16 वर्षदेखि निरन्तर
समकालीन साहित्य

‘देशको अभिभारा’ मा अन्तर्निहित प्रगतिशील स्वर

कृति/समीक्षा नारायण मरासिनी August 15, 2023, 11:52 pm
नारायण मरासिनी
नारायण मरासिनी

पृष्ठभूमि
हेमराज पहारी (वि.सं. २०००–२०६६) पोखरेली परिवेशमा प्रगतिशील प्रतिभाका रूपमा परिचित व्यक्तित्व हुन् । विभिन्न साहित्यिक सङ्घसंस्था र अन्य सामाजिक सङ्घसंस्थामा सक्रिय रूपमा काम गरेका पहारीको वि.सं. २०६१ मा प्रकाशित ‘देशको अभिभारा’ कविताहरूको सङ्ग्रह हो भने २०६३ सालमा प्रकाशित ‘उत्तरी गोलार्धको एक फन्को’ यात्रासंस्मरण हो । यसपछि उनको गीतहरूको सङ्कलन प्रकाशित छ भने विभिन्न पत्रपत्रिकामा उनका कविता तथा अन्य विधाका रचनाहरू पनि प्रकाशित छन् । २०२५ सालदेखि २०६० सालसम्म लेखिएका कवितालाई कवि पहारीले ‘देशको अभिभारा’मा समावेश गरेका छन् । ‘पद्य कविता’ शीर्षकमा पहिलो खण्ड र ‘गद्य कविता’ शीर्षकमा दोस्रो खण्ड गरी यसमा दुईवटा खण्ड छन् । सङ्गृहीत सैंतीसवटा कवितामध्ये पाँचवटा गद्य र बत्तीसवटा लोकलयमा संरचित छन् । पहिलो खण्डमा रहेको एउटा कविता चाहिं अनुष्टुप् छन्दमा छ । सङ्कलित कविताहरूमध्ये केही कविता यस सङ्ग्रहमा सङ्गृहीत हुनुअगावै विभिन्न पत्रपत्रिकामा प्रकाशित भइसकेका हुन् भने केही अन्यत्र प्रकाशित नभएका कविताहरू पनि छन् ।
हाम्रो समाजमा विद्यमान कुसंस्कार तथा कुप्रवृत्तिलाई कवि हेमराज पहारीले ‘दाइजो मोह’, ‘अछूत र दलित !’, ‘देशको अभिभारा’, ‘जन्म दिन’, ‘शहादत र सम्मान’, ‘बोल्न थाले गोली’, ‘सती प्रथाको नयाँ संस्करण !’, ‘माइलीको रोदन’, ‘जनताको चुनौती’, ‘शान्तिको चाहना’ लगायतका कवितामा प्रतिबिम्बन गरेका छन् । ‘महाकवि देवकोटा’, ‘कवि गोकुल जोशी’, ‘कवि अलिमियाँ’ लगायतका केही कवितामा पहारीले नेपालीका अग्रज स्रष्टाहरूको योगदानको कदर गरेका छन् । सहिदप्रतिको सम्मान र २०४६ सालपछिका सत्तामोह तथा सरकारी रवैयालाई विन्यास गरेर पनि उनले केही कविताको सिर्जना गरेका छन् । यस लेखमा ‘देशको अभिभारा’ कविता सङ्ग्रहमा सङ्कलित कविताहरूमा प्रगतिशील विचार कुन रुपमा व्यक्त भएको छ भन्ने कुराको केही साक्ष्यहरुसहित खोजीनीति गरिएको छ ।
कविताको भावभूमि
‘देशको अभिभारा’मा सङ्गृहीत पहिलो कविता ‘तीनोटा फिरन्तेहरू’मा कविले ज्ञान, विज्ञान र सुविचारको महिमागान गरेका छन् । दोस्रो क्रमको कविता दाइजो प्रथाको विरुद्धमा छ । दाइजो प्रथा सामाजिक विकृति हो । हाम्रो समाजमा यसको जरो निकै तलसम्म गडेको देखिन्छ । सभ्यताका नाममा केही मान्छे नाङ्गिएका छन् । आजका यस्ता नाङ्गा खालका मान्छे शीलस्वभाव छाडेर सम्पत्तिका पछाडि दगुरिरहेका छन् भन्ने कविको विचार छ । परिश्रम गर्न नसक्ने हुतीहाराहरूले नै दाइजो खोज्छन् । बिजुलीको सेवा नपुगेको ठाउँको दुलाहा केटाले टेलिभिजनको माग गर्छ ! विश्वविद्यालयको प्राध्यापक जसले विद्यार्थीका सामु आदर्शका कुरा गर्छ, सभासमारोहमा प्रगतिशील विचार व्यक्त गर्छ र आफ्नो छोराको बिहेमा चाहिँ मोटरसाइकल, गाडी, सुनलगायत अन्य सामग्री दाइजो लिन्छ ! अलिकति चेतना भएका भनाउँदाहरूको व्यवहार यतिसम्म घृणित छ भन्ने वास्तविकतासम्म कवि पुगेका छन् तर यिनै चेतनशील भनाउँदाहरूको देखासिकी गर्नाले नै समाज दुर्गन्धित भएको हो, व्यक्तिको निजी स्वार्थ र पाश्चात्य उपभोक्तावादी संस्कृतिको हस्तक्षेपका कारण यो विकृति मौलाएको हो भन्ने कुरालाई भने यस कवितामा प्रस्ट पारिएको छैन । दाइजोको लेनदेन गर्नेहरूलाई कानुन बनाएर सरकारले दण्डित गर्नुपर्छ भन्ने कुरो कविले यस कवितामा उठाएका छैनन् । दाइजो नल्याउने बुहारीलाई मध्ययुगीन सुसारे तथा नोकर्नीको जस्तो व्यवहार गरिन्छ । दाइजो कम ल्याउने घरमा तथा ल्याउँदै नल्याउने बुहारीलाई कतिपयले त जिउँदै जलाएका पनि छन् भन्दै कविले दाइजो प्रथालाई केवल सामाजिक समस्याका रूपमा मात्र लिएका छन्–
दाइजोविहीन बुहारीको हालत हुन्छ कस्तो ?
