अचानक
बाक्लो हिउँको छाला नै उप्किएर
सल्याक्क हुन्छ हिमाल ।
हिउँको चिसो छालाभित्र-भित्र हराउँछ
सैनिकहरूको एउटा शिविर ।
श्यामबहादुरलाई हिउँको अजिङ्गरले निलेको
खबरले शोकाच्छन्न बनेको छ
राई गाउँको आकाश।
हिलो र ढुङ्गाहरू सिलिपिती खेल्दै
ओरालो झर्छन्
र राई गाउँको टाउकोमाथि थुप्रन्छन्
सास रोकिएर हल न चल बन्छ
राई गाउँ फेरि।
दशा नै लागेछ कि क्या हो !
अहो!
अन्तरिक्षभरि घुमिरहेछन् यानहरू
पर्यटकजस्तो
क्यामेराले नक्शाहरू खिँच्दै।
अपसोच!
क्यामेरामा अटाउनै सकेन
भताभुङ्ग भएको त्यो राई गाउँ !
हो,अटाउनै सकेनन्
हिउँको सिरक ओढ़ेर निदाएका
श्यामबहादुरहरू !
डाउहिल,खरसाङ,भारत ।