनोविज्ञान पनि प्रकट भएको छ ।
‘असमझदारी’ दिदी र भाइको सम्बन्धमा आधारित छ । यहाँ यसलाई दिदी र भाइ तथा छिमेकीको घरमा कोठा लिएर बसेको कान्छाका माध्यमबाट प्रस्तुत गरिएको छ । लघुकथामा कान्छासित चिनजान र घनिष्ठता बढेपछि ऊ पनि प्रिय भाइ बनेको, भाइलाई यो कुरा मन नपरे पनि उसले दिदीसँग केही भन्न नसकेको, उसले कान्छाको डाढ गरेको, दिदी बाथरुममा चिप्लिएर लडेर टाउको फुटेकाले भाइले अस्पताल पु¥याएको, रगत दिएर दिदीलाई बचाएको, अस्पतालबाट फर्किएपछि दिदीले कान्छाको खोजी गर्दा भाइले आक्रोशित भई ऊ म¥यो भनेको, त्यसै बखत कान्छाले फोन गरी बुबा बित्नुभएकाले आफू खबरै नगरी गाउँ हिँडेको बताएको जस्ता मुख्य घटना देखाइएको छ । यसरी यस लघुकथामा ‘असमझदारी’मा जस्तै मानवीय इस्र्यालु स्वभावको चित्रण गरिएको छ ।
‘मनोविज्ञान’मा इखालु मानसिकता देखाइएको छ । आफूसमानको अर्को पात्र देख्दा मानिसमा जलन वा ईष्र्या उत्पन्न हुनु मनोवैज्ञानिक सत्य हो । यहाँ रिना, रमेश र रमेशकी सहकर्मी हाकिमका माध्यमबाट यस तथ्यलाई आख्यानीकरण गरिएको छ । यहाँ रातभरमा भ्याउनु पर्ने हुँदा कार्यालयको कामका लागि घरमै आएको, केटी साथी देखेर रिना सशङ्कित भएको, कार्यक्षेत्रका सहयात्री अर्थात् हाकिम भनी परिचय गराएको, खाना खाएर हाकिमलाई बिदा गरेको, सुत्ने बेलामा मन चोर्ने हिसाबले हाकिमको प्रशंसा गरेको, रमेशले पनि राम्री, सहयोगी, मिलनसार भन्दै प्रशंसा गरेको, रिनालाई प्रशंसा मन नपरेको, रिनाले पार्लर जान, महँगा लुगा र गहना लगाएर घुम्न र हाकिम झैँ राम्री हुन रहर लागेकाले लोग्नेलाई विदेश जान भनेको जस्ता सूक्ष्म घटना आएका छन् । रिना महिला हाकिम देखेर जलेकी छ । कतै लोग्ने उतै लहसिने पो हो कि भनी उसमा डरले पनि घर गरेको छ । यसरी यस लघुकथामा मानवीय इस्र्यालु स्वभावको चित्रण गरिएको छ ।
‘प्रतिकार’मा आत्मसम्मानका लागि प्रतिकार गरेको देखाइएको छ । यहाँ रिट्ठेले रक्सी खाएर होटेलकी साहुनीलाई जिस्क्याएको, हाम्रो पालो कहिले आउँछ भनी आफूतिर आउन भनेको, भालु भनी चरित्रहत्या गर्न खोजेको देखेर साहुनीले खुकुरी देखाउँदै अब तेरो पालो भनी प्रतिरोध गरेको देखाइएको छ । मादक पदार्थ सेवन गर्ने अनि जोकोहीलाई जिस्क्याउन खोज्ने हरिलट्ठकलाई यहाँ मुखभरिको जबाफ दिइएको छ । यसले सामाजिक विकृतिलाई उजागर गरेको छ ।