मध्ययुगीन सुसारे र नोकर्नीको जस्तो
घरमा छैन विद्युत सेवा टिभीको छ दाबी
सद्भावना बस्ने ठाउँमा मालसामान भो हाबी
जुन मान्छेमा हुन्न कुनै हिम्मत र ऑट
ससुराली सम्पत्तिमा गाड्छन् तिन्ले दाँत ।
(दाइजो मोह, पृ.४)
‘अछूत र दलित’ कवितामा कविले दलित मुक्तिको चाहना व्यक्त गरेका छन् । ‘श्रम र सीप चल्दछ सधैँ दलितका हातको \ अन्न र पानी चल्दैन किन यी गरिब जातको ? (पृ. ६) भन्दै उनले पेसाका कारण मान्छे अछूत र दलित हुँदैन भन्ने विचार व्यक्त गरेका छन् । श्रमजीवीहरू अछूत र दलित हुँदैनन् बरु जीवनको उच्च आदर्शबाट स्खलित हुने र आफ्नो कर्तव्यबाट पतित हुनेहरू नै अछूत र दलित हुन् भन्ने अभिव्यक्ति उनको छ । समाजका सम्पन्न वर्गले नै गरिबनिमुखाहरूलाई दलित र अछूत बनाएका हुन् । यो सामाजिक विभेदको विरोधको सङ्केत त कविले गरेका छन् तर अछूत र दलित बनाउनेहरू विरुद्धको हुङ्कार कवितामा देखिँदैन । सत्ताले किन उनीहरूको मुक्तिका लागि प्रयास गरेन ? लगायतका सवालमा कविता मौन छ । यद्यपि यस कवितामा समाज वर्गीय छ र शोषक अनि शोषितका बीचमा ठूलो असमानता छ भन्ने यथार्थलाई भने सङ्केत गरिएको छ– ‘कुकुरले बरु पाउँछ सम्मान धनीका सोफामा \ सोफाका स्रष्टा रोएर बस्छन् अँध्यारा गुफामा’ (पृ. ७ ) ।
किताबकै नामकरण गरिएको ‘देशको अभिभारा’ यथास्थितिप्रति असन्तुष्टि व्यक्त भएको कविता हो । यस कवितामा राष्ट्रप्रेमको भावना अन्य कविताका तुलनामा सशक्त रूपमा अभिव्यक्त छ । यसमा कवि सिक्किमको विलय प्रसङ्गलाई समेत जोडेर अन्तर्राष्ट्रिय परिवेशसम्म पुगेका छन् । महाकाली नदीको पानीमाथि गरिएको आत्मघाती सन्धिले कविको मन असाध्यै नराम्रोसँग दुःखाएको छ । राष्ट्रलाई घाटा पारेर गरिएका सन्धिसम्झौताको यसमा विरोध गरिएको छ । युवा जोस र जाँगर देशबाटै पलायन भएकामा कविले चिन्ता व्यक्त गरेका छन् । श्रमको अवमूल्यनप्रतिको चिन्ता प्रकट गरेर भरोसाहीन नेतृत्वप्रति व्यङ्ग्य गर्दै कविले २०४६ सालपछि प्राप्त भएको बहुदलीय व्यवस्था नै सर्वहारा वर्गका लागि थिएन कि भन्ने आशङ्कासमेत व्यक्त गरेका छन् । देशको मुहार फेर्छौं भन्दै पटकपटक सत्तामा पुग्नेहरूले पनि आफ्नो दुनो सोझ्याउनुबाहेक अरू केही गरेनन् भन्दै कवि लेख्छन्– ‘हाम्रो भोट त लाइसेन्स भयो जथाभावी गर्ने \ हाम्लाई मार्ने गोलीको दाम हाम्ल्यै तिर्नु पर्ने !’ (पृ. १२) । २०६० सालको सुरुतिर यो कविता लेखिँदा परिवर्तनको उज्यालो खोज्ने बस्तीहरूमा रगत बगिसकेको थियो । रुकुम, रोल्पाका भोका बस्तीहरू जलिसकेका थिए । खारा डढिसकेको थियो । कवि पहारीका मनमा यी बिम्बहरू जीवित थिए । हामीले आफ्नो भोको पेटमा पटुका कसेर बुझाएको तिरोले बारुद र बन्दुक किनी हामीलाई नै सिध्याउनु कहाँसम्मको न्यायोचित व्यवस्था हो भनी कविले यहाँ आश्चर्यका साथ आक्रोश व्यक्त गरेका छन् । कवि पहारीद्वारा सिर्जित उपर्युक्त पङ्क्तिलाई हेर्दा वर्गीय मुक्तिका लागि सशस्त्र युद्धमा होमिएको विचारलाई उनले समर्थन गरेको देखिन्छ । कवि अबको नेपालको निर्माणमा हाम्रो आफ्नै लगानी हुनुपर्छ, देश बनाउने जिम्मा अब हाम्रै काँधमा आएको छ भन्न पुग्छन् । ‘अग्रगामी निकास नै होस् सबको एउटै नारा’ (पृ. १३) भन्दै कविले तत्कालीन बहुदलीय व्यवस्थाप्रति वितृष्णाको भाव व्यक्त गरेका छन् ।
