युगको चेतनालाई छप्काउँदै
रगतका धारले कोतरेर दशगजा
अतृप्त तिर्खा मेट्न चलिरहन्छ शम्सुद्दीनको सिपाहीको तरबार
हे पशुपतिनाथ
हे स्वयम्भूनाथ
बिरालाहरुले कोतरेका पन्चनखका दागहरु छन्
भित्ताहरुका लिउन नउक्काउ
त्यहाँ महाभूकम्पका पराकम्पका अनेक निस्लोट लहरहरु छन्
नागदहका नागहरु निल्ने अनेक आदमखोर एनाकोण्डाहरु छन्
चल्लाहरु गाँज्ने दाउमा चिलहरु उडिरहेका छन्
पुरातत्ववेत्ताहरु उधिनिरहेछन् जीवाश्म
तरबारको धारमा खिया लागे पनि
गर्धनबाट बगेका रगतका धाराहरु आलै छन्
सोम शर्मा सपनाको सातुको पोका बोकेर
वानप्रस्थ पलायनपछि पनि
मुख मिठ्याइरहेको थियो शम्सुद्दीनको सिपाही
केही हिउँले पोलेको कालो खत
केही घामले पोलेको कालो खत
बोकेको कान्तिपुरीमा राक्षस पसेको रात
मानवविहीन निस्तब्ध शहर लुट राक्षसहरु लुट
तोड, फोड र भत्काउ सभ्यताका उत्कृष्ठ कृतिहरु
तृप्त गर अहँकारका बर्बर ज्वालामुखीहरु
अँजुलीहरुबाट चुहेको समय
ज़मीनमा खस्न नपाउँदै
मुसाका दाँतहरुमा कुँडिएर बसेको छ
यो समुद्रको गर्भ उम्लिएको छ
ज्वालामुखीका म्याग्माहरु पिएर पनि
माकुराको जालमा अल्झिन्छन् सौदागरका तृष्णाहरु
तरबारको एक छप्काइ त हो जिन्दगी
तनतनी पिएर रल्लिइरहन मन परेको छ
मान्छे मान्छे हो कि भित्तेघडीको लँगुर हो ?
कोरले खाएका छन् हातखुट्टाहरु
बगर पल्टिएका इतिहासका रक्तरन्जित पानाहरु
साम्राज्यवादीका राइफलका चुप्पीहरुले लेखिएको छ
इतिहासका पानामा शत्रुले भरिदिएको रक्सी खाएर
मदहोस भै लठ्ठिइरहेका छन् परेवाहरु
तिनका टाउकामाथी उडिरहेको बाजको हेक्का नराखेर
बाहिरका छाउगोठहरु भत्काएर
मनका छाउगोठका पिरामिडहरु खडा गर्ने
अन्तर्राष्ट्रिय जलकुम्भीबाट आक्रान्त छ समय
वनमारा झारलाई देख्यौं या अनदेखा ग-यौं
त्यो महत्वपूर्ण कुरा थिएन
तर रैथाने प्रजाति खोज्न अब धर्तीको कुन टुक्रामा जाने
दशैंका जमराहरु नउम्रुन भनेर
नयाँ कलेवर सहितको शम्सुद्दीनको नयाँ संस्करणले
आफ्ना बर्बर सिपाहीका हातमा खुनले लत्पत उही तरबार थमाएको छ
पोखरा-६