16 वर्षदेखि निरन्तर
समकालीन साहित्य

जुकाको टोकाइ र खतरनाक यात्रा

नियात्रा काशीनाथ मिश्रित August 20, 2023, 4:22 pm
काशीनाथ मिश्रित
काशीनाथ मिश्रित

पृथ्वीले आफ्नो कक्षमा एक फन्को मारिसकेछ । समयलाई पछ्याउन सकिएनछ क्यारे ! साँच्चै मैले मात्र हो कि कसैले पनि समयलाई भेटाउन नसक्ने हुन् हँ । मन एक तमासको हुन्छ मेरो । हिजो झैँ आँखामा दृश्यहरू नाचिरहेछन् । तर वर्ष बितेको थाहा छैन । लाग्छ जिन्दगी भन्नु नै सम्झनाहरूको श्रृङ्खला रहेछ । सम्झनाहरूको पत्रैपत्र रहेछ । उमङ्ग, पिडा, मनोरञ्जन एवं भय मिश्रित त्यो जीवनको पत्र बन्द भैसके पनि स्मृतिले पुनः खोल्न कर गरी । स्मृतिमा अमर रहने त्यो पाना अक्षरमा पनि त राख्नुपर्छ तैले ! स्मृतिले भित्रैबाट घच्घच्याउन थाली मलाई । त्यसैले त स्मृतिका अनुभूतिलाई अक्षरमा रूपान्तर गर्न बाध्य भएँ म । समयको गतिले उछिनेर छोडेको त्यो एउटा पानालाई फेरि पल्टाउन कोशिस गर्छु । त्यो बन्द भैसकेको पाना ! रङ्गीन पाना !!
आफूलाई स्वतन्त्र सुगा चरी झैँ विचरण गर्ने मन लाग्छ तर पेशा पर्यो शिक्षकको । शिक्षण पेशामा सुगा होइन पिंजडाको सुगा जस्तो बन्नु बाध्यता छ । टाढै घुम्न जान त लामो विदाको समय मिलाउनुबाहेक विकल्प छैन । एक दिने विदामा कहाँ जानु? तैपनि हामी चार जना मित्रहरूले एउटा गन्तव्यमा जाने सहमति गर्यौँ । कुरा प्रस्ट छ एक दिनमा पुगेर आउन सकिने गन्तव्य कति टाढा होला?
पहाडी परिवेश नै त्यस्तै हुन्छ, देखिन्छ नजिकै तर त्यहाँ पुग्न लाग्छ ५ घन्टा । साथीहरूले भन्दा मैले पत्याएको होइन । नपत्याएर के गर्नु, आफै हिँडेर पुग्दा समय लागेपछि ।गत कार्तिकमा सत्यवतीको मेला हेर्न जाँदा यस्तै भएको छ । भार्से देउरालीमा पर्यटकीय क्षेत्र बनाउँदै छन् रे भन्ने सुनेको थिएँ । स्तुप पनि बन्दै छ, प्रेमको प्रतीक पानको पात जस्तो आकार र टिकटकको चिन्ह पनि बनाइएको छ रे भन्ने कुरा सुनिएको थियो । आजकल त टिकटक डाँडा भन्छन् भन्ने चर्चा पनि चल्थ्यो । एकै दिनमा पुगेर आउन सकिने भए पनि हामी गएका थिएनौँ । त्यसैले जाउँ न त भनेर सल्लाह गर्यौँ हामी चार जना मित्रहरू रुपन्देही सियारीका कृष्णप्रसाद सर्मा, अर्घाखाँची हंसपुरका नरबहादुर नेपाली, कपिलवस्तु महाराजगञ्जका विक्रम पासी र रुरुक्षेत्रबाट यहाँ शिक्षण गर्न आएको म भएर । राजेन्द्र सरलाई पनि लैजाउँ न त भनेर प्रस्ताव राख्दा उहाँलाई बाबुको स्वीकृति मिलेन । उहाँ स्थानीय, हामी अस्थानीय ! कुरो नमिलेपछि चार जनाको मात्र टुङ्गो लाग्यो । म, नरबहादुर र विक्रम बस्ने घर थियो ‘विक्रम होटल एन्ड खाजाघर’ । जसको नामबाट होटलको नाम राखिएको थियो उनी थिए विक्रम बलाल । हामीले सल्लाह गरेको सुनेर प्रोपराइटर यमुना बलालले भन्नुभयो, “ हाम्रो विक्रम पनि जाने भनेको छ । लैजानुहुन्छ र सरहरू ?” हुन्न भन्ने कुरा भएन । अब हाम्रो सङ्ख्या पाँच पुग्यो ।