‘जन्म दिन’ शीर्षकको कवितामा कविले सांस्कृतिक प्रदूषण फैलाउनेहरूप्रति व्यङ्ग्य गरेका छन् । हामीले आफ्नो मौलिक संस्कृतिलाई गुमाउँदै गएकामा कविलाई चिन्ता लागेको छ । कतिपय धनाढ्य र नवधनाढ्यहरूद्वारा विदेशी केक काट्दै र विदेशी ह्विस्की–ब्रान्डीले नुहाउँदै गरिने मोजमस्तीको उनले विरोध गरेका छन् । उज्यालाको प्रतीक बत्तीलाई नै निभाएर गरिने मोजमस्ती कुनै उत्सव हुन सक्दैन भन्ने विचार कविको देखिन्छ । हामीले आफ्नो मौलिक पहिचानलाई बिर्सनु हुँदैन भन्दै कविले यसमा पश्चिमा छाडा संस्कृतिलाई भित्र्याएर गौरव गर्ने नेपालीहरूप्रति तीव्र व्यङ्ग्य प्रहार गरेका छन् । वास्तवमा यस कविताले साङ्केतिक रूपमा सांस्कृतिक आक्रमणको विरोध गरेको छ । ‘भगवान् !’ शीर्षकको कवितामा कविले परम्परागत रूपमा मानिँदै आएका भगवानको अस्तित्वलाई अस्वीकार गरेका छन् । यसमा परिश्रमी र सामूहिक हितका लागि हिँड्ने मानिसहरूलाई नै भगवानका रूपमा लिइएको छ । जुन वस्तुले मानवको हित गर्छ अर्थात् जुन वस्तु मानवसेवामा समर्पित छ त्यही नै भगवान् हो भन्ने भाव अभिव्यक्त यो कविता महाकवि देवकोटाको ईश्वरप्रतिको दृष्टिकोण बोकेको ‘यात्री’ बाट केही मात्रामा प्रभावित छ ।
‘होली’ नामको कवितामा कवि पहारीले होलीका नाममा भित्रिएका विकृतिको विरोध गरेका छन् भने ‘छाडा साँढे’ मा विस्तारवादी एवम् साम्राज्यवादी दादागिरीप्रति व्यङ्ग्य गरेका छन् । ‘त्यही पैसाको खेला’मा पैसा हुनेहरूको फुर्तीप्रति व्यङ्ग्य र पैसा नहुने परिश्रमीहरूको परिश्रमप्रति सम्मानको भाव व्यक्त गरिएको छ । पैसाभन्दा पसिना ठूलो हुन्छ भन्ने कुरा यसमा कविले गरेका छन् । ‘शहादत र सम्मान’ वास्तविक सहिदहरूप्रति सम्मानभाव व्यक्त गरिएको कविता हो । यसमा कविले अचेल सम्मानको पनि क्रयविक्रय हुन थालेकामा अफसोस प्रकट गरेका छन् । प्रदूषित संस्था र फोहोरी हातबाट दिइने सम्मानहरू सम्मान नभई अपमान हुन् भन्ने कविको ठहर छ । आफ्नै नातागोतामा सीमित रहेर प्रदान गरिने पुरस्कारहरू पुरस्कार नभई तिरस्कार हुन् भन्ने कुरा कविले गरेका छन् । मानिस पदकले नभई योगदानले उच्च बन्छ । सम्मान किनिने चीज होइन । ‘सम्मानको आफ्नै गरिमा हुन्छ किनेर किनिन्न’ (पृ. ३ ९) भन्दै कविले वर्तमानमा सम्मान किन्ने र बेच्नेहरूप्रति व्यङ्ग्य गरेका छन् । सहिदप्रतिको सम्मान पनि किनबेच नहोस् भन्ने आशय उनको यस कवितामा छ । सहिदहरूप्रतिकै समर्पण भाव बोकेको अर्को कविता ‘सहिदहरूको सम्झना’ शीर्षकमा कविले प्रजातन्त्र ल्याउनका लागि हाम्रा सपूतहरूले गरेको बलिदानी उत्सर्गलाई उच्च महिमाका साथ प्रस्तुत गरेका छन् । हाम्रा सपूतहरूले आफ्नो भौतिक शरीरका सट्टामा ल्याएर छाडेको प्रजातन्त्रमा पूर्णता आउन अझै बाँकी रहेको कुराको सङ्केत कविले गरेका छन् । ती वीर सहिदहरूकै कारण आज हामीमा चेतनाको लहर फैलिएको छ । हामीलाई बाँधेको निरङ्कुशताको बन्धन चुँडाउनका लागि उनीहरूले आफ्नो जीवनको उत्सर्ग गरे । उनीहरूको बलिदान यो समाजलाई सभ्य बनाउन र यस धर्तीबाटै दुःखकष्टहरू निर्मूल गराउनका लागि थियो । हाम्रो भोको पेट र नाङ्गो आङबाट प्रेरित भएर नै उनीहरू क्रान्तिमा होमिएका हुन् भन्ने कविको विचार देखिन्छ ।
‘उत्सर्ग गरे सहिदले हाम्रो आत्मालाई सुर्याउन
भोकालाई खाना नाङ्गालाई नाना गाउँगाउँमा पुर्याउन
... ... ...
