१. विषयप्रवेश
ध्रुव मधिकर्मी नेपाली तथा नेपाल भाषामा कलम चलाउने मूर्धन्य स्रष्टा हुन् । उनको जन्म २०१५ साल कात्तिक १४ गते भक्तपुरमा भएको हो । उनका पिता आदिदास मधिकर्मी हुन् भने माता इन्द्रमाया मधिकर्मी हुन् । २०३३ सालदेखि साहित्य सिर्जनामा लागेका मधिकर्मीका समय सन्दर्भ (२०३९) कवितासङ्ग्रह, पीडाको जङ्गल (२०६८) गजलसङ्ग्रह, जिन्दगी र समय (२०४५) तथा दृष्टि र घनघोर जङ्गल (२०५८) कथासङ्ग्रह, लघु लघुकथासङ्ग्रह (संयुक्त, २०३५), बुद्ध कहीँ छैन (२०५१) र ओरालोको सिलसिला लघुकथासङ्ग्रह (२०७८), समकालीन नेपाली कविताका प्रवृत्ति र स्वर समालोचनासङ्ग्रह, अवतार विघटन उपन्यास (संयुक्त) जस्ता कृति प्रकाशित छन् । त्यसै गरी उनको ध्रुव मधिकर्मीया बाखं नेपाल भाषामा प्रकाशित छ ।
प्रस्तुत लेखमा उनको ओरोलोको सिलसिला लघुकथासङ्ग्रहको अध्ययन गरिएको छ । यस लघुकथासङ्ग्रहका लघुकथाहरू २०५० देखि २०७१ सालसम्म विभिन्न पत्रपत्रिकामा प्रकाशित लघुकथाहरूलाई सङ्कलन गरी प्रकाशित गरिएको हो (२०७८, ७६) । यो कृति २०७२÷७३ मा नै तयार भएको कुरा यसमा भएको भूमिका लेखनले स्पष्ट गर्छ । प्रस्तुत लघुकथासङ्ग्रह २०७२÷७३ मा नै तयार भई प्रेसमा पठाउने योजना थियो टाइप र भूमिका मन्तव्यसहितको कार्य पनि लगभग पूरा भइसकेको थियो (प्रकाशकीय, पृष्ठ क) । यसका साथै यस कृतिमा रहेको किशोर पहाडीको कथाकार मधिकर्मी र उनको प्रिय पात्र ऊ (भूमिका)मा रहेको २०७१ असार १२ को मिति, श्रीओम श्रेष्ठ रोदनको लघुकथा लेखन र उन्नयनमा लागेका स्रष्टा (भूमिका) मा रहेको २०७० चैत्र १ को मिति र मोहनबहादुर कायस्थको साहित्यिक पत्रकार पनि हुन् ः ध्रुव मधिकर्मी (भूमिका)मा रहेको २०७१ चैत्रमा लेखिएको भूमिकाले पनि यो कृतिको प्रकाशन ढिलो गरी भए तापनि प्रकाशनको तयारी सात वर्षअघि नै भएको स्पष्ट हुन्छ । प्रस्तुत ओरालोको सिलसिला लघुकथासङ्ग्रहमा चालिस ओटा लघुकथा सङ्गृहीत छन् । यी लघुकथालाई लघुकथा विधामा प्रयोग हुने तŒवहरूको आधारमा अध्ययन गरिएको छ ।
२. सैद्धान्तिक आधार
साहित्यका चार विधामध्ये लघुकथा आख्यान विधाको उपविधाअन्तर्गत पर्दछ । जीवन जगत्को एउटा प्रवाहमा जमेको घटनालाई शृङ्खलाबद्ध रूपमा गद्य भाषाका माध्यमबाट कुतूहल, कलात्मक सिर्जना गर्दै चोटिलो समापनका साथ छोटो आयाममा प्रस्तुत गरिएको रचना लघुकथा हो । लघुकथा आख्यानको लघुरूप भए पनि यसमा प्रस्तुत हुने संरचना वा तŒवका कारण यो आफैमा पूर्ण हुन्छ । लघुकथाका तŒव भनेको लघुकथा लेखनका लागि आवश्यक पर्ने साधन हो । लघुकथाका अध्येताहरूले लघुकथा लेखनीमा प्रयोग हुने विभिन्न अङ्ग वा साधनहरूको चर्चा गरी लघुकथाका तŒवहरू निरूपण गरेका छन् । लघुकथा लेखनमा प्रयोग हुने विभिन्न तŒवहरूमध्ये यस अध्ययनमा कथानक, चरित्र, परिवेश, भाषाशैली, उद्देश्य र शीर्षकका आधारमा ओरालाको सिलसिला लघुकथासङ्ग्रहमा समाविष्ट कथाहरूको अध्ययन गरिएको छ ।
२.१ विषयवस्तु
ध्रुव मधिकर्मीको ओरालोको सिलसिलाभित्र सङ्गृहीत पहिलो लघुकथा संस्कार हो । यस लघुकथामा आफूलाई आधुनिक बनाउँदै ऊ पात्रले प्राचीन मूल्यमान्यतालाई अन्धविश्वास मानी ईश्वर नहुने कुरा साथीसँग गरेको छ । उसले साथीसँग मूर्तिलाई ढुङ्गा भएको घोषणा गर्दछ । विवाद बढ्दै जाँदा साथीले मूर्तिमा ईश्वर नभए एक लात हानेर नास्तिक भएको प्रमाणित गर्न चुनौती दिन्छ । यसलाई स्वीकार्दै सुरुमा ऊ पात्रले आफू नास्तिक भएको देखाउन मूर्ति छेउमा एकान्त पारी जान्छ तर लात हान्न सक्दैन । यसरी प्रस्तुत लघुकथामा मानिसले आफूलाई जतिसुकै नास्तिक ठाने पनि उसभित्र रहेको आदिम संस्कारका कारण नास्तिक बन्न नसक्ने अभिप्राय प्रकट गरेको छ । यस लघुकथाले कोखबाट नै मानिस संस्कारित हुने भएकाले आफ्नो संस्कार त्याग्न नसक्ने कुरा अभिव्यक्त गरेको छ । यसमा सांस्कृतिक मनोविज्ञान छ ।
जत्था लघुकथामा बलियो पक्ष वा समूहबाट कमजोर वा एक्लो व्यक्ति पीडित बन्ने कुरा आएको छ । यसमा तिनीहरू (समूह) ले ऊ (एक्लो) व्यक्तिलाई आफूसँग भएका हतियारले तर्साई बन्धक बनाउँछ । यस बन्धनबाट मुक्ति लिन ऊ पात्रले दाजुभाइ र आफन्त हेर्नुपर्ने कुरा बताउँदा चलमलाउने गोडा बाँधिदिन्छन् । छोराछोरी झगडा गर्न लागेको कुरा गरी छुट्याउनलाई छाड्नभन्दा तिनीहरूले हातहरू बन्धक बनाइदिन्छन् । ऊ पात्रले श्रीमतीलाई प्रेम दिन आफूलाई छाड्नभन्दा उनीहरूले छाती नै ढुङ्गा जस्तो कठोर बनाइदिन्छन् । यसै क्रममा ऊ पात्रले आफ्नो इच्छा विपरीत बन्धक बनाएको कुरा गर्दा तिनीहरूको इच्छा पूरा नगरेकाले बन्दी बनाएको कुरा सुनाउँछन् । अन्तमा तिनीहरूको विचार ऊ पात्रले कुनै हालतमा नमान्नेभन्दा जबर्जस्ती बलपूर्वक घिसारेर आफ्नो समूहमा लैजान्छन् । यस स्थितिमा ऊ पात्रले शरीर आफ्नो भए पनि आफ्नो नियन्त्रणमा नरहेको महसुस गर्छ । उसले आफूमा रहेको स्वतन्त्रता मरेको ठहर गर्छ । यसरी प्रस्तुत कथामा बलियो जत्था, विस्तारवादी शक्ति, ठुला पार्टी, सङ्गठन, हातहतियारले अरूलाई अधीनमा लिँदा मानवीय स्वतन्त्रता खोसेको कुरा आएको छ । यस लघुकथाले दश वर्षे जनयुद्धको प्रताडनालाई मार्मिक रूपमा चित्रण गरेको छ । यसका साथै शक्तिसम्पन्न राष्ट्रले नेपाल, नेपाली जनताको स्वतन्त्र विचार आदि कब्जा गरेको कुरासमेत उल्लेख गरेको छ । यस कथाले निरीह व्यक्ति, समाज, राष्ट्र आदि शक्तिशालीको बन्धनमा पर्ने कुरा गरेको छ । यो कथा राजनीतिक र विस्तारवादी विषयसँग सम्बन्धित छ ।
शुभचिन्तक कथामा प्रजातन्त्र प्राप्तिका लागि जीवन दाउमा राखेर क्रान्तिमा सहभागी हुँदा साथ दिने आफन्त नभएको तर प्रजातन्त्र आई मन्त्री बनेपछि गोरु बेचेको साइनो जोडेर नभएका आफन्त पनि शुभचिन्तक बनी आएको कुरा उल्लेख छ । यस कथामा राजनीतिक विद्रोह र क्रान्ति सफल भएपछिको राजनीतिककर्मीको फरक दुई जीवनको अवस्थालाई मानिसले हेर्ने मनोवृत्ति प्रस्तुत छ ।
कमाइ कथाले भारतबाट नेपालीले विभिन्न कुरा सहयोग लिने क्रममा दाइजो प्रथा पनि लिएको कुरा व्यक्त गरेको छ । यस कथामा भारतको कुनै सहरमा बस्ने मारवाडी नेपालमा आई व्यापार गर्दै बसेको कुरा आएको छ । यसमा मारवाडीले छोरा जन्मेपछि एक लाख रुपैयाँ कमाइ भएको भनी छोराको जन्ममा खुसी मनाएको कुरा गरेको छ । यस कथाले एकातिर भारतीय नागरिकको नेपाल प्रवेश देखाएको छ भने अर्कातिर भारती संस्कृतिको प्रभावका कारण नेपालमा तिलक प्रथा र अधिक दाइजो दिनुपर्ने संस्कार भित्रिएको कुरा उल्लेख भएको छ । यस कथाले सामाजिक विसङ्गति, सांस्कृतिक अतिक्रमण, भारतीय नागरिकको नेपालमा खुलेआम बसोबास रहेको कुरा व्यक्त गरेको छ ।
