विद्यालयको झ्याल बाहिर
एउटा भोको बालक अङगारले भित्तामा भ माने भात लेखिरहेछ !
क्याफेटरियमा अर्को बालक,
बर्गर लुछ्दै, बि फर बम पढिरहेछ !
हेर्नोस न सर !
यसरी शिक्षालयको गर्भबाटै
दुई फरक विचार जन्मिरहेछ यहाँ !
एउटा बालकको जिब्रो नेपाली बोलेकै कारण अपाङ्ग ठहरिन्छ !
र, जव उसलाई सुनेर खित्का छाड्छन् अङग्रेजी कानहरु,
तव मातृभाषाकै कारण शौचालयको सिलिङमा मृत भेटिन्छ-
भविष्य मानिएको ऊ
हेर्नुस न सर !
यसरी मौलिकता मेटर कुरुप इन्टेलिजेन्सी मौलाइरहेको यहाँ ।
इश्वी सम्वतका भित्तेपात्रोहरु:-
इतिहासको चिना पढाउन थालेकाछन् अचेल हामीलाई !
भन्छन-हेर् पूर्व,
घाम जहाँबाट उदाए पनि
हाम्रो उत्पत्ति पछि मात्रै हो सभ्यता सुरु भएको ।
हेर्नोस न सर !
यसरी पाठशालाबाटै बेदहरु निस्तेज भैरहेछन् यहाँ ।
सर मलाई
देश पढ्न पठा'का हुन बाले !
सभ्यता पढ्न पठाएकी हुन आमाले !
युग पढ्नु पर्छ बाबु भन्थे बाजे !
र, बजै भन्थिन् संस्कार सिकेस नानी !
तर सर
जब हजुर आफ्नो खल्तिमा पि.आर राखेर,
भानुभक्त पढाउन थाल्नुहुन्छ
बुद्ध पढाउन थाल्नुहुन्छ !
सरगरमाथा पढाउन थाल्नुहुन्छ !
देश पढाउन थाल्नु हुन्छ।
बिद्या.. नास मलाई बिद्या ...लय फिटिक्कै मन पर्दैन !
दोबाटोमा पुगेर पनि बाटो टुङ्गिन सक्छ भनेर किन पढाउनु हुन्न ?
गन्तव्यमै पुगेर पनि गन्तव्य नभेटिन सक्छ, भनेर किन पढाउनु हुन्न हजुर ?
किन पढाउनु हुन्न ?
भोको पेट आगो भन्दा डरलाग्दो हुनसक्छ भनेर ?
मृत्युको कामना जीवन भन्दा कोमल हुन सक्छ भनेर ?
किन मेरा बा देश छाडेर परदेशिए ?
किन मेरा काकाले कलम भाँचेर बन्दुक समाए ?
किन मेरा दाजु देशको लागि दुई मिटर कात्रो जोगाएर लापता भयो ?
किन मेरी बहिनी कुनै अपरिचित मान्छे देख्दा तर्सिन्छे ?
यस्ता प्रश्नका जवाफ किन लेखाउनु हुन्न सर, हजुर ?
सपना जिउन शहर छिरेकी फूलमाया दिदीको
चुडिएको चप्पल मात्र किन फर्कियो गाऊ ?
कसले जफत गर्यो बिरामी आमा बोकेर
अस्पताल दौडिएको छोराको थाप्लोबाट नाम्लो?
कसरी
लाटोकोसेरोहरुको रातमा:-परेवाहरु बाजमा रुपान्तरण भए ?
कसरी देश लेखिरहेका कविहरु एकाएक देश बिहिन भए ?
किन हेरीरहेछ
सिग्रेटे धूवाँ ओक्लदै देश बेच्नेले, भट्टिमा बसेर,
बाँकी बचेको देशको सीमाना ?
किन
आफ्नै माटोको गर्भाशय
भोक रोग र अनिकालको घर बनेको छ ?
किन
जागिरको खोजी गर्नु नै जागिर बनेको छ हामी युवाहरुको ?
किन
फोहरको कन्टेनरमा भेटिन्छन्
प्रेमका निसानीहरु ?
किन फुल्न सुरक्षित महसुस गर्दैनन् कोपिलाहरु ?
किन
पहिरो पर्खिएर उघिं बसिरहे झै लाग्छ यी स्वावलम्बी पहाड ?
किन अदालतमा गीता छोएर, हत्याको झुटो बयान दिइरहेछ बुद्ध ?
- धेरै समयदेखि धेरै यस्ता प्रश्नहरु अनुत्तरित छन्- मेरो मस्तिष्कमा !
आदरणीय सर
भन्छन्,
हजुर हामी युवाहरुको भविष्य बताउन सक्नुहुन्छ रे !
मेरो पनि एउटा बिन्ती छ सर !
हाम्रो भाग्य लेखिएको शैक्षिक प्रमाणपत्रमा,
सुरक्षित भोलि र भात लेखिएको छ कि छैन ?
बताइदिनुस न !!