न झर्छ विचार गोलीले झारी न मर्छ जलाई
डढेलोपछि पिपिरासरि आउँछ त्यो पलाई’ (पृ. ६६–६८) भन्दै कविले गोलीले हाम्रा सपूतहरूको भौतिक शरीरलाई ढाले पनि उनीहरूको विचारलाई ढलाउन नसकेको यथार्थको प्रतिबिम्बन गरेका छन् । सत्य र न्यायको पक्ष लिनेहरूको कहिल्यै हार हुँदैन भन्दै कविले लेखेका छन्– ‘काँतर मर्छ हजार बार वीर मर्छ एकै बार \ अन्त्यमा गई सत्यले जित्छ हुँदैन त्यसको हार’ (पृ. ६८) । ‘बोल्न थाले गोली’ कवितामा कविले गरिब जनताका पीडालाई मार्मिक रूपमा व्यक्त गरेका छन् । किसानहरू भोकमरीले ग्रस्त छन् । वस्तुभाउहरू नाम्ले लागेर मरिरहेका छन् । यसलाई ‘ती किसानले मागेका छन् नाम्ले मार्ने टोली \ तर यहाँ पठाइन्छन् काम न काजका गोली’ (पृ. ४१) भन्दै नमीठो यथार्थका रूपमा प्रस्तुत गरेका छन् ।
‘सती प्रथाको नयाँ संस्करण !’ सङ्ग्रहभित्रको एउटा राम्रो कविता हो । प्रस्तुत कवितामा नारी मुक्तिको स्वर अभिव्यञ्जित छ । बहुविवाहलाई पुरुषार्थका रूपमा लिइने हाम्रो इतिहासमा पितृ हुन लायक सत्तरी, पचहत्तर वर्षको वृद्ध बाजेहरूले आफ्नै नातिनीजस्ता सानी बालिकाहरू बिहे गरेर श्रीमतीको सङ्ख्यामा वृद्धि गर्ने चलन थियो । ती पिण्ड खाने उमेरका बृद्धहरूको देहावसानपछि लाऊँलाऊँ र खाऊँखाऊँ उमेरका पन्ध्र–सोह्र वर्षका विवाहित किशारीहरू त्यस्ता वृद्धहरूसँगै जिउँदै चितामा जल्नुपर्ने हुन्थ्यो । यो पितृसत्तात्मक राज्यका पुरुषहरूले गरेको नारीमाथिको घोर अत्याचार थियो । यद्यपि नेपालका सन्दर्भमा वि. सं. १९७७ सालमा सती प्रथाको अन्त्यको घोषणा गरिए पनि नारीमाथिको अत्याचार आजसम्म उस्तै अवस्थामा छ । नारीलाई नैसर्गिक अधिकारबाटै बञ्चित गरिएको छ । उनीहरूलाई आफ्नै घरको आर्थिक निर्णय गर्ने अधिकारसम्म पनि दिइएको छैन । पुँजीवादीहरूले नारीलाई विज्ञापनको सामग्रीमा परिणत गरिदिएका छन् । एक्काइसौं शताब्दीमा हिँडिरहेको हाम्रै समाजमा बोक्सीका नाममा मुखमा दिसापिसाब कोचेर बेसहारा, निमुखा तथा निर्धन नारीहरूमाथि अत्याचार गरिएको छ । गाईबाख्राका मूल्यमा नारीलाई क्रयविक्रय गरिएको छ । दाइजोका नाममा होस् अथवा छोरो नजन्माएको निहुँमा होस् नारीलाई शारीरिक रूपमा मात्र नभई मानसिक रूपमा पनि असाध्यै यातना दिइएको छ । यस्ता नराम्रा चलनहरू हटाएर उज्यालो बिहान ल्याउनुपर्छ भन्ने आशयको यो कवितामा प्रगतिशील स्वर प्रखर रूपमा आएको पाइन्छ ।
‘माइलीको रोदन’ आफ्ना सन्तानहरू कामको खोजीमा विदेसिएपछिका नेपाली आमाहरूको व्यथामा आधारित कविता हो । यस कवितामा नेपालमा बेरोजगारीको पीडालाई प्रमुख रूपमा उठाइएको छ । नेपाली युवाहरू अरब, मलेसिया, कोरिया, जापान, अमेरिकालगायत विभिन्न देशहरूमा भौंतारिन बाध्य छन् । छोराले केही कमाएर ल्याउला भन्ने हाम्रा माइलीहरूको आशाको त्यान्दो त्यस समयमा चुँडिन्छ जुन समयमा विदेशबाट आफ्नै आँखाअगाडि छोराको लास आइपुग्छ । ‘न्याउली रुन्छे यो वनमा जसरी माइली रुन्छे यो देशमा त्यसरी’ (पृ. ४८) भन्दै कविले हाम्रा सामूहिक मर्मलाई त अभिव्यक्त गरेका छन् तर माइलीलाई रुवाउनेहरूका विरुद्धमा कवितामा सशक्त आक्रोशित भाव व्यञ्जित हुन सकेको छैन । छोराहरूलाई यही देशमा