‘चाहना’मा प्रेम र विवाहको चाहना भए पनि सामन्ती चिन्तनले गर्दा विवाह हुन नसकेको देखाइएको छ । प्रेमको साकार रूप विवाह हो । विवाहले प्रेमलाई सामाजिक मान्यता प्रदान गर्दछ । यहाँ रमेशले कलेजकी चर्चित गायिका गीतासित प्रेम गरेको, गीताले रमेशलाई बाबुसमक्ष लगेको, बाबुले आफ्नी एकमात्र सन्तान गीतालाई सुखले पाल्ने, घरबार चलाउने, जनधनको सुरक्षा गर्ने इमानदार र बफादार ज्वाइँ चाहिने बताएको हुँदा विवाह हुन नसकेको देखाइएको छ । यसरी हेर्दा यहाँ युवा पुस्ताको चाहनामा पुरानो पुस्ता वाधक भएको देखिन्छ ।
राजनीतिलाई राज्यका सबै नीतिको मूल नीति मानिन्छ । राजनीति सही दिशामा भए शिक्षा, स्वास्थ्य, संस्कृति, प्रकृति, कृषि, उद्योग, व्यापार आदि सबैतिर उन्नति र प्रगति हुन्छ । यस सङ्ग्रहका ‘भोक’, ‘विचित्र’, ‘माग’, ‘निःशब्द’, ‘चासो’ र ‘निर्माण’ जस्ता लघुकथामा राजनीतिक क्षेत्रका कमजोरीलाई कथ्यविषय बनाइएको छ । ‘भोक’मा कुकुर र बिराला आदि पात्रलाई अघि सारेर राजनीतिक स्वार्थका लागि एकअर्काका दुस्मनले पनि एकअर्कालाई साथ र सहयोग गरेको तथ्यलाई उजागर गरेको पाइन्छ ।
‘विचित्र’मा राजनीतिप्रति युवापुस्तामा पैदा भएको वितृष्णा देखाउँदै व्यङ्ग्य गरिएको छ । यहाँ राजनीति गर्नेहरूका रबैयाका कारणले गर्दा आम मानिसमा जसलाई जिताए पनि उस्तै हो भन्ने भावना विकास भएको देखाइएको छ । ‘माग’मा राजनीतिक व्यङ्ग्य छ । राजनीतिक भनिएको आन्दोलनमा मारिएकाहरुको असन्तुष्टि तथा न्यायका लागि फेरि आन्दोलन गरेको देखाइएको छ । यो राजनीतिप्रतिको कटु व्यङ्ग्य हो ।
‘निःशब्द’मा बाबुआमा र सुताहा छोराका माध्यमबाट कुम्भकर्ण जस्तो दीर्घसूत्री तथा गैरजिम्मेवार राजनीतिप्रति व्यङ्ग्य गरिएको छ । ‘चासो’मा यता चुनावी वातावरणमा चोकचोकमा भाषण र गफ गर्नेहरूको भिड बढेको, केही नभएको गाउँमा कमसेकम एउटा भ्युटावर बनेको, प्राकृतिक दृश्य हेर्न पनि पर्यटक भित्रिने तथा होटेल र लज व्यवसाय बढेर रोजगारी पाउने आशा पलाएको तर उता बालक भोक सहन नसकी लडेको, टाउकोबाट रगत बग्न थालेको, हत्त न पत्त अस्पताल पु¥याए पनि डाक्टर र दबाइ नपाई लगातार रगत बगेर बालकको मृत्यु भएको अनि त्यसै समयमा भ्युटावरको उद्घाटन गर्दै यस क्षेत्रमा विकास र समृद्धि ल्याउने दृढता व्यक्त गरिरहेको देखाइएको छ । यो राजनीतिप्रति गरिएको तिखो व्यङ्ग्य हो ।
