17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

भीम पौडेल घाँसेको ‘झड्केलो छोरो’

कृति/समीक्षा नन्दलाल आचार्य August 10, 2023, 11:19 pm
नन्दलाल आचार्य
नन्दलाल आचार्य

कोशी प्रदेशको उदयपुर जिल्लामा साहित्यिक संघसंस्था थुप्रै छन् । साहित्यकार अनगिन्ती छन् । यद्यपि उपन्यास लेख्नेहरु भने ज्यादै कम छन् । राममणि पोखरेल, पुण्य कार्की, कपिल ठकुरी, विश्वराज ढुंगाना, नन्दलाल आचार्य, सूर्यनारायण चौधरीहरुले यस अघि नै उपन्यास विधामा कृति प्रकाशन गरिसकेका छन् । त्यही लहरमा सामाजिक उपन्यासका साथ उभिन आइपुगेका छन् भीम पौडेल घाँसे (२०१८) ।
राममणि पोखरेल (२००४) को ‘साहिँली मैया र रसुवाघाट’ (२०६१), विश्वराज ढुङ्गाना (२००९) को ‘उपहार’, पुण्य कार्की (२०२७) को ‘जीवनयात्रा’ (२०५६), कपिल ठकुरी (२०२९) को ‘काउसोको माला’ (२०५५), नन्दलाल आचार्य (२०३०) को गरुराहा (२०७६) सूर्यनारायण चौधरी (२०३९) को ‘प्रेमको आत्मा’ (२०६४) आदि उपन्यास प्रकाशित छन् । यसै पंक्तिमा भीम पौडेल घाँसे (२०१८) को ‘झट्केलो छोरो’ (२०८०) पनि मिसिन आई पुगेको छ ।
उपन्यास आख्यानको समुन्द्र हो । यसमा हेलिन आँट गर्नेसँग लामै धैर्य हुनुपर्छ । प्रविधिको निरक्षताका बाबजुत पनि वर्षौँवर्षको कठोर तपस्या, संघर्ष र लगावझुकावले गर्दा उदयपुर जिल्लाले भीम पौडेल घाँसेको कलमबाट उपन्यास कृति ‘झट्केलो छोरो’ (२०८०) पाएको हो । यसले अनेक सन्दर्भतिर संकेत गरेको छ । केही झिनामसिना कुरा यस्ता छन्–
आख्यान विधाको सबैभन्दा ठुलो संरचनालाई उपन्यास हो । यो श्रव्यअन्तर्गत पर्ने गद्य विधामा पर्दछ । आख्यानको बृहत् रूप उपन्यास भने लघुतम रूप लघुकथा हो । मध्यम वा लघु रूपमा लामा र छोटा कथा पर्दछन् । यस दृष्टिले हेर्दा कथाभन्दा ठुलो आख्यानात्मक संरचना नै उपन्यास हो भन्न कर लाग्छ । लघुकथामा घटनाको सूत्रात्मक प्रयोग हुन्छ । यसको संरचना खँदिलो प्रकृतिको हुन्छ । कथामा घटनाले थोरै विस्तार हुने मौका पाउँछ । कथाले जीवन र जगत्को एउटा प्रभावकारी खण्डको चित्रण गर्न सक्छ । यद्यपि उपन्यासले भने जीवन र जगत्को समग्र पक्षलाई समेटेर बृहत् आख्यानात्मक स्वरूप दिन्छ ।
‘न्यास’ मूल शब्दमा ‘उप’ उपसर्ग जोडिएर ‘उपन्यास’ शब्द निर्माण भएको हो । भरतमुनिको नाट्यशास्त्रदेखि नै संस्कृत काव्यशास्त्रीय परम्परामा उपन्यासलाई विविध अर्थमा चिनाएको छ ।
विश्वनाथले ‘उपन्यासः प्रसादनम्’ भनेका छन् । हेनरी जेम्सले उपन्यासलाई जीवनको वैयक्तिक र प्रत्यक्ष प्रतिविम्ब माने । हर्बट मुलरले उपन्यासलाई मानव अनुभवको निरूपण भने । राल्फ फक्सले उपन्यासलाई ‘मानव जीवनको गद्य’ भनी चिनाए ।