लक्ष्य कथामा ऊ पात्र लक्ष्यमा पुग्नका लागि तीव्र गतिको यात्रामा सरिक भएर अगाडि पुगे पनि कहाँ पुगेको थाहा नपाई रुमलिएको कुरा आएको छ । यस कथाले लक्ष्यविहीन यात्राले मानिस÷समाज÷राजनीति÷देशलाई कुहिरोभित्र अलमलिरहेको काग बनाएको कुरा आएको छ । यस कथाले तिस वर्षको यात्रा देखाई पञ्चायती व्यवस्था फाली नेपाल अगाडि बढे पनि कहाँ पुगेर यात्राको अन्त हुने भन्ने अलमलले नेपालको आन्दोलन सडकमा अलमिलरहेको कुरा देखाएको छ । यस कथामा मानिसले जतिसुकै आफूलाई परिवर्तन गरे पनि अन्तमा बाटोको भेउ नपाई अलमलिने कुरा गरेको छ । यसले पौरस्त्य ब्रह्मज्ञानरहित दार्शनिक चिन्तनलाई पनि ध्वन्यात्मक रूपमा अभिव्यक्त गरेको छ ।
भुत्ते हतियार लघुकथामा ऊ पात्रसँग भुत्ते हतियार भएको देखाइएको छ । ऊ पात्रले आफूसँग भएको त्यही हतियार लिएर निरीह र निर्दोष मानिसलाई आफ्नो अधीनमा राखेको थियो । उसको यो हैकमी प्रवृत्ति लामो समयसम्म चल्छ । उसको हतियारबाट त्रसित मानिसले उसबाट भयभीत भई उसलाई मानसम्मान गर्छन् । समयक्रमसँगै जनताहरूले उसको हतियार भुत्ते भएको देख्छन् अनि सामान्य जनतासमेतले उसको हैकम मान्न छाडेको कुरा यसमा आएको छ । यस कथाले पुरानो विचारलाई कसैले नमान्ने कुरा एकातिर गरेको छ भने अर्कातिर डर र त्रास देखाएर गरिने राजनीति क्षणभङ्गुर हुने कुरा देखाएको छ ।
घरझगडा लघुकथामा तिनीहरू पात्र छन् । यस कथामा पुरानो, अपायक, सानो घर भत्काएर बनाउन सबैको सहमति जुटे पनि घर भत्किएपछि कस्तो घर बनाउने भन्ने विषयमा मत बामिmँदा घरबारविहीन भएको स्थिति देखाइएको छ । यस कथामा पुरानो सत्ता र संविधान फालिएपछि नयाँ सत्ता र संविधान कस्तो बनाउने भन्ने विषयमा झगडा पर्दा देश बेथितिको सिकार भएको कुरा व्यञ्जना अर्थमा आएको छ । यस कथाले गतिछाडा राजनीतिक माहोल प्रस्तुत गरेको छ ।
बाटैबाटो लघुकथाले जनता, समाज, पार्टी, सरकार र राष्ट्रको लक्ष्य एउटै नबनेका कारण अनेक बाटाहरूको नक्सा कोरिएको तर सबै बाटो अपूर्ण रहेको कुरा व्यक्त गरेको छ । यस कथाले देशको सवालमा एकै चिन्तन, विचार र लक्ष्य नभएकाले देशले विकासको बाटो नलिएको तितो सत्य ओकलेको छ ।
सुनको फूल कथाले नेतृत्वको ज्ञान र क्षमता प्रस्तुत गरेको छ । यस कथामा सामान्य मानिसलाई नेता बनाएर सुनको फूल पार्ने कुखुरा दिँदा लोभका कारण कुखुरा नै मारेर दैनिक आम्दानीको स्रोत टुटेको कुरा प्रस्तुत छ । यस कथामा कुखुरा मर्दा नेताले एउटा फूल प्राप्त गरे पनि जनताले केही नपाएको कुरा देखाएको छ । यस लघुकथालाई पनि व्यञ्जनार्थमा हेर्दा नेपालमा संविधान बने पनि त्यसको उपयोग नेताले गरेको तर त्यसलाई नेताले आफ्नै स्वार्थका लागि अधिक प्रयोग गर्ने क्रममा संविधानका नियम मिचिएको कुरा आएको छ ।
हातको चरा लघुकथामा केटाकेटी पात्र छन् । यस लघुकथाअनुसार केटाकेटीले अचानक रङ्गीचङ्गी प्वाँख भएको चरा हातमा पार्छन् । उनीहरूले त्यस चरासँग खेल्दै जाँदा अन्तिममा चरा फुत्केर उड्छ । त्यो चरा हाँगामा गई अरू चरासँग बस्छ । तर केटाकेटीलाई त्यस चरा गुमाउँदा कुनै दुःख नलागेको बरु अर्को चरा लिनका लागि उफ्रिरहेको कुरा आएको छ । यस कथामा पाएको चिज सदुपयोग गर्न नसकेको तर अप्राप्य वस्तु प्राप्तिका लागि व्यर्थ प्रयास भइरहेको कुरा उल्लेख छ । यस कथाले नेपालमा प्रजातन्त्र, संविधान जस्ता चिज आए पनि त्यसलाई सबैले खेलौना बनाएर खेल्दा फुत्केको अनि त्यस फुत्काइको पीडासमेत नलिई अर्को प्राप्त नहुने चिजका लागि समय र श्रम खेर फालिरहेको कुरा अभिव्यक्त भएको छ ।
बम र बेलुन कथामा बेलुनलाई शान्तिको द्योतक मानिएको छ । बालिका बेलुनसँग खेल्न, रम्न चाहन्छे तर बेलुनलाई नेताहरूले खेली बालिकालाई चाहिँ बमसँग खेल्न दिइएको कुरा आएको छ । यस कथामा शान्तिलाई नेताहरूले अपहरण गरी बमचाहिँ जनतालाई दिइएको प्रसङ्ग आएको छ ।
ओरालोको सिलसिला यस सङ्ग्रहको बाह्रौँ र कृतिको नामकरण भएको कथा हो । यस कथामा भ्रष्टाचारी प्रवृत्ति घरको चुल्होदेखि सरकारसम्म व्यापक बनेको कुरा आएको छ । यस कथामा सबै जना भ्रष्टाचारी भएको तथ्य आएको छ । यस कथामा प्रधानमन्त्रीले भ्रष्टाचार गरेको कुरा पत्रकारले छापेपछि मन्त्रीदेखि कार्यालयमा काम गर्ने खरिदारसम्मलाई त्यसले आश्चर्यमा पारेको तर पिउनलाई भ्रष्टाचारले नछोएको कुरा व्यक्त गरेको छ । यस कथामा ठुला भ्रष्टाचार गरेको कुरा समाचारमा आए पनि घरखर्चको सामान किन्न जाँदा हुने भ्रष्टाचार कसैको आँखामा नपर्ने कुरा व्यक्त छ । यस कथामा भ्रष्टाचारी प्रवृत्तिले सबैलाई छोएका कारण देश ओरालोतिर लागेको कुरा उल्लेख छ ।
अन्धाधुन्ध दौड कथामा नेपालको नेता र कार्यकर्ताको प्रवृत्ति आएको छ । यस कथाले नेपालको सिद्धान्तविहीन र नेतामुखी राजनीति देखाएको छ । यस लघुकथामा राजनीतिक दलका कार्यकर्तालाई नेताले अन्धो बनाएका छन् । यसकै कारण कार्यकर्तामा विवेक छैन । यसैको परिणाम कार्यकर्ताले यथार्थ बुझ्नुभन्दा पनि नेताले जे भन्यो त्यसलाई अक्षरशः पालन गरी दौडिरहेका छन् भन्ने कुरा व्यक्त गरिएको छ । यस कथाले नेपालको राजनीति सिद्धान्तमा नभई नेतामुखी बनेको कुरा उल्लेख गरेको छ ।
राजनीति लघुकथाले जङ्गलमा बस्ने बाघले भेडा नखाई मान्छे खान थालेको कुरा गरेको छ । यस कथाले जङ्गलको राजनीति सहर पसेको कुरा बताएको छ । यस कथामा मान्छेको हिंसा गर्न बानी परेपछि बाघले जनावर मारेर नखाने भन्दै अहिलेको हिंसा जङ्गलबाट मानव समुदायमा स्थानान्तरण भएको कुरा आएको छ ।
बजार लघुकथाले हरेक पेसाकर्मीले आफूलाई बेचिरहेको कुरा गरेको छ । यस कथामा एउटी तरुनी आइमाईले फूल बेच्ने पेसा अँगाले पनि उसले बेच्न राखेको फूलको नभई उसकै यौवनको फूल विक्री भएको कुरा प्रस्तुत छ । यस कथामा पेसा विक्री नभएको तर यौवन व्यापार भएको कुरा देखाइएको छ । यस कथामा यौन व्यापारले समाज भाँडिन्छ भनी दिनमा विरोध गर्नेहरू नै रातको समयमा यौनको ओढ्ने लगाउन पुगेको कुरा आएको छ ।
अर्थोक लघुकथामा मानिसको व्यापारी प्रवृत्ति देखाइएको छ । यस कथामा मन्दिर बनाउने जस्तो धार्मिक र पवित्र काम गर्दा पनि व्यापार भएको कुरा आएको छ । यस कथामा मन्दिर बनाउन सबैसँग उठाइएको पैसाले मन्दिरका साथै धर्मका ठेकेदारहरूले आफ्नो घर बनाएको कुरा प्रस्तुत छ । यस कथामा समाजसेवा धार्मिक र सामाजिक कार्य नभई व्यापारिक बनेको कुरा देखाइएको छ ।