काम नदिएर विदेशतिर लखेट्नेहरूप्रति कवितामा आक्रोश छैन । आफ्नो भने आउने पाँच सात पुस्तासम्मका लागि सम्पत्ति थुपार्ने, जनताका छोराछोरीलाई भने गाँस, बास र कपासका लागि उचित व्यवस्था नमिलाएर विदेशतिर लखेटिदिने सत्ताधारीहरूप्रति प्रहार गर्न नसक्नु यस कविताको दुर्बल पक्ष हो । ‘चार पागलका प्रलाप’ मा समाज व्यक्तिगत स्वार्थले ग्रसित भएको यथार्थलाई प्रतिबिम्बन गरिएको छ । यस सङ्ग्रहकै सबैभन्दा छोटो ‘२१ औं शताब्दीको नेपाल’ शीर्षकको कवितामा राष्ट्रसेवकहरू दण्डित हुने र भ्रष्टाचारीहरू महापण्डित हुने यस देशको वर्तमानलाई प्रस्तुत गरिएको छ । ‘धर्म’ शीर्षकको कवितामा व्यक्तिले गर्नुपर्ने कर्तव्यलाई धर्म मानिएको छ । ‘प्रतिदिन गाईको दूधले धोए पनि चर्म \ कमाइ चोखो छैन भने हुन्न कुनै धर्म’ (पृ. ६१ ) भन्दै यस कवितामा कविले विशुद्ध परिश्रममा जोड दिएका छन् ।
‘यसरी नबसौं अब’ यस सङ्ग्रहको एक मात्र वर्णमात्रिक छन्दमा संरचित कविता हो । यो अनुष्टुप् छन्दमा छ । यसमा नेपालको लथालिङ्ग र भताभुङ्ग अवस्थाको वर्णन छ । हाम्रो अतीतको गौरवमा आज आएर खिया लागेकामा कवि चिन्तित देखिन्छन् । हामी विदेशीसँग हात पसारेर माग्ने मगन्ते बन्यौँ । मागेर उन्नति सम्भव छैन । विदेशीहरूले पनि हामीमा फाटो पार्न थालेका छन् । ‘साह्रै नै खोक्रियौँ हामी रित्तियो आत्मगौरव’ (पृ. ६४) भन्दै यसमा कविले अव्यवस्थालाई यथार्थ रूपमा उतारेका छन् । धूम्रमान तथा मद्यपानबाट कुनै पौष्टिक तत्व नपाइने हुनाले यस्तो कुलत त्यागेर मानिस स्वस्थ भई बाँच्नुपर्छ भन्ने सन्देश ‘धूम्रपान र मद्यपान’ शीर्षकको कवितामा छ । यस कवितामा कविले जीवनोपयोगी उपदेश दिएका छन् । ‘सत्ता सुन्दरी !’ सत्ताका लागि -याल चुहाएर मरिहत्ते गर्ने दलहरूको स्वार्थी प्रवृत्तिमाथि व्यङ्ग्य गरिएको कविता हो भने ‘होली’ समाजमा विकृति भित्र्याउनेहरूप्रति प्रहार गरिएको कविता हो । ‘शान्तिको चाहना’ चाहिँ हत्याहिंसाबाट देशले मुक्ति पाओस् भनेर कामना गरिएको कविता हो ।
दौलतको तिम्लाई लालसा भए राजनीति नगर
फर्काऊ बरु व्यापारतिरै ती लोभी नजर
रक्षक हुँ भन्दै भक्षक बन्ने प्रपञ्च नगर
गाईको छाला ओढेर ब्वाँसा गाउँघरमा नझर ।
(जनताको चुनौती, पृ. ७१ )
उपर्युक्त पङ्क्तिमा कविले बहुदलीय व्यवस्थामा सम्पत्ति कमाउनका लागि नेता बनेकाहरूप्रति आक्रोश पोखेका छन् । २०५६ सालमा लेखिएको यस कवितामा जनचाहनाविपरीत चल्ने विवेकहीन नेताहरुप्रति कविले व्यङ्ग्य गरेका छन् । तत्कालीन अवस्थाका प्रमुख दल, नेता, सांसद तथा तिनका सीमित कार्यकर्ताहरूले यस देशको सम्पत्तिमा ब्रह्मलुट गरेको यथार्थ सबैमा जगजाहेरै छ । नेपालकै विभिन्न गाउँबाट सांसदमा चुनिएर काठमाडौँ पुगी मन्त्री भएपछि केही वर्षमै करोडौंका महल बनाउने नेताहरू अहिलेसम्म जीवित छन्, राज्यसंयन्त्रमा अहिलेसम्म पनि तिनीहरुकै हालिमुहाली छ । हामी अहिले पनि राजधानीमा तिनका महलहरू देख्न सक्छौं जुन महलहरू उनीहरूको आफ्नै पसिनाबाट निर्मित महल होइनन् । जनताका मर्मलाई एकातिर पन्छाएर आफ्नो व्यक्तिगत स्वार्थलाई महत्व दिने त्यस्ता नेताहरूप्रतिको अविश्वास कवितामा छ । २०५८ सालमा रचना गरिएको ‘हात लाग्यो मूषिका’ २०४६ सालको जनआन्दोलनबाट प्राप्त प्रजातन्त्र अर्थात् बहुदलीय व्यवस्थाप्रतिको व्यङ्ग्य हो । यसमा आन्दोलनबाट प्राप्त उपलब्धिले जनतालाई सुखशान्ति दिलाउँछ भन्ने जुन आशा थियो त्यही आशा नै हात लाग्यो शून्य भएकामा कवि चिन्तित देखिएका छन् ।