नेपाली साहित्यमा कृष्णचन्द्रसिंह प्रधानले मानवजीवनकै सम्पूर्णताको अभिव्यक्तिलाई उपन्यास ठाने । कुनै शाश्वत मानवीय मर्मको अविस्मरणीय कलात्मकताले नै उपन्यासलाई महान् बनाउँछ भन्ने अभिमत वासुदेव त्रिपाठीले जाहेर गरे । मानवजीवनको विस्तृत पक्ष र सम्बद्ध परिवेशको प्रस्तुतिलाई उपन्यास मान्न पुगे हिमांशु थापाले । मानवीय जीवनको चित्रण गर्ने विशालकाय आख्यानात्मक गद्यसंरचनालाई उपन्यास ठाने मोहनराज शर्माले । राजेन्द्र सुवेदीले पूर्वापर तारतम्यमा सुसम्बद्ध गरेर लेखिएको आख्यानात्मक रचना भनेर उपन्यासलाई अथ्र्याए ।
शक्तिवल्लभ अर्यालको कथागत संरचना र घटनाविन्यासका आधारमा ‘महाभारत विराटपर्व’ (वि.सं. १८२७) बाट नेपाली कथा र उपन्यास दुबैको प्रारम्भ भएको हो । त्यसपछि ‘वीरसिक्का’ (१९४६) को स्थान गहकिलो छ । रुद्रराज पाण्डेको ‘रूपमती’ (१९९१) उपन्यासले नेपाली उपन्यास विधालाई आधुनिक कालमा प्रवेश गराएको हो । जासुसी, तिलस्मी वा उडन्ते घटना घटना प्राथमिक कालीन उपन्यासमा समेटिन्थे । पछि आएर उपन्यासमा विषयगत विविधता, भावगत अनेकता र शैलीगत नवीनता अपनाइयो र नेपाली उपन्यास आधुनिककालमा भित्रियो ।
उपन्यास आफैँमा पूर्ण आख्यान संरचना हो । यसले विशाल परिवेश बोक्न सक्छ । घटनाको आन्तरिक तारतम्य वा कार्यकारण शृङ्खलाको विकास गर्दै निष्कर्ष पुग्ने काम उपन्यासमा गरिन्छ ।
देसविदेस घुमेका, अनेक पुस्तकपत्रिका पढेका, थरीथरीका मान्छेको संगत गरेका व्यक्तिसँग शब्दभण्डारको ठूलो भकारी हुन्छ । तत्सम, तद्भव, आगन्तुक शाब्दिक, भाषिक बोध झेलोखेलो हुन्छ ।
दोस्रो कोटीका मान्छे जसले देसविदेसको संगत गरेका हुँदैनन्; ज्ञानविज्ञानको महासागरमा हेलिएका रहदैनन्; हेलिइहाले पनि आफ्नोपनलाई मुटु मानेका हुन्छन् । उनीहरू नेपाली माटोमा भिजेका, हुर्केका, फस्टाएका र मौलिक चिन्तन बोकेका नेपाली शब्दहरू नै प्रयोग गर्न रुचाउँछन् । आफूसँग पर्याप्त शाब्दिक सामथ्र्य हुँदाहँुदै अन्य भाषाबाट पैँचो लिएर बकम्फुसे आधुनिक बन्न किमार्थ रुचाउँदैनन् । दोस्रो कोटीमा बलियो गरी खुट्टा टेकेका उदयपुरको कटारी निवासी भीम पौडेल ‘घाँसे’ (२०१८) ले रविमाला कविता सङ्ग्रहपछि हालै उपन्यास कृति प्रकाशन गरेका छन्– ‘झड्केलो छोरो’
उदयपुर चौदण्डीकी कवयित्री सिर्जना सरोवर ओडिसा, भारतका कवि हलधर नाग (ई.१९५०) सँग तुलना गर्दै ‘घाँसे’ का बारेमा भन्छिन्– ‘घाँसे’ नेपाली साहित्यका हलधर नाग हुन् ।
