कहिल्यै नसुनेको शव्द ‘उमिहोतारु’ । यो शब्दको लय समात्न अझै पनि जिब्रोलाई कठिनै परिरहेको छ । घुमन्ते लेखकको पहिचान बनाएका कृष्ण बजगाईं यस्ता शव्दहरुको प्रयोग गर्नमा खप्पिस छन् । उनका धेरै कृतिहरुको पङ्तीमा यस्तै अनौठा शब्द भएका ‘भाय साक्रा’, ‘दाइबुचु’ र ‘युरेशियाको स्पर्श’ नामका नियात्रा कृतिहरु छन् ।
‘उमिहोतारु’ नियात्रासंग्रह हात पर्नासाथ उनका यात्रा वृतान्तसँगै आँफै बहकिनुको सट्टा मलाई ‘उमिहोतारु’ शव्दको अर्थ भेट्ने यात्रा गर्न मन लाग्यो । कृतिमै खुलाईएको रहेको छ । ‘उमिहोतारु’ जापानी शव्द रहेछ र यसको अर्थ समुद्री जुनकुरी हुँदो रहेछ । आफ्नै ल्याकत र बुताले चम्किने जुनकिरीको प्रकाशले अन्धकार रातलाई पनि मोहक बनाई दिन्छ । कृति भित्र लेखनका बान्की र शैली पनि यस्तै मोहक लाग्छन् ।
नेपाल जस्तो भुपरिवेष्ठित भूगोलका पाठकलाई समुद्रका कथा, पानीको साम्राज्य माथिको यात्रा वर्णन, निम्छरा र साँगुरा सडकमा गोडा चलाउने हाम्रालागि भिमकाय सहर र ति सहर भित्र दौडदा देखिएका सपनाका कथाले ठाउँठाउँमा टक्क उभ्याउँछन् । नियात्रा पढिरहेको पाठकको यात्रा ठाउँठाउँमा हाम्रा लोकल बस रोकिए जस्तै रोकिन्छ । भन्न खोजेको र वर्णन गर्न खोजेको यथार्थ हामीले भोगिरहेको दैनिकी भन्दा विल्कुलै भिन्न भएका कारण त्यसको प्रतिविम्ब मस्तिकमा उतार्न र महसुस गर्न केहि बेर नरोकिई धरै छैन ।
संग्रह भित्र एक्काइस गन्तव्यका कथा अर्थात यात्रा वर्णनका कथा छन् । फरक भुगोल, फरक धरातल, फरक विषय, फरक विशेषता, फरक महत्वका एक्काइस गन्तव्य छन् । ती सबै नेपाली परिवेश भन्दा धेरै फरक छन् ।
बतासे सहरमा बादलको गेट होस् वा क्याम्ब्रिजमा निर्वस्त्र सुन्दरी अथवा क्यान्टरबरी टेल्स र क्याथड्रेलको वर्णन । त्यसमा नेपाली दशगजा भन्दा विल्कुलै पर जापान, अमेरिका र बेलायतका कथा छन् । पाठकले नूतन गन्तव्यको अनुभूती गर्छन् ति पढ्दा । योनि म्युजिममा चिहाउँदा शिर्षकको नियात्रा पढ्नु अघि लाग्यो, धत्तेरी बजगाईं पनि कहाँकहाँ पुगेछन् । किन जानु त्यस्तो ठाउँ ? गईहाले पनि किन लेख्नु त्यस्तो कुरो जस्तो पनि लाग्यो । तर उनीसँगै म पनि म्युजियम चिहाउँन पुग्दा मेरो कल्पना भन्दा नितान्त फरक थियो यथार्थता । त्यस्ता म्युजिमयहरु त नेपालमा पनि भए हुने नि जस्तो पनि लाग्यो ।
ग्रिनविचको काल्पनिक रेखामा पाईला राखेको वर्णन होस् वा कुकुरको चिहानमा चार थोपा आँसु झारेका कुरा वा प्रजातन्त्रको जन्मस्थलमा म्याग्ना कार्टा खोज्दा नियात्राकारले देखेका दृश्य आँखै अघि नाचे जस्तो लाग्छन् । उनका हरेक नियात्रा पढ्दा उनका पाईलासँगै पाठक पनि उसै गरि हिँडेको भान हुन्छ । घुमन्ते लेखक बजगाईले यस कृतिमा आफ्नो शिल्प कुशलतापूर्वक प्रदर्शन गरेका छन् ।
डायोस्पोरिक लेखनको शक्तिशाली कला बेलायती गाउँमा कुपर नियात्रामा होस् वा बिटल्स र यायावरमा नियात्रामा आएको छ । उनले अरु धेरै गन्तव्यका वर्णनमा नेपाली परिवेशलाई सम्झिएका छन् । तुलना गरेका छन् । बिम्ब बनाएर नेपाली पहाड र बस्तिहरुलाई उतारेका छन् । उनको शव्द संयोजनको शिल्प यहाँ सितारा झैं बनेर झल्किएका छन् । नियात्राकारसँग मेरो असहमति तुलना गर्ने कुरामा छ । परदेशको बैभवसँगको तुलाना हाम्रो आफ्नो निम्छरोपनासँग गर्नु ठिक लाग्दैन । हो, हाम्रो देशमा सम्पन्न मुलुकहरुको जस्तो बिराट विकास भएको छैन । राजनीतिक नेतृत्वले गर्न सकेको छैनन् । त्यहि कुरा बारम्बार गरिरहँदा टनटनी दुख्छ ।
नियात्राकारको लेखकिय शैली र उनको यो कृति एउटा टुर गाईड पनि हो । पहाडको टुप्पोदेखि समुद्रमुनि सम्मको यात्रा गर्दा उनले जे भोगे अथवा टोकियोमा सपनाको यात्रा उनले जसरी गरे कृतिका अरु नियात्राहरुले पनि ती ठाउँमा पुग्न चाहनेहरुलाई पथप्रदर्शन गरेका छन् । नियात्राकारले लेखक साहित्यकारका जन्मस्थल र कर्मस्थलहरुलाई तिर्थ मानेका छन् । नेपालमा पनि त्यस्तै भई दिए हुने नि भन्ने कामना पनि गरेका छन् । महाकवि देवकोटाको निवाशबाट यो कामको शुरुवात भइसकेको छ । आदिकविको निवाशले पनि यो बहसमा भाग लिएको छ । अरु धेरै महान सर्जकहरु पनि समेटिनु पर्दछ । नियात्राकारले यस कुरालाई पनि गाईड गर्न खोजेका छन् । कृतिभरि साहित्यिक पर्यटनको एउटा मार्गदर्शकको रुपमा उभिएका छन् नियात्राकार । यी कुराहरुबाट हामीले पनि सिक्नु पर्दछ ।
पछिल्ला वर्षहरुमा नियात्रा नेपाली पाठकहरुका बिचमा पठनिय र लोकप्रिय विधाका रुपमा रहेको छ । नियात्राले केवल यात्राको वर्णन मात्र गर्दैन, पाठकलाई नयाँ परिवेश, समय, संस्कार, संस्कृति, खानपीन र जीवनशैलीका बारेमा मात्र होइन तत् भुगोलमै पुगेको अनुभूती पनि गराउँछ । नियात्राकार बजगाईंका कतिपय शिल्प र बान्की नियात्रा लेखनमा रुची राख्नेहरुका लागि पनि गाईडको रुपमा रहेको छ । भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको यो कृति भर्चुअल यात्रामा रमाउन खोज्नेहरुका लागि एउटा श्रेयस्कर पथप्रदर्शकको रुपमा पनि रहेको छ ।