‘कवि अलिमियाँ’ शीर्षकमा पहारीले लोककवि अलिमियाँले नेपाली काव्यको फाँटमा पुर्याएको योगदानको चर्चा गरेका छन् भने ‘कवि गोकुल जोशी’ शीर्षकमा जनकवि गोकुल जोशीका कवितामा पाइने प्रगतिवादी स्वरलाई विषय बनाएका छन् । कवि पहारीले गोकुल जोशीलाई अन्याय र अत्याचारका विरुद्धमा लड्ने, सामन्तवाद तथा साम्राज्यवादविरोधी कविका रूपमा चित्रण गरेका छन् । यस्तै अर्को कविता ‘महाकवि देवकोटा’मा पनि पहारीले देवकोटाको व्यक्तित्व, कृतित्व र नेपाली साहित्यको श्रीवृद्धिमा उनले पुर्याएको योगदानको कदर तथा सम्मान गरेका छन् । पहारीले अग्रज सष्टाहरूको सम्मानमा पनि कन्जुस्याइँ नगरेको तथ्य यी कविताबाट स्पष्ट हुन्छ ।
२०२५ सालदेखि २०३२ सालभित्रमा रचना गरिएका पाँचवटा गद्य शैलीका कवितालाई यस सङ्ग्रहमा ‘गद्य कविता’ शीर्षक दिएर दोस्रो खण्डमा राखिएको छ । यी पाँचवटै कविताहरू सरल गद्य भाषामा संरचित छन् । २०२५ सालमा लेखिएको ‘वर्षा ऋतु’ र २०२८ सालमा लेखिएको ‘माछापुच्छ्रे’ कवि पहारीको काव्ययात्राका प्रारम्भकालीन कविता हुन् । यी दुई कविता पढ्दा कवि यथार्थभन्दा बढी स्वच्छन्द प्रवृत्तिमा डुबुल्की मारेको देखिन्छ । ‘शिक्षक हुनु’ कवितामा कविले एकातिर शिक्षकका पीरव्यथालाई सङ्केत गरेका छन् भने अर्कातिर शिक्षकलाई समाजमा उज्यालो छर्ने प्रकाशपुञ्जका रूपमा चित्रित गरेका छन् । ‘टौवा’ पतिको यातना सहन बाध्य नेपाली ग्रामीण महिलाहरूको दयनीय अवस्थाको चित्रण गरिएको कविता हो । २०३१ सालमा लेखिएको यस कवितामा किसानले टौवाबाट पराल थुतेझैँ क्रूर पतिले आफ्नी श्रीमतीको जगल्टा लुछेको बिम्ब सजीव रूपमा आएको छ । दुव्र्यसनी, रिसाहा तथा सन्काहा लोग्नेले सानो निहुँमा वा बिनाकारण पनि आफ्नी स्वास्नीमाथि गर्ने अत्याचार यस कविताको विषयवस्तु रहेको छ । घरेलु हिंसाले पीडित हाम्रो समाजका नारीका असह्य अवस्थालाई यस कवितामा औधी राम्रोसँग प्रस्तुत गरिएको छ ।
यो अभिशप्त नारी
आफ्नो आत्मघाती सहनशीलताका कारण
यसरी नै भुत्लिइरहन्छे
जबसम्म सकिँदैनन् यसका कपालभरिका जगल्टा
यो पतिभक्त नारी
यसरी नै लुछिइरहन्छे
जबसम्म उम्रँदैनन् यसको मन र मस्तिष्कमा
चेतना र विद्रोहका राताराता अगुल्टा ।
(टौवा, पृ. ९८)
पीडित नारीहरूमा जबसम्म चेतना आउँदैन र सङ्गठित हुन सक्दैनन् तबसम्म उनीहरूको मुक्ति पनि सम्भव छैन भन्ने यथार्थ उपयुक्त कवितांशबाट पुष्टि हुन्छ । 'मेरो पुरानो गोलो घर'मा कविले नेपाली ग्रामीण परिवेशमा पाइने भियतनामी टोपजस्ता खरको छानाले युक्त रातो माटाले लिपेका घरहरूको दृश्य बिम्ब उतारेका छन् । यो यस सङ्ग्रहकै एक मात्र चित्र राखिएको कविता हो र यो कविको फेवातालको किनार बैदामस्थित भत्किसकेको आफ्नै पुरानो घरको बिम्ब पनि हो ।