सुविधासम्पन्न बाहनमा गुडेर वा विमानमा उडेर यात्रा गर्नुको मजा बेग्लै हुँदो हो । तर प्रकृतिका प्रतिकुलतालाई चिर्दै, विभिन्न अड्चनहरूसित पौठेजोरी खेल्दै पैदल यात्रा गर्नुको मजा अलग्गै हुन्छ । पहिलेका मानिसहरू हिँड्नु परेकाले स्वस्थ रहन्थे, अहिलेका मानिसहरू स्वस्थ रहनका लागि हिँड्छन् भन्ने उक्ति आजकल निकै प्रचलनमा छ । हामी भने रहरले हिँड्दै थियौँ स्वस्थ रहनका लागि होइन । खाने कुरा के लैजाने भन्ने विषयमा हामी सबैको राय एउटै भयो । बिहान खाना खाएर हिँड्ने, एउटा बोइलर कुखुरो किन्ने, अलिकति भुटेर प्याक गर्ने, बाँकी उहीँ पुगेर सेकुवा बनाई मजाले मनोरञ्जन लिँदै खाने ! अलिकति च्युरा, भुजा र चाउचाउ पनि लैजाने । उहाँ पकाउने व्यवस्था छ छैन केही थाहा छैन । जङ्गलको ठाउँ भएकाले दाउरा त कसो नपाइएला र भन्ने तर्कका साथ साथीहरूले कार्यक्रम अघि बढाउनुभयो ।तयारी पूरा हुँदा दस बजिसकेकाले लुङ खोलासम्म बाइकमा जाउँ, त्यसपछि पैदल हिँडौँ, ढिलो भैसक्यो भन्ने प्रस्ताव नरबहादुर सरको आयो । हुन्न भन्ने को नै थियो र त्यहाँ ! दुईवटा बाइकमा हामी पाँच जनाको सवारी सुरु भयो २०७९ भदौ ३ गतेका दिन बिहान दस बजेपछि ।
बाल्यावस्थामै मैले जानेको शब्द सानो तीज थियो । जान्ने भएपछि मात्र श्रीकृष्ण जन्माष्टमी भन्ने थाहा भएको हो मलाई । जन्माष्टमी भएकाले विद्यालयको विदा मनाउने यो योजना दुई दिन अघि मात्र तय गरिएको थियो । लामो समयको योजना खासै प्रभावकारी हुँदैन । कि योजना नै नबनाउनु, कि बनाएपछि सम्पन्न गरिहाल्नु भन्ने हाम्रो मत मिल्थ्यो साथिहरूका बीच । भ्रमणमा थप आनन्दोलास होस् भन्नाका लागि विशेष किसिमको मादक पदार्थ पनि व्यवस्था मिलाएका थियौ अघिल्लो दिन नै । निस्तो मासु खाएर त के रमाइलो हुन्थ्यो र? ‘टिमुर र नुन पिसेर लैजानुपर्छ सर नत्र त जुकाले बर्बादै बनाउँछ ।‘ भन्नुभएको थियो यमुना म्याडमले । मैले त्यसो पनि गरिनँ । जुका लागे टिपेर फालौँला भनेर जुत्ता मोजा कसेर हिँडेको थिएँ म । वर्षाको समय भएकाले पानी पर्ने सम्भावनालाई ध्यानमा राखी प्लास्टिक र छाता भने झोलामा राखेका थियौँ ।
लेकले बादलको टोपी लगाउन थाल्यो, पानी पो पर्छ क्यारे सर भन्दै हुनुहुन्थ्यो नरबहादुर सरले । अब जेसुकै परे पनि हाम्रो यात्रा अघि बढ्यो, रोकिनेवाला छैन भनेँ मैले बाइकको पछाडि बसेको बेला । कृष्ण सर र विक्रम भने पासी सरको बाइकमा बसेका थिए । साढे दसमा हामी लुङ खोला पुग्यौँ हाम्रो विद्यालयका शिक्षक अभिवावक संघका अध्यक्ष ओमनारायण भण्डारीका घर । भण्डारीले माथि पैयूँपाटाको स्कुलसम्म त बाटो सजिलै छ भन्दै थिए तर हामी भने बाइक त्यहीँ राखेर पैदलै जाने विचारमा थियौँ । हिँडेर जाँदा कति समय लाग्दोरहेछ भन्ने जान्नु थियो मलाई । बर्खामास नभएको भए त उहीँसम्म नै मोटरबाटो पुगिसकेको छ भन्ने पनि थाहा थियो ।फोक्सिङबाट हल्का ओरालो मोटरबाटो तिन किलोमिटर जति बाइकमा हिँडेपछि हाम्रा पाइला पहाडको फेँदबाट उचालिन थाले उकालोमा ।