गोष्ठीहरूको देश लघुकथाले गोष्ठी, सेमिनार, छलफल र प्रवचन गर्दै समय, श्रम र लगानी सकिएकाले देश विकास नभएको कुरा व्यक्त गरेको छ । यस कथामा कामले देश विकास गर्नुपर्नेमा कुरा र छलफलमै देश जकडिएको कुरा आएको छ । यस कथाले नेपालको सामाजिक स्थिति र राजनीतिको पर्यावलोकन गरेको छ ।
धोएको गधा कथामा गधा धोएर गाई बन्दैन भन्ने नेपाली उखान गलत साबित गरेको छ । यस कथाले नेपालको राजनीति सिद्धान्तमा नभई नेताको पुच्छर बन्ने क्रमसँगै अगाडि बढेको कुरा उल्लेख छ ।
सामान्य कारण लघुकथामा शीर्षक एक भए पनि चार ओटा कथानक छन् र यस लघुकथामा आएको अन्तले सबैलाई समेटेको छ । पहिलोमा घाम राम्रोसँग लागेर हावा कतै नचलेको बेलामा यात्रा सुरु गरे पनि घामकै सहारामा यात्रा गर्ने मानिसको झोला रित्तो भएकाले यात्रीको जीवनमा घनघोर छाया परेको कुरा व्यक्त छ । दोस्रोमा एक्लै हिँडिरहेको ऊ पात्रलाई कसैले आक्रमण गरेको तर उसले प्रतिरोध गर्न (सिप नहुँदा) नसक्दा आक्रमणमा परी मरेको कुरा आएको छ । तेस्रोमा ऊ पात्र राष्ट्र र समाजभित्रकै व्यक्ति भए पनि सहाराविहीन बनेको कुरा गर्दै महँगी, अनैतिकता, अन्याय, कुकर्म र अनादर्शको सिकारमा परी मानिस एक्लो बन्दै गएको कुरा गरेको छ । त्यस्तै चौथोमा ऊ पात्र महाभारतको अभिमन्यु जस्तै सत्यमा लाग्दा चारैतिरका छलछाम, ईष्र्या, बेइमान, अनादर्शका कारण बाँच्न नसकेको कुरा अभिव्यक्त भएको छ । यस लघुकथाको अन्त भागले नेपालमा प्रजातन्त्र आए पनि ऊ पात्रमा धोका षड्यन्त्र, छलछाम, जालझेल आदि नभएका कारण एक्लो बनेको र उसलाई कसैले नबचाएको कुरा उल्लेख छ ।
एक्लो नेता लघुकथाले राजनीतिमा देखिने अस्वस्थ प्रतिस्पर्धा प्रस्तुत गरेको छ । यस कथाले मानिसलाई सबेको नेतृत्व गर्नुपर्ने कुरा गरी अरूलाई तर्साएर, अरूलाई अघि बढ्न नदिएर नेतृत्ववर्ग बसिरहेको कुरा गरेको छ । यस कथामा आफूले नै नेतृत्व गर्नुपर्ने कारणले पार्टीमा नेता एक्लो परेको कुरा आएको छ । यस कथाले साथमा अघि बढ्न नसक्ने र अर्काको राजनीतिक नेतृत्व पनि स्वीकार गर्न नसक्ने बेथितिका कारण धेरै दल भई एक्लै नेता मात्र पार्टीमा रहेको कुरा आएको छ । यस लघुकथाले नेतामा राजनीतिक नेतृत्व गर्ने चाहना बलवान् रहेकाले सक्षम व्यक्ति पछाडि परेको कुरा अभिव्यक्त गरेको छ ।
अभिभावकत्व लघुकथाले अन्यौलग्रस्त राजनीतिक अवस्थाप्रति व्यङ्ग्य गरेको छ । यसमा बस भाडा वृद्धिका कारण भएको आन्दोलन, आन्दोलनमा भएको तोडफोड प्रस्तुत गरिएको छ । यसमा अभिभावकविहीन आन्दोलन बिचमा तुहिने गरेको कुरा एकातिर प्रस्तुत छ भने अर्कातिर निरर्थक आन्दोलनले गाडी तोडफोड भएको, सडक घन्टौँ जाम भएको, बटुवाले व्यर्थमा दुःखकष्ट पाएको कुरा गरेको छ । यस कथामा बेअर्थमा गाडी फोरिएको, जाम भएको, गाडी जलाउन खोजिएको कुरा देखाएको छ । यसमा अभिभावकविहीन देश भएका कारण आन्दोलनले क्षति मात्र पु¥याएको कुरा उल्लेख छ ।
चङ्गा कथामा राजनीतिक दलका वक्ताहरू एकातिर भाषण गर्न पर्खेर बसेको र अर्कोतिर पार्कमा केटाकेटीहरू खेलिरहेको प्रसङ्ग उल्लेख छ । तयसैले यसमा दुई फरक प्रसङ्ग आएको छ । पार्कमा खेलिरहेका केटाकेटीहरू अरूले उडाएको चङ्गा चेट भएर आएपछि तयसलाई पाउन दौडन्छन् । उनीहरूले लामो प्रयास गरेपछि चङ्गा भेट्छन् तर चङ्गालाई सबैले आफ्नो बनाउने कोसिस गर्दा च्यातिन पुग्छ । त्यस्तै अर्कोतिर देशको नेतृत्व गर्ने नेताले पनि चङ्गारूपी देशको नेतृत्व आफ्नो पोल्टामा राख्न खोज्दा केटाकेटीले च्यातेको चङ्गा झैँ देशको अस्तित्व च्यातिन थालेको कुरा आएको छ । यस कथाले लुछाचुँडीका कारण नै देश टुक्रिने कुरा गरेको छ ।
ढुङ्गा लघुकथामा बाटामा परेको ढुङ्गालाई पूजा गरेकाले देवता बनेको हो भन्ने कुरा देखाइएको छ । यस लघुकथामा सबैले पूजा गरुन्जेल ढुङ्गा देवता बन्ने तर आँटका साथ फाल्दा त्यो फालिने कुरा बताइएको छ । यस लघुकथाले बिचमा परेको देवतारूपी ढुङ्गालाई नेतृत्व तहले दिएको बाधा मानेको छ । यसमा बाटाको देवतारूपी ढुङ्गाले फराकिलो बाटो बन्न नदिँदा हिम्मतका साथ कसैले फालिदिए जस्तै देशको नेतृत्व गरिरहेको देवतारूपी सरकारलाई पनि जरैसहित हटाउनुपर्ने कुरा गरेको छ । यस कथाले संसारमा कुनै पनि देवता, देवतारूपी व्यवस्था आदि दोबाटोमा बसी विकासको काममा बाधा बन्छ भने त्यसलाई निकालेर मिल्काउनुपर्ने कुरा गरेको छ । यस कथाले संसारमा कुनै पनि कुरा स्थायी नहुने कुरा गरेको छ । यस कथाले नेपालको राजनीतिमा देखिने पुरानो सत्ता दोबाटोको ढुङ्गा झैँ फालिएको कुरासमेत व्यक्त गरेको छ ।
चिनेको चोर लघुकथामा पाले पसलमा चुरोट किन्न गएको बेला मौका छोपी चिनजान भएको चोर घरभित्र पसेर सामान चोरेको कुरा आएको छ । यस कथामा चोरलाई कुकुरले चिनेका कारण चोरी सफल बनेको कुरा उल्लेख छ । यस कथाले नचिनेको चोरले भन्दा पनि चिनेकै चोरले घर सखाप पारेको कुरा गरेको छ । यस कथामा ज्ञान, सुझबुझ भएका मानिसले नै घर, समाज र राष्ट्रलाई सखाप पारेको कुरा गरेको छ ।
बहस लघुकथा चोरले न्वारनदेखिको बल झिकेर सामान चोरी भागेको घटनाबाट सुरु भएको छ । यस कथामा चोरलाई तिनीहरूले लखेट्न सुरु गरे पनि चोर कसरी लखेट्ने भन्ने अनावश्यक बहसका कारण चोर पक्रन नसकेको कुरा आएको छ । यस कथामा अनावश्यक तर्क, विचार, बहसले काम बिग्रने कुरा गरेको छ ।
पीडा र पैसा कथामा परिस्थिति वर्णन गरिएको छ । यस कथामा रामप्रसाद लुइँटेलको छोरा अमेरिका, हरिबहादुर कार्कीका छोरा मलेसिया, मानबहादुर तामाङका दुई छोरा अरब, धनबहादुर गुरुङको छोरा ब्रिटिस लाहुरे गएको कुरा गरी हिरालाल बिकको प्रसङ्ग आएको छ । हिरालालको छोराले पनि अरू जस्तै विदेश जान खोज्यो तर पैसा नभएका कारणले उसलाई कसैले सहयोग गरेनन् र ऊ स्वदेशमै बस्न बाध्य भयो । यसरी आफ्नै ठाउँमा बस्दा उसलाई बाबुले विदेश नगएकामा हर्दम गाली गरे । यसैका कारण ऊ पनि अचानक गाउँबाट हरायो । आफ्ना सन्तान विदेश गएकामा सबै खुसी भए । यसै खुसीका कारण अहिले गाउँमा विदेश जाने कल्पना गर्ने मानिस पनि बाँकी छैनन् । अहिले गाउँमा बस्ने आमाबाबु र आफन्त पनि विदेश गएकालाई सम्झेर रुने दिन आएको कुरा व्यक्त छ । यसरी प्रस्तुत कथामा विदेश मोहले गाउँ शून्य भई रुवाबासी चलेको कुरा उल्लेख गरेको छ । यस लघुकथालाई व्यञ्जनार्थमा हेर्दा अहिले नेपाली युवाजनले विदेशमा गएर काम गरी रेमिटेन्स भित्रँदा देश खुसी भए पनि भोलि पश्चातापमा पर्ने कुरा गरेको छ ।