उनको सद्य उपन्यास कृति ‘झड्केलो छोरो’ पढेर प्रतिक्रिया दिँदै कञ्चनरूप १२, रूपनगर, सप्तरीकी सर्जक लक्ष्मी रिजाल भन्छिन्– नेपाली साहित्यको अजम्बरी फूल हो ‘झड्केलो छोरो’ । यो पारिजातको ‘शिरीषको फूल’ लाई उल्टाएर बनेको हो ।
सर्जकहरू सिर्जना र लक्ष्मीले यस्ता कुरा भन्नुको कारण पछि खुलाउने सोच राख्तै म भने ‘झड्केलो छोरो’ लाई झर्रो संस्कृतिसँग जोड्दै छु ।
हिन्दीमा आगन्तुक शब्द लेखेजस्तै नेपालीमा पनि लेखिन थालेपछि नेपालीपन नस्ट भएको अनुभूत गर्दै २०१३ सालमा झर्रोवादी आन्दोलन चलेको थियो । चूडामणि रेग्मी, तारानाथ शर्मा, बल्लभमणि दाहाल, बालकृष्ण पोखरेल, कोषराज रेग्मी लगायतले ‘झर्रोवादी आन्दोलन’ चलाए । त्यो पछि आएर नेपाली साहित्यको आन्दोलनमा मानक बन्न पुग्यो ।
त्यसअघि नै २०१२ फागुनमा संखुवासभाको चैनपुरमा २४ युवा अभियन्ताले पूर्वीय युवा भेला आयोजना गर्दै गठन गरेको जनसांस्कृतिक सभाले झर्रो भाषा–संस्कृतिका पक्षमा अभियान अघि चलाएको थियो । २०१३ सालबाट ‘नौलो पाइलो’ पत्रिकामा प्रकाशित ‘झर्रो संस्कृति र साहित्यको नमुना’ शीर्षकको लेखले झर्रो आन्दोलनको जग बसाएको थियो ।
पछि आएर ‘नौलो पाइलो’ पत्रिका काठमाडौं, बनारस र विराटनगरबाट समेत निस्कियो । झर्रोवादको मूल अभीष्ट आगन्तुक भाषाको बहिष्करण थिएन । आगन्तुक शब्दलाई नेपालीकरण गरेर मात्रै प्रयोग गरिनुपर्छ भन्ने थियो । यसो हुँदा नेपाली भाषाको मौलिक लवज बाँच्थ्यो । कसैको पिछलग्गु बनेर हैन आफ्नोपन लिएर रहन सक्थ्यो ।
झर्रो आन्दोलनको अभियानलाई सिद्धान्त र व्यवहारमा बढी प्रयोगपरक बनाउने काममा साहित्य सिर्जनाले नेतृत्वदायी भूमिका खेल्यो । गाउँघरमा बूढापाकाका जनजिब्रोमा सिमित भएका लोप हुन लागेका शब्द खोजीखोजीकन साहित्यमा प्रयोग गर्ने अभियान नै चल्यो । घाँसेको ‘झड्केलो छोरो’मा पनि त्यस्ता नेपाली माटोमा उम्रेका र नेपाली हावापानीमा सिँचित भएका झर्रा शब्दहरूको बर्गेल्ती प्रयोग छ ।
बाहिरी भाषाको नचाहिँदो प्रभावबाट मुक्त रहेका, अध्ययनका दृष्टिले प्राज्ञिक र विश्वविद्यालय तहको पहुँचमा नपुगेका कारणले पनि घाँसेले उपन्यासमा प्रयोग गरेका शब्दको हिज्जेलाई नेपालीकरण र सरलीकरण गर्ने काम गरेका छन् ।
मताबे, बिङ्गा, ओझायो, काउकाउ, सटारो, चाक्लो, खड्कान, मेखमारी, भुकभुके, चरुवा, खाइनपाइन् जस्ता धेरै नेपालीकरणका मौलिक शब्दहरूको मिठासपनबाट मुख मिठ्याउन पाइन्छ उपन्यास पढ्दा ।
झर्रो शैलीमा लेखिएको तारानाथ शर्माको ‘घनघस्याको उकालो काट्ता’ निबन्धको झर्रोरस ‘झड्केलो छोरो’ मा प्रशस्त भेटिन्छ । यस हिसाबले प्रायोगिक रूपमा झर्रोवादी आन्दोलनमा टेवा पुर्याउने काम घाँसेको ‘झड्केलो छोरो’ले गर्यो भन्दा अतिशयोक्ति नहोला ।