कोरोनाले एस इ इको परीक्षा रोकिएपछि २०७६ साल चैत ६ गते पैयुँपाटा भन्ने स्थानसम्म पुगेर त्यस्तै मनोरञ्जन गरेको स्मृति मेरो मस्तिष्कमा ताजा थियो । पुनः त्यही उकालोमा पाइला राख्दा मलाई उक्त यादले छोप्यो । त्यसबेला विद्यार्थीहरू पनि थिए पाँच जना । शिक्षकहरू पनि पाँचै जना थियौँ । मलाई काशी सर जान सक्नुहुन्न भनेर नलैजाने विचार गरेका रहेछन् । मैले रेसुङ्गाको टुप्पोमा तिन तिन पटक हिँडेर पुगेको ज्यान हो किन नसक्ने भनेपछि मलाई पनि सहभागी गराइएको थियो । त्यतिबेला हिँडेको स्मरण गर्दै हामी मोटरबाटो लाग्यौँ । तर सो बाटो हिँड्दा लामो समय लाग्ने भनेर एउटा घुम्तीपछि मानिसहरू हिँड्ने पुरानो ठाडो बाटोबाटै जाने निर्णय भयो । एक एकवटा झोला बोकेर, भुटुवा राखेको डोल्ची(बिर्को लगाएर झुण्ड्याउने उजिन्डो भएको स्टीलको डिब्बा) हातमा झुन्ड्याएर पाँच जनाको यात्राको फोटो खिच्दै थिए विक्रमले सबभन्दा पछिल्लो पदयात्रीका तर्फबाट । केही माथि चढेपछि पसिनाले भिजाउन थाल्यो र मैले लगाएको विनचिटर खोलेर झोलामा राखेँ । पछि डाँडामा पुग्दा जाडो भयो भने लगाउँला, अहिले त सकिएन । हामी विभिन्न गफ गर्दै र पारी पारीका पहाडी दृश्यहरू हेर्दै उकालिइरह्यौँ,, उचालिइरह्यौँ । बिच बिचमा खराब बाटो भएको ढुङ्ग्यान ठाउँ आएमा साथीहरूले मलाई हातमा समातेर हिँडाउनुहुन्थ्यो नत्र म झोलाको फिताको टुप्पो समातेर डोरिँदै थिएँ ।भदौको महिना भएकाले घामको किरणलाई बादलले छेके पनि गर्मी कम भएको थिएन । माःथि थाप्लेको लेकतिर पानी पर्न लागेकाले सरहरूले पानी आउने भयो साथी हो ! के गर्ने हो ? परार जस्तै पैयुँपाटाबाट फर्किने त हैन भन्ने तर्क पनि गर्न थालिसक्नुभएको थियो ।
पसिना पुछिरहनु पर्ने झमेलाले गर्दा मैले चस्मा निकालेर गोजीमा राखेँ । वर्षाले हामीलाई प्रेम गर्न थाली । पानीका मसिना कणहरू हामीतिर पनि आउन थाले । “ए ! माल्दाइ, इन्द्रेलाई पानी नपार्न भन्नुस् त परार जस्तै ।“ कृष्ण सरले मलाई ठट्टा गर्दै भन्नुभयो । मैले पनि इन्द्रे रिसाएको छ मैले भनेको मान्दैन भनेँ । आखिर ओढाउ ओढ्नै पर्ने हुन थाल्यो । छाता र पानीकागज निकालेर ओतिँदै हिँड्दै गर्यौँ । छाता र प्लास्टिक ओढ्दाको दृश्य पनि विक्रमलाई क्यामरामा कैद गर्न लगाइयो । दिनभरि त नआउला नि ! हाम्रो सोचाइ यस्तै थियो । पैयुपाटाको स्कुलमा पुगेर विश्राम गर्ने सल्लाह गर्दै हामी उकालिन छोडेनौँ । पानी पर्न थालेपछि जुका पनि सलबलाउन थाले । नुन र टिमुर खल्तिमा राखेका साथीहरूले खुट्टामा दले पनि पानीले भिजाएर काम नलाग्ने गराइदियो । मैले त प्रयास पनि गरिनँ । जुका लागेको थाहा पाएँ भने निकालेर फ्याक्ने नत्र टोके टोकोस् कति रगत पो जाला र ! यही विचारले यात्रालाई निरन्तरता दिइरह्यौँ । १२ बजे मात्र स्कुलमा पुग्न सकियो । केही समय विश्राम गरेर पानीको बाटो हेर्ने र हिँड्ने भन्ने सल्लाहबमोजिम विद्यालयको बरन्डामा ओत लाग्यौँ सबै । कति होलान् यहाँका विद्यार्थी? उत्तर कसैसित थिएन । मर्ज भैसकेको हो रे भन्ने पनि तर्क आए । तिन कक्षासम्म त पढाइ हुन्छ होला भन्ने पनि तर्क आए । पैयुँपाटामा कति घर होलान? भन्ने प्रश्न गर्दा दस बाह्र घर त होलान् नि भन्नुभयो सरहरूले ।
