नियात्राकार कृष्ण बजगाईं र म सप्तकोसी वारिपारिका हौं । तथापि यसलाई असंयोग भन्नुपर्छ कि हामी भौतिक तरिकाले भेटिएका छैनौ । सामाजिक सञ्जालले भने चिनाएको मात्र होइन; आफन्ती बनाएको छ । बेलायतको बगालबाट छुट्टिएर उनको सवैभन्दा नयाँ नियात्राकृति ‘उमिहोतारू’ भौँतारिँदै मसमिप आएको छ । समय बित्यो, तर म भर्खर कृतिभित्र प्रवेश गर्ने जमर्कोमा छु । उमेरले नेटो काट्न थालेपछि पढ्न पनि समय, जाँगर तथा दिमागको पत्रले अनुमति दिनै पर्ने रहेछ ।
पुस्तक पढ्न मजा आउँछ तर त्यसैमा पाठक्यौली लेख्न पर्यो भने चाहिँ तीन डिबिया तेल बल्छ । नियात्राकार बजगाईँ आख्यान, कविता तथा नियात्रामा कलम कुदाउँछन् । नेपाली साहित्यको आकासबाट हेर्दा उनी हाइकुका अन्तर्राष्ट्रिय प्रतिनिधि पात्र हुन् । लघुकथाका मानक स्रष्टा हुन् । नियात्रासङ्ग्रहकै मात्र कुरा गर्ने हो भने उनको यो कृति नेपाली नियात्रा साहित्यमा चौथो कोसेली हो । विविध पुरस्कार तथा सम्मान समेटेका बजगाईंका नियात्राहरू नेपालका विविध विद्यालय तथा विश्वविद्यालयमा कक्षाभार बोकेर बसेका छन् । झण्डै आधा पृथ्वीको अन्तरकुन्तर चाहारेका हुनाले उनका नियात्रामा पृथ्वीकै जटिलता÷समानता टड्कारो देखिन्छ ।
खासमा कृति तथा कृतिकारले एउटा उचाइ नापिसकेको हुन्छ र, पाठक फेदीमा बसेर सिक्रा गन्न थाल्छ । फेदीको पाठकले कृतिको आँतभेउ पाउन नै गाह्रो हुन्छ । तथापि साहित्यको परिधिमा स्रष्टा झैँ पाठक पनि सार्वभौम हो । यही कबच मेरो पाठक्यौलीको आधार हो । यसो भएकाले यो आलेखमा एउटा पाठकको उधिनाइ कम तथा लहड र सनक बढी भएको भने हुनसक्छ । नियात्राको सैद्धान्तिक स्वरूपका कसीमा राखेर हेर्न भने ज्ञानचक्षुको बर्कत्बुताले नखाम्ने पनि हुनसक्छ । यिनै समस्याका चेपबाट यो पाठक्यौलीले ‘उमिहोतारू’ लाई चियाउने प्रयत्न गरेको छ । विशेष ज्ञानका बिस्कुनहरू लगाएर छोडिएको छ, म त्यही ज्ञानका पुञ्जमा एक फन्को लाउने दुःस्साहस गर्दै छु । आगे अरूकै मर्जी ।
कृति शीर्षक रहेको ‘उमिहोतारू’ जापानको एउटा कृत्रिम टापु हो । समुद्रमा पाइने जापानी भाषाको जूनकिरी हो । त्यसैले आवरण चित्रले रातको समयमा उमिहोतारू (टापु) मा उमिहोतारु (जूनकिरी) झैं टल्केको बिम्ब बताउँछ । आवरणको पश्च भागमा सायद प्रकाशकका तर्फबाट होला एक अनुच्छेद अक्षरहरूमा कृतिकारका विशेषताका भावहरू टाँसिएका छन् । भुँडीपुराण प्रकाशनले २०७९ सालमा प्रकाशन गरेको पुस्तक हो यो । जसमा कृतिकारको ‘आत्मकथन’ शीर्षकले परम्परा धानेको छ । त्यसपछि २१ ओटा नियात्रासूची छन् । कुनै विज्ञको भूमिकाविहीन कृति सोझै विषयप्रसङ्गमा पस्छ र पाठकलाई तान्न थालिहाल्छ ।
वास्तवमा कृष्ण बजगाईं स्वभावैले, कर्मले, चेतले तथा कृत्यले यायावर हुन् । अनौपचारिक पनि थाहा भएकै कुरा हो कि उनी घुमिरहन्छन् र लेखिरहन्छन् । परिणाम स्वरूप ‘उमिहोतारू’ जन्मेको छ आफूभित्र जम्मा २१ ओटा नियात्राहरूको सङ्कथन गरेर । मूलतः साहित्यिक पर्यटनसँग सम्बन्धित कृति हो यो । साहित्यकारका घरहरू तथा उनीहरूले बाँचेको परिवेसको अध्ययन साहित्यिक पर्यटन हुन् ।
यात्राका दौरान उनी अमेरिकाको सिकागो सहरमा पुग्छन् र यसलाई बतासे सहर किन भनिएको भन्ने कुरा बुझ्छन् । संसारको सबैभन्दा तिब्र गतिको लिफ्ट चढ्छन र अनुभूति सँगाल्छन् । आकासमा रहेको बादलजस्तै देखिने गेटमा लोभिन्छन् । सेक्सपियरको नाटक नियमित देखाइने सेक्सपियर थिएटर बतासे सहर सिकागोमा हुनु अचम्म मान्छन् । बेलायतको क्याम्ब्रिज पुग्छन् । १८ सय वर्ष पुरानो मिडसार मेला अहिलेसम्म चलेको थाहा पाउँछन् । क्याम्ब्रिज आधुनिक फुटबल खेलको जन्मस्थान भएको जानकारी दिन्छन् र संसार प्रसिद्ध क्याम्ब्रिज विश्वविद्यालयतिर लाग्छन् । किङ्गस र क्वीन २ कलेजसहित जम्मा ३१ ओटा कलेज मिलेर क्याम्ब्रिज विश्वविद्यालय बनेको छ भन्छन् । क्याम्ब्रिज विश्वविद्यालयको पुस्तकालय संसारकै सबैभन्दा बढी कानुनी पुस्तकहरू सङ्ग्रह भएको पुस्तकालयको रूपमा मानिन्छ । ‘हामी असुरक्षित छौँ जलबायु रोकौँ’ भनी नाङ्गा महिला तथा पुरुषले गरेको अचम्मको विद्रोह देखेर परिवेसप्रति विद्रोही बन्छन् । क्याम्ब्रिजको इतिहास बारे जानकारी गराउँछन् । बेलायतमा गणतन्त्र स्थापना गर्ने क्रमवेलको टाउकोलाई फाँसी दिएको र क्याम्ब्रिजकै सिडनी ससेक्स कलेजले खप्पर चोरेर कलेजभित्र सम्मानका साथ समाधिस्त गराएको गजबको जानकारी पाठक माझ पस्किन्छन् ।