‘निर्माण’को कथ्यविषय राजनीतिसँग सम्बन्धित छ । बाबु र छोराको संवादका माध्यमबाट त्यसलाई यहाँ आख्यानीकरण गरिएको छ । अरुले बनाइदिएको घर रङरोगन गरी चिरिच्याट्ट पारेर बस्नुको साटो बिगारेको देखेर यहाँ दुख व्यक्त भएको छ । राणा, पञ्च तथा प्रजातन्त्र र गणतन्त्रले पनि यसलाई समुचित संरक्षण गर्न नसकेको देखिन्छ । यहाँ अराजक घरमा नबस्ने बरु विदेश जाने छेराको अडान छ । घर भनेको देश नेपाल हो । घरनिर्माण भनेको देशको निर्माण हो । राणा, पञ्च तथा प्रजातन्त्र र गणतन्त्र भनेका शासनव्यवस्था हुन् । अरु (पृथ्वीनारायण शाह) ले निर्माण गरेको यस देशलाई त्यसपछिका शासकले शासन गरेको तर निर्माण गर्न नसकेको लेखकको ठम्याइ छ । अरूले बनाइदिएको घरमा रङरोगन गरेर बस्न पनि जान्नुपर्दछ । यहाँ त्यति पनि हुन सकेको छैन । यो राजनीतिप्रति गरिएको तिखो व्यङ्ग्य हो ।
‘दिग्भ्रम’, ‘विजय’ र ‘अफसोस’ जस्ता लघुकथा स्वास्थ्य वा चिकित्सा क्षेत्रसँग सम्बन्धित छन् । ‘दिग्भ्रम’मा आलुपाँडे डाक्टरको अयोग्यता कारण दुखाइ कम हुनुको साटो झन् बढेको र खर्चमात्र भएको तथ्यको उद्घाटन गरिएको छ । ‘विजय’मा कोरोना भाइरस जस्तो महामारीलाई साहस र आत्मबलकै कारणले परास्त गर्न सकेको देखाइएको छ । ‘अफसोस’ लघुकथा स्वास्थ्य र सामाजिक सम्बन्धसित सम्बन्धित छ । बहिनी जत्तिकै घनिष्ठ भएकी बहिनीले धेरै दिनदेखि सम्पर्क नगरेकीले उनका श्रीमान्को आग्रहमा भेट गर्न जाँदा मधुमेह (सुगर) ले हानेर आँखाको ज्योति गुमेको थाहा पाएको छ । उसलाई अफसोस यसैमा छ ।
‘किन ?’, ‘कमजोरी’ जस्ता लघुकथामा साहित्यिक क्षेत्रका कमजोरीलाई कथ्यविषय बनाइएको छ । ‘किन ?’मा कवि बन्न खोज्ने तर अरु कसैका कृतिको अध्ययन नै नगर्ने कविलाई व्यङ्ग्य गरिएको छ । यहाँ कविमा योग्यता र कवितामा स्तरको अपेक्षा गरिएको छ । ‘कमजोरी’मा आफ्नो आलोचना सहन नसक्ने वा कमजोरी आत्मसात् गर्न नसक्ने लेखकीय कमजोरीको आलोचना गरिएको छ ।
‘कर्म‘, ‘अनुरोध’, ‘इच्छा’ जस्ता लघुकथा वातावरणसित सम्बन्धित छन् । ‘कर्म‘मा रुख र दाउरेलाई पात्र बनाएर दाउरा काट्दाकाट्दा उसकै कर्मले गर्दा वन विनाश भई इन्धनको समस्याले ग्रस्त दाउरे नै पछि गएर वन संरक्षण समितिको चौकीदार भएको देखाइएको छ । यसले वातावरणीय सचेतना गर्न खोजेको देखिन्छ ।
‘अनुरोध’मा मानिसले प्रकृति वा धर्तीको रक्षाकवच नष्ट गरेको हुँदा अनेक किसिमका रोगव्याधि र महामारीको प्रकोप बढेको देखाइएको छ । सिङ्गो विश्व कोरोना भाइरसको सन्त्रासमा बन्दी बनेको अवगतै छ । लघुकथाका अनुसार सृष्टिको नियमअनुसार बिनाकारण कोही जन्मिँदैनन् । चेतनशील र सर्वश्रेष्ठ प्राणी मानव आफैँले अनुशासन र स्वतन्त्रताको खिल्ली उडाएकाले विज्ञानको साम्राज्य र मानवको चेतना बलेको यस युगमा कोरोना भाइरस जन्मियो । वातावरण बिग्रियो । धरतीको रक्षाकवच नष्ट भयो । लघुकथाको सार के हो भने वातावरण बिगार्ने काम मानवबाट नै हुँदै आएको छ ।