ठुलो पानी पनि नपर्ने र वर्षा पनि नरोकिने छाँट देखेपछि यतिका आएर गन्तव्यमै नपुगी फर्कनु हुन्न भन्ने विचारले पाइला अघि बढाउने निष्कर्षमा पुग्यौँ । स्कुलभन्दा माथि पैयुँपाटाको गाउँ रहेछ । एउटा बालक आउँदै गरेको देखेर कृष्ण सरले भन्नुभयो ‘ए, यो बाबुको घर त यता रहेछ, मैले त चैयातिर होला भन्ठानेको !’ अनि त्यो बालकलाई सरहरूले देउरालीको बारेमा सोध्नुभयो । केटोले हाम्रै विद्यालयको सात कक्षामा पढ्दोरहेछ । यति टाढाबाट पनि जाँदारहेछन् भन्ने मलाई थाहा थिएन । यसको भाइले आठमा पढ्छ झन् । निराजन भन्ने दसको विद्यार्थीको घर पनि यहीँ हो । सरहरूले मलाई स्पष्टीकरण दिँदै हुनुहुन्थ्यो । शिशिर रहेछ त्यसको नाम किन हो किन शिशिर नाम मेरो लागि प्रिय नाम हो । मैले पहिले पढाउने जनबोधको सात कक्षाकै शिशिर नामक विद्यार्थीलाई घनिष्ठ मित्र जस्तो बनाएको थिएँ । भनौँ हामीबिच प्रेम थियो । मलाई स्मृतिले कता लग्यो कता । जे होस् स्मृतिले जता लगे पनि १८०० मिटरको उचाइमा रहेको ठाउँमा झरीले रुझ्दै र जुकाले चिमोट्दै गरेको वर्तमान मेरो सामु थियो । ‘पानी त अलि तलैबाट लैजानुपर्छ, उहाँ पाइन्न । कामदारहरू पनि बसेकाले उनीहरूले लगेको भए मात्र हो । सटकट हिँड्ने बाटो छैन । मोटरबाटो नै जानुपर्छ । दुई घन्टा त लाग्छ । ‘ यस्तो जानकारी त्यस बालकले हामीलाई दियो ।
अब जति समय लागे पनि मोटरबाटो नछोडी हामी हिँड्ने भयौँ जसले गर्दा पहिले जस्तो उकालो चढ्नु नपर्ने भयो । दुई घुम्ती माथि पुग्दा एउटी किसोरी चिटिक्क परेर घरको छेउमा उभिएकी रहिछन् । अर्की एक जना महिला पनि सिँगारिएको पोशाकमै थिइन् । हामीलाई देउराली हिँड्नुभएको हो? भन्ने प्रश्न गरिन् उनले । हामीले तपाईँहरू पनि जाने हो र भनेपछि हो, गाडी आउँदै छ, हामी त त्यसैमा जाने हो । हाम्रो आमा समूहको टोली नै जाने हो भने उनीहरूले । यो झरीमा तलबाट गाडी आउँदै छ भन्ने कुराले हामीलाई कतै सिट भए चढ्न पो पाइन्छ कि भन्ने आशा पनि जगायो । तर पाइला भने रोकेनौँ निरन्तर निरन्तर बढाइरह्यौँ अगाडि । केही समयमै गाडीको आवाज पनि सुनियो । निकै माथि पुग्दासम्म पनि भेटाउन सकेन गाडीले हामीलाई । बिच बिचमा रोकिँदै हिँड्दै गरेको थाहा भयो । बाटो चिप्लो भएर गाडीले तान्न नसकेको हो या बिग्रेर हो केही थाहा पाउन सकिएन । हामीलाई गाडीले भेटाएपछि पो थाहा भयो त्यो त विक्रमको दाइ(ठुलोबुबाको छोरा) दीपक बलालले चलाउने जीप रहेछ । हामीलाई देखेर ‘गाडीले तानेको छैन, सरहरू आउँदै गर्नुहोस् है !’ भन्दै कुँदाइहाले उनले जीप । वास्तवमा गाडी चढ्ने उद्देश्यले हामी हिँडेका पो कहाँ थियौँ र !