यो कृति पढ्दा अचम्म लाग्छ कि कसरी एकपटक संसारमै उपनिवेस बनाउन सफल बेलायत आफैँ झन्डै ४०० वर्षजति रोमन साम्राज्यको उपनिवेस बन्यो । बेलायती सहर र पुराना संरचना रोमन साम्राज्यका उपहार हुन् । त्यो बेला बेलायतका मान्छे मूर्तिपूजक थिए । युनेस्को विश्व सम्पदा सूचीमा रहेको क्यान्टरबरी क्याथड्रेल रोमनहरूले नै बनाएको चर्च हो । यहीँ क्याथड्रेल भित्रै आर्च विसप क्यान्टरबरी थमस बेकेटलाई निर्ममतापूर्वक मारिएको थियो । राजाले मार्न लगाएका थिए । थमस मारिएको ठाउँ नै अहिले तीर्थस्थल बनेको छ ।
नियात्राकार बजगाईं बेलायतमा योनि म्युजियम चियाउन पुगेका छन् । योनिसँग सम्बन्धित भएर हुने महिनाबारी तथा प्रजनन स्वास्थ्यबारे राम्रो जानकारी छ यो म्युजियममा । त्यसैले उनको एउटा नियात्राको केन्द्रीय विषय नै योनिसँग सम्बन्धित दर्शन हो । योनिसँग सम्बन्धित महिनावारीका बारेमा पूर्वीय तथा पाश्चात्य मान्यताका बारेमा जानकारी दिने अथाह भण्डार छ यो नियात्रामा । यहाँ सम्म कि नेपालको छाउपडीका बारेमा पनि सो म्युजियममा जानकारी तथा सूचनाहरू छन् । पढ्दा अचम्म लाग्छ । नेपाली भएकाले कुरिकुरि लाग्छ । वास्तवमा नेपालका मानिसमा योनि तथा महिनावारीका बारेमा चेत नभएको प्रष्ट हुन्छ ।
नियात्राकारले ग्रिनविचको काल्पनिक रेखामा पाइला राखेका छन् । त्यसको अनुभव सँगालेका छन् । ग्रिनविच भनेको समयलाई छुट्याउने एउटा आधार किला हो । समय छुट्याउने काल्पनिक रेखा याने कि प्राइम मेरिडियन रेखा हो । १३ अक्टोबर १८८४ मा संसारको मानक समय जिएमटी तय गरिएको थियो । चिनको साङ्घाइबाट अफिम ओसार्ने जाहाज त्यही कट्टी सार्क म्युजियममा राखिएको हेरेका छन् । तर अचम्म के भने त्यो कट्टी सार्क म्युजियममा चिनियाँ अफिम युद्धको कुनै सूचना छैन । इतिहासका पानामा नाम कमाएका एकदम पुरानो तर कुनै समय संसारको सबैभन्दा ठूलो टेलिस्कोप तथा सौर्य घडी र पानी घडी देख्दा नियात्राकार रमाएका छन् ।
पैसा तिरेर कुकुरको चिहानमा चार थोपा आँसु झार्न पुग्छन् । बेलायतमा रहेको हाइड पार्क नामले प्रचलित कुकुरको चिहानमा पुगेर कुकुरको बफादारितालाई हृदयाङ्गम गर्छन् । पाठकलाई अचम्म लाग्ने छ कि जब विदेशमा कुकुरलाई कुकुरकै चिहानमा बाइबलका श्लोक लेखिएको चिहान ढुङ्गा स्थापना गरेर विधिपूर्वक दाहसंस्कार गर्छन् । कुकुरको चिहानमा पुगेर मान्छेले आफ्ना दिवङ्गत कुकुरलाई समवेदना व्यक्त गरेको र धरधरी रोएको आफ्नै आँखाले देख्छन् ।
प्रजातन्त्रको जन्मस्थलमा पुगेर म्याग्नाकार्टा खोज्छन् । बेलायतको थेम्स नदीको किनारामा रहेको रन्निमिडको घाँसे चौरमा इङ्गल्यान्डका तत्कालीन राजा जोनले कानुनमा बाँधिन बाध्य भएको जमिनमाथि उभिएर प्रजातन्त्रको उद्घोष गर्छन् । संसारभर स्वतन्त्रता, मानवअधिकार र न्यायको प्रतीकको रूपमा रहेको छ म्याग्नाकार्टा । यद्यपि म्याग्नाकार्टामा राजा जोनले जमिन्दार र सामन्तका अधिकार सुरक्षित गरेका थिए । त्यसमा सर्वसाधारणको अधिकारको कुनै चर्चा थिएन । तथापि सर्वशक्तिमान राजाले निहुँरिएर म्याग्नाकार्टामा हस्ताक्षर गरेको ठाउँ थियो त्यो ।
बजगाईं यायावर भएर बिटल्स साङ्गितिक समुह जन्माउने बेलायतको ‘द क्याभर्न क्लब’ पुग्छन् । वास्तवमा यो क्लब पब हो । रक्सी भट्टी हो । साथीभाइ भेट्ने, महिला र पुरुषले जोडी खोज्ने तथा साङ्गितक वातावरणमा रमाउने थलो हो । बेल्जियमको एउटा यस्तै पबमा बसेर कार्ल माक्र्स तथा एङ्गेल्सले कम्युनिष्ट घोषणापत्र लेखेका थिए । रक्सी भट्टीमा विश्व हल्लाउने सिर्जना !
