सिन्दुरी रङ्ले सजिएर
झुल्कियो आजको नौलो घाम
एकाबिहानै मेरो घरको संघारभरि
अँजुलीमा राखें झुल्काहरूलाई
पोखिन्छन् कतै भन्ने डरले
टाँसिदिएँ ह्रदयभरि टमक्क
कसैले मागे म अलिकति दिनसक्छु
मेरो पीर मिस्सिएको घाम
जसले मलाई भित्रबाटै ब्युँझाइरहन्छ
एउटा पाठ पढ्दैछु अचेल
सेतो र कालो रङ्को प्रभेद
घामलाई साक्षी राखेर
कालो रङ्देखि जति नै टाडिनखोज्छु
घामले छेक्नसक्दैन
उत्ति नै नजिक आँउछ ऊ
मुट्ठीभरि बाँधेको सेतो हावालाई
जूनसित खेल्नका लागि
खुल्ला छोडिदिन्छु आँगनभरि
यसबेला मसित न घाम छ
न जून..........
तेजपुर, असम, भारत