अप्रचलित बाटो भएकाले बाटोमा घाँस पलाएको थियो । जुताभित्र छिरेर कति जुकाले टोकेका थिए कुनै लेखाजोखा थिएन । उचाइ थपिँदै गएपछि त बाटामाथिका खर्सुका बोटबाट पनि खरी जुका खस्न थाले । एक्कासी गर्धनमा पो जुकाले टोकेको थाहा भयो । ठुला ठुला जुका त माथिबाट झर्दारहेछन् । हजुरआमाले माइत जाँदा रुखबाट जुका खस्छन् भनेको बल्ल याद भयो । त्यो देउराली नाघेर ग्वाघा भन्ने ठाउँमा बास बसी दोस्रो दिनमा मात्र हजुरआमाको माइत पुगिन्थ्यो । पानी कम भएको बेला छाता नओढ्दा जुका खस्ने डरले मैले छाता ओढेँ । बोकिरहेको झोलामा खसेर जुका गर्धनमा आइपुग्दा मात्र थाहा पाइन्थ्यो । पानी र जुकाबाट जोगिन छाता ओढेर लौरो टेकी म लहरको बीचमा हिँडिरहेको बेला अकस्मात् बाटोमा जमेको हिले पानीमा चिप्लेर पछारिएँ । पछाडि कृष्ण सर हुनुहुन्थ्यो । ‘क्या हो माल्दाइ नखाँदै लागे जस्तो छ नि !’ भनेर समाउनुभयो र हिलो पुछपाछ पारी पुनः हिँड्न थाल्यौँ । बाहिरबाट पानीले भिजाएको भए पनि भित्र पसिना आएकै थियो । पसिनाले पनि उत्तिकै भिजाएको थियो । पानीका बोतलहरू सबै रित्तिइसकेकाले खाने पानी पनि थिएन । केही माथि पुगेपछि पानीको मूल भेटियो । सायद अघि तलबाट लैजानुपर्छ भनेर त्यस केटाले यही पानीलाई भनेको होला । भरौँ साथी हो बोतल भनेर प्रशस्त पानी खाई बोतलसमेत भरेर हामी अघि बढ्यौँ ।
पहिले झैँ पारी पारीका दृष्य हेर्ने सौभाग्य अब हाम्रो थिएन । डम्म कुहिरोले घेरेको र पानीका थोपाहरूले साटो फेरेको चुनौतिपूर्ण मौसम थियो । बिच बिचमा लाग्ने चिसो बतासले जाडोको अनुभूति गराउन थालिसकेको थियो । भित्रबाट पसिनाको चिसो, बाहिरबाट पानीको चिसो ! त्यसमाथि हावा चल्दा के बाँकी रहोस् ! कतिबेला पुगिने हो अझै थाहा थिएन ।टोकेको थाहा पाएमा जुका फाल्दै र चिसो बतासको सिरेटो खेप्दै हामी त्यस कुहिरे मौसममा पाइला चाल्न भने छोडेनौँ । तिर्खा मेटाउँदै गरे पनि भोकले भने सताइरहेको थियो । गन्तव्यमा नपुगी खाजा खाने उपयुक्त ठाउँ पनि त थिएन । टाःढा माथितिर कतै मानिसहरू बोलेको जस्तो सुनिन थालेकाले अब त आउन लागे जस्तो छ है साथी हो ! भनेर अगाडि हिँडेका विक्रम पासी सरले जानकारी गराउनुभयो । यसो उभिएर ठनासेको त मानिसहरूको आवाज सुनियो । वनका पातहरूमा झरीले गरेको सुसाहटका बीच मानिसको कोलाहल सुनिएपछि गन्तव्य धेरै टाढा छैन भन्ने विश्वास भयो हामीलाई ।
साढे तिन घन्टाको अविरल हिँडाइपछि मात्र हामीले गन्तव्य चुम्न सकेछौँ । मलाई कति समय लागेछ भनेर पहिले समय जान्ने जिज्ञासा लागेकाले घडी हेरेँ । दुई बजेको रहेछ । त्यो झरीमा पनि मानिसहरूको उपस्थिति देख्दा हामी दङ्गै पर्यौँ । पैयुँपाटाका आमा समूह मात्र होलान् भन्ठानेको थुप्रै बाइक र चारवटा जिपहरू रोकेको देख्दा थकाइसमेत बिर्सन पुगिएछ । थकाइ बिर्से पनि जाडो र भोक भने भित्रैबाट घोच्ने गरी लागेको थियो । तसर्थ साथीहरूले कतै बसेर हामीले ल्याएको नास्ता खाने ठाउँ खोज्न थाल्नुभयो । स्तुप बनाउने कालिगढहरू बस्ने गरेको एउटा घर र निर्माणाधीन