बिटल्सको नाममा खोलिएको म्युजियम हेर्न पुगेका नियात्राकार बिटल्सका केही गीतलाई बेलायतले प्रतिबन्ध लगाएको सम्झन्छन् । यसरी हेर्दा बेलायत परम्परावादी तथा सङ्कुचित भएको पुष्टि हुन्छ । बिटल्सका संस्थापकहरू भौतिक दुनियाँसँग वाक्क भएर भारतको ऋषिकेशमा पुगेर कही समय बिताएका थिए । ह्यारिसन त हिन्दु धर्मावलम्बी भएका थिए । बिटल्सका चार युवा जोन लेनन, जर्ज ह्यारिस, रिङो स्टार, र पल मेकार्टनीले बिटल्सलाई त्यो उचाइमा पुर्याए । उनीहरूको जीवनका बारेमा स्थापना गरिएको सो म्युजियममा उनीहरूको सालिक देखेर नियात्राकार छक्क पर्छन् ।
नियात्राकारको यायावरीय निसानामा लन्डनमा शरणार्थी भएका फ्रायड पनि परेका छन् । बिसौँ शताब्दीका एकदम प्रभावशाली तर विवादास्पद व्यक्तित्व डा सिग्मन्ड फ्रायडको जन्म चेक रिपब्लिकको प्रिबोर सहरमा भएको सूचना मात्र होइन, उनका नियात्रामा फ्रायडको जीवनी तथा देनको फेहिरिस्त नै पढ्न पाइन्छ । यहुदी परिवारमा जन्मनु फ्रायडको लागि दुर्भाग्य थियो । यहुदीहरूप्रति नाजीको अत्याचार भएपछि ज्यान जोगाउन छोरीसहित शरणार्थी भएर लन्डन आए फ्रायड । आएको एक वर्षपछि सन १९३९ मा फ्रायडको निधन भयो । सोही निवासमा उनकी छोरी आन्ना फ्रायडको निधन भएपछि सन १९८२ मा सोही घरलाई फ्रायडको सम्मानमा म्युजियम बनाइयो । फ्रायडले यौन, मन, सपना जस्ता विषयमा पहिलोपल्ट तार्किक र रोचक कुरा पत्ता लगाएका थिए । जसले फ्रायडका बारेमा पढेका छैनन् तिनलाई यो आलेख अचुक औषधी हुन्छ ।
प्रसिद्ध कवि डिएच लरेन्स (१८८५—१९३०) को नाममा बनेको म्युजियम घर हेर्न पुग्छन् । कोइलाखानीमा कामगर्ने मजदुरको चौथो सन्तानका रूपमा जन्मिएका लरेन्स शिक्षक पेसा त्यागेर पूर्णकालीन लेखक बन्छन् र ख्याति कमाउँछन् । विदेशमा त्यो बेला देखिनै लेखेर बाँच्न सकिने समय रहेछ भन्ने कुरा पाठकलाई बोध हुन्छ । भित्र पस्दा वृत्त चित्र देखाइरहेको तथा म्युजियमभित्र उनको ओड्ने ओछ्याउने टेबुल कुर्सी, भान्सा भाँडाकुँदा दुरुस्त सुरक्षित राखिएको देखेर दङ्ग पर्छन् । लेखनमा उनी कामुकतालाई प्राथमिकता दिन्थे । उनको ‘द रेन्वो’ नामक उपन्यासलाई अस्लिल भनेर खुवै आलोचना गरिएको थियो । उनको ‘लेडिज चार्टलिज लभर’ उपन्यास त बेलायतमा १९६० सम्म प्रतिबन्ध मै थियो । अहिले देखिएको बेलायती खुला समाज त्यो बेला कति सङ्कुचित रहेछ भन्ने प्रमाण लरेन्स थिए । त्यस बेलाको समाजमा परस्त्री परपुरुषको सम्बन्ध, सेक्स र प्रेमको बारेमा खुलेर लेख्ने उनी साहसी लेखक हुन् ।
साथीभाइसँग खासै घुलमिल हुन नसक्ने लरेन्सको श्रीमती फ्रिडा नै सर्वस्व थिइन् । श्रीमती जर्मन नागरिक भएकाले उनलाई जर्मनहरू बेलायतको जासुस ठान्थे, बेलायतले जर्मनीको । यस्तो पीडा खेपेर बेलायत छोडेर उनी युरोपका अन्य देश चाहार्न थाले स्थायी बस्न । तर ४४ वर्षको उमेरमा फ्रान्समा उनले देह त्याग गरे । उनी अभागी लेखक थिए जसको दाहसंस्कारमा १० जाना मात्र थिए ।
निधनपूर्व लरेन्सलाई पोर्नोग्रफी लेख्ने लेखक भनेर खुब आलोचना गरिन्थ्यो । तर निधनपछि भने तिक्ष्ण बुद्धि तथा कल्पनाशीलता भएका प्रसिद्ध आख्यानकार भनेर सम्मान दिइयो । उफ !
बजगाईं बेलायती गाउँमा बेलायती कवि कुपरलाई खोज्न पुग्छन् । उनको नामको म्युजियम हेर्न पुग्छन् । कुपरले बिताएको त्यो ओल्नी गाउँको सुन्दरता देखेर छक्क पर्छन् । कुपरका कवितामा प्रकृति र गाउँको जीवन्त चित्रण पाइने कारण पत्ता लगाउँछन् । म्युजियममा कवि कुपरले प्रयोग गरेका जिन्सी सामानहरू जस्ताको तस्तै संरक्षण गरिएको देखेर नेपालमा मान्छे मरेपछि उसका चिनो सबै फाल्ने प्रचलनप्रति चिन्तित बन्छन् । कुपरका चिठीपत्रसमेत संरक्षित भएको देख्छन् । कुपरसँगै न्युटनको पनि स्मृति छ म्युजियममा । ती न्युटन वैज्ञानिक न्युटन होइनन् । जोन न्युटन जो अफ्रिकाबाट मानव तस्करी गर्थे । मान्छेलाई साङ्लाले बाँधेर जहाजमा हालेर कोचेर ल्याइन्थ्यो । उनै तस्कर न्युटन पछि आफैँ दासमुक्तिको आन्दोलनमा लागेको अभियन्ता भए । उनको सम्झना पनि गरेको छ म्युजियमले । समयको खेल !