सर्जक सिर्जना र लक्ष्मीको बुझाइमा घोत्लँदा फेला परेका कुरा अघि सार्दै छु– हाम्रो सामाजिक अस्तित्व द्वैध चरित्रको छ । पागल चरित्रलाई साधुराम देख्छ । खाट्टी साधुलाई शूलीमा चढाउँछ । गोपालप्रसाद रिमाल, लक्ष्मीप्रसाद देवकोटाहरुलाई फरक–फरक विषयका पागलहरू भनी उपमा भिराउँछ ।
खाली खुट्टा, सेतो धोती र बनियानको परिधानमा रहन रुचाउने भारतीय लोककवि हलधर नाग पनि पागलभित्रका यस समयका महापागल हुन् । उनको सादगीपूर्ण जीवन बाँच्ने पागलपनको धुनले विचित्रको त्याग देखाउने हठ गर्यो । उनी जीवन र माटोको नाता अत्यन्त गहिरो देख्छन् । माटोलाई स्पर्श गरिरहन आनन्द मान्छन् । जीवनभर तिखा काँडाहरूका घोचाइहरूलाई सहर्ष स्वीकार गर्न सक्नु पनि सानो पागलपन पक्कै होइन । उनका लागि माटो पर्दामर्दाको सबैभन्दा नजिकको साथी हो । चप्पल, जुत्तामा सजिएर साथीहरूबाट टाढिन उनी किमार्थ चाहँदैनन् ।
उनी माटोसँगको स्पर्श सकिँदा स्वतः आफ्नो जीवन पनि सकिने ठान्छन् ।
हलधर नागझैँ एक भुईं मान्छे उपन्यासकार घाँसे पनि हुन् । हलधरले झैँ घाँसेले पनि जीवनका धेरै कविता बनाए । हलधरले खाली खुट्टा हिँडेरै गाउँगाउँ पुगेर सुनाए । तर घाँसेले गाउँगाउँको व्यथालाई अक्षरमा रूपान्तरण गरी साहित्यको माला बनाए । आफूले भोगेको जीवनलाई आफूले देख्न चाहेको जीवनमा रूपान्तरण गरे । यस्ता बाहिरबाट देख्नेहरूका लागि पागलपनका खेलहरू हलधरलेझैँ घाँसेले खेलिरहेका छन् ।
हलधर दलित र गरिब परिवारमा जन्मेका थिए । क्षत्रीकुलमा जन्मे पनि घाँसे गरिवीसँग संघर्ष गर्न कम्मर कसिरहे । दुबैको बाल्यकाल र किशोरकाल अत्यन्त कष्टकर वित्यो । दुबै भोक र गरिबीसँग लडे । संघर्षलाई जीवन बनाए । सहारा दिने आमाबाबुको मृत्युपछि परिवारको बोझ लामो समयसम्म काँधमा बोके । दुबैले पेटभरि खाना खान पनि पाएनन् । दुबैको सामान्य पढाइ सकिन नपाउँदै विद्यालयीय जीवन छुट्यो । दुबैले पढाइ छोडेर काम गर्नुपर्यो । अर्काको हरेक खाले मजदुरी गरेर जीवनयापन गर्नुपर्ने बाध्यता एकातिर थियो भने कविता/साहित्य सिर्जना गर्ने धुन अर्कोतिर रहर बनेर दुबैको घाँटीमा झुन्डिरहेको थियो ।
यी दुबैले बाँचेको जीवनको अनुभवले पहिले नै सगरमाथाको चुली चुमिसकेको थियो । दुबैको जीवनशैली नियाल्दा शान्त र शालीन मान्छे देखिन्छन् । आफ्नो इमान र साधनाले उचाइ प्राप्त गरेको भेटिन्छन् । तर दुबैका कृतिमा विद्रोही चेतना प्रशान्त महासागर बनेर छचल्किरहेको भेटिन्छ । दुबै साहित्यिक व्यक्तित्वले जोकोहीलाई पनि नतमस्तक बनाउँछ ।