होटलबाहेक ओत लाग्ने कुनै ठाउँ त्यहाँ थिएन । आमा समूहले त्यही मिस्त्री बस्ने घरमा खीर पकाउन थालेका रहेछन् । दीपकले यतै बस्नुहोस् सरहरू भनेर त्यता लगे पनि त्यहाँ अटाइँदैन्थ्यो । त्यहाँ बस्ने उपयुक्त वातावरण नभएकाले होटलको प्रयोजनका लागि बनाइँदै गरेको घरतिर लाग्यौँ । एउटा कोठामा १०/१२ जना तन्नेरीहरू रक्सीको तालमा गीत गाउँदै खाँदै गरेका थिए भने अर्को कोठा साँगुरो थियो र पानी ओत्ने प्रबन्ध पनि थिएन । आखीर त्रिपाल टाँगेर त्यसको बाहिरपट्टि हामीले आगो बाल्न पाउने भयौँ । दाउरा भने त्यहाँ उपलब्ध गराइयो । आगो बालेपछि ढुङ्गाको सिट बनाएर वरिपरि बस्यौ र च्युरासित घरै तयार पारेर ल्याएको मासु खान थाल्यौँ । त्यहाँ बस्दा पनि मेरो गर्धनमा एउटा खरी जुको खस्यो । बाहिरबाट आगोले र भित्रबाट खाजा तथा सोमरसले शरीर तताएपछि शरीरले चलिरहेको चिसो सिरेटो पनि सहन सक्ने स्थिति बन्यो । पानी पनि थामियो । घामको टाटो देखियो किरण नपरे पनि ।
साँच्चिकै भुल्न नसकिने अविस्मरणीय क्षण त त्यसपछि सुरु भयो । हामीले खाजा खाइसक्दासम्म कतिपय मानिसहरू फर्किसकेका थिए । तर गाडी नै रिजर्भ गरी आएका मानिसहरू भने मनोरञ्जनको चरमोत्कर्षमा डुबिरहेका थिए । खाजा खाएको ठाउँबाट दक्षिणतर्फ नजिकै रहेको निर्माणाधीन पार्कमा गयौँ हामी । त्यो पार्क त्यस ठाउँको सर्वोच्च स्थानमा थियो । पश्चिम दिशामा सिमेन्टको टिकटकको लोगो, उत्तरमा प्रेमको लोगो र दक्षिणमा चन्द्रमाको आकार दिइएको थियो । तिनै चिह्नमा बसेर र उभिएर फोटो खिच्न मिल्थ्यो । फलामे पाता राखेर बस्न मिल्ने बनाइएको उक्त लोगोहरूमा हामी पाँचै जना बसेर अरुलाई फोटो खिच्न लगायौँ । फोटाहरू त कति खिचिए लेखाजोखा नै भएन । पूर्वमा गोलाकार छातासहितको मञ्च बनाइएको थियो जसमा आमा समूहका महिलाहरूले सुरिलो भाकामा तीज गीत घन्काइरहेका थिए । नाच्नेहरूको पनि उत्तिकै जम्को थियो । हिलो नहोस् भन्नका लागि पार्कमा रोडा बिछ्याइएको रहेछ । कृष्ण सरले त्यस क्षणको स्मृतिलाई जीवन्त राख्न मुवाइलमा भिडियो बनाउन थाल्नुभयो । यात्रालाई अविस्मरणीय बनाउन हामीले पालैपालो केही व्यक्तिहरूको क्यारिकेचर पनि गर्यौँ त्यहाँ । किनभने हामी त्यहाँ मन मिल्ने मित्रहरू मात्र गएका थियौँ । हामीले भरपूर मनोरञ्जन लिन कसैको संकोच मान्नु पर्दैन्थ्यो । मनोरञ्जनात्मक शैलीमा गरिएको उक्त भिडियोले प्रविधिमैत्री आधुनिक युगमा हाम्रो उक्त यात्रालाई जीवन्त राख्ने छ वर्षौँसम्म ।
हामीबाहेक त्यहाँ ५०/६० जना मानिसहरू आआफ्ना साथीसँगातीसित फोटा खिच्ने र नाचगान गर्ने गरिरहेका थिए । कुहिरो नलागेको भए माछापुछ्रे, अन्नपूर्णा, धौलागिरी लगायतका थुप्रै हिमालदेखि लिएर गुल्मी, पाल्पा, अर्घाखाँची, पर्वत, वाग्लुङ लगायतका थुप्रै ठाउँका दृश्यहरूको अवलोकन गर्न सकिन्थ्यो त्यस ठाउँबाट । तर दुर्भाग्यवश त्यस्तो मौका थिएन त्यो दिन । हामीसित कृष्ण रिसाएछन् कि जतासुकै हेर्ने तीब्र इच्छा भने पूरा हुन सकेन हाम्रो । ‘हेर्नुहोस् त भार्से देखियो !’ केही कुहिरो कम भएको बेला पश्चिमपट्टि देखाउँदै विक्रम सरले भन्नुभयो तर मैले देख्न सक्ने गरी भने कुहिरो हटेको थिएन । हाम्रो घरतिरको दृश्य हेर्ने अभिलाषा भने अधुरै रह्यो । ‘बम्घाको डाँडो त तःल देखिन्छ’ भनेको थियो भाइ श्रीरामले बुढो मावली आउँदा देखेकाले । मेरो मुवाइलको अल्टिमिटरले २१४९ मिटरको उचाइ देखायो त्यस ठाउँको । बम्घा १६०० मिटरको उचाइमा पर्छ, तल देखिने नै भयो ।
