चिसो हिउँदोको लामो अन्तराल पश्चात फेरि स्कूलहरु आरम्भ भएको लगभग एक महीना बितिसकेको थियो । स्वच्छ नीलो गगन, मन्द वायु अनि न्यानो घामको मनमोहक वातावरणले गर्दा सारा गाँउ सहर स्फुर्ती र आनन्दित थियो । बसन्तमा फुलेको झकमक्क फुलहरुले धेरै पिरतीको सम्न्धहरु सृजना गरी रहेका थिए । मानौ, एउटा बिधवाको सिउँदोले फेरि सिन्दुर पाए जस्तो, एउटा दिशाहिन यात्रीले लक्ष भेटे जस्तो ।
तेरो स्कूलको फिस तिरिदिएको छु । राम्ररी पढ़ नी भन्दै आमा भान्सा घर तर्फ लागिन् । म त्यस समय दस कक्षामा पढ्दथेँ । वैंशको पोखरीमा चुर्लुम्म डुबेको हुनाले आमाको कुरालाई ध्यान नदिई म शगुनलाई पत्र लेख्न भित्री कोठातिर लागेँ ।
उनलाई पत्र लेख्नु भनेको एउटा लेखकले जीवनको सबै भन्दा महत्वपूर्ण कथा लेखिरहेको जस्तै लाग्दथ्यो । हाम्रो सम्बन्ध कलिलो भएता पनि साँचो प्रेमको सुदृढ आधारमा निर्माण थियो । जुनकिरी र रातको कथा जस्तै त थियो हाम्रो माया । एउटा बिना अर्को अधुरो हुन्थ्यो हाम्रो सम्बन्ध । प्रकाशको प्रतिक्षामा बाँचीरहेका थिए हाम्रो सपनाहरू । न समाजको डर थियो, न जात धर्मको मतलब । भाले र पोथीको जोड़ी भन्दै गीज्याउने गर्थे सबै साथी भाईहरुले । उनको नयनहरु मेरो संसार थियो । उनको कोमल हृदय मेरो बास ।।
मलाई शिक्षा प्रति कुनै लगाउ थिएन । पढ़ेर ठूलो मानिस बन्ने कुनै आकांक्षा बोकेको थिइन् ।
म त्यस समय केवल मायाको पुजारी थिएँ । हो, माया भन्दा सुन्दर अरु केही लाग्दैन थियो । माया नै देवता । माया नै धर्म । माया नै सारा संसार । शगुन सँग ‘भागी विवाह’ गर्ने चाहना बाहेक अरु केही लक्ष्य थिएन । जीवनले थोपरेको जस्तै परिस्थिति अनि कठिनाईमा पनि उनी मेरो छेउमा भए पुगिहाल्छ नि भन्ने विचार आउँदथ्यो थियो ।
एक साँझ हामी क्यासलटन चिया बगानको छात्तीमा बसेर समय बिताई रहेका थियौं । मन्द बतासको शितलता महसुश गर्दै सम्झनाको काखमा बसेर सपना अनि भविष्यको कुराहरु गरिरहेका थियौ ।मैले उसको हात समाई सुमसुमाउदै आँखामा हेरेर प्रश्न गरे– शगुन, मलाई कति माया गर्छौ?
मेरो प्रश्न सुनेर उनी केही छिन उनी अवाक रहिन । अनि सुस्तरी मुस्कुराउँदै भन्न लागिन, म तिमीलाई कति माया गर्छु त्यो त म देखाउन सक्दिन तर यो संसारमा यदि मलाई दैव पनि प्रकट भएर मायाको अर्थ सोध्यो भने सधै तिम्रो नाम लिनेछु । म तिमीलाई माया भन्दा धेरै आदर गर्छु, । श्रद्धा गर्छु । माया त मानिसले पालेको कुक्कुरलाई पनि गर्छन तर त्यसलाई आदर गर्छन् भन्नु मिल्दैन । खासैमा कुनै पनि सम्बन्धको आधार नै श्रद्धा हुन । यदि सम्भन्धमा केवल माया मात्र छ भने त्यो सम्बन्ध सुगन्ध बिनाको फूल जस्तै भएर जाने छ तर यदि सम्बन्धमा आदर जिवित रहेको छ भने भविष्यमा माया पलाउने एवम् पुकारिने धेरै सम्भावना हुन्छ ।
उनको उत्तर सुनेर मन प्रफुलित भएर आयो । कति परिपक्क अनि बुद्धिमानी सोँच । उनको कुरा सुनेर म मुसुक्क हाँसे । अनि उसलाई आफूतिर तानेर आँगालोमा राखे ।
समय बितिरहेको थियो । हामी खुला आकाशमा उडिरहेको पंछी झै हर्षित अनि स्वतन्त्र थियौं ।
कुनै आधुनिक गीत जस्तै सबैको ओँठ तथा कानमा ठूलो स्वरमा गुंजी रहेकाथियौ । कक्षा एघारको परिक्षक्षापछि भागेर काठमाडौं जाने योजनाको चहलपहल हाम्रो हृदयमा अविरल खोला झै बगिरहेको थियो ।