‘इच्छा’ प्रकृति वा वातावरणसित सम्बद्ध लघुकथा हो । यहाँ रमेश र एक जोडी ढुकुरका माध्यमबाट मानवलाई सृष्टिको विध्वंसक ठहर गरिएको छ । ढुकुरका जोडी आफ्नै दुनियामा मस्त भएको, रमेश दृश्य हेरेर रमाइरहेको, अनायास उसले ढुङ्गा फालेको, ढुकुरका जोडी भुर्र उडेको, पारि आकाशमा कालो धुवाँ अनि आगोको मुस्लो देखिएको, उनीहरूले मानवको चिच्याहट सुनेको, उनीहरूको वरिपरि वायुयानहरू देखिन थालेको, उनीहरू बेतोडले कावा खाँदै विपरीत दिशामा उडेको, एउटा रुखको टोडकामा लुकेको, अचानक ठुलो आवाज गरी रुख गल्र्याम्म ढलेको, दनदनी आगो बलेको, परेवाका जोडीले अर्को जुनीमा हामीलाई मानव भएर जन्मिन नपरोस् भनी पुकार गरेको देखाइएको छ । यसबाट मानव प्रकृतिको संरक्षक नभई विनाशक भएको पुष्टि भएको छ ।
‘अदृश्य’ र ‘मान्यता’ शिक्षाक्षेत्रसँग सम्बन्धित छन् । ‘अदृश्य’मा छोराले पढेको नदेख्ने र बिग्रने भयो भनी भुटभुटिने बाबु र लुकीलुकी पढेर सफलता हासिल गर्ने छोराको सम्बन्ध देखाइएको छ । ऊ आमाछोरा दुवैलाई एउटै ड्याङका मुला सम्झने गथ्र्यो भने छोराले पढेर लोकसेवा पास गरेको र अब कतै नगई मातृभूमिकै सेवा गरेर बस्ने भएको सुखद अन्त्यबाट कथानक सकिएको छ । यसले शैक्षिक समस्या र युवारोजगारीका समस्यातर्फ पनि इङ्गित गरेको छ । ‘मान्यता’मा विद्यार्थी र शिक्षकको प्रश्न र उत्तरका माध्यमबाट भाषिक मान्यता कसरी स्थापित हुन्छ भनेर देखाइएको छ । स्वास्थ्य विज्ञानका गुरुले कक्षामा प्रवेश गरी ‘शारीरिक अङ्ग’ शीर्षकमा शरीरका विभिन्न अङ्गहरूको परिचय र महत्त्वबारे पढाएको, आँखाले देख्ने, हातले लेख्ने, कानले सुन्ने र नाकले सुँघ्ने काम गर्ने भनी बताएको, एक विद्यार्थीले कानले सुँघ्छ भन्दा के हुन्छ भनी प्रश्न गर्दा गुरुले मान्यता विपरीत हुने भनी उत्तर दिएको देखाइएको छ । सिक्ने र सिकाउने काम शिक्षाक्षेत्रका हुन् ।
