जति नै सुन्दर भए पनि
जङ्गलमा फूलेको फूल न हो
न सौभाग्यको शिर
न समर्पणको पाउ
न आश्थाको फेँद,
झर्नु पनि यस्तो कि
घाटमा बगाइए जस्तो
कठै, न सौन्दर्य र प्रकाशको संगम
न अस्तित्व र परखको गुञ्जन ।
प्रहर्शनीको रंगमञ्चीय रहरहरूबाट
प्राप्ति वा अप्राप्तिको उत्कर्षले
विरक्तिएको त्यो एकान्तिक चाहना
जंगलको फूल बन्न रहर गरे झैं
तेजस्वी सौन्दर्यको यो कोमल ब्यग्रता
प्रेमिल ज्वालामुखी सरी आलिंगनमा
संसारै लठ्याउने रहर बोक्दो हो ।
कठै ! म भनिरहेछु यसलाई,
त्यो दुनियाँ
जहाँ खस्यौ तेहिँ फूल्ने यो बन जस्तो होइन
त्यो त
कहाँ खसेँ, कहाँ फूलेँ केही नखुल्ने अन्धकार मरुस्थल जस्तो हो ।
त्यहाँ,
शासक र शासितको
दास-कविला जस्तोमा,
फूल्नै नपाउने रहरहरूको
तिम्रै एकान्त धाउने स्वप्निल ताँती छ
उत्साहको उत्सव हुनुपर्ने प्रतिभा
चरम वैराग्यको बिरामी छ ।