बजगाईं रोममा पुग्छन् र ‘किट्स—सेली ममोरियल हाउस’ देख्छन् । कवि जोन किट्सले आफ्नो चिहानस्तम्भमा ‘यहाँ एकजना हुनुहुन्छ जसको नाम पानीमा लेखिएको थियो’ मात्र लेख्ने विचार व्यक्त गरेका कुरा देख्छन् । अचम्म ! कवि जोन किट्स र सेलीको नाममा स्थापना गरिएको म्युजियम ‘किट्स—सेली मेमोरियल हाउस’ इटालीमा । उक्त निवासमा कवि किट्स मात्र एक वर्षजति बसेका थिए ।
यो देखेपछि बजगाईं बेलायतमा किट्स हाउस खोज्छन् । स्वामित्व परिवर्तन भएका कारणले घरधनीले सो घर भत्काएर नयाँ घर बनाउन खोजेका कारणले किट्सका प्रशंसक तथा स्थानीय जनताले विरोध गरेर सो म्युजियमको निर्माण गरेका रहेछन् । यो हाउसमा कवि किट्स जम्मा दुई वर्ष भाडामा बसेका थिए । यही घरमा रोमान्टिक कविता लेखे तथा प्रेममा परे । उनको एउटा प्रेमपत्र एक करोड त्रिचालिस लाखमा लिलाम भयो । चिकित्सा शास्त्र अध्ययन गरेर केही वर्ष सोही काम गरेपछि उनी पूर्णकालिक लेखक भए । विडम्बना किट्स जिवित छँदा उनका कविता खासै मन पराइएन । उनको मृत्युपछि सर्वाधिक चर्चामा आयो ।
कवि किट्सलाई क्षयरोग लाग्यो । अनि डाक्टरको सल्लाहअनुसार उनी इटाली सरे । र इटालीमै विसिर्जित भए । तर अचम्म जम्मा ५४ वटा कविता लेखेर संसारभरि प्रसिद्ध भए ।
बजगाईं मिल्टन्स कटेजमा गणतन्त्रवादी कवि खोज्न पुग्छन् । याने कवि जोन मिल्टन (१६०८—१६७४) को नाममा बनेको म्युजियम घुम्न पुग्छन् । ‘पाराडाइज लस्ट’ जस्तो विश्वप्रशिद्ध कृति लेखेर चर्चित भए । तर अचम्म यो कृति लेख्ने बेलासम्म उनी दृष्टिविहीन भइसकेका थिए । उनी भन्ने अरू मान्छेले लेख्ने गरेर विश्वप्रसिद्ध कृति जन्मेको हो । राजतन्त्रको बिरुद्धमा आवाज उठाएर गणतन्त्रको पक्षमा लागे । माहामारीबाट बच्न गाउँ चाफल्स सेन्ट जायल्स सपरिवार गएका थिए । कवि मिल्टन १८ महिनासम्म भाडामा बसेको घर नै म्युजियममा रूपान्तरण गरिएको हो । नियात्रामा बजगाईँले कवि मिल्टनका बारेमा ज्यादै धेरै तथ्य प्रस्तुत गरेका छन् ।
‘यदि महिलाले उपन्यास लेख्नु छ भने उनीसँग पैसा र आफ्नो बेग्लै कोठा हुनु पर्छ’ भन्ने विचार राख्ने लन्डनमा जन्मिएकी विश्वप्रसिद्ध उपन्यासकार भर्जिनिया उल्फ दम्पतीको निवास मङ्क हाउस अहिले म्युजियम बनेको छ । औपचारिक शिक्षा नलिएकी भए पनि स्वाध्यायनले गर्दा उनी कलेजमा लेक्चर दिन्थिन् । उनलाई बाइपोलर डिस्अर्डर नामक रोग थियो । सौतेनी दाजुहरूले उनको लामो समयसम्म यौन शोषण गरेको कुरा आफैँले लेखेकी छिन् । उनी ब्लुम्सबरी साहित्यिक समुहकी सदस्य थिइन् । उनले खुला रूपमा समलिङ्गी, नारीवाद, शान्तिवाद, कामुकता लगायतका कैयौँ सामाजिक राजनीतिक मुद्दा उठाइन् । लैङ्गिक हिसाबले उनी बाई सेक्सुअल थिइन् । श्रीमान् हुँदाहुदै उनले स्याकभिल वेस्ट नामक लेखिकासँग प्रेम तथा यौन सम्पर्क राख्थिन् । तर श्रीमानसँग उनको राम्रो सम्बन्ध थियो । घरको पछाडि राइटिङ लज नामक झुप्रो थियो । यही बसेर उनले विश्वप्रसिद्ध उपन्यास ‘मिसेज डालवथ’ लेखेकी थिइन् ।
नियात्राकार बजगाईं विश्वप्रसिद्ध कवि वर्ड्सवर्थको जन्मस्थलमा पुगेका छन् । कविको रोमान्टिक मन भित्र चियाएका छन् । वर्ड्सवर्थको जन्मस्थान जाने बाटो नेपालको जस्तो प्राकृतिक भएकाले बेजोड रमाएका छन् । ग्रासमेर कवि विलियम वर्ड्सवर्थको जन्मस्थान हो । यहीँको लेक डिस्ट्रिक्टमा कवि वर्ड्सवर्थले अर्का कवि सेम्युअल टेलर, कोलारिज तथा रोबर्ट सुथेसँग मिलेर डोभ कटेजमा बसी अङ्ग्रेजी साहित्यमा रोमान्टिक तथा स्वच्छन्दतावादी युगको सुरुवात गरे । डोभ कटेजमा वर्डसवर्थ तथा उनकी बहिनी सँगै बस्थे । उनले बिहे पनि त्यही घरमा गरे । घर सानो भएर अर्को घरमा सरेपछि तयो घर याने डोभ कटेजलाई म्युजियम बनाइयो । यो साहित्यिक तीर्थस्थलका रूपमा संसारभर प्रसिद्ध छ । उनी महिलाका सान्निध्यमा रहेका हुन्थे र उनका कृतिमा महिलाको प्रभाव देखिन्छ । उनको आफ्नै बहिनी डोरथीसँगको यौनसम्बन्ध रहेको कुरा बताइएको छ । कवि वडर््सवर्थ हिँड्ने गरेको बाटोलाई विलियम ट्रेलमा रूपान्तरण गरिएको र साहित्यिक पर्यटन केन्द्र निर्माण गरिएको छ । ७ अप्रिल, १७७० मा जन्मेका वर्ड्सवर्थको ८० वर्षको उमेरमा १८५० मा मृत्यु भयो र चर्चको कम्पाउन्डमा समाधिस्त गरियो । यो ठाउँ अहिले संसारमा सबैभन्दा बढी अवलोकनकर्ता आउने साहित्यिक समाधिस्थल हो ।