मादलको ताल दिइरहेका दीपकले हामीलाई पनि नाच्ने आग्रह गरेपछि साथीहरू तीज गीतमा फन्केर नाच्न थाल्नुभयो । मलाई पनि नरबहादुर सरले तानेर नाच्न लैजानुभयो र दुवै सँगै नाच्यौँ । साँच्चै भन्ने हो भने नरबहादुर सर बहुप्रतिभाशाली लाग्छ मलाई । शिक्षणबाहेक आर्ट, चित्रकला, हेयर कटिङ जस्ता सिप उहाँमा छन् । मादल बजाउन र दोहोरी गाउन पनि उत्तिकै सिपालु ! त्यहाँ नरबहादुर सरले जत्तिको मादल अरुले बजाएनन् । यस किसिमको रमाइलो होला भन्ने हाम्रो कल्पना उकालो चढ्दा दिमागले गर्न सकेकै थिएन । जे भईरहेको थियो सबै हाम्रो कल्पना विपरित । जुकाले टोकेर रगताम्य भए पनि अपूर्व आनन्द लिन सक्यौँ हामीले त्यहाँ । करिब डेढ घन्टा त हामीले त्यहीँ नाच्ने र फोटा खिच्ने गरेर बितायौँ । अरु हेर्ने वस्तुहरू पो त्यहाँ के नै थिए र ? बन्दै गरेको स्तुप मात्र न थियो । कालिगढलाई सोध्दा अझै एक वर्षभन्दा पनि बढी समय लाग्छ पूरा हुन त भन्दै थियो खाजा खाँदै गर्दा । निर्माण कार्य पूरा नहुँदै त मानिसहरू यसरी आउन थालिसकेका छन् भने सम्पन्न भएर पर्यटकीय क्षेत्र भनी प्रचारप्रसार हुन थालेपछि कस्तो होला? मलाई एकै छिन विचारणीय बनायो वातावरणले ।
त्यतिका लामो समय खर्चेर हिँड्दै आएको पनि भुलिएछ मनोरञ्जनमा चुर्लुम्म डुब्न पाउँदा । फर्केर फेरि उत्तिकै दुरी पार् गर्नुपर्छ भन्ने सम्झनाले भने झसङ्ग बनायो । ‘हैन साथी हो ! आज यतै बस्ने हो कि जाने पनि हो? अझै कुखुराको सपेटो खान त त्यत्तिकै छ नि?’ मैले यसो भनेपछि साथीहरूले सेकुवा बनाउने ठाउँ खोज्न थाल्नुभयो । पहिले हामीले खिर पकाएको ठाउँ खाली भएको छ त्यहीँ बनाउनुहोस् भन्ने सुझाव दिए महिला दिदिबहिनीहरूले ।उनीहरू जाने गाडी दीपकले चलाउने भएकाले झर्दा छतमा भए पनि जानुहोला सर भन्ने आश्वासन पाएपछि ढुक्क भएर खाने तयारी गर्न लागियो । मगर सम्प्रदायका महिलाहरूले बनाएको खीर पनि हामीलाई प्रसाद स्वरूप खान आग्र गरेकाले अस्वीकार गरिएन । मासु पोलेर तयार भएपछि कामदारहरू सुत्ने कोठामा गई आनन्दले खान थाल्यौँ । पासी सरले त यस्तो खतरा मौसममा गाडीमा जानु हुँदैन, हिँड्दै जानुपर्छ भन्दै हुनुहुन्थ्यो । गाडीले नताने यतै सुते पनि ठाउँ रहेछ क्यारे, भोलि बिहान उठेर लुरुलुरु झरौँला ओरालो भन्नुभयो कृष्ण सरले । तर दीपकले अप्ठेरो ठाउँमा झर्नुहोला, नत्र आउँदा जस्तो जाँदा हुँदैन, उकालो पर्दैन, तान्छ भन्ने ढाडस दिए । खाना खाइसक्दा ६ बजिसकेको थियो । पानी पुनः पर्न थालेको थियो सिमसिम । हामी सबै जना जीपको छतमा चढेर ओरालो लाग्यौँ । भित्र त ठाउँ भए पो बस्नु !!