जाममा लघुकथाले नेपालको सडकमा हुने ट्राफिक जामको विषयलाई उठाएको छ । यस कथामा ऊ र ऊ पात्रको विदेशी साथी डेभिड बर्नर छन् । डेभिड बर्नरले फोन गर्दा ऊ पात्र जाममा परेको थियो । ऊ पात्रसँगै पढेको डेभिड बर्नरले काम गरी प्रशस्त पैसा कमाएर मनोरञ्जनका लागि अन्तरिक्षमा घुम्न जाने सोच बनाएको बखतमा पनि नेपालको ऊ पात्र भने सडककै जाममा परिरहेको कुरा आएको छ । यस कथामा नेपालमा हुने कामको जामका कारण देश र देशको जनताको उन्नति नभएको कुरा उल्लेख छ । यस लघुकथाले नेपालको राजनीतिक, सामाजिक, प्रशासनिक आदि क्षेत्रमा देखिएको अदक्षता प्रस्तुत गरेको छ ।
एजेन्ट लघुकथा पौराणिक मिथकमा आधारित छ । यस कथामा जे छोयो त्यही भष्म हुने वरदान भष्मासुरले महादेवबाट प्राप्त गर्दछ । वरदान पाएपछि भष्माासुर महादेवलाई नै मार्न अघि सर्छ । आफैले दिएको वरदानबाट प्रताडित भई महादेव भागेर विष्णुको सहारा खोज्न विष्णुलोक, ब्रह्मलोक पुग्छन् । महादेवले विष्णुको सहारा कहीँबाट पाउँदैनन् । महादेवले विष्णुलाई बचाउन आग्रह गर्दछन् तर भष्मासुरले महादेवलाई विष्णुकै सल्लाहअनुसार आफूले आशीर्वाद लिएको कुरा बताउँछ । रहस्य खुलेपछि आफैले दिएको आशीर्वाद भारी बनेको कुरा महादेवले ठान्दछन् । यस लघुकथामा विष्णुले महादेवको समर्थन गर्नुपर्नेमा भष्मासुरलाई साथ दिई धोका दिएको कुरा देखाइएको छ । धोका पाएपछि महादेवमा रहेको शक्तिको तेस्रो नेत्रले पनि काम गर्न छाडिदिन्छ । यसरी प्रस्तुत कथामा आफूले दिएको कुरा आफ्नै मृत्यु बनेर आएको कुरा गरी नेपालको राजनीतिमा राजाले जनतालाई छाडेको सत्ता, जनताले नेतालाई दिएको वरदान आदि सबै देशका लागि घात बनेको कुरा आएको छ । यस कथामा द्वैध चरित्र निर्वाह गर्नेले नै एजेन्टको काम गरी सबैलाई धोका दिएको प्रसङ्ग गरेको छ ।
फुटेको नरिवल पूर्ण प्रतीकात्मक लघुकथा हो । यसमा ऊ पात्रले बाहिर जटा र भित्रपट्टि रस भएको नरिवल हातमा खेलाउँदै अगाडि बढेको छ । ऊ पात्रले नरिवललाई कहिले हातमा राखेर खेलाउँछ त कहिले गोडाले हानी खेल्छ । उसले नरिवललाई कान छेउमा लगेर हल्लाउँछ । उसले नरिवल लगेर आफ्नै टाउकोमा हिर्काएर पनि रमाउँछ । यसरी उसले नरिवललाई मन लागुन्जेल विभिन्न तौरतरिकाले खेल्छ । यसरी खेल्दाखेल्दै उसको हातबाट नरिवल भुर्इँमा खस्छ । आफै खसेको हो वा टाउकामा अघि हिर्काउँदा लागेको चोटले खसालेको हो त्यो कसैले थाहा पाउँदैनन् तर नरिवल फुटेको हुन्छ । यसरी नरिवललाई खेल्ने मानिसले रिसले खसालेको हो या आफै खसेको थाहा छैन भन्दा यहाँ कथाको दुई ओटा मध्य भाग वा प्रसङ्ग आएको देखिन्छ । पहिलो प्रसङ्गमा नरिवल अर्थात् नारीलाई पुरुषले शिरमा राख्दा चोट दिएको भनी मिल्काएको प्रसङ्ग छ । दोस्रो प्रसङ्गमा पुरुषले मनोमानी ढङ्गले खेल्दाखेल्दै खेलको सिकार बनेर नरिवल वा नारीको अन्त भएको देखाइएको छ । यी दुईमध्ये चाहे जसरी नरिवल फुटोस् नरिवलको अन्त भएको छ । यसरी फुट्दा नरिवलबाट सेतो तरल पदार्थ बग्छ । त्यो तरल पदार्थ नरिवलको आँसु हो र त्यो आँसु उसको रगत थियो । यसरी बाहिर साह्रो भए पनि भित्र रस भएको एउटा नरिवलरूपी नारीको अस्तित्व मेटिएको कुरा यहाँ आएको छ । यस कथामा पुरुषले जीवन यात्राको क्रममा नारीलाई विभिन्न तरिकाले खेल्दा कहिले पीडाको नाममा वा कहिले खेल्दाखेल्दैको क्षणमा फालेर अस्तित्वविहीन बनाएको कुरा यहाँ उल्लेख हुनपुगेको छ । यसरी नारी पुरुषबाट खसेपछि नारीमा रहेको रस छताछुल्ल भई पोखिएर खेर जाने कुरा गर्दै प्रकृति रसविहीन हुनुमा पुरुषको दोष देखाइएको छ ।
दाबी कथामा मालिकलाई एउटा सर्वगुण सम्पन्न पशु चाहिएको विज्ञापन छ । विज्ञापनअनुसार पशुहरूले आफ्नो विशेषता देखाई मालिकसामु आफू सर्वोत्कृट बनाउन लाग्छन् । यसै क्रममा घोडाले भनेजत्ति भारी बोक्ने, गोरुले खेत जोत्न र प्रतिद्वन्द्वीसँग जुधेर मनोरञ्जन दिने, कुकुरले आफूमा मालिकको रक्षा गर्न सक्ने विशेषता रहेको सुनाई सेवा गर्ने मौका दिन अनुरोध गर्छन् । यसरी हरेक पशुहरूले आफूमा रहेका एकदुई ओटा विशेषता बताएर आफ्नो गुण देखाउँछन् । यस क्रममा सबै पशुलाई उछिनेर मानिसरूपी पशु अवस्था हेरेर मर्न, मार्न, लड्न, लडाउन सबै थोक गर्न सक्छु भन्दै आफूमा सबै जनावरको विशेषता रहेको दाबी गर्छ । यही दाबीअनुसार मानिस सेवक बन्न योग्य बनेको कुरा यस लघुकथामा आएको छ । यसरी प्रस्तुत कथामा मानिसमा सम्पूर्ण पशुको गुण भएको कुरा देखाई मानवीय प्रवृत्तिचाहिँ नभएको कुरा देखाइएको छ ।
आन्दोलनको अध्ययन लघुकथाले विद्यार्थी आन्दोलनमा नेता र नेता पुत्र विद्यार्थीको भूमिका प्रस्तुत गरेको छ । यस कथामा नेता पुत्रले शैक्षिक संस्थामा भएको शुल्क वृद्धिको विरोधलाई बाबुले गर्ने राजनीतिसँग जोड्दछ । यहाँ नेता पुत्रले सबै साथीहरूलाई समेटी शैक्षिक आन्दोलन गर्छ । विद्यार्थीको आन्दोलन बढ्दै जाँदा राजनीतिक दल पनि अपरोक्ष रूपमा आन्दोलन सफल बनाउन साथ दिन पुग्छ । आन्दोलन अझ बढ्दै जान्छ । आन्दोलनमा प्रहरी र विद्यार्थी दुवैको झडप हुन्छ । दुवै पक्षमा घाइते हुने र मर्नेको सङ्ख्या देखिन्छ । यसरी झडप भएर मर्ने र मार्ने क्रममा नेताको छोरा भने आन्दोलनमा नभएर विदेश पुगिसक्छ । यसरी प्रस्तुत कथाले नेपालमा आन्दोलनको सुरुआत नेता र नेताका सन्तानबाट भए पनि मर्ने बेलामा ती भाग्ने तर सामान्य जनताका सन्तान सहिद बन्ने कुरा गरेको छ । यस लघुकथाले शैक्षिक संस्थालगायत अन्य स्थानमा हुने आन्दोलनमा राजनीतिक पार्टीको हस्तक्षेप स्वार्थ पूर्तिका लागि भएको कुरा देखाएको छ ।
जीविका लघुकथामा जादुगरलाई नेताका रूपमा लिइएको छ । यस कथामा जीविका चलाउनका लागि जादु देखाउन खप्पिस जादुगरले चटक देखाएबापत पैसा लिएर बल्ल बल्ल जीविका धान्ने काम गरेकोमा अहिले राजनीति गरी अकुत सम्पत्ति कमाएको कुरा वर्णन गरेको छ । यस कथामा जादुकरले अनेक खेल देखाई जीविकोपार्जन गरे पनि अन्तमा जादुरूपी राजनीतिमा लाग्दा धेरै पैसा कमाएको कुरा प्रस्तुत छ ।
आगामी दिनमा लघुकथा नारीशक्ति र नारी सशक्तीकरणसँग सम्बन्धित छ । यस कथामा रामी रचनाको घरमा गई कुराकानी गर्दागर्दै रात पर्छ । रातको समयमा रामीले घर फर्कन डर लागेको कुरा रचनालाई सुनाउँछे । रचनाले बाटो लामो नभएकाले एक्लै जाँदा डराउन नपर्ने कुरा गर्छे तर रामी आँट गर्न सक्दिन । त्यसपछि रामीले भाइलाई लिन पठाउन आमासँग अनुरोध गर्दछे । यसको जवाफमा आमाले आफूभन्दा सानोको सहारा लिन खोज्ने रामीलाई गाली गर्दै डराउनका लागि पढाएलेखाएको होइन भन्दै फोन राखिदिन्छिन् । यस कथामा डराएर होइन आँटले अगाडि बढ्नुपर्ने कुरा आएको छ । यस कथामा पढेलेखे पनि नारीमा मनोवैज्ञानिक त्रास भएकाले अगाडि बढ्न नसकेको कुरा उल्लेख छ ।