साहित्य भनेको सम्भ्रान्त वर्गको विलासी कर्म हो भन्ने भाष्यलाई दुबै साहित्यिक बन्धुले एकाएक भत्काइदिएका छन् । जनताको आवाजलाई शब्दमा बदलेर साहित्यलाई सर्वसाधारणसँग जोड्ने काम दुबै बन्धुले सजिलै गरेका छन् ।
सन् २०१६ मा भारत सरकारले हलधरलाई पद्मश्री अवार्ड दियो । औपचारिक शिक्षाका रूपमा कक्षा ३ सम्म मात्र पढेको भए पनि हलधरलाई विश्वविद्यालयले मानार्थ पीएचडी अवार्ड समेत दिलायो । आडम्बररहित जीवनमा आफूलाई अभ्यस्त पारिसकेका घाँसेले पुँजीवादी समाजका भौतिक सुखसुविधाहरूलाई नछोई हलधरको उचाइ चुम्न पनि निरन्तर खारिँदै जानुपर्छ । घाँसेका लागि समेत नेपाली पद्मश्री अवार्ड कुरेर बसेको हुनुपर्छ ।
हलधर नागले राष्ट्रपति प्रणव मुखर्जीबाट सन् २०१६ मा पद्मश्री पुरस्कार पाउनु अघि नै ओडिशाका मुख्यमन्त्री नवीन पटनायकले उनलाई मासिक १८ हजार ५०० रुपैयाँ कलाकार भत्ता दिइरहेका थिए । ओडिशा सरकारले बस्नको लागि जग्गा पनि दिएको थियो । त्यसमा एक डाक्टरले आफ्नै खर्चमा घर समेत बनाइदिएका थिए । डा. हलधर नागको जन्म ३१ मार्च १९५० मा ओडिशाको बरगढ जिल्लाको गेन्स गाउँमा भएको थियो । उनले लेखेका कवितामा पीएचडी गर्नेहरू धेरै छन् । नागका धेरै प्रसिद्ध कृतिहरू संकलित हलधर ग्रन्थावलीलाई विश्वविद्यालयहरूको पाठ्यक्रममा पनि समावेश गरिएको छ ।
यी सारा कुरा बुझेपछि घाँसेलाई नेपाली हलधर नागको उपमा दिनु कवयित्री सिर्जना सरोवरको उक्ति श्रेयस्कर लाग्यो । घाँसेको उपन्यास मृत्यु वा ध्वंशलाई पराजय गरी आदर्श जीवन शैलीमा टुङ्गिएको कारण ‘शिरीषको फूल’ बिर्साइदिने भन्नु पनि लक्ष्मीको मत मनासिब छ । ‘रुपमती’ले स्थापना गरेको आदर्शोन्मुख समाजमा एउटा सुन्दर औपन्यासिक भवन निर्माणको काममा घाँसे जुटेका देखिन्छन् । समाज रूपान्तरणको बाटोमा उपन्यासकारको कलम निरन्तर दगुरोस् भन्ने चाहना र शुभकामना व्यक्त गर्दछु ।
कृति– ‘झड्केलो छोरो’
विधा– उपन्यास
उपन्यासकार– भीम पौडेल ‘घाँसे’
प्रकाशन– २०८०
सर्वाधिकार– लेखकमा
छपाइ प्रति– ५००
मूल्य– रु. २५०।– (व्यक्तिगत)
रु. ८००।– (संस्थागत)
मुद्रक– कार्की छापाखाना, गाईघाट, उदयपुर
लेआउट– विकास थापा मगर
आवरण– घाँसे
भूमिका– पुण्य कार्की (भीम पौडेल ‘घाँसे’को औपन्यासिकता)
भूमिका– डा. कैलाश राई (झड्केलो छोरो)
मेरो गन्थन– भीम पौडेल ‘घाँसे’ कटारी–८, टोड्केपानी, उदयपुर
सम्पर्क फो.नं.– ९७६३०४१४३६ (भीम पौडेल ‘घाँसे’)
पाठ– एकदेखि तेह्रसम्म (पृष्ठ–१ देखि ८३ सम्म)
जम्मा पृष्ठ– १८+८३= १०१

सिद्धार्थटोल, उदयपुर, हाल– सिर्जनाकुटी, सिरहा ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।