अचानक एकदिन भावीले मेरो जिन्दगीको चित्रमा रंग फेरेर तस्बिरको आकार नै बदली दियो ।
म सिटिङ रूममा बसेर रूप नारायण सिंहको भ्रमर उपन्यास पढ़दै थिएँ । आमा सुस्तरी स्टिलको गिलासमा चिया बोकेर मेरो छेउमा आएर बसिन् । चिया टेबलमा ठ्याक्क राखेर मुनिलो भागबाट धागों र सियो निकाल्नमा लागिन । मेरो ध्यान उपन्यासबाट हटेर आमाको गर्धन तर्फ गयो ।
मैले राम्ररी हेरेँ । आमाको गर्दनमा सधै झुन्डिरहने त्यों पहेंलो सुनको चेन नै थिएन ।
मेरो कानमा त्यो वाक्य गुंजियो, ‘तेरो फीस तिरदेको छु ।’
भित्रबाट मन दुःखेर आयो । संसार भरिको बोझ आमा माथि थोपरिएको झै लाग्यो । मेरो फिस त त्यही वर्षोंदेखि जोगाएर राखेको चेन बेचर तिरिदिन ुभएको रहेछ । मैले थाहा पाएँ ।
म आधा रातमा झसङ ब्युँझे झै भएँ । आफैप्रति घृणा र टुच्चापनको डढ़ेलो सल्किन थाल्यो । त्यस दिन जीवनलाई पहिलो पटक ऐनामा देखेँ । म त यहाँ रूप शृंगारिने यात्रामा मनको दागलाई भुलिसके छु । जून छुने आशामा सारा जगत बिर्सी सकेछु ।
म कति स्वार्थी ! कति असंवेदनशिल ? मेरो शिक्षाको निम्ति आमाले यति ठूलो बलिदान र त्याग दिएर संसारभरिको सुख भुल्न तयार छिन् । अनि म यहाँ आफ्नो स्वार्थी संसारको रंगमंचमा अभिनेता बनेर गर्व साथ हिँडीरहेछु । मनमा एकप्रकारको हिन भावना संग्रहित भएर आयो । मानौ कि वर्षौंदेखि सुकिरहेको रुखले आज सूर्यको किरण देख्न पायो । पिंजराको बन्दी सुगाले खुला आकाश भेट्यो ।
त्यस दिन मैले आफैसँग वाचा गरेँ– जिÞन्दगी राजा भएर जिउँछु, कि भिखारी भएर मर्छु । तर आफ्नै भावनाको दासी बनेर भोगी भएर बाँचदिन । म पढ़ने छु । शिक्षित हुनका लागि एउटा असल मानिस बन्नका लागि मेहनत गर्ने छु । म सगुनको हाँसोमा आमाको आँसु हेर्न सक्दिन ।
माया गर्नु पाप होइन तर आफ्नुलाई दुःख कष्ट पुर्याएर स्वार्थी भावनाको संसारमा रम्नुलाई माया भन्दैनन् । म चङ्गा हुँदिन । जो कसैको नियन्त्रणमा उडि़रहेको हुन्छ । म त्यों बादल जस्तै हुनेछु, जो आफ्नै मर्जीको मालिक बनेर बगिरहेको हुन्छ । म आमाको पसिना र परिस्थितिले कोरिएका रेखाहरुको निम्ति जिउने छु । म पढ़ने छु, योग्य बन्नको लागि । नौकरी पाउन अथवा स्वास्नी पाल्नको निम्ति बिल्कुल होइन । मेरो आमाको त्यो चेनको मूल्य यति मात्र हुन सक्दैन । कि म इतिहास रचेर मर्छु । कि हावासँगै बिलाई जाने छु । म...... म नै भएर बाँच्नेछु ।
सगुन मेरो लागि सबै भन्दा बहुमूल्य उपहार थिई । म उसलाई अत्यन्त माया गर्दथे । तर मान्छेको स्वप्निल क्षितिज पारी पनि एउटा रेखा हुन्छ जसलाई उत्तरदायित्व भनिन्छ । जो मानिस आफ्नो आमा बुवाको त्याग, बलिदान अनि समर्पणलाई नजÞर अन्दाजÞ एवम भुलेर भौतिक रमझममा मग्न रहन्छ, त्यों मानिस जीवनमा कहिले सफल हुदैनन ।
मानिसले जीवन यात्रामा धेरै त्याग अनि बलिदान दिनु पर्ने हुन्छ । सोचे जस्तो जीवन कसको पो हुन्छ र ? माया हाम्रो जीवनको एउटा बहुमूल्य हिस्सा हुन सक्छ तर जिÞन्दगी होइन । माया गरौ तर संसार भुलेर पागल नबनौ । यस्तै कुरा मनमा खेलाउँदा खेलाउँदै मेरा आँखा अगाडि घरि सगुनको त घरि आमाको तस्बिर आइरह्यो ।
खर्साङ, भारत