समुद्र मन्थनका लागि पक्ष र विपक्ष दुवै मिलेको कुराबाट पुन मन्थन लघुकथा आरम्भ भएको छ । समुद्र मन्थन गर्दा दुवै पक्ष मिली लामो र अथक प्रयास गरेपछि कलम प्राप्त हुन्छ । दुवै पक्ष मिली समुद्र मन्थन गर्दा उनीहरूले जे लेख्यो त्यो साक्षात् रूपमा प्राप्त हुने चमत्कारी कलम प्राप्त गर्छन् । उनीहरूले चमत्कारी कलम पाएपछि भने दुवै पक्षको सम्झौता भङ्ग हुन्छ । त्यसपछि उनीहरू कसले कलम समाउने र कसले के लेख्ने भन्ने विवाद गर्छन् । यसरी विवाद गर्दागर्दै उनीहरूबिच द्वन्द्व हुन्छ । द्वन्द्वमा चमत्कारी कलमको निब भाँचिन्छ । कलमको मसी सुक्छ । यसरी अथक श्रम र प्रयासबाट उनीहरूले प्राप्त गरेको कलम विवादको कारण नाश हुन्छ । त्यसपछि त्यस्तै कलम पाउन उनीहरू विदेशी शक्तिको सहयोग लिई अर्को मन्थनको तयारी गर्छन् । यस प्रकार प्रस्तुत लघुकथाले नेपालको संविधान बनाउँदा भएको झगडा र संविधान नलेखी गएको समय देखाएको छ । यस कथामा आफूले मौका पाए पनि आपसी कलहका कारण देशले भनेको समयमा संविधान नपाएको र देशमा अराजकता फैलिएको कुरा आएको छ । यस कथाले मौका गुमेपछि एउटै कामका लागि पटक पटक प्रयास गर्नुपर्ने स्थिति आएको कुरा बताएको छ ।
आयात लघुकथामा ऊ नामक नेपाल पात्र छ । उसको घरमा पहिले नुनबाहेक सबै उत्पादन हुने भएकाले विदेशको भर पर्नुपरेको थिएन तर पछि तोरी, तरकारी, अन्नपात उसको देशमा उत्पादन भएन । उसकहाँ भएको शिक्षा पनि काम लागेन । रोजगारका लागि नेपालीहरू बिदेसिन प¥यो । विदेशी कमाइ आएपछि यहाँको घरबुना कपडाको सट्टा नयाँ फेसनका कपडा विदेशबाट आयो । गरगहना सुखसुविधाका सामानदेखि लिएर काम गर्ने मान्छे पनि विदेशबाट आए । यसरी यावत् कुरामा विदेश निर्भर बन्दै जाँदा अन्तमा देशमा विचारको खडेरी परेको कुरा गरी देश चलाउने विचारसमेत विदेशबाट आयातीत भएको कुरा यस लघुकथामा देखाइएको छ । यस लघुकथाले परावलम्बी बन्दै जाँदा नेपालको अस्तित्व सकिने कुरा गरेको छ ।
भारी लघुकथामा गधाप्रसाद पात्र छ । यस कथाको सुरुआतमा गधाप्रसादले गाउँको सुखदुःखमा साथ दिई गाउँलेको मन जितेको छ । गधाप्रसादले गाउँको मन जितेका कारण गाउँलेहरूले पनि उसलाई आफ्नो मत दिएर सहरमा पठाउँछन् । गधाप्रसादले सहरमा गाउँको भन्दा धेरै भारी बोक्न थाल्छ । गाउँमा दुःखको भारी बोक्ने गधाप्रसाद सहर पुगेपछि शिक्षा, स्वास्थ्य, रोजगार, नियमकानुन, व्यवस्था आदि सबैको जिम्मेवारी बोक्न थाल्छ । यही व्यस्तताका कारण उसले गाउँमा समय दिन सक्दैन । आफूले पठाएको मानिसले गाउँ हेर्न नपाएको ठानी गाउँलेहरू उसलाई भेट्न सहर जान्छन् । तिनले सहरमा गधाप्रसादलाई सुकिलामुकिला र विदशीको भारी बोक्न थालेको देख्छन् । गाउँलेहरूले गधाप्रसादलाई नभ्याएर नभई सुकिलामुकिलाको भारी बोक्ने बानी पर्दा गाउँ नआएको थाहा पाउँछन् । यस कथामा गाउँले जनताको भोट दिएर सरकारमा पुगेको नेताले सुकिला लुगा र विदेशीको भारी बोकेकाले नै गाउँमा धोका भएको कुरा आएको छ । यस लघुकथाले गाउँको सहारा लिई नेता बनेका नेतृत्वले गाउँका मानिसलाई साथ नदिएको कुरा गरेको छ । त्यसैले यसमा राजनीतिक व्यङ्ग्य छ ।
नौलो दृश्य लघुकथाले नेपालको निकृष्ट राजनीति प्रस्तुत गरेको छ । यस कथामा राजनीतिककर्मीहरूले दिउँसो जनतासमक्ष एकअर्कासँग झगडा गरी सत्तोसराप गरे पनि रातको समयमा विदेशीको संयोजकत्वमा मिलेर बसेको कुरा देखाएको छ । यस कथामा सिद्धान्त विपरीत भए पनि विदेशीसामु राजनीतिककर्मी निरीह बनेको कुरा देखाइएको छ । यस लघुकथाले नेपालका राजनीतिक दल र दलका नेताहरूको द्वैध चरित्र र स्वार्थ देखाएको छ ।
अरूचि लघुकथामा मानिसको कुप्रवृत्ति ज्ञात भएका कारण मानिसले गर्ने काममा कसैको रुचि नहुने कुरा आएको छ । यस कथामा म र ऊ पात्र रहेका छन् । यस कथामा बाघले घाँस खाएको कुरालाई ऊ पात्रले नौलो र उत्साहका रूपमा लिए पनि मानिसले घाँस खाएको कुरालाई नलिएको कुरा देखाई मानिस पशुभन्दा निकृष्ट व्यवहारमा प्रस्तुत भएको हुँदा त्यसले मानिसलाई उत्साह नदिने कुरा उल्लेख भएको छ । यस कथामा मानिसको कुप्रवृत्ति देखाइएको छ ।
लौरो लघुकथाले नेपालको नेतामा देखिने प्रवृत्ति देखाएको छ । यस कथामा स्मृतिबहादुर पात्र छ । चुनाव प्रचारमा गाउँ जाँदा गाउँलेबाटै प्राप्त लौरोले पारि तर्ने नेताले खोला तरेपछि लौरो खोलाकै छेउमा फाले जस्तै भोट लिएर जितेपछि जनतालाई फालेर अगाडि बढेको कुरा यस लघुकथामा आएको छ । यस लघुकथाले जनताको अत्यधिक मत प्राप्त गरी चुनाव जित्ने नेताले आफ्नो यात्रा बिर्सेको कुरा देखाइएको छ ।
भ¥याङ लघुकथामा अवसरका लागि मानिस भ¥याङ बने पनि पछि भ¥याङ बनाउनेलाई नै नतमस्तक बनाएको कुरा उल्लेख छ । यस कथामा होटलमा भएको दुई ओटा छुट्टाछुट्टै भोजको प्रसङ्ग आएको छ । सुरुमा क महोदयले अड्केको फाइल फुत्काउन मन्त्रीलाई भव्य होटलमा भोज दिन्छ । त्यस भोजमा उसले रूपवती तरुनी पनि सेवामा समर्पण गर्छ । यही रूपवती युवती भ¥याङ बन्दा क महोदयको फाइल फुक्छ । दोस्रोपटक कले नै भ¥याङ बनाएको युवतीले क महोदय र मन्त्रीलाई भोज दिन्छे । त्यसै भोजपछि क महोदयकी भ¥याङ बनेकी युवती उच्च पदमा पुग्छे । यसैका कारण क महोदय अहिले युवतीप्रति नमस्कार गर्न बाध्य छ । यस कथामा भ¥याङ बन्न सक्नेले नै मौकाको फाइदा लिएर अगाडि बढ्ने कुरा आएको छ ।
ध्रुव मधिकर्मीको ओरालोको सिलसिला लघुकथासङ्ग्रहभित्र सङ्गृहीत कथाहरूमध्ये ‘संस्कार’मा मानिसले अरूलाई सुनाउन बाह्य रूपमा धर्मलाई आडम्बरको रूपमा लिए पनि उसभित्र रहेको आदिम सोचका कारण परम्परित संस्कृतिबाट प्रभावित हुने कुरा व्यक्त छ भने ‘कमाइ’मा छोराको जन्मसँगै तिलक वा दाइजोका रूपमा कमाइ हुने सोचको विकास नेपालमा पनि भित्रिएको कुरा आएको छ । ‘बजार’मा हरेक व्यक्तिले आफ्नो पेसा वा काम बेच्न राखे पनि नारीको यौवन किन्ने ग्राहक धेरै हुने कुरा आएको छ । यस लघुकथामा दिनमा यौन व्यापारको विरोध गर्नेहरू नै रातको समयमा यौन अखडामा नै पुग्ने कुरा आएको छ । ‘अर्थोक’मा मन्दिर बनाउने, मूर्ति स्थापना गर्ने र धार्मिक क्रियाकलाप गर्नेहरूले नै धर्मलाई व्यापार बनाएको कुरा आएको छ भने ‘फुटेको नरिवल’ लघुकथाको नरिवललाई लक्षणार्थबाट हेर्दा मानव जीवन र विशिष्ट अर्थमा नारीको जीवनलाई नरिवलको दृष्टान्त दिई प्रस्तुत गरिएको छ । यस कथामा मन परुन्जेल खेल्ने र रहर मरे फालिदिने मानवीय प्रवृत्ति उद्घाटन गरिएको छ । ‘आगामी दिनमा’ नारीले आफ्नो जीवनयात्रामा उमेरले सानै भए पनि पुरुषको सहयोग खोज्ने भएकाले सक्षम