17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

मार्क्सवादी साहित्य र केही मार्क्सवादी साहित्यिक चिन्तक

विचार नारायण मरासिनी August 10, 2023, 11:22 pm
नारायण मरासिनी
नारायण मरासिनी

१. मार्क्सवादी साहित्य
कार्ल मार्क्स (सन् १८१८–१८८३) जर्मन राजनीतिक अर्थशास्त्री, इतिहासकार, राजनीतिक सिद्धान्तका प्रणेता, दार्शनिक र क्रान्तिकारी विचारक हुन् । धार्मिक परिवारमा जन्मे पनि मार्क्स नास्तिक तर नैतिक प्रवृत्तिका थिए । बर्लिन विश्वविद्यालयमा दर्शनशास्त्रको अध्ययन गरेका मार्क्सले ‘डेमोक्रिटसको प्रकृति दर्शन र एपिक्युरको प्रकृति दर्शनबीचको भेद’ शीर्षकमा विद्यावारिधि गरेका थिए । केही समय सम्पादनमा संलग्न यिनी कवि र निबन्धकारका रुपमा पनि परिचित छन् । यिनै मार्क्स र एङ्गेल्सका सिद्धान्त तथा विचारमा आधारित दर्शन मार्क्सवादी दर्शन हो र यही दर्शनमा आधारित सिर्जना मार्क्सवादी साहित्य हो । मार्क्सवादी दर्शनमा आधारित भएर लेखिने विविध विधाका रचना तथा कृतिहरु नै मार्क्सवादी साहित्यमा पर्दछन् । मार्क्सवाद द्वन्द्वान्त्मक भौतिकवादमा आधारित दर्शन हो । यसको उद्देश्य नवीन सामाजिक संरचनाका लागि क्रान्तिकारी उत्प्रेरणा र उत्साह दिलाउनु हो । साहित्यमा निम्नभन्दा निम्नस्तर तथा कलात्मकताहीन कुराको पनि द्वन्द्वान्त्मक चित्रण हुन्छ । मार्क्सवाद अन्तरवस्तु र रूप अर्थात् सार र रूपका बीचमा द्वन्द्वात्मक सम्बन्ध हुन्छ भन्ने मान्यता हो । समाजमा पछाडि पारिएका वा अन्यायमा परेकाहरुको पक्षमा लेखिने तथा तिनीहरुलाई आफ्नो अधिकारका लागि जागृत तुल्याउन सिर्जना गरिने साहित्य मार्क्सवादी साहित्य हो । मार्क्सवादी साहित्य र त्यसलाई प्रस्तुत गर्ने कलामा अभिव्यक्त हुने विषयवस्तुहरु मार्क्सवादी सिद्धान्तमै आधारित हुन्छन् भने पुँजीवादी साहित्य र कला पुँजीवादकै संरक्षणमा संरचित हुन्छन् ।
मार्क्सवादका अनुसार साहित्यमा वर्गीय पक्षधरता रहने भएकाले साहित्य–कला विचारधाराकै एउटा अङ्ग हो । एङ्गेल्सका विचारमा पुँजीवादमा कला बिक्रीको वस्तु बन्छ भने क्रान्तिको समयमा कला रुपान्तरणको साधन बन्छ । हरेक समाजमा प्रचलित विचारहरु, संस्थाहरु र संगठनहरुका आधारमा आधार अर्थात् उत्पादक शक्तिअनुसार उत्पादक सम्बन्ध विकसित हुन्छ । साहित्य, कला आर्थिक आधारकै अधिरचनाको (कानुनी र राजनैतिक संरचना, धर्म, नैतिक, आदर्श, समाजिक परम्परा, शिक्षा, साहित्य, कला, संस्कृति) रुपमा रहन्छ । मार्क्सवादी साहित्यका सर्जकहरु केवल लेखक मात्र नभई प्रगति वा रुपान्तरणको चेतनाबाट प्रेरित हुन्छन् । यस अर्थमा मार्क्सवादी साहित्यका लेखक समाज र बहुसङ्ख्यक जनताका पक्षधरतामा देखिन्छन् । मार्क्सवादी साहित्यमा शोषित, उत्पीडित एवम् सीमान्तकृत समुदायको मुक्तिको आवाज हुन्छ । यहाँ केही विश्वप्रसिद्ध मार्क्सवादी साहित्यिक चिन्तकहरुलाई सङ्क्षेपमा चिनाउने काम गरिएको छ ।