यसरी हेर्दै जाँदा यस सङ्ग्रहका लघुकथाहरू बहुविध यथार्थको चित्रणमा केन्द्रित देखिन्छन् । सामाजिक, राजनीतिक, साहित्यिक, शैक्षिक, वातावरणीय, स्वास्थ्य र चिकित्सा तथा कृषि जुनसुकै क्षेत्रबाट कथ्यविषय ग्रहण गरे पनि त्यसलाई यथार्थपरक ढङ्गले प्रस्तुत गरिएको छ । यी लघुकथाको मूल दर्शन र दृष्टिकोण यथार्थवादी रहेको छ । त्यसैले यहाँ यस्तो हुनुपर्छको आग्रह छैन । जीवनजगत् जेजस्तो छ, त्यसलाई त्यस्तै रूपमा प्रस्तुत गर्न खोजिएको छ । यसअघिका चोटदेखि मृत्यसम्म र दृश्य लघुकथासङ्ग्रहका केही लघुकथामा आदर्शवादी जीवनदृष्टि रहेको पाइन्छ भने यहाँसम्म आइपुग्दा लता केसी यथार्थवादी जीवनदृष्टिप्रति प्रतिबद्ध भइसकेको प्रस्ट हुन्छ ।
लघुकथा छोटोछरितो हुने हुनाले यसमा परिवेशको चित्रणका लागि कुनै अवसर हुँदैन । तथापि कथानकको प्रस्तुतिका सन्दर्भमा त्यो सूच्यरूपमा झुल्किन्छ । यी लघुकथामा मुख्यतः सहरिया र अंशतः गाउँले परिवेश छ । परिवेश कथ्यवस्तुले अपेक्षा गरेअनुरूपको रहेको छ । लघुकथाकार केसीको बसाइ सहरमा भएकाले होला यहाँ सहरिया परिवेश र पीडा गाउँको तुलनामा बढी देखिन्छ ।
लघुकथामा कम पात्रको अपेक्षा गरिन्छ । सो यहाँ छ । यी लघुकथामा प्रायः मानवीय पात्रहरू रहेका छन् भने केही लघुकथामा पशुपन्छी, वृक्षवनस्पति तथा घरेलु प्रयोगमा रहेका तरकारी पनि पात्र रहेका छन् । मानवीय पात्रहरूमा सार्वनामिक ऊ, उनी, तँ, तिमी, म, हामी आदि, नाताबोधक छोरा, छोरी, बा आमा, हजुरआमा, भाइ, बहिनी, दिदी, सासू, ससुरा, दाजु, भाउजू, बुहारी, श्रीमान्, श्रीमती, जोई, पोइ आदि तथा व्यक्तिवाचकमध्ये रमा र रमेश बढी आएका छन् भने ज्ञानप्रसाद, शिव, रीता आदि आएका छन् । केही लघुकथामा पद र पेसा बुझाउने पात्र पनि आएका छन् । साहु, पसले, शिक्षक, प्रिन्सिपल, प्रधान अध्यापक, कवि, लेखक, लघुकथाकार, आँखाविज्ञ, डाक्टर, चिकित्सक, नेता, लुटेरा, माली, बगैँचे, पाले आदि यस्तै पात्र हुन् । कुम्भकर्ण, यमराज, यमदूत आदि केही मिथकीय पात्र पनि यहाँ हाजिर हुन आएका छन् । मानवेतर पात्रमा खसी, कुकुर, रुख, करेला, टमाटर, खुर्सानी, फर्सीको मुन्टा, ढुकुर, फूल आदि रहेका छन् । पात्र मानवीय भए पनि मानवेतर भए पनि तिनले बुझाउने भनेको मानवीय चरित्र र संवेदना नै हो । यहाँ त्यही भएको छ ।
शैलीका दृष्टिले यी लघुकथा सरल देखिन्छन् । यी लघुकथामा मुख्यतया वर्णनात्मक शैली रहेको छ । यहाँ कथावस्तुलाई खासगरी सोझै वर्णन गरी देखाइएको छ भने केही लघुकथामा प्रतीकको उपयोग गरिएको छ । ‘भोक’ र ‘फैसला’ आदि लघुकथा यसका उदाहरण हुन् । केही लघुकथामा संवादको प्रयोग भएको छ, यसले गर्दा नाटकीयता थपिएको छ । ‘निर्माण’मा बाबु र छोराको संवादका माध्यमबाट कथ्यलाई आख्यानीकरण गरिएको छ । ‘कथा’मा दुई नातिनातिना र हजुरआमाको संवाद छ ।
