17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

बेरोजगार

कविता आशिष केसी August 15, 2023, 2:04 am
आशिष केसी
आशिष केसी

बिहानको सुनौलो सुर्योदय हेर्दै
बाहिर निक्लदा बुबाको मुखबाट
सुनौलो शब्द निक्लन्छ
ए बेरोजगार !
पल्लो घरको जेठो छोरो अस्ट्रेलिया गयो रे
तल्लो घरे माइली सरकारी कर्मचारी भइ रे
तँसँंगै पढेको वीरे डाक्टर भयो रे ।

किन यति तुलनात्मक भयो यो समाज
आजभोलि गाउँघरमा डुल्दा पनि
बाँस निउरेझै शिर निउराउँछु
जब आफ्नै घरबाट बेरोजगार कहलिन्छु
तब म आफूले आफूलाई रोजगारको लायक
छैन भनेर चित्त बुझाउँछु ।

ए मेरा बा !
म मेरा डिस्टिङ्सनका सर्टिफिकेट
आकाशे पुलमा गएर बेचम ?
कि परराष्ट्रको अगाडि बसेर
राहादानी बनाम ?
जब मैसँग पढेको मिल्ने साथी कारको हर्न बजाउँदै
मेरै अगाडिबाट हिँड्छ
कयौँ रातसँगै काटेको साथीले
भ्याइ नभ्याइ एक शब्द बोलेर जान्छ,
अनि सम्झन्छु मेरा बाको बोली
तुलनात्मक हैन उदाहरणिय रहेछ ।

खल्ती रित्तो हुने बेरोजगारी
अनि मगज रित्तो हुने रोजगारी हुने दिन आएछ,
देशको बिषम परिस्थति र अनपढ नेतालाइ देख्छु
अनि यो उध्रेको देशमा
म पनि उध्रेकै पोशाकले काम चलाउँछु
र म आफूले आफूलाई रोजगारको लायक छैन भनेर
चित्त बुझाउँछु ।

बानेश्वरको एभरेष्ट होटेल हुँदै
एउटा सानो चिया अड्डामा चिया पिउने
पनि मेरो हैसियत भएन
भाटभटेनि हुँदै काठमाडौं मल छोड्दै
म छ सयको सेल खोज्दै
र भृकुटीमण्डप भित्र पस्दै
एउटा पाँच सय पचासको टि–सर्ट किनेर
फर्कदा पनि कम्ति खुसी भएको थिइन,
काठमाडौंको प्रत्यक गल्ली नियाँल्दा पनि
म मेरो अस्तित्व भेटिएन
दिनभरि भौतारिएर पनि जिल्ला टप गरेका
मेरा सर्टिफकेटलाइ स्थान दिन सकिन,
म जस्ता हजारौँ युवाहरु
आआफ्ना बजारमा मार्कशिट डुलाउँदै होलान् भन्दै टोलाउँछु
हो, यस्तै अवस्था देखेर म आफूले आफुलाई
रोजगारको लायक छैन भनेर चित्त बुझाउँछु ।

कागजको खोजीमा हिँडिरहेको म
ब्याग खोलेर हेर्दा मेरो मिहेनतको फल
कागजकै रुपमा देखिन्छन्
सधै रित्तो हुने मेरो पर्स पनि
आजभोलि पुतली सडकका कागजले भरिएका छन्
सपनाको सहर पठाउँछौ भन्ने सबै म्यानपावर
कागजमा हैन दिमागमै कण्ठ भइसकेका छन्
म यी सबैबाट हार खाँदै
मेरा सफलताका कागजलाई धिकार्दै
शैक्षिक प्रणालीसँगै जोडिएको
मेरो सफलताको हारलाई स्वीकार्दै
अनि रित्तो दिमागले सरकार चलाइरहेकालाई पूजा गर्दै
जब म मेरै भाग्यलाई दोषी ठहर्याउँछु
तब म आफूले आफूलाई रोजगारको लायक छैन भनेर
चित्त बुझाउँछु ।

म्यान्चेस्टर, बेलायत

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।