हेमराजका कवितामा व्यक्त सामाजिक सत्य नेपाली परिवेशको हो । यस सङ्ग्रहमा सङ्कलित अधिकांश कविताहरू बहुदलीय शासनकालमा लेखिएका हुन् । आफू बाँचेको समाज र आफूले भोगेको जीवनबाट कवि पूरै रूपमा भागेका छैनन् । वर्तमान विकृति, विसङ्गति तथा जनताका पीडालाई पहारीले आफ्ना कवितामा व्यक्त गरेका छन् । विषयवस्तुमा विविधता यस सङ्ग्रहको विशेषता हो । कतिपय कवितामा कवि यथास्थितिका विरुद्धमा देखिएका छन् । प्रगतिवादी विचारको प्रस्तुतिमा पुग्न नसके पनि प्रगतिशीलता कवि पहारीको मुख्य प्रवृत्ति हो भन्दै समीक्षक कृष्णराज अधिकारी लेख्छन्–
एकातिर समाजमा विद्यमान अन्धविश्वास, कुरीति, कुविचार, कुलत र कुसंस्कारप्रति विरोध जनाउँदै त्यसमा परिवर्तन र सुधारको खाँचो औँल्याइएको छ भने २०४६ को जनआन्दोलनपछि सत्तासीन बनेकाहरूमा देखिएको गलत प्रवृत्ति, कुशासन, भ्रष्टता, अदूरदर्शिता, सत्ताको छिनाझपटी र सहिदको अपमान अनि जनताको आस्थामा कुनै परिवर्तन हुन नसकेको अवस्थाप्रति तीव्र असन्तुष्टि जनाइएको पाइन्छ । कतिपय कविताहरूमा नयाँ बिहानीको खोजी गरिएको पाइए पनि अधिकांश कवितामा विद्यमान सामाजिक–राजनीतिक अवस्थाको विरोध गर्दै त्यसमा परिवर्तन र सुधारको आवश्यकता औंल्याइएकाले प्रगतिशीलता नै उनको कविताको प्रवृत्ति रहेको पाइन्छ । (अधिकारी, २०६५; ८२)
‘साहित्य र यस सङ्ग्रहबारे आफ्नो धारणा’ शीर्षकको भूमिकामा कवि पहारीले साहित्यबारे निश्चित मान्यता राख्दाराख्दै पनि म आफ्ना प्रतिबद्धित मान्यताबाट विचलित भएको हुन सक्छु । अन्तरक्रिया, अध्ययन तथा अभ्यासको कमीले गर्दा त्यस्तो भएको हुन सक्छ भन्दै कवितामा उत्पीडित वर्गका पक्षमा खरो रूपमा उत्रिन नसकेको स्वीकार गरेका छन् । यद्यपि यथास्थितिका विरुद्धमा भने उनको कलम दह्रोसँग चलेको छ । यही कुरालाई सङ्केत गर्दै समीक्षक घनश्याम ढकाल लेख्दछन्– “उत्ताउलो अभिव्यक्ति मन नपराउने पहारीका कवितामा समसामयिकता, जनजीवनका पीडा र उत्पीडनको बोध छ, पुँजीवादी विदूपताको चित्रण छ, परिवर्तनको चेत छ, सहिदप्रति आस्था र क्रान्तिपछि शान्तिको कामना छ । उनका कवितामा यथार्थता र प्रगतिशीलता नै सबैभन्दा बढी मुखरित भएको छ” (ढकाल, २०६२; १३५) । यसबाट के प्रस्ट हुन्छ भने हेमराज पहारी प्रगतिशील कवि हुन् र उनको ‘देशको अभिभारा’ प्रगतिशील कविताहरूको सँगालो हो ।
‘देशको अभिभारा’ भित्रका कवितामा रूप पक्ष
विषयवस्तु जतिसुकै गहन भए पनि त्यसलाई प्रस्तुत गर्ने कला पक्ष कमजोर भयो भने कविता उत्कृष्ट बन्न सक्दैन । सिर्जनामा अन्तर्वस्तु प्रधान हुँदाहुँदै पनि रूप पक्षलाई नर्कां मिल्दैन । कवितामा रूपका बारे चर्चा गर्दा संरचना, भाषा र लयलाई समेट्नुपर्ने हुन्छ । संरचनागत आकारका दृष्टिले यस सङ्ग्रहका कविता हेर्दा लोकलयमा ‘२१ औं शताब्दीको नेपाल’ आठ पङ्क्तिदेखि ‘देशको अभिभारा’ चौहत्तर पङ्क्तिसम्ममा संरचित छन् भने सबैभन्दा धेरै पङ्क्तियुक्त कविता चाहिं गद्य शैलीमा संरचित ‘शिक्षक हुनु’ देखिन्छ । यसमा सोह्रवटा अनुच्छेदमा ११२ वटा पङ्क्ति छन् । सङ्ग्रहका प्रायः कविताहरू फुटकर कविता वा लघु रूपकै औसत आकारमा संरचित छन् । लोक छन्दका केही कवितामा देवकोटाको मुनामदनमा प्रयुक्त सोह्र अक्षरका पङ्क्ति र केहीमा चाहिँ सवाई लयका चौध अक्षरयुक्त छन् । सङ्ग्रहको पहिलो खण्डका केही कविता झ्याउरे कविता हुन् । पहिलो खण्डका कविताहरू एउटा अनुष्टुप् छन्दको बाहेक अरू एकतीसवटा लोकलयमा लेखिएका छन् भने दोस्रो खण्डका पाँचवटै कविता गद्य शैलीमा संरचित छन् ।