लघुकथाको अभिव्यक्तिको माध्यम भाषा हो । भाषा नभए लघुकथा कसरी भन्नु । यी लघुकथा भाषा मानक नेपाली भाषामा लेखिएका छन् । यिनमा बहुप्रचलित सरल शब्द, छोटाछोटा वाक्य, छोटा अनुच्छेदले गर्दा भाषा सरल र प्रभावकारी बनेको छ । वर्णविन्यसगत शुद्धता, सरल शब्द र छोटाछोटा वाक्यको चयनले भाषा सलल्ल बगेको पाइन्छ । केही ठाउँमा टुक्का र उखानको प्रयोग पनि भएको छ । जस्तै ः अतीतको डम्फू बजाउनु (अदृश्य), हातमा दही जमाउनु, महाभारत मच्चिनु (दोषारोपण), मन चोर्नु (मनोविज्ञान), टाङ अडाउनु (लाचार) । के खोज्छस् काना ? आँखा (मूल्य), जो चोर उसको ठुलो स्वर (चाहना), रछ्यान चलायो मुखमा छिटा (परिवर्तन), शङ्काले लङ्का डढाउँछ (हल्लैहल्ला) आदि । टुक्का र उखानको प्रयोगले भाषा जीवन्त भएको छ ।
केसीका केही लघुकथामा व्यग्ङ्यको प्रयोग पाइन्छ । ‘परिवेश’मा धार्मिक क्षेत्रका विकृतिप्रति व्यङ्ग्य छ । ‘वृद्धाश्रम’मा विदेशी साथीको भ्रमणलाई माध्यम बनाएर देश वृद्धवृद्धाहरूको विश्रामस्थल बनेको देखाइएको छ । यहाँ सामाजिक तथा राजनीतिक व्यङ्ग्य छ । ‘खेल’मा हड्डीका पछि दौडिने खेल देखाइएको छ । यहाँ ससानो स्वार्थका पछि लाग्ने राजनीतिक दल वा व्यक्तिप्रति तिखो व्यङ्ग्य छ । ‘माग’मा राजनीतिक व्यङ्ग्य छ । यहाँ राजनीतिक भनिएको आन्दोलनमा मारिएकाहरूको असन्तुष्टि तथा न्यायका लागि फेरि आन्दोलन गरेको देखाइएको छ । यो राजनीतिप्रतिको कटु व्यङ्ग्य हो । ‘चासो’मा भोकले मर्न लागेको बालकलाई जसोतसो अस्पताल पु¥याए पनि डाक्टर र दबाइ नपाई लगातार रगत बगेर बालकको मृत्यु भएको अनि त्यसै समयमा नेताबाट भ्युटावरको उद्घाटन गर्दै यस क्षेत्रमा विकास र समृद्धि ल्याउने दृढता व्यक्त गरिरहेको देखाइएको छ । यो राजनीतिप्रति गरिएको तिखो व्यङ्ग्य हो । ‘किन ?’मा कवि बन्न खोज्ने तर अरु कसैका कृतिको अध्ययन नै नगर्ने कविलाई व्यङ्ग्य गरिएको छ । ‘खेल’मा हड्डीका पछि दौडिने खेल देखाइएको छ । यसले ससानो स्वार्थका पछि लाग्ने राजनीतिक दल वा व्यक्तिप्रति तिखो व्यङ्ग्य गरेको छ । यहाँ व्यग्ङ्य गरिएका यस्ता अनेक उदाहरण पाउन सकिन्छ । व्यङ्ग्यले गर्दा यी लघुकथा प्रभावकारी र चोटिला बन्न पुगेका छन् ।
लघुकथाका शीर्षकहरू एकपदीय छन् । ‘किन ?’, ‘विवरण’ आदि शीर्षक त्यत्ति आकर्षक छैनन् । केही शीर्षकले अन्तर्वस्तुलाई समेट्न नसकेका भए पनि अधिकांश शीर्षक रोचक र प्रभावकारी रहेका छन् । शीर्षक चयनमा अझैै कौशलता देखाउनु आवश्यक देखिन्छ ।