हुन नसकेको कुरा आएको छ । यस प्रकार ओरालोको सिलसिलामा समेटिएका चालिस लघुकथाहरूमध्ये यी छ ओटामा सामाजिक र सांस्कृतिक विषय आएका छन् । त्यस्तै लक्ष्य, भुत्ते हतियार, ओरालाको सिलसिला, गोष्ठीहरूको देश, अभिभावकत्व, चिनेको चोर, बहस, जाममा, एजेन्ट, दाबी, अरूचि, भ¥याङमा चाहिँ राजनीतिसँग समीप रहेको सामाजिक विषय प्रस्तुत छ भने अरू लघुकथा विशुद्ध रूपमा राजनीतिसँग सम्बन्धित छ । यसरी यस सङ्ग्रहका चौँतिस लघुकथाको विषय राजनीतिसँग सम्बन्धित छ । यस सङ्ग्रहमा आएका राजनीतिक विषयका लघुकथामध्ये पनि कुनैमा प्रत्यक्ष राजनीतिक विषय देखिन्छ भने कुनैमा प्रतीकलाई प्रयोग गरी राजनीतिक गतिविधि, राजनीतिक अप्ठ्यारो, राजनीतिक विकृति, राजनीतिक खेलाडीका कमजोरी, राजनीतिक स्वार्थ आदि प्रस्तुत गरिएका छन् । यी सम्पूर्ण कथाले नेपालको समसामयिक घटना, परिस्थिति, जीवन, समाज, राष्ट्र र विदेशी हस्तक्षेपलाई देखाएको छ । यस लघुकथासङ्ग्रहको लघुकथाले २०४६ देखि यताको समाज र राजनीतिको चलखेललाई दर्पण बनेर प्रस्तुत गरेको छ ।
२.२ चरित्र
ध्रुव मधिकर्मीको ओरालोको सिलसिला लघुकथासङ्ग्रहमा तीन किसिमका पात्र प्रयोग भएका छन् । उनका लघुकथाहरूमा ऊ÷उनीहरू÷तिनीहरू जस्ता सर्वनाम शब्द प्रयोग गरिएका पात्र प्रमुख पात्र बनाइएको लघुकथा सोह्र ओटा छन् । ‘संस्कार’मा ऊ (आफूलाई नास्तिक ठान्ने पात्र) र म (लेखक), ‘जत्था’मा ऊ (जनता) र तिनीहरू (पार्टीका सेना), ‘शुभचिन्तक’मा ऊ (नेता), ‘लक्ष्य’मा ऊ (नेपाली जनता÷परिवर्तनगामी यात्रु), ‘भुत्ते हतियार’मा ऊ (हैकमवादी, शोषक), ‘अर्थोक’मा ऊ (व्यापारी), ‘सामान्य कारण’मा ऊ नेपाली जनता, ‘एक्लो नेता’मा ऊ (पार्टीको नेता), ‘चिनेको चोर’मा ऊ (गेटपाले) र घरको मालिक, ‘जाममा’ ऊ (नेपाली जनता) र डेभिड वर्नर, ‘फुटेको नरिवल’मा ऊ (पुरुष पात्र), नरिवल (महिला), ‘आयात’मा ऊ (नेपाल राष्ट्र), ‘अरूचि’मा म (लेखक) र ऊ (नेपाली जनता) पात्र आएका छन् । त्यसै गरी ‘घरझगडा’मा कसै र कोही पात्र (नेपाली जनता र पार्टीका नेता) आएका छन् । यस लघुकथासङ्ग्रहमा आएका म पात्रले भने लेखक पात्रको भूमिका खेलेको देखिन्छ ।
ध्रुव मधिकर्मीको ओरालोको सिलसिला लघुकथासङ्ग्रहभित्र पात्रको स्पष्ट नाम दिइएका लघुकथा दश ओटा छन् । ‘कमाइ’मा मारवाडी र म (लेखक), ‘बाटैबाटो’ (गप्रसाद, मप्रसाद, सप्रसाद जस्ता नेता), ‘सुनको फूल’मा नेता, ‘अन्धाधुन्ध दौड’मा नेता क, ख र कार्यकर्ता, ‘पीडा र पैसा’मा रामप्रसाद लुइँटेलका बाबु छोरा, हरिबहादुर कार्कीका बाबुछोरा, मानबहादुर तामाङका बाबुछोरा, धनबहादुर गुरुङका बाबुछोरा, हिरालाल बिकका बाबुछोरा, ‘लौरो’मा स्मृतिबहादुर (नेता) र जनता, ‘भ¥याङ’मा क महोदय (मन्त्रीबाट काम सम्पन्न गराउनुपर्ने पात्र), मन्त्री र तरुनी केटी (सुरुमा भ¥याङ बनी पछि अरूलाई भ¥याङ बनाउने पात्र) छन् । ‘भारी’मा गधाप्रसाद (नेता), ‘नौलो दृश्य’मा पक्ष र विपक्ष दलका नेता, ‘आगामी दिनमा’ रामी (कमजोर नारी), रचना (रामीको साथी), आमा (उत्प्रेरक), भाइ (पुरुष सत्ता) जस्ता पात्र प्रयोग गरिएका छन् । त्यसै गरी ‘राजनीति’मा बाघ (जङ्गलको नेता), भेडा (नेपाली जनता) र मान्छे (राज्यको नेता) मानवेतर प्राणीलाई मुख्य पात्र बनाएको छ भने ‘एजेन्ट’मा भष्मासुर, महादेव र विष्णु जस्ता पौराणिक कथाका पात्रलाई बिम्बका रूपमा राखी सामाजिक जीवनका घटना चित्रण गरिएको छ ।
ध्रुव मधिकर्मीको ओरालोको सिलसिला लघुकथासङ्ग्रहभित्रका लघुकथाहरूमध्ये ‘हातको चरा’मा केटाकेटी (प्रतीकात्मक रूपमा नेता), ‘बम र बेलुन’मा शान्तिको कार्यक्रम गर्ने व्यक्ति (नेता) र बालबालिका, ‘ओरालोको सिलसिला’मा (भ्रष्टाचारी), ‘बजार’मा विभिन्न पेसामा आबद्ध पेसाकर्मी, देह बेच्ने आइमाई, ‘गोष्ठीहरूको देश’मा गोष्ठीकर्ता र सहभागी, ‘धोएको गधा’मा नेता, गधा, कार्यकर्ता, ‘अभिभावकत्व’मा आन्दोलनकारी यात्रु, नेपाली जनता, ‘चङ्गा’मा नेता र केटाकेटी, ‘ढुङ्गा’मा तिनीहरू (परिवर्तन चाहने मानिस, विद्रोही), ‘बहस ’मा चोर र तिनीहरू (कुराकानीमा समय बिताउने काम नगर्ने मानिसको जत्था), ‘पुनः मन्थन’मा नेता (संविधान बनाउन लागिपरेका नेता) र विदेशी शक्ति, ‘दाबी’मा मालिक (नेता), जनावर र मानिस (नेपाली जनता), ‘आन्दोलनको अध्ययन’मा (नेता पुत्र, नेता, नेपाली जनता र प्रहरी), ‘जीविका’मा (जादुगर नेता) आएका छन् । यी लघुकथाहरूमा आएका पात्रले व्यक्ति नभई समूह, खास समाज, वर्ग, समुदाय आदिको प्रतिनिधित्व गरेका छन् ।
ध्रुव मधिकर्मीको ओरालोको सिलसिला लघुकथासङ्ग्रहमा रहेका कथाहरू २०५० देखि २०७१ सालसम्मका विभिन्न पत्रपत्रिकामा छापिएका छन् । यस आधारमा यस कथाको विषय पनि सोही समयको हो भन्ने देखिन्छ । यसका साथै विषयमा आउने कथानकको आदि, मध्य र अन्तको क्रम हेर्दै जाँदा यस सङ्ग्रहमा राखिएका पात्र व्यक्ति, समुदाय, वर्ग, समाज, राजनीतिक क्षेत्र आदिको प्रतिनिधित्व गर्ने पात्र छन् । यस लघुकथासङ्ग्रहमा वर्गीय पात्रको प्रयोग अधिक छ । समष्टिमा यस लघुकथासङ्ग्रहका सम्पूर्ण पात्र विषयवस्तु र क्षेत्रअनुसार चयन भएका छन् । यी पात्र हाम्रै आँखा अगाडि रहेका छन् । यस लघुकथामा प्रयुक्त पात्रहरूले घटनालाई जीवन्त बनाएका छन् ।
२.३ परिवेश
ध्रुव मधिकर्मीको ओरालोको सिलसिला लघुकथासङ्ग्रहमा सङ्गृहीत लघुकथाहरूमध्ये संस्कारमा मन्दिर छेउ रहेको स्थान आएको छ । यसमा ऊ पात्रले आफूलाई आधुनिक मानेकाले ज्ञानविज्ञानबाट प्रभावित सहरी परिवेश आएको छ । जत्था लघुकथामा मान्छेलाई बाटोमा समाएको कुरा आएको छ । शुभचिन्तक, अन्धाधुन्ध दौड, बजार, गोष्ठीहरूको देश, अभिभावकत्व, नौलो दृश्य र भ¥याङमा सहरिया परिवेश छ । कमाइमा भारतको प्रभाव नेपालमा परेको कुरा उल्लेख गरी दुई देशलाई परिवेश बनाइएको छ । लक्ष्य लघुकथामा चौबाटोको कुरा आएको छ । सहर र गाउँ दुवै परिवेशमा घट्ने घटना यसमा प्रस्तुत छ । भुत्ते हतियारमा चोक, गल्ली, टोल र बजारलाई स्थान मानिएको छ ।
