वीरेकी आमा समर बिड़ी खुब खान्थी। पाउँदा बङ्गालीबिँड़ी पनि उत्तिकै खाने।
'आमालाई क्यानसर लागेको छ' भन्थ्यो वीरे। तीन वर्ष नभई मृत्यु भयो धनमतीको।
'लाश उठाउने पैसा काँबाट निकाल्नु?', वीरेलाई ठूलै चिन्ता थियो।
भोलिपल्ट गाउँलेहरूले कर्जो टारिदिए। धनमतीको मलामी निकाल्दैगर्दा डीबी सर ''मिटिङ लेट' भयो', भन्दै कान्छाको हातमा लिफा पठाइदिए। कान्छा अर्थात कमारो। डीबी सरको घरमा काम गर्ने।
+++
हप्तादिनपछि ठूलदाइको जेठो छोरो अचानक खस्यो।
डीबी सर चाहेर पनि जान सकेनन्। कान्छाको हातमा लिफासँगै खबर पठाए- 'केही परे वीरेले भेटोस्'।
+++
केहीदिनपछि माझगाउँकी जन्तरी खसिन्।
भोलिपल्टै पुछारघरे न्यौपाने साइला पनि गयो।
दुई हप्तापछि आकु खस्यो।
त्यही बेलुका माइला बाङा पनि घरको छतबाट झरेर 'स्पट देथ' भयो।
+++
आफू नभ्याएपनि डीबी सरले कसैलाई छुटाएनन्। कान्छाको हातमा सबैलाई लिफा पठाए। सबैलाई खबर पठाए - 'केही परे म छु भन्दिनु'।
+++
एकदिन डीबी सरले अचानक गुरुमालाई लिएर गए। अस्पताल लगेका रहेछन्। तर, फर्किनन् उनी।
गुरुमाको शव निकाल्ने दिन चिल्ला-चिल्ला कारहरू घर आँगरभरि भए। कमी थियो त काँध दिनेको।
धन्न, तल्लो गाउँका लिम्बूहरूले डीबी सरको लाज ढाकिदिए।
गाँउकाहरू सबैले लिफा थमाउँदै गए।
राङका, पूर्व सिक्किम