लता केसीका लघुकथामा आन्तरिक तथा बाह्य दुबै दृष्टिविन्दुको उपयोग भएको छ । यस सङ्ग्रहका ‘कुण्ठा’, ‘कला’, ‘वृद्धाश्रम’, बोधक’, ‘रहस्य’, ‘विजय’, ‘अफसोस’, ‘आदर्श’, भाग्य’, ‘मनस्थिति’ जस्ता लघुकथामा आन्तरिक दृष्टिविन्दु रहेको छ भने बाँकी लघुकथामा बाह्य दृष्टिविन्दु रहेको छ । दृष्टिविन्दुको प्रयोग लघुकथालाई प्रभावकारी र विश्वासिलो बनाउनका निमित्त गरिएको छ ।
लघुकथाको आयाम छोटोछरितो हुन्छ । लघुकथाकारलाई लघुकथामा धेरै शब्द खर्च गर्ने स्वतन्त्रता हुँदैन । थोरै शब्दमा गहन कथ्य वा विचार प्रस्तुत गर्नु चुनौतीपूर्ण कार्य हो । यसमा लता केसी पूर्ण सचेत रहेको पाइन्छ । छोटोको मापन गर्ने एउटा स्थूल आधार शब्दसङ्ख्या हो । यी लघुकथा २५० शब्दको परिसीमामा बाँधिएका छन् । केही अपवादलाई छाडेर भन्ने हो भने यिनमा जीवनको कुनै सूक्ष्म क्षण, थोरै घटना, अकस्मात् आरम्भ र अन्त रहेको छ । छोटोछरितो हुँदा अपूर्ण हुन जाने खतरा रहन्छ । यी लघुकथा आफैँमा पूर्ण देखिन्छन् । यसबाट लघुकथाको आयाम र स्वरूपका बारेमा लता केसी प्रस्ट भएको बुझ्न सकिन्छ ।
समग्रमा, लता केसीका यी लघुकथा समकालीन यथार्थका उपज हुन् । यहाँ कोरा कल्पना छैन । जीवनमा देखेसुने र भोगेका कुरालाई टप्प टिपेर उनले त्यसलाई साधारणीकरण गरी लघु आख्यानको रूप दिएकी छन् । यिनमा वस्तु वा जीवन र जगत्लाई हेर्ने दृष्टिकोण यथार्थपरक छ । आज साहित्यमा कोही पनि आदर्श वा उपदेश सुन्न चाहँदैन । यो पाठकीय अपेक्षाको यहाँ पूर्ण सम्मान भएको छ । फेरि पनि यहाँ यथार्थका नाममा अशिष्टता र अशोभनीयता छैन । यिनले सामाजिक रूपान्तरणको बाटो देखाएका छन् । यहाँ कतै पनि अन्धविश्वासलाई प्रश्रय दिइएको छैन । विकृति र विसङ्गतिप्रति, अनाचार र दुराचारप्रति घोचपेच र व्यङ्ग्य अवश्य छ । साथै, यहाँ समाजप्रति आस्था, सद्भाव, साधुभाव र सकारात्मक सोच छ । सबै सही बाटोमा हिँडून् भन्ने चाहना छ । तर त्यो उपदेशका रूपमा होइन । यस्ता यथार्थपरक लघुकथाको रचना गरेर लता केसीले नेपाली लघुकथालाई समृद्ध तुल्याउन ठुलो योगदान गरेकी छन् । लगातार तीनवटा लघुकथासङ्ग्रह निकालेर ह्याट्रिक गर्ने उनी प्रथम नेपाली महिला लघुकथाकार पनि हुन पुगेकी छन् । लघुकथाको समृद्धिमा समर्पित लता केसीको क्रियाशीलता र तल्लीनताको म हृदयदेखि नै सराहना गर्दछु ।

भैरहवा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।