ध्रुव मधिकर्मीको ओरालोको सिलसिला लघुकथासङ्ग्रहमा सङ्गृहीत लघुकथाहरूमध्ये घरझगडा, बाटैबाटो, सुनको फूल, हातको चरा, बम र बेलुन, ओरालोको सिलसिला, अर्थोक, धोएको गधा, सामान्य कारण, एक्लो नेता, ढुङ्गा, चिनेको चोर, बहस, एजेन्ट, फुटेको नरिवल, दाबी, जीविका, आगामी दिनमा, अरूचि लघुकथाहरूमा आएका घटनाले नेपालको जुनसुकै ठाउँमा घट्ने घटनाको परिवेश दिएको छ । राजनीतिमा जङ्गल र सहर परिवेशको रूपमा आएको छ । चङ्गामा रत्नपार्कलाई स्थान मानिएको छ । त्यसैले यसमा पनि सहरिया परिवेश छ । पीडा र पैसामा नेपाली रोजगारका लागि जाने विभिन्न देशको नाम उल्लेख छ । यसमा गाउँका मानिस विदेश गएकाले गाउँ शून्य भएको कुरा आएको छ । जाममा विदेश र नेपालको स्थिति तुलना गरिएको छ । आन्दोलनको अध्ययनमा विदेश भन्ने नाम उल्लेख भए पनि नेपालको शैक्षिक संस्था स्थानको रूपमा आएको छ । पुनः मन्थन, आयातमा देश र राजनीतिक वातावरण परिवेश बनेको छ । भारी, लौरोमा गाउँ र सहर दुवै परिवेश आएको छ । यस प्रकार स्थानका रूपमा प्रायः लघुकथामा एउटा मात्र स्थानगत परिवेश मुख्य छ । मधिकर्मीका कतिपय लघुकथामा सहर र गाउँ, नेपाल र विदेश, जङ्गल आए पनि ती विगतको वर्णन, संवाद, स्मरणको रूपमा आएका छन् । मूलतः कथाकारले घटना घटेको स्थान एकै बनाएका छन् । त्यस्तै समयका आधारमा संस्कार, जत्था, हातको चरा, बम र बेलुन, अन्धाधुन्ध, राजनीति, गोष्ठीहरूको देश, धोएको गधा, सामान्य कारण, अभिभावकत्व, चङ्गा, चिनेको चोर, बहस, एजेन्ट, फुटेको नरिवल, दाबी, आगामी दिनमा र अरूचि जस्ता लघुकथामा एकै समय आएका छन् भने शुभचिन्तक, कमाइ, लक्ष्य, भुत्ते हतियार, घर झगडा, बाटैबाटो, सुनको फूल, ओरालोको सिलसिला, बजार, अर्थोक, एक्लो नेता, ढुङ्गा, पीडा र पैसा, जाममा, आन्दोलनको अध्ययन, जीविका, पुन मन्थन, आयात, भारी, नौलो दृश्य, लौरो, भ¥याङ जस्ता कथामा लामो समय आएको छ ।
ध्रुव मधिकर्मीको ओरालोको सिलसिला लघुकथासङ्ग्रहका लघुकथाहरूलाई हेर्ने हो भने गाउँ, सहर, विदेश जहाँको स्थान आए पनि नेपाली समाज र राष्ट्रको परिवेश मुख्य रूपमा आएका छन् । यिनका लघुकथाहरूले राजनीतिक बाधा, राजनीतिले उत्पन्न समस्या, पार्टीगत राजनीतिमा देखिने खिचातानी, नेताहरूमा देखिने व्यक्तिगत स्वार्थ, सत्तालिप्सा आदि चित्रण गरिएको छ । यस प्रकार मधिकर्मीका लघुकथाहरूमा राजनीतिक, सामाजिक र सांस्कृतिक समस्या प्रस्तुत भएका छन् ।
२.४ भाषाशैली
ध्रुव मधिकर्मीको ओरालोको सिलसिला लघुकथासङ्ग्रह २०७२÷७३ मा नै प्रकाशन गर्न खोजिएको सङ्ग्रह हो । यस सङ्ग्रहमा सङ्गृहीत लघुकथाहरूलाई डिकोको आधारमा गन्दा जत्थामा ३२३, भुत्ते हतियारमा ३०८, अर्थोकमा ३२२, सामान्य कारणमा ३०१, अभिभावकत्वमा ३२५ शब्दसम्मका लामा लघुकथाहरू एकातिर देखिन्छन् भने अर्कातिर शुभचिन्तकमा ७८, अरूचिमा ९२, लौरोमा ९१, भ¥याङमा ७० शब्द सम्मका छोटा लघुकथा पनि रहेका छन् ।
ध्रुव मधिकर्मीको ओरालोको सिलसिला लघुकथासङ्ग्रहभित्र रहेका चालिसमध्ये चौँतिस ओटा लघुकथाहरूमा परोक्षअपरोक्ष रूपमा राजनीतिक विषय आएका छन् । बाँकी लघुकथाहरूमा भने सांस्कृतिक प्रभाव, यौनव्यापार, धर्मका नाममा भएका विङ्गति र सामाजिक विकृतिका विषय आएका छन् । यस लघुकथासङ्ग्रहका हरेक लघुकथामा लघुकथाकारले बीज वा केन्द्रीय वाक्य प्रस्तुत गरेका छन् । लघुकथामा रहेका यी वाक्यले लघुकथाको गूढ रहस्य बोकेका छन् । यी बीज÷केन्द्रीय वाक्यले लघुकथाको आदर्श निर्माण गरेको छ । ऊ आफूलाई आधुनिक सम्झन्छ । पुराना मूल्य र मान्यताहरूप्रति उसको विश्वास छैन । ऊ ईश्वर पनि मान्दैन । (पृष्ठ ः १) । तिनीहरूको एउटा जत्था थियो अरू फुटकर । (पृष्ठ ३ ), यो हाम्रो परिवेशको कथा नहोला । (पृष्ठ ७), महाशय, तपाईँले त्यसलाई आज पनि त्यही चौबाटोमा अलमलिरहेको देख्नुहुने छ । (पृष्ठ १०), एक जना कार्यकर्ता नेता भयो । (पृष्ठ १७), एउटाले अर्कोलाई बहुला भन्यो । (पृष्ठ ७१) । ओरालोको सिलसिलामा देखिने यी र यस्ता खाले वाक्यलाई लघुकथाकारले घटना, पात्रको प्रयोग गरी अगाडि बढाएका छन् । हरेक लघुकथामा देखिने यस्ता वाक्य÷वाक्यहरूले लघुकथाको आदर्श बहन गरी लघुकथाको मूल मर्म, धर्म र कर्म बोकेका छन् । गम्भीर रूपमा हेर्दा यिनै वाक्यको वर्णन र विश्लेषण लघुकथामा भएका छन् । कतै यिनै वाक्यबाट कथानक सुरु भई यसको विपरीतमा कथा सकिएका छन् भने कतै पुष्टि गरी सकिएका छन् । अतः ध्रुव मधिकर्मीमा लघुकथाको केन्द्रीय भाव लघुकथामा प्रस्तुत गरी त्यसैको वरिपरि घटना र पात्रको संयोजन गर्दै लघुकथा लेख्ने प्रवृत्ति देखिन्छ ।
ध्रुव मधिकर्मीले कतिपय लघुकथामा घटनाको वर्णनलाई सचेतताका साथ संयोजन गरेका छन् । शुभचिन्तक लघुकथामा प्रजातन्त्र प्राप्तिका लागि लड्ने व्यक्ति एक्लै थियो । त्यस समय उसलाई आफ्ना नातागोता र आफन्त भेट्न जाँदैनथे तर प्रजातन्त्र प्राप्ति भएर मन्त्री बनेपछि उससँग अनेक साइनो जोडेर आउने आफन्त देखिए भन्ने कुरालाई जोड्न तर आज स्थिति यो छैन (पृष्ठ ६) भन्ने वाक्य राखिएको छ । यसले दुई वैपरीत्य घटनालाई बडो सुशोभित ढङ्गले जोडेको छ । त्यस्तै, कमाइ लघुकथामा भारतमा रहेको तिलक प्रथा कथाकारले सुरुमा देखाएका छन् । त्यसलाई नेपालको सन्दर्भमा जोड्नका लागि मधिकर्मीले त्यसको घर भारतको कुनै सहरमा छ । तर त्यो केही वर्षदेखि यहीँ (नेपालमा ) कारोबार गरेर बसिरहेको छ । (पृष्ठ ७) भन्ने वाक्यले जोडेका छन् । यस वाक्यले भारतको घटना नेपालमा सहजै प्रवेश गरेको कुरा देखाइएको छ । यसै वाक्यले भारतबाट नै विकृति विसङ्गति व्यापारिक मार्ग बन्दै नेपाल प्रवेश गरेको कुरा पनि देखाएको छ । ध्रुव मधिकर्मीको यस लघुकथासङ्ग्रहभित्र लघुकथाहरूमा उल्लिखित शैलीले दुई फरक विषयलाई सान्दर्भिक, विश्वसनीय र कालिगडीको पाराले जोडिएको छ । त्यसैले उनको यो प्रवृत्ति लेखन शैली बनेको छ ।
ध्रुव मधिकर्मीको लघुकथाहरू पढ्दा कथानकले एउटा बाटो लिइरहँदा त्यसले प्रतीकात्मक रूपमा अर्को घटनाको बोध गराएको देखिन्छ । यो उनको बिम्ब र प्रतीकको कुशल प्रयोग हो । उनको घरझगडा लघुकथा पढ्दै जाँदा सुरुमा यसले एउटा परिवारभित्रको घटना बोके जस्तै लाग्छ । यसमा घरको संरचना फेर्न परिवारका सबै मिलेर लागेको तर घर भत्किएपछि सबैले आफ्नो विचार, बुद्धि, विवेक प्रयोग गरी आआफ्नो शैलीले घर निर्माण गर्न खोजेका कारण भएको घर भत्किएर नयाँ घर बन्न नसकेको कुरा आएको छ । त्यस्तै, यस लघुकथालाई समाजको परिप्रेक्ष्यमा हेर्दा भइरहेको विकास बिगार्न सबै तयार भए पनि सबैको अहम् र मपाईँत्वका कारण नव निर्माणको काम नभएको कुरा बोध गराएको छ । यसैलाई देशसँग ल्याएर जोड्दा नेपालको संविधान, नेपालको कानुन, नेपालको विकास निर्माण गर्ने कुरामा भत्काउन सबै जना मिलेको तर बनाउन एक आपसमा नमिलेको कुरालाई प्रतीकात्मक रूपमा व्यक्त गरिएको छ । त्यसैले मधिकर्मीका प्रायः लघुकथाहरूलाई अभिधार्थमा मात्र नबुझी लक्षणा र ध्वन्यात्मक तहमा गई बुझ्न आवश्यक छ । यसप्रकार उनका लघुकथा भाषाशैलीका कोणबाट आफ्नै निजीपनमा लेखिएका कारण उत्कृष्ट छन् ।