२. केही मार्क्सवादी साहित्यिक चिन्तक

क. प्लेखानोभ
प्लेखानोभ (सन् १८५६–१९१८) मार्क्सवादी दार्शनिक तथा सौन्दर्य चिन्तक हुन् । यिनी रुसमा सर्वप्रथम मार्क्सवादी विचारको प्रचार–प्रसार तथा सङ्गठन गर्ने व्यक्ति हुन् । सोसियालिज्म एण्ड द पोल्टिकल स्टगल (१८८३), आवर डिफ्रेन्सेस (१८८४), द डेप्लोमेन्ट अफ द मनिस्ट भ्यु अफ हिस्टोरी (१९९५) उनका महत्वपूर्ण पुस्तकहरु हुन् । प्लेखानोभ सन् १८८३ मा मजदुर स्वतन्त्रताका लागि आन्दोलनमा उत्रिएका थिए । निरङ्कुश तथा अधिनायकवादी शासनविरुद्ध आन्दोलनमा उत्रिएका प्लेखानोभ सन् १९९८ मा सोसियल डेमोक्रेटिक लेवर पार्टीमा सहभागी भएका थिए । सन् १९०० मा सो पार्टीको जर्नल प्लेखानोभ, लेनिन र मार्ताेव मिलेर सम्पादन गरेका थिए । प्लेखानोभ सामाजिक आधारका साहित्य र कलाको विवेचना हुनुपर्छ भन्ने दृष्टिकोण राख्ने चिन्तक हुन् ।
प्लेखानोभले साहित्यमा भाव, विचार आदिको विम्बात्मक प्रस्तुति हुने र यही कारण यो अरु विषयबाट पृथक् हुन्छ भन्ने धारणा राखेका छन् । मानवीय चेतनाले भौतिक जीवनको प्रतिबिम्बन गर्ने हुँदा समालोचनामा पनि भौतिक जीवन र साहित्यिक चेतनाको द्वन्द्व सङ्गतिमा ध्यान पुर्याउनु पर्ने धारणा यिनको रहेको छ । कलाको उत्पत्तिमा श्रमको भूमिका रहे पनि श्रमलाई उपयोगितावादी पक्षबाट बोध गरेपछि मात्र विस्तारै मानिसमा सौन्दर्यात्मक दृष्टिकोण निर्माण भएको भन्ने ऐतिहासिक भौतिकवादी मान्यता यिनको छ । यिनले यथार्थको अनुभूति नै कलाको मूल स्रोत रहेको बताएका छन् । यिनले समाजको भौतिक आधार र कलालाई जोडेर मात्र साहित्यको विश्लेषण गर्न सकिने मान्यतालाई अगाडि सारेका छन् । समाजको रूपान्तरणमा कला साहित्यको भूमिका महत्वपूर्ण हुन्छ भन्ने यिनको धारणा रहेको छ ।

ख. लेनिन
लेनिनको जन्म २२ अप्रिल १८७० मा रुसमा भएको हो । यिनको वास्तविक नाम भ्लादिमिर इल्यिच उल्यानोभ हो । मध्यमवर्गीय परिवारमा जन्मेका लेनिन सानैदेखि प्रफुल्ल, ठट्यौली, मिजासिलो, साहसी र प्रगतिशील स्वभावका थिए । कठिन परिश्रम र असाधारण प्रतिभाका कारण यिनी उच्च शिक्षा हासिल गर्न सफल भएका थिए । सन् १९०० पछि मात्र यिनी लेनिनको नामबाट चिनिन थालेका हुन् । यिनले सन् १९०५ मा लेखकीय स्वतन्त्रताको चर्चा गर्दै बुर्जुवा व्यक्तिवादको विरोध गरेका थिए । लेनिनलाई सन् १९१७ को रुसी क्रान्तिका अगुवा मानिन्छ । रुसी समाजवादी रुपान्तरणका नायक र मार्क्सवादी चिन्तकका रुपमा यिनलाई चिनिन्छ । लेनिनले कला, साहित्यलाई पार्टी र क्रान्तिको सहयोगी साधन ठानेका छन् । समाजवादी क्रान्तिको आदर्शमा आधारित साहित्यको खोजकर्ताका रुपमा पनि यिनी चिनिएका छन् ।
लेनिनको साहित्यिक चिन्तन सर्वहारा वर्गीय र समाजवाद निर्माणको दिशातर्फ केन्द्रित रहेको छ । साहित्यलाई जनतासँग जोड्नुपर्ने र जनहितमा उपयोग गर्नुपर्ने कुरामा यिनले जोड दिएका छन् । समकालीन कलावादी धाराहरु प्रभाववाद, भविष्यवाद र घनत्ववादको यिनले खुलेरै आलोचना गरेका छन् । साहित्यकारले विचारधारात्मक प्रतिबद्धताका माध्यमबाट द्वन्द्वात्मक भौतिकवादी विश्व दृष्टिकोणलाई प्रस्तुत गर्नुपर्ने कुरा उल्लेख गरेका छन् । कला साहित्यले जनताको भावना, विचार र इच्छाहरुलाई एकजुट बनाउनुपर्छ भन्ने कुरामा यिनको जोड रहेको छ । लेनिनले साहित्यले सधैंभरि सर्वहारा वर्गको कलपुर्जा बनेर कार्य गर्नुपर्छ भन्ने मान्यता राखेका छन् । यिनले सामाजिक यथार्थको चित्रण, सामाजिक प्रभाव, सामाजिक चेतना आदि पक्षको मार्क्सवादी व्याख्या साहित्यमा हुनुपर्ने कुरामा जोड दिएका छन् ।

ग. जर्ज लुकास
जर्ज लुकास (सन् १८८५— १९७१) मार्क्सवादी साहित्य चिन्तक र सौन्दर्यशास्त्रका व्याख्याता हुन् । यिनले लेखेका उपन्यासको सिद्धान्त, इतिहास र वर्ग चेतना, गेटे र उनको युग, अस्तित्ववाद र उनको मार्क्सवाद, यथार्थसम्बन्धी निबन्ध, विश्व साहित्यमा रुसी यथार्थवाद, बाल्जाक र फ्रान्सेली यथार्थवाद, समकालीन यथार्थवादको अर्थ, सौन्दर्यशास्त्र जस्ता कृतिहरु मार्क्सवादी साहित्यका महत्वपूर्ण प्राप्ति हुन् । यिनले मार्क्सवादलाई इतिहास र त्यसको गतिशीलताका आधारमा तथ्य वा घटनाको खोजी गर्ने विज्ञान मानेका छन् । यिनले लेनिनको प्रतिबिम्बन सिद्धान्तको व्याख्या–विश्लेषण गरेका छन् । कलात्मक प्रतिबिम्बनको संरचना द्वन्द्वात्मकताको मूल आधार हो । समाजवादी यथार्थवादको महत्व सौन्दर्यशास्त्रीय स्वरुप तथा साहित्यिक सांस्कृतिक द्वन्द्ववादलाई साहित्यिक प्रतिबिम्बनका सन्दर्भबाट अध्ययन गरी नवीन सामाजिक सन्दर्भमा महत्व र आवश्यकतालाई स्थापित गर्ने काम यिनीबाट भएको छ । यिनले समाजवादी यथार्थवादको सैद्धान्तिक, व्यावहारिक तथा लोकप्रिय अवस्थाको विश्लेषण प्रस्तुत गरेका छन् ।
साहित्यको स्वतः पूर्णतामा विश्वास राख्ने लुकासको साहित्यिक रचनामा जीवनको अन्तर्य र त्यसलाई रुपायित गर्ने कारकको चित्रण हुनुपर्ने धारणा रहेको छ । लुकासको पूँजीवादले वर्गसमाजको विकासमा आर्थिक उत्पादनको सर्वाेच्च चरणको प्रतिनिधित्व गरे पनि यस किसिमको उत्पादन साहित्य र कलाका विषयमा सहयोगी हुन सक्दैन भन्ने विचार छ । वस्तुपरक यथार्थको प्रतिबिम्बन गर्ने सामथ्र्य सर्जकमा हुनुपर्ने धारणा यिनको छ । यिनले साहित्यलाई चेतनाका माध्यमबाट यथार्थलाई सैद्धान्तिक र ज्ञानका सबै रुपको बोध गर्ने सर्वोत्कृष्ट आधार मानेका छन् ।

घ. क्रिस्टोफर कर्डवेल
क्रिस्टोफर कर्डवेलको पूरा नाम क्रिस्टोफर सेन्ट जोन्स स्प्रिङ (सन् १९०७–१९३७) हो । सानै छँदा पिताको निधन भएका कारण उच्च शिक्षाबाट बञ्चित हुनुपरेकाले कर्डवेलले स्वाध्ययनबाट ज्ञानार्जन गरेका थिए । यिनको प्रमुख समालोचनात्मक कृति ‘भ्रम र यथार्थ’ प्रसिद्ध छ । मार्क्सवादी शास्त्रीय समालोचनात्मक धारणा र मान्यतालाई स्थापित गर्नमा यिनको विशेष योगदान रहेको छ । समाज र साहित्यको आधार संरचना आर्थिक पक्ष हुन्छ भन्ने मान्यता यिनको छ । पूँजीवादी संरचना र त्यसबाट सिर्जित कला सौन्दर्यबाट मानव मुक्ति तथा पूर्ण स्वतन्त्रता नहुने धारणा यिनले राखेका छन् । कविता वा साहित्यलाई समाजबाट अलग गरेर हेर्न नसकिने हुनाले समाज विकासको नियमअनुसार नै कविताको ऐतिहासिक विकास भएको विचार व्यक्त गरेका छन् । आदिम साम्यवादी प्राकृतिक स्वतन्त्रताको पक्षमा वकालत गरेका कर्डवेलको मृत्यु सन् १९३७ मा स्पेनको फासिवादको विरुद्धमा अन्तर्राष्ट्रिय सैनिक टुकडीको तर्फबाट लड्दै गर्दा भएको थियो ।
कर्डवेलले मार्क्सवादी ऐतिहासिक भौतिकवादी दर्शनका आधारमा कविताको सैद्धान्तिक विश्लेषण गरेका छन् । यिनले आदिम युगमा समूह गीत र गाथा, दास युगमा महाकाव्य, सामन्तवादी युगमा प्रगीत, पूँजीवादी युगमा आधुनिक कविता गरी आफ्नो अध्ययन विश्लेषणलाई केन्द्रित गरेका छन् । मार्क्सवादी सौन्दर्य चिन्तनको मूल सार आर्थिक आधार र सांस्कृतिक अधिरचनाको व्याख्या कविता समाजको प्रतिविम्ब त हो तर यान्त्रिक नभई लेखकको सचेत प्रतिक्रिया हो भन्ने मान्यता यिनको रहेको छ । यान्त्रिक भौतिकवाद र आदर्शवादको बीचको द्वन्द्वात्मक स्थितिबाट कविताको सिर्जना हुने र कविताले समाजको आधार परिवर्तन गर्ने मान्यता यिनको छ । पूँजीवादी कविता बुर्जुवा वर्गीय शोषण र उत्पीडनको प्रतिविम्ब भएकाले यसको पतन हुनुपर्ने कुरा र मानवको मुक्ति तथा पूर्ण स्वतन्त्रताका पक्षपाती विचार राखेका छन् । लयात्मक, अनुवाद गर्न कठिन, अतार्किक, शब्दरचित, अप्रतीकात्मक र संवेगमय विधाका रुपमा उनले कवितालाई चिनाएका छन् ।

ङ. लुना चार्स्की
नोभेम्बर २४ सन् १८७५ पोल्टाभा युक्रेनमा जन्मेका लुना चार्स्कीको मृत्यु डिसेम्बर २६ सन् १९३३ मेन्टन, फ्रान्समा भएको थियो । यिनी रसियन क्रान्तिकारी राजनीतिज्ञ, लेखक, अनुवादक, नाटककार, समालोचक आदिका रुपमा प्रसिद्ध छन् । सन् १८९२ मा बोल्सेभिक पार्टीमा जोडिएपछि यिनको क्रान्तिकारी भूमिका सुरू भएको थियो । यिनले आफ्नो चिन्तनमार्फत शिक्षा, नाटक, चलचित्र र साहित्यमा समाजवादी संस्कृतिको विकास गरेका छन् । यिनले वर्ग सङ्घर्षका दृष्टिकोणले रसियन र विदेशी लेखकका लेखहरुको अध्ययन गरेका थिए । सांस्कृतिक सम्पदा सर्वहारा वर्गसँग सम्बन्धित हुन्छन् भन्ने मान्यता राख्ने लुना चार्स्की समाजवादी साहित्यका संस्थापक हुन् । कामदार वर्गको प्रतिनिधित्व गर्ने लेखकहरुको सङ्गठन निर्माणमा यिनको भूमिका रहेको छ । लेखनकलाले वर्गीय प्रणालीको विश्लेषण र समालोचना गर्नुपर्ने मान्यता यिनको छ । यिनले कलाको वर्गीय स्वरूप, साहित्य, इतिहास, लेखनको मार्क्सवादी पद्धति, समीक्षक र समीक्षा तथा मूल्याङ्कनका विषयमा विश्लेषण गरेका छन् ।
मार्क्सवादी समालोचनामा समाजशास्त्रको उपयोग गर्नुपर्छ भन्ने मान्यता लुना चार्स्कीको रहेको छ । कलाकृतिमा उत्पादनका साधन र वितरणको स्वरूप प्रत्यक्षतः व्यक्त नभई वर्ग मनोवृतिका आधारमा व्यक्त हुन्छ भन्ने मत यिनको रहेको छ । कृतिमा रुप र कथ्यको स्पष्ट सामञ्जस्य हुने र यसकै आधारमा कृतिको सफलता र असफलताको मापन हुने कुरा यिनले बताएका छन् । रुपको पहिचानका लागि आलोचना, संवेदना, दीर्घ अध्ययन र अन्य कृतिको अनुशीलनबाट उत्पन्न अन्तर्दृष्टि हुनुपर्ने धारणा यिनको रहेको छ । कुनै पनि रचनामा अनेक पक्षको तुलना हुनु पर्ने र त्यसका लागि प्रतिमान निर्माण गर्नु पर्ने, लेखकमा सामाजिक संवेदना नहुँदा कृति कमजोर हुन्छ भन्ने धारणा यिनको छ । लेखकको मनस्थिति विचार प्रक्रिया कुनै वर्ग विशेषको संवाद योजना, जीवनशैली, सामान्य सांस्कृतिक विकासको स्तर अन्य लेखकको प्रभाव आदिले रचनामा प्रभाव पार्दछ भन्ने यिनको मत रहेको छ ।

पोखरा– १७, बिरौटा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।