पहारीका कविताहरू सरल भाषामा छन् । बिम्ब र प्रतीक प्रयोगका दृष्टिले लोकलयका कविताभन्दा गद्य शैलीका कविता सशक्त देखिन्छन् । कतिपय कवितामा कविले अङ्ग्रेजी शब्दको पनि प्रयोग गरेका छन् । यी शब्दले मिष्टान्न भोजनमा किरिकिरीको अनुभूति दिलाउँछन् । उदाहरणका रूपमा ‘एलपिजी दाइले सोहोर्यो सप्पै गरिबको मोहोर’ (पृ. ३१) मा एल.को पूरा रूप ीष्दभचबष्शिबतष्यल (उदारीकरण), पि.को पूरा रूप एचष्खबष्शिबतष्यल (निजीकरण) र जी.को पूरा रूप न्यिदबष्शिबतष्यल (विश्वव्यापीकरण) हो । यसलाई अन्य नेपाली शब्दकै माध्यमबाट पनि विन्यास गर्न सकिन्थ्यो तर त्यसतर्फ कविको सचेत प्रयास नपुगेको मान्न सकिन्छ । लोकलयका कवितामा यस किसिमका अङ्ग्रेजी शब्दहरू धेरै छन् जसले लयमा आघात नपुर्याए पनि रसस्वादनमा भने कठिनाइ उत्पन्न गराएको छ । लोकलयका कविताहरू अन्त्यानुप्रासले युक्त छन् भने गद्य कवितामा पनि अन्तर्लयको आयोजनाको प्रयास देखिन्छ । अनुप्रासको संयोजनमा बढी जोड दिँदा अन्तर्वस्तु खजमजिन पुगेको अवस्था पनि कुनै कुनै कवितामा भेटिन्छ । पहिलो खण्डका कविताहरूको गायनमा पाइने मिठासलाई भने खोट लगाउन मिल्दैन ।

उपसंहार
‘देशको अभिभारा’ भित्रका अधिकांश कवितामा उत्पीडित जनताप्रति अगाध आस्था छ । कवितामा नेपालका निम्न वर्ग तथा दलितहरूप्रति सहानुभूति प्रकट गरिएको छ । जनताको आस्थामा आघात पुर्याउने दल तथा नेताहरूप्रति कविले घृणा र आक्रोशको भाव व्यक्त गरेका छन् । कवितामा तत्कालीन कुरूप यथार्थलाई इमानदारिताका साथ प्रस्तुत गरिएको छ । केही कविता सामन्तवाद, साम्राज्यवादका विरुद्धमा छन् भने केहीमा विस्तारवादको पनि विरोध पाइन्छ । नेपाली समाजमा जरा गाडेर बसेको अन्धविश्वास तथा रूढिवादी परम्पराका विरुद्धमा पनि केही कविता सिर्जित छन् । २०४६ सालपछि स्थापित बहुदलीय राजनीतिक विकृतिमाथि कविले औंला ठड्याएका छन् । नेपालका लागि अहित हुने असमान सन्धिसम्झौताको कविले विरोध गरेका छन् । केही कविता देशभक्तिमा आधारित छन् भने केही उपदेशमूलक पनि छन् । कतिपय कवितामा यथार्थ प्रस्तुति हुँदाहुँदै पनि आदर्शको जलप लगाइएको छ । कविताहरू लय मिलेका र साङ्गीतिक हुँदाहुँदै पनि भाषिक संरचनामा केही कमीकमजोरी देखिएका छन् । जे होस्, निरङ्कुशताको विरोधका साथै श्रमप्रतिको सम्मान र सहिदहरूप्रतिको समर्पणभावले युक्त पहारीका कविताहरूको समग्र अध्ययन गर्दा उनलाई प्रगतिशील प्रतिभाका रूपमा चिनाउन सकिन्छ ।
सन्दर्भसूची
अधिकारी. कृष्णराज (२०६५). ‘देशको अभिभारा’भित्र कवि पहारी'. पोखरेली समालोचना. पोखराः गण्डकी साहित्य सङ्गम ।
ढकाल. घनश्याम (२०६२). यथार्थवादी नेपाली समालोचना. पोखराः गण्डकी साहित्य सङ्गम ।
पहारी. हेमराज (२०६१). देशको अभिभारा. पोखराः कविता क्लव ।

ज्याग्दीखोला, स्याङ्जा, हालः पोखरा– १७, कास्की

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।