नियात्राकार बजगाईं जापानमा चारदिने साहित्यिक कार्यक्रममा भाग लिन पुग्छन् । टोकियो एयरपोर्टमा पुग्दा प्रकाश पौडेलले स्वागत गरेको कुरा नबिर्सि भन्छन् । प्रसिद्ध निबन्धकार शंकर लामिछानेले २०१९ सालमा नेपालमा हाइकु भित्र्याएको प्रसङ्ग झिकेका छन् । तीन लाइनमा लेखिने सत्र अक्षरको सूक्ष्म कविता हाइकुले पार्ने प्रभावका बारेमा नियात्राकार विज्ञ छन् । यसैगरी जापान भ्रमणका दौरान साहित्यिक भलाकुसारी आफ्नै नियात्रासङ्ग्रह दाइबुचुको विमोचनको चर्चा गरेका छन् ।
जापानको सबैभन्दा पुरानो सेन्सोजी बुद्ध मन्दिरमा पुग्छन् र किमोनो गर्ल अथवा किमोनो नामक विशेष लुगा लगाएका केटीहरूलाई पनि देख्छन् । मान्छेले तान्ने रिक्सा देख्दा अचम्मित हुन्छन् । जापानको पुरानो सिन्तो धर्म तथा बुद्ध धर्मको समीश्रणका रूपमा रहेको यो मन्दिरमा दर्शन गर्नु अघि मन्दिरअगाडि राखिएको पानीबाट कुल्ला गरेर तथा अगरबत्तीको धुवाँले पनि पवित्र हुने परम्परा छ । सेन्सोजी मन्दिर दोस्रो विशवयुद्धमा अमेरिकी बमबारीका कारणले ध्वस्त भएको थियो । त्यसपछि पुरानौ शैलीमा मन्दिर निर्माण गरियो ।
जापानमा रहँदा प्रसिद्ध जापानी उपन्यासकार नात्चुमे (१८६७—१९१६) सम्बन्धित म्युजियम हेर्न पुग्छन् । नात्चुमे आफ्ना मातापिताको अवान्छित सन्तान थिए । र एक निसन्तान दम्पतीलाई जिम्मा लगाएका थिए । तर ९ वर्षको उमेर हुँदा ती दम्पतीले पारपाचुके गरेकाले उनी आफ्नै आमाबाबुको घर फर्केका थिए । उनको आई एम अ क्याट उपन्यासले उनलाई लोकप्रिय बनायो । बोच्यानले उनलाई शिखरमा पुर्यायो । उनको नाममा म्युजियम बन्योे । उनको तस्बिर जापानी नोट येन १००० को येनमा राखिएको छ । म्युजियमको पछाडि बिरालोको चिहान तथा उनको अद्र्धकदको सालिक पनि हेरेका छन् ।
जापानमा उनी पहाडको टुप्पोदेखि समुद्रमुनिसम्म पुगेका छन् । ओनिगिरी भनिने भातको पिण्डजस्तो डल्लो खाजा खाएका छन् । युकियो मिसिमा (१९२५—१९१७) जस्ता ख्यातीप्राप्त लेखकको बारेमा बुझेका छन् । नोबेल पुरस्कारका लागि ३ पल्ट मनोनित भएर पनि नपाएका अभागी लेखक युकियो मिसिमा राजनीतिक कारणले हाराकिरी (धारिलो तरवारले आफ्नो पेट चिरेर आत्महत्या) गरेर दिवङ्गत भए । बजगार्इँ हाइकु म्युजियममा पुग्छन् । समुद्रमुनि ४ लेनका सडकमा गाडी सरर कुद्दाको आनन्द मान्छन् । उमिहोतारू टापु पुग्छन् र उमिहोतारूको अर्थ सामुद्रिक जूनकिरी भएको अन्तर्य खुलाउँछन् ।
सपनाको सहर टोकियोमा मोनोरेल चढ्छन् । मोनोरेल नेपाली जनतालाई नेताहरूले देखाउने गरिएको सपना हो । स्काइबसबाट टोकियोको फन्को मार्छन् । जापानी सम्राटको इमपेरियल प्यालेसको दर्शन गर्छन् ।
यसपछि पैदल यात्रामा निस्कन्छन् । साथमा प्रा. राम कुमार पाण्डे, सुषमा ओमाता (टोकियो विश्वविद्यालयकी अध्यापक) हुन्छन् । शान्तसँग ध्यानमा बसेजस्तो निप्पोनजान म्योहोजी बौद्ध मन्दिर पुग्छन् । यो बौद्ध मन्दिरमा नेपाली रमा खड्का सँगको भेटले यात्रामा रोमाञ्चकता ल्याउँछ । त्यहाँ गणेश भगवानको मूर्ति देख्छन् । शाक्य मुनि तथा प्रभुतरन्त बुद्धको मूर्ति देख्छन् । अर्को मन्दिर यासुकुनी जिन्जा अर्थात् सिन्तो मन्दिर पुग्छन् । सिन्तो धर्ममा पितृ पूजाले आशिर्वाद प्राप्त हुन्छ भन्ने विश्वास गरिँदो रहेछ ।
यो यासुकुनी जिन्जा जापानी सेना र युद्धमा मारिएका २४६६५३२ जना व्यक्तिहरूको आत्माप्रति समर्पित छ । जापानका युद्ध अपराधीलाई पनि यहाँ समावेश गरिएकाले यो विवादास्पद पनि छ ।
नियात्राकार कृष्ण बजगाईं नेपाली नियात्रा साहित्यमा घच्चीका स्रष्टा हुन् । बेलायतलाई मुकाम बनाएका बजगाईंले नियात्रा लेखनमा उचाइ बनाएका छन् । र, उनको निजत्व शैली नै नियात्रामा विकास भइरहेको छ । यसकारण उनका नियात्रामा अनेकन विशिष्ट विशेषता विद्यमान छन् ।