त्यति माथिको उचाइबाट चिप्लो र ओरालो बाटोमा जीपको छतमा चढेर हिँड्दा अत्यन्त खतराको महसुस भैरहेको थियो । कतै जीपले गुल्टुङबाजी खेलेर हामी स्वर्ग जाने त हैनौ? भन्ने आशङ्काले मन सिरिङ्ग गराए पनि छतको बारको डन्डी हातले चरप्प अँठ्याएर छतबाट शरीरलाई डगमगाउन दिएनौँ । रुखका हाँगाहरूले लछप्प रुझाउने मात्र हैन पैदल हिँड्दा जस्तै गर्धनमा खरि जुका खस्ने क्रम पनि चलिरह्यो । धर्मसङ्कटमा त बल्ल पो परियो जीपलाई समाएर आफ्नो ज्यान जोगाइराख्ने कि गर्धनको जुको निकालेर फ्याँक्ने? जे होस् जीपले अलिक सुस्त गति लिएको मौका पारी जुका पनि फाल्दै नाना तरहका उटपट्याङ् कुरा गर्दै र हल्का पानीमा रुझ्दै खतर्नाक यात्रा भने जारी राख्यौँ । भित्रबाट सुराले सुर्याइरहेकाले होला त्यस्तो खतरनाक यात्रा गर्दा पनि रतिभर डर लागेन । एउटा घुम्तीमा मात्र हामीलाई छतबाट ओरालेर हिँड्न भनियो । अन्यत्र कतै झर्नु परेन । कुशलतापूर्वक गाडी चलाए दीपकले ।
पैयुँपाटा आएपछि दुई जना ओर्लने ठाउँ रहेछ । त्यो खाली भएको सिटमा मलाई र विक्रमलाई बस्न पठाई कृष्ण सर, नरबहादुर सर र विक्रम सर छतमै रहनुभयो । केही तल पुगेपछि अरु पनि गाडीबाट ओर्लने ठाउँ आयो र सबै भित्र बस्न पाइयो । निकै तल लाम्पाटा भन्ने ठाउँसम्मका महिलाहरू गएका रहेछन् । सबै मिलेर गाडीलाई रिजर्भमा बोलाइएको रहेछ । गाडीमा हामी मात्र भएपछि दीपकले यो सबै वृतान्त हामीलाई बताए । उकालो पैदल चढ्दा साढे तिन घन्टा लागेको बाटोमा गाडी चढेर ओरालो झर्दा पनि साढे एक घन्टा लाग्यो । किनभने साँझको बेला, खराब मौसम, बिच बिचमा महिलाहरूलाई उतारिराख्नु पर्ने र घुम्ती नै घुम्ती भएको बाटो थियो त्यो । लुङ खोला झरेर सरहरूले आआफ्ना बाइक लैजानु पर्ने भएकाले कृष्ण सर, विक्रम र म मात्र जीपमा बस्यौँ । राती आठ बजे हामी फोक्सिङ अवस्थित विक्रमको घर; हाम्रो वासस्थानमा सकुशल फर्कियौँ । त्यो जीप दीपकको नभएर अरुको भएको भए हाम्रो के हालत हुँदो हो? घर आएर विश्राम गरेपछि मात्र मेरो मस्तिष्कले कल्पना गर्न थाल्यो । बिहान लगाएका जुता मोजा खोलेँ । जुकाले खाएर छिया छिया पारेको रहेछ । दुवै गोडामा १५/२० ठाउँमा जुकाले टोकेका घाउहरू थिए । रगत भने पानीले गर्दा पखालिएछ तर त्यो दिनको याद भने जीवनभर नपखालिने भयो ।

फोक्सिङ , गुल्मी ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।