२.५ उद्देश्य
ध्रुव मधिकर्मीको ओरालोको सिलसिला लघुकथासङ्ग्रहमा २०४६ देखि २०७१ सम्मको नेपालको समसायिक राजनीतिक विषय आएका छन् । उनको जत्था लघुकथाले सशस्त्र द्वन्द्वको समयमा माओवादीको समूहले नेपाली जनतालाई बलपूर्वक आफ्नो भिडमा लैजाँदा गरेको वितण्डा देखाएको छ भने शुभचिन्तकले राजनीतिक द्वन्द्व हुनुअघि र सत्तामा पुगेपछि विद्रोहीका आफन्तमा देखिने मनोविज्ञान देखाएको छ । लक्ष्यले परिणामको आँकलन विना गरिएको राजनीतिले पछि देशलाई समस्यामा पार्ने कुरा गरेको छ भने भुत्ते हतियारले हरेक आन्दोलनपछि आएको सत्ताले जनतामा वितृष्णा नै दिएको कुरा प्रस्तुत छ । घरझगडाले घर, समाज, संस्था, देश आदि भत्काउने बेलामा एक मत भए पनि बनाउने बेलामा भएको खण्डित मनस्थिति र व्यवहारका कारण भएको विकास नाश भएको कुरा देखाएको छ । बाटैबाटोले बहुदलीय व्यवस्थामा व्यक्तितन्त्र हाबी हुँदा आएको विकृति प्रस्तुत गरेको छ भने सुनको फूल र हातको चराले पाएको कुरा सदुपयोग नगरी नयाँ कुराको खोजमा लागेको कुरा गरेको छ । बम र बेलुनले देश क्रान्तिमा लागेको बेला शान्तिको बेलुन उडाउँदा निहत्था बालबालिकाको जीवन गएको कुरा देखाएको छ । अन्धाधुन्ध दौड र धोएको गधाले सिद्धान्तभन्दा व्यक्तिमुखी कार्यकर्ताको जीवन र क्रियाकलाप देखाएको छ भने राजनीतिले जङ्गलमा बसेर राजनीति गर्ने सहर प्रवेश गरेपछि गरेका अमानवीय व्यवहार प्रस्तुत गरेको छ । एक्लो नेताले फुटको राजनीति र पार्टीको नेता बन्न खोज्ने प्रवृत्ति देखाएको छ भने अभिभावकत्वले राष्ट्रिय अभिभावक नभएको देशमा गरिएका आन्दोलनले माग पूरा गर्ने नभई विनाशको कारण बन्ने कुरा देखाएको छ । चङ्गाले सरकारको नेतृत्व गर्ने नेताको चाहनाले देश सकिन लागेको कुरातिर सङ्केत गरेको छ भने ढुङ्गाले राजनीतिलगायत हरेक ठाउँमा देखिने आस्थाको पर्खाल ढल्ने कुरा गरी राजकीय शासन नेपालबाट ओखलिएको कुरा देखाएको छ । चिनेको चोर लघुकथाले सरकारलगायत अनेक स्थानमा गएर लुट्ने ज्ञान हासिल गरेकाबाट जनता र देश पीडित बनेको कुरा देखाएको छ भने बहसमा अनावश्यक सोच र कुराकानीले व्यक्ति, समाज र देश पछाडि परी असत् पक्षको हालीमुहाली बढेको कुरा व्यक्त छ । जाममा लघुकथाले सडक, काम, सरकार आदि जाममा परेका कारण अरू देशभन्दा नेपाल पछाडि परेको कुरा देखाएको छ भने एजेन्टले एउटा व्यक्तिको दोहोरो चालले नेपालको अस्तित्व सङ्कटमा परेको कुरा देखाएको छ । दाबी लघुकथाले लोभ र स्वार्थका कारण मानिस पशुभन्दा नीच बनेको कुरा व्यक्त गरेको छ भने आन्दोलनको अध्ययनले नेताको कुप्रवत्ति र नेपाली जनताप्रतिको व्यवहार देखाएको छ । जीविकाले नेताहरूको बढ्दो वैभव चित्रण गरेको छ भने पुनः मन्थनले संविधान नबनेपछि विदेशीहरूले नेपालले संविधान बनाउन गरेको प्रयास देखाई नेताहरूको दुष्प्रवृत्ति चित्रण गरेको छ ।
ध्रुव मधिकर्मीको आयातले नेपालको आर्थिक, कृषि, सामाजिक, धार्मिक लगायत राष्ट्रिय नीतिसमेत विदेशबाट आयात भएको कुरा बताएको छ । भारीले सबैको दुःखसुखमा साथ दिने नेता पनि सत्तामा पुगेपछि विदेशीको इसारामा नाच्ने कुरा बताएको छ भने नौलो दृश्यमा नेपालका पार्टी, सरकार र राजनेता दिउँसो असन्तुष्टि पक्षसँग र रातमा विदेशीसँग बसेर मिलोमतो गर्ने कुरा गरेको छ । अरूचिले मान्छे पशु बनेको कुरा उठाएको छ भने लौरोले नेताको खराब नियत प्रस्तुत गरेको छ । त्यस्तै, संस्कारमा व्यक्ति जतिसुकै आधुनिक भए पनि आदिम संस्कृतिको छाप रहिरहने कुरा गरेको छ भने कमाइले विदेशबाट खराब विचार, संस्कृति नेपालमा भित्रिएर नेपालको सभ्यतालाई बिगारिरहेको कुरा गरेको छ । ओरालोको सिलसिलाले व्यक्तिदेखि सरकारसम्म भ्रष्टाचारी भएकाले देश ओरालोतिर लागेको कुरा बताएको छ भने बजारले मानिसको आवश्यकता फूलमा नभई यौन चाहना पूर्ति गर्नुमा रहेको कुरा देखाएको छ । गोष्ठीहरूले नेपालको विकास कुराकानीमै सीमित रहेको कुरा देखाएको छ भने अर्थोकले धर्म र समाजसेवामा भएको व्यापार देखाएको छ । पीडा र पैसाले बढ्दो विदेशमुखी प्रवृत्ति देखाएको छ भने फुटेको नरिवलले मानिसमा रहेको आकर्षण र विकर्षण देखाएको छ । त्यसै गरी आगामी दिनमाले नारीलाई सक्षम बनाउने प्रयास गरेको छ भने भ¥याङले अरूलाई चढाउन सहयोग गर्नेले नै आफ्नो राजनीतिक, सामाजिक, प्रशासनिक काम सजिलै पूरा गर्ने कुरा देखाएको छ ।
२.६ शीर्षक
ध्रुव मधिकर्मीको ओरालोको सिलसिला लघुकथासङ्ग्रहका चालिस लघुकथाहरूमा विषयलाई आधार मानी शीर्षक राखिएका छन् । उनका लघुकथाको शीर्षकले आदिदेखि अन्तसम्मको विषयलाई बहन गरेको छ । उनको भुत्ते हतियार, घर झगडा, सुनको फूल, हातको बेलुन, बजार, चङ्गा, ढुङ्गा, फुटेको नरिवल, भारी, लौरो र भ¥याङ लघुकथाको शीर्षक प्रतीकात्मक छन् भने अरू सोझो अर्थमा राखिएका छन् ।
३ निष्कर्ष
ध्रुव मधिकर्मीको ओरालोको सिलसिला लघुकथासङ्ग्रहमा राजनीतिक विषयका लघुकथा धेरै छन् । उनका लघुकथाहरूमा कथानकको आदि, मध्य र अन्तको शृङ्खला भेटिन्छ । उनको यस सङ्ग्रहका लघुकथामा प्रायः ऊ, उनी, तिनी जस्ता सर्वनाम शब्दबाट पात्र राखिएका छन् । उनको लघुकथाको यस प्रकारको पात्र रखाइले घटनाको विषयलाई गम्भीर बनाई व्यक्ति, समाज र राष्ट्र हाँक्ने जोसुकै पात्र इङ्गित गर्न खोजको देखिन्छ । उनका कथाले प्रथम र द्वितीय पुरुषको कुराकानीमा आउने हरेक व्यक्ति नै ऊ पात्र बनेको देखाएको छ । यस सङ्ग्रहका एउटा दुइटा कथामा विदेशको नाम र प्रसङ्ग आए पनि नेपाली माटो, हावापानी र परिवेशका घटनालाई टपक्क टिपेर लघुकथा बुनिएको छ । भाषाशैलीका कोणबाट उनका लघुकथाहरू विशिष्ट बनेका छन् भने उद्देश्यका दृष्टिले सचेत बन्ने र बनाउने प्रयास उनको यस सङ्ग्रहका कथाले गरेका छन् ।
सन्दर्भ सामग्रीसूची:
पहाडी किशोर, (२०७८), कथाकार मधिकर्मी र उनको प्रिय ऊ पात्र, ओरालोको सिलसिला, काठमाडौँ ः सिर्जना अभियान समाज, पृष्ठ ग–च ।
मधिकर्मी, ध्रुव, (२०७८), ओरालोको सिलसिला, काठमाडौँ ः सिर्जना अभियान समाज ।
श्रेष्ठ शेखरकुमार, (२०७७), सृजनात्मक साहित्यको रूपमा लघुकथा लेखन, लघुकथाको सुगन्ध लघुकथा प्रधान पत्रिका , चितवन ः नमस्ते आधुनिक लघुकथा मञ्च, अङ्क २, पृष्ठ १४–२२ ।
......................, (२०७८), लघुकथाको विधागत स्वरूप, लघुकथाको सुगन्ध लघुकथा प्रधान पत्रिका, चितवन ः नमस्ते आधुनिक लघुकथा मञ्च, अङ्क ३, पृष्ठ १३–१९ ।
श्रेष्ठ, श्रीओम रोदन, (२०७८), लघुकथा लेखन र उन्नयनमा लागेका स्रष्टा, ओरालोको सिलसिला, काठमाडौँ ः सिर्जना अभियान समाज, पृष्ठ छ–ज ।