सर्वप्रथम त कृति तथा नियात्राका पाठ शीर्षकहरू नियात्रात्मक छन् । तिनले यात्रा बुझाउँछन् । यो ज्यादै महत्त्वको विशेषता हो । नेपालीहरूले विदेश भ्रमण गर्दा सामान्यतया अनुभूत हुने कुरा भनेको विदेशका विविध पक्षसँग नेपाललाई सम्झने, नेपालको तुलना गर्ने शैली हो । नियात्राकार बजगाईँ पनि विदेश यात्राका दौरान नेपाल सम्झन्छन् । कल्पिन्छन् । र, दुःखी बन्छन् । नियात्राकृतिभरि सिकागोको जस्तो आधुनिक र चरम भौतिक विकास नेपालमा कहिले ? अमेरिकाका १९ शताब्दी र नेपालका २१ शताब्दीका नेताहरू हावादारी गफ दिने, नेपालमा नदी तल माथि गाउँ सुक्खाको नियति किन ? फ्रायडको लन्डनमा शरणार्थी जीवन र नेपालका भुटानी शरणार्थीको अवस्थाको तुलना गर्दै नियात्रा तुर्छन् ।
उनका यात्रा कैरनमा चित्रात्मकता देखिन्छ । कुनै ठाउँबाट देखिएको मनोरम दृश्यलाई चित्रमा झैँ शब्दमा उतार्छन् । स्थान अनुभूति वर्णन गर्ने शैली उम्दा छ । विलेस टावरबाट देखिएको सिकागो सहरको चित्रलगायत अन्य धेरै वर्णनहरूमा चित्रात्मक शैली पाइन्छ ।
बजगाईंको विशिष्ट क्षमता भनेको भाषालाई खेलाएर पाठकलाई तरङ्गित पार्ने हो । सरल, स्तरीय र बोधीय शब्द÷वाक्य प्रयोगले कृतिमा सुन्दरताको लेप लगाउनु उनको लेखनीको वैशिष्ट्य हो । सुन्दर र सम्पे्रष्य भाषामा यात्रागन्तव्यका बारेको आवश्यकताअनुसार सामाजिक, सांस्कृतिक, ऐतिहासिक तथा पर्यटकीय सत्यतथ्यको प्रखर सूचना प्रदान गर्नु नियात्राकारको अभिध्येय देखिन्छ । त्यसकारण यो पूरै नियात्रासङ्ग्रह सुन्दर ज्ञानको भण्डार भएको छ । यति धेरै सूचनामूलक ज्ञानका खात छन् कि यदि नपढी एक पाना मात्र पल्टायो भने केही न केही ज्ञानमूलक सूचना पनि पल्टिन्छ ।
नियात्रामा नियात्राकारको निजात्मकता जुन रूपमा अब्बल हुन्छ, कृति पनि त्यही रूपमा सुन्दर र स्तरीय हुन्छ । बजगाईंका नियात्रामा सबैभन्दा महत्त्वपूर्ण विशेषता भनेको नियात्राकारको निजत्वमा अब्बलता नै हो । प्रकृतिका मनोरम दृश्यको सुन्दर र संक्षेप शैलीमा चित्रण नियात्राको विशेषता रहेको छ । कवि किट्सलगायत अन्य साहित्यकारहरूको नाममा बनेका बगैँचाको प्रकृतिको चित्रणलाई उदाहरण मान्न सकिन्छ ।
दृश्यात्मकता बजगाईंका नियात्रामा पाइने अर्को विशेषता हो । सिनेमा हेरेको जस्तो घटना तथा परिवेसका दृश्यहरू उनका नियात्रामा कैद गरिएको हुन्छ । मानौँ फोटोग्रफी हो नियात्रा । यसरी नियात्रामा दृश्यात्मकता हाल्दा कोरोना मनोविज्ञानले सिर्जिएको समामाजिक दुरीलाई उजागर गरेको पाइन्छ । कोरोनाले अर्थतन्त्रमा पारेको प्रभाव यसको अर्को पाटो भयो ।
बजगाईंका नियात्रा पढ्दा लाग्छ कि उनी गन्तव्य स्थलका बारेका रिसर्च गरेर नियात्रा तयार पार्छन् । यसो भएकाले उनका नियात्रामा सूचना व्यापक रूपले प्रवाह गरिएको पाइन्छ । त्यसैले उनका नियात्रालाई बौद्धिक नियात्रा भन्न सकिन्छ । गन्तव्य विषयका बारेमा चिन्तनमनन गरेर सोको सार प्रस्तुत गरिएको जस्तो लाग्छ । त्यसैले उनी आफ्ना नियात्रामा आख्यानमा झैँ परिवेसको निर्माण गरी कल्पनाशीलताको जलप लगाउँछन् । यो शैली ज्यादै महत्त्वपूर्ण छ ।
उनका नियात्रा पढ्दा नेपालीहरूको यात्रामा हतार गर्नुपर्ने परिदृश्यगत विशेषता पनि देखिन्छ । किनकि नेपालीको पर्यटन भनेको तीर्थाटन हो र त्यसको विशेषता भनेको दर्शन गर्ने सांस्कृतिक तथा धार्मिक मान्यता हो । यस्ता खाले मान्यतामा गन्तव्यस्थलको दर्शन गर्न पाए पुगिहाल्छ । बजागार्इँले यो कृतिमा आफू साहित्यिक पर्यटनमा ज्यादै रमाएको कुरा लेखेका छन् । तर हतारो छ । विश्वप्रसिद्ध कवि, लेखकको नाममा स्थापित म्युजियम उनका गन्तव्य बनेका छन् । यसरी अन्तर्राष्ट्रिय साहित्यिक व्यक्तित्वका बारेमा यात्रा तथा अध्ययन गरेर नियात्रा लेखिनु निसन्देश महत्त्वपूर्ण कुरा हो । स्तुत्य कुरा हो ।
नेपाली नियात्रा लेखकहरूले आफ्ना व्यक्तिगत कुराहरू जसले पाठकलाई दिक्क लगाउँछ, लाई पहिलो प्राथमिकतामा राखेका हुन्छन् । तर बजगाईँका नियात्रामा यस्ता व्यक्तिगत कुराहरू छैनन् । नियात्रा प्रस्तुति सोझै विषयवस्तु तथा सत्यतथ्य सूचनामा पुगिहाल्छन् । यसले गर्दा बजगाईंका नियात्राहरू बोझिला तथा झन्झटिला छैनन् । उनका नियात्रा अत्यन्त विशेषताले युक्त छन् र देशविदेशमा चर्चाका शिखरमा छन् । प्रमुख कुरा भनेको उनका नियात्राको गहिराईबाट पाठकले कति उधिन्न सक्ने हो भन्ने कुरा प्रधान हो ।
माथि विशेषतामा नै भनियो कि उमिहोतारू नियात्रासङ्ग्रह बौद्धिक ज्ञानको अस्मेल खुराक लिएर आएको छ, त्यसमा कसैको दुई मत हुँदैन । कम्तीमा म एउटा पाठकका हैसियतमा यी नियात्राहरूलाई बौद्धिक तथा भाव प्रदायक नियात्रा हुन् भन्न अनुकूल ठान्छु । तथापि ‘उमिहोतारू’ भित्रका नियात्रात्मक निबन्धलाई दिमागका मान्द्रामा बिस्कुन लाएर हेदै छु । मेरा दिमागमा केही सैद्धान्तिक केही विषयगत केही प्राविधिक विषयले उटपट्याङ खैलाबैला मच्चिएको छ । र, खासमा नियात्रा भनेको के कस्तो लेखाइ हो भन्ने विषयमा रणभुल्लतामा छु । सायद आफ्नै अल्प ज्ञानी भयङ्करीका कारणले त्यस्तो भएको हुन सक्छ ।
मैले एउटा पाठक भएर बुझ्दा नियात्रा भनेको पनि यात्रा साहित्य नै हो । यात्राका संस्मरण, टिपोट, खर्चपानीका हिसाब, गन्तव्यको कैरन आदि सबै यात्रासाहित्य हो । यी कुराभन्दा बाहेक आलेखमा जब नियात्राकारको निजत्वको प्राध्यान्न हुन्छ, तब नियात्रा हुन्छ । यसो भएपछि नियात्रामा यात्रा कैरन, गन्तव्यको महत्त्व याने त्यसको सत्यतथ्य सूचना तथा नियात्राकारको निजत्वसमेत समावेश भएको निबन्ध नियात्रा हो । अथवा नियात्राकारको यात्रासँग सम्बन्धित निजत्व भएको आलेख नियात्रा हो । यात्रा भन्नु कुनै स्थानविशेषको आकर्षणको कारण याने एट्रयाक्सन, त्यो गन्तव्यको पहँुचको नालीबेली याने एसेसिबिलिटी, यात्रा गरिएको स्थानमा बासको व्यवस्था याने अकोमोडेसन तथा गन्तव्यको महत्त्वबाहेक त्यहाँ प्राप्त प्राकृतिक तथा कृत्रिम मनोरञ्जनका साधन याने एमेनिटिजसमेत समावेस हुनु पर्ने हो । तर प्रस्तुत गरिएका अधिकांश नियात्रामा अकोमोडेसनको आवश्यकता नै परेको छैन तथापि एमेनिटिजलाई पनि इग्नोर गरिएको महसुस हुन्छ । याने यात्राका एउटा महत्त्पूर्ण कारण मनोरञ्जन पनि हो । कृतिभित्र मनोरञ्जनको पाटो गौण भएको हो कि जस्तो लाग्छ । यसैगरी यात्रामा कोको ?, कहाँ, कसरी, कहिले, किन ? भन्ने पाठकको जिज्ञाशालाई पनि शान्त पार्न सकेको भए हुन्थ्यो भन्ने लागेको छ ।
कतिपय नियात्रा बुझ्न कृतिभित्रकै अर्को नियात्राको परिवेस बुझ्नुपर्ने हुन्छ । उपन्यासमा झैँ नियात्राका पाठहरू अन्तरसम्बन्धित भएर आएका छन् । यसरी हेर्दा निबन्धमा हुनुपर्ने पूर्णता कतिपय नियात्रामा छैन । कृतिभित्रका नियात्राहरू कृतिकार बजगाईँका निजात्मक निबन्धका शैलीमा छन् । निजात्मक निबन्ध र नियात्राको फरक अनुभूत हुन्छ । क्याम्ब्रिजका बारेमा लेखिएको तथा म्याग्नाकार्टाको कुरा पनि निजात्मक निबन्धजस्तो लाग्छ । प्राय नियात्राहरू गन्तव्य स्थलमा पुगेपछि वा पुग्नै लागेपछि सुरु हुन्छन् । घरबाट निस्केर त्यहाँसम्म पुगुन्जेलको गतिमयतालाई नियात्रामा त्यति महत्त्व दिइएको देखिँदैन ।
त्यसो त कृतिको शीर्षककै कुरा गर्ने हो भने पनि कृतिभित्र बेलायतसँग सम्बन्धी १४, जापानसँग सम्बन्धित ६, अमेरिकासँग सम्बन्धित १ नियात्रा छन् । तर कृति शीर्षक भने जापानी जूनकिरीको नाम ‘उमिहोतारू’ छ । पाठकको दिमाग रन्थनिन सक्छ कि यस्तो कृतिशीर्षकले समग्र नियात्रालाई कसरी प्रतिनिधित्व गर्न सक्छ होला । वा यसो भनी पाठकले चित्त बुझाउनु पर्ने होला कि शीर्षक राख्नु एउटा प्राविधिक कुरा मात्र हो । जसरी राखे पनि भयो ।
कतिपय नियात्रामा यात्रा गरेको मिति तथा समयलाई महत्त्व दिइएको छैन । अर्कोतिर फ्रायडको बारेमा म्युजियम हेर्दा भविष्यमा हुन लागेको मानिसको सपनाको भिडियो रेकर्ड गर्ने प्रविधि आउन लागेको चर्चाले महत्त्व पाएको छ ।
कुनैकुनै यात्रामा नियात्राकारसँग अन्य व्यक्ति पनि सँगै यात्रा गरेको देखिन्छ । तिनको संक्षेपको नाम उल्लेख त छ, तर तिनको परिचय तथा भूमिका बारे नियात्रामा उल्लेख गरिएको छैन । यद्यपि यो प्राविधिक समस्या हो । कृति एकदम मानक शुद्ध छैन । वर्ड्सवर्थ को हिज्जे फरक फरक पानामा फरक फरक छ । प्रोफेस्नल प्राडा गङ्गा प्रसाद अधिकारीले पनि हतारमा सम्पादन गरेको देखिन्छ । विषयसूचीमा र भित्र पाठमा नियात्रा रखाइको क्रममा फरक परेको छ । विषयसूचीमा सेन्सोजी मन्दिरमा किमोनो गर्ल १४९ पृष्टमा उल्लेख भएको छ भने पाठ चाहिँ १५८ पृष्टमा छ । यसैगरी उपन्यासकार नात्चुमे र जापानी बिरालो शीर्षकमा पनि यस्तै फरक भएको छ । हुनत प्राविधिक कुरा मात्र हो ।
नियात्रामा टोकियोको रुन्चे झरीको सम्झना आइरहेछ घरीघरी बाट सुरु भएको छ । आज दिनभर मोनोरेल, रेल, स्काइबस र पैदल यात्रा हुनेछ’ कुन दिन हो त्यो ? भन्ने जानकारी पाठकले पाउने छैनन् ।
वास्तवमा नियात्राहरू प्राध्यान्न कुरा भनेको गन्तव्यस्थलको सत्यतथ्य कैरन तथा त्यसमा नियात्राकारको निजात्मकता हुन् । छन् । नियत्राकारको निजात्मकता सहज र सामान्य छन् । पाठमा अन्तरनिहीत ज्ञानका भण्डारले नियात्राकारमा पारेको निजत्व प्रभाव सामान्य नै छ । ती प्रभावलाई दार्शनिक बनाएर मानवीय जीवनसँग जोड्न सकिएको भए झन् सुन्दर हुन्थ्यो जस्तो लागेको छ ।
अब मैजारोमा छु । मेरो आफ्नै भनाइलाई यदि एक हरफमा भन्ने हो भने नियात्राकृति ‘उमिहोतारू’ भित्रका कुनै हरफ छोडेर पढियो भने एउटा न एउटा तथ्यगत सूचना पनि सँगै छोडिन्छ । जीवनोपयोगी सादृश्य हराउँछ । त्यसैले सारमा भन्नुपर्दा सत्यतथ्य ज्ञानको गाडधन भएको छ कृति । पाठकले जति उधिन्यो त्यति जिनिस फेला पार्ने हो । विश्वप्रसिद्ध कवि÷लेखक÷साहित्यकारहरूको बारेमा यति सहज र धेरै जानकारी दिने संक्षिप्त पुस्तक अरू नहोला भन्ने ठान्छु । तिनका जीवनले मान्छेका जीवनमा फालेको पराकम्प नै यति सुन्दर छ कि तिनको चिन्तनमनन मात्रले पनि जीवनले गोरेँटो पत्ता लगाउँछ ।
त्यसो त नियात्राकारको आफ्नै कथन छ कि यात्रामा पहाड, झरना, पार्क समुद्र आदिमा रमाउनुभन्दा इतिहास, कला संस्कृति, साहित्य आदिको खोजीनिति गर्न निस्कँदा बढी आनन्दित हुने गरेको छु । यस्ता यात्रामा मनोरञ्जन र आनन्दभन्दा पनि ज्ञान प्राप्तिको अभिलाषा हुन्छ । यसो भएकाले नियात्राकार बजगार्इँको नियात्राको प्रयोजन नै ज्ञान सङ्कलन तथा सङ्कथन हो । साहित्यिक पर्यटन हो । विश्व इतिहासका ससाना कुरा खोज्दै हिँड्ने अभिप्राय हो ।
यसो भएकाले उनका नियात्रामा खानपीन, रमाइलो, भेटाघाटबाट आउने आनन्द आदिको मात्रा कम छन् । त्यसो त नियात्राकार यात्राका क्रममा रसिक पनि देखिएका छन् । सायद प्राकृतिक कुरा भएर पनि होला । त्यसैले उनी भन्छन् — मानिसका भिडभाडमा देखिएका जापानी सुन्दरीहरूले मेरो मन जिते । ग्लामरले भरिएको गिन्जामा मेरा नजर नाच्न थाले ।
नियात्राहरूलाई मिहीन तरिकाले स्वाद लिँदै पढेँ । एउटा कुरा त मलाई पनि लाग्छ कि वास्तवमा मान्छेले जीवनका सबै पाटा मिलाउँछु भन्दा केही मिल्दैन । उसले न चिची पाउँछ, न पापा । जुनी त्यसै खेर जाने नै हो मिलाउँछु भन्नेहरूको । त्यसैले यो कृतिभित्र जति पनि कवि लेखकको बारेमा पढिन्छ, उनीहरूको व्यक्तिगत जीवन पीडादायी, नमिलेको तथा विपर्यास देखिन्छ । सङ्घर्षशीलता देखिन्छ । तिनका विचार तथा आदर्शले पाठकको मन हल्लाइदिन्छ । विदेशमा नाम चलेका कविका घरहरूलाई कविलेखककै स्मृतिमा म्युजियम बनाइएको कुरा नियात्राभरि जताततै छन् । हाम्रो नेपालमा बल्लबल्ल महाकवि देवकोटाको घर म्युजियम भएको छ । त्यसैले यो कृति यस विषयको एउटा अभियान पनि हो । याने साहित्यिक पर्यटनको अभियान हो ।
अब पुछारमा, कृति अति वलशाली छ । आकारमा संक्षेप छ तर गुणमा वृहत् छ । ती गुणलाई पर्गेल्ने पाठकको हुट्हुटी र अन्तर्य शिल्पमा आएर कृतिमहत्ताको इक्विलिब्रियम बन्ने हो । नियात्राकार बजगाईं यो कृतिमाथि आफ्नो पाठकीय अवधारणा यत्ति राखेँ । कृतिकारलाई अर्को कृतिको शुभकामना ।
सान मार्कोस, अमेरिका