16 वर्षदेखि निरन्तर
समकालीन साहित्य

समयबोध

लघुकथा कृष्ण बजगाईं August 14, 2023, 4:30 pm
कृष्ण बजगाईं
कृष्ण बजगाईं

'भविष्यको सहरका बारेमा नियात्रा लेख्ने योजना बनाएकोले यात्रारत थिएँ । अद्भुत दृश्यहरु देख्न थालेँ । त्यहाँ कुनै घर बनेको थिएनन् । हिँड्न मिल्ने ठाउँ थियो तर बाटोको रुपरेखा केही थिएन । पिच, ढल र बिजुली हुने कुरै भएन । ती सबै भविष्यमा बन्लान् भन्ने लाग्यो । आश्चर्यजनक दृश्यहरु हेर्दै हिँडिरहेँ । तिर्खा लाग्यो । एउटा धारो देखेँ । धारोमा पानी थिएन । घाँटी खुब् सुकेको थियो । पानी खोज्दै छिट्छिटो हिँड्न थालेँ । नदी भएको ठाउँमा पुगेँ । त्यहाँ पनि पानी थिएन । सायद त्यहाँ भविष्यमा पानी बग्छ होला । त्यहीँ छेउमा भविष्यकी युवती रोइरहेको देखेँ । नजिकै गएर उनीसँग कुरा गरेँ । ती फुच्ची केटी पनि म जस्तै भविष्यको सहरमा भौँतारिएकी रहिछिन् । मैले उनलाई मसँग हिँड बाहिर निस्कने बाटो भेटिन्छ भनेँ । उनले मानिनन् । गोजीमा भएको चकलेट दिएपछि बल्ल मसँग जान तयार भइन् । उनलाई सहयोग गर्नुमा मेरो स्वार्थ लुकेको थियो । हामीसँगै हिँडिरहेका थियौंं । अचानक भविष्यका प्रहरीहरु देखा परे । तिनीहरुले मलाई र मसँगै रहेकी फुच्ची केटी अर्थात् भविष्यकी युवती अर्थात् भविष्यकी मेरी श्रीमतीलाई केरकार गरे । मैले साँचो कुरा भन्दा तिनीहरुले पत्याएनन् । बालिकालाई अपहरण गरी भविष्यमा बलात्कार गर्ने योजना बनाएको आरोप लगाए । भविष्यमा मुद्धा चलाउने गरि तिनीहरुले मलाई पक्रेर ‘ब्लाक होल’ भित्र कोचे । उसले आफ्ना आँखा मिच्दै भन्यो ।

‘ब्लाक होलमा होइन तपाई अस्पतालको बेडमा हुनुहुन्छ ।’ अन्तरिक्षमा हुने ब्लाक होलको कुरा गर्ने बिरामीलाई डाक्टरले सम्झाउँदै भने ।

ठीक त्यही बेला औषधी लिएर नर्स आइपुगिन् । भविष्यकी श्रीमती भनेर उद्धार गर्ने प्रयास गरेको फुच्ची केटी कसरी एकैछिनमा यति ठुली भई भनेर उसले उदेक मान्यो । आफ्नै मनभित्र सत्यतथ्य केलाउन थाल्यो ।

‘ल, यो औषधी खानोस् । भविष्यमा तपाईंको रोग निको हुनेछ ।’ औषधीका चक्की उसलाई दिँदै नर्सले मुसुकक हाँसेर भनिन् ।

नर्सले त्यसो भन्नासाथ झसङ्ग भयो । त्यसपछि उ वर्तमानमा फर